नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
काठमाडौंले त्रिवि क्रिकेट मैदानमा टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको हो।
आजको खेलमा काठमाडौंले आफ्नो प्लेइङ–११ मा तीन परिवर्तन गरेको छ। अस्ट्रेलियन स्टार ओपनर डेभिड वार्नरले आज काठमाडौंका लागि खेल्दैछन्। उनी आइतबार राति नेपाल आइपुगेका थिए। वार्नरको आगमनसँगै काठमाडौंको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।
काठमाडौंले अघिल्लो खेल खेलेका सुमित महर्जन, हरिशंकर साह र स्यामुयल हिजलेटलाई आजको टोलीमा राखेको छैन। उनीहरूको स्थानमा सन्तोष यादव, देव शाह र वार्नरले खेल्नेछन्।
यता, कर्णाली याक्सले भने अघिल्लो खेलकै प्लेइङ–११ लाई निरन्तरता दिएको छ। कर्णालीका लागि अनुबन्ध गरिएका दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर अझै नेपाल आइपुगेका छैनन्। त्यसैले उनी आज पनि टोलीमा उपलब्ध छैनन्।
काठमाडौंले यसअघि खेलेका तीनमध्ये एक खेलमा जित र दुईमा हार बेहोरेको छ भने कर्णालीले आफ्ना दुवै खेलमा जित निकालेको छ। लगातार जितको लयलाई कायम राख्ने लक्ष्यमा रहेको कर्णालीविरुद्ध वार्नरको आगमनले काठमाडौंलाई कस्तो प्रभाव पार्छ भन्ने चासो छ।
कर्णाली याक्स
सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, युनिस सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अकबर अली, अरिफुल इस्लाम, मार्क वाट र हुसैन तालत।
काठमाडौं गोर्खाज
करण केसी (कप्तान), भीम सार्की, रशिद खान, आदिल अन्सारी, शहाब अलाम, सन्तोष यादव, देव शाह, स्मित पटेल, जहानदाद खान, रिपोन मोन्डोल र डेभिड वार्नर।