नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै अलआउट भयो।
कर्णालीको सुरुवात निकै खराब रह्यो। टोलीले पहिलो ओभरको चौथो बलमै दीपेन्द्र रावतलाई शून्य रनमा गुमायो। चौथो ओभरको तेस्रो बलसम्म आइपुग्दा कर्णालीले ९ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो।
ओपनर दीपक डुम्रे ४ रनमा आउट भए भने अरिफुल इस्लामले पनि ४ रनमात्र बनाउन सके। त्यसपछि क्रिजमा आएका कप्तान डेभिड मिलर पनि लामो समय टिक्न सकेनन्। उनी ५ रन बनाएर पाँचौँ ओभरको तेस्रो बलमा आउट भए। कर्णालीले १५ रन बनाउँदा चार विकेट गुमाएको थियो।
पावरप्लेमा कर्णालीले ४ विकेट गुमाएर ३० रनमात्र बनाउन सक्यो।
पाँचौँ विकेटका लागि पवन सर्राफ र सोमपाल कामीले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। आठौँ ओभरको पहिलो बलमा सोमपाल आउट भएपछि यो साझेदारी टुट्यो। उनले १८ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए।
पवनले २४ बलमा १२ रन जोडे। उनी १३औँ ओभरको दोस्रो बलमा आउट भए। त्यसपछि कर्णालीले ६९ रन बनाउँदा मार्क वाटलाई पनि गुमायो।
सातौँ विकेटका लागि हुसेन तलत र गुल्सन झाले २७ रनको साझेदारी गरे। २२ बलमा २४ रन बनाएका तलत १८औँ ओभरको चौथो बलमा आउट भए। उनले २ चौका र १ छक्का प्रहार गरे।
गुल्सनले १४ बलमा १३ रन बनाए। उनी १९औँ ओभरको अन्तिम बलमा आउट भए। त्यसपछि नन्दन यादव ३ रनमा आउट भएपछि कर्णालीको इनिङ्स १०५ रनमा समेटियो।
लुम्बिनीका बलरमध्ये अभिषेश गौतम, किशोर महतो, डी आर्सी सर्ट र रोहित पौडेलले समान २ विकेट लिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट हात पारे।