प्रथम सहिद लखन थापा मगरको १४९औं स्मृति दिवसको अवसरमा फागुन २ गते शनिबार शहिद गेटदेखि बूढानीलकण्ठसम्म १० किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाली कल्चर मिडिया प्रा.लि.को आयोजना, नेपाल मगर संघको संरक्षकत्व र लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा कार्यक्रम हुन लागेको हो।
बिहान ६ बजे सुरू हुने दौडमा महिला र पुरूषतर्फ छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ।
प्रथम, द्वितीय र तृतीयले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वनालाई ५ हजार रूपैयाँ दिइनेछ।
दौड पूरा गर्ने सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सहभागिता शुल्क ५ सय रूपैयाँ तोकिएको छ र सबै धावकलाई टिसर्ट उपलब्ध गराइने आयोजकले जनाएको छ।
दौड समापनपछि पासीकोटस्थित नेपाली कल्चर मिडिया हाउसमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
साथै फागुन १३ गते राष्ट्रिय नाचघरमा ‘लखन स्मृति सांगीतिक साँझ’ पनि हुने बताइएको छ।