चितवनको रत्ननगर नगरपालिकामा आयोजित प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा मधेस प्रदेश च्याम्पियन बनेको छ। उसले १७ स्वर्ण, १० रजत र ९ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेका छन्। बागमतिले १७ स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै दोस्रो भयो।
टिम च्याम्पियन बनेका दुवै टोलीले ५० हजार र दोस्रो टोलीले ३० रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै, आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङले १० स्वर्ण, १७ रजत र ४० कांस्य पदकसहित तेस्रो स्थान हासिल गर्यो। तेस्रो भएको आयोजक टोलीले २० हजार रुपैयाँ पुरस्कार पायो।
प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका देशबाट करिब आठ सय खेलाडीले प्रतिस्पर्धा गरेको अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए।
आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशन खानका अनुसार प्रतियोगितामा विभिन्न विधाका खेलाडीले आफ्नो कौशल प्रदर्शन गरेका थिए।
प्रतियोगिता संयोजक प्रज्वल दवाडीका अनुसार ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्से विधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। चितवनका साहिल मन्सुर ग्योरोगीतर्फ उत्कृष्ट पुरुष खेलाडी घोषित भए भने बागमतीकी दिक्ष्या तामाङ उत्कृष्ट महिला खेलाडी बनिन्। मधेसका दिपेश मानन्धर उत्कृष्ट प्रशिक्षक घोषित भए।
त्यस्तै, गण्डकीका आयुष गुरुङ पुम्सेतर्फ उत्कृष्ट पुरुष खेलाडी र कोशीकी युमी राई उत्कृष्ट महिला खेलाडी घोषित भए।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही एक सय अमेरिकी डलर पुरस्कार प्रदान गरिएको अन्तर्राष्ट्रिय संयोजक खड्काले बताए।