अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली फेरि एकसाथ पर्दामा देखिँदैछन्। उनीहरू अभिनीत नयाँ फिल्म 'सिन्दुरे जात्रा'को चार मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ।
'पूर्णबहादुरको सारंगी' फेम निर्देशक सरोज पौडेल निर्देशित फिल्मको ट्रेलर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले प्रेमकथासँगै त्यसमा उत्पन्न हुने सामाजिक अवरोध र त्यसले निम्त्याउने नियतिको कथा प्रस्तुत गर्छ। पिरियड ड्रामाका रूपमा निर्माण भएको फिल्मले तत्कालीन नेपाली समाजमा विद्यमान पुरूषप्रधान सोच र पितृसत्तात्मक व्यवस्थाका कारण महिलाले भोग्नुपरेका परिस्थिति तथा पीडालाई उठाएको देखिन्छ।
ट्रेलरमा विजय बराल 'बाबुराम' र अञ्जना बराइली 'लक्ष्मी'को भूमिकामा छन्। उनीहरूको प्रेमकथामा अभिनेता विनोद न्यौपानेले निर्वाह गरेको ‘डिल्लीराम’ पात्र प्रमुख बाधकका रूपमा देखिएका छन्। डिल्लीरामले सिर्जना गर्ने अवरोध र त्यसले प्रेम जोडीको जीवनमा ल्याउने उतारचढाव ट्रेलरमा देखिन्छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन्। फिल्ममा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, रजनी गुरूङ, देशभक्त खनाललगायत कलाकारको अभिनय छ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ।
यसअघि सार्वजनिक टिजर र गीतबाट चर्चा बटुलेको 'सिन्दुरे जात्रा' मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।