भारतीय फिल्म 'पेड्डी'ले भारतमा १६९ करोड ७० लाख भारू आम्दानी गरेको छ। राम चरण र जान्हवी कपूर अभिनीत फिल्मले प्रदर्शनको पाँचौं दिनसम्म उक्त कमाइ गरेको हो।
योसँगै फिल्मले आमिर खानको 'सितारे जमिन पर' को लाइफटाइम कमाइ (१६७.४६ करोड)लाई पछि पारेको छ।
'पेड्डी'ले प्रिमियरबाट १८.५० करोड भारू कमाएको थियो। त्यस्तै, शुक्रबार २६.९० करोड, शनिबार २८.८५ करोड र आइतबार ३१.९० करोड भारू कमाएको थियो। त्योसँगै पहिलो सप्ताहन्तमा फिल्मको कमाइ १५७.१५ करोड भारू पुगेको थियो।
ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार 'पेड्डी' ले सोमबार भारतमा १२.५ करोड नेट कमाइ छ। योसँगै भारतमा कुल कमाइ १६९ करोड नाघेको हो।
फिल्मले यसअघि महेश बाबुको 'गुन्टुर करम' (१२७.४१ करोड), राम चरणको 'गेम चेन्जर' (१३१.२० करोड) र प्रभासको 'द राजा साब' (१४६.०४ करोड) भारूको लाइफटाइम कमाइलाई उछिनिसकेको छ।
बुची बाबु सानाद्वारा निर्देशित फिल्ममा राम चरण र जान्हवी कपूरसहित शिव राजकुमार, जगपति बाबु, दिव्येन्दु, बोमन इरानीलगायत कलाकारहरूको अभिनय छ।
सीमान्तकृत समुदायका एक युवाको संघर्ष र परिवर्तनको कथामा आधारित फिल्मले प्रशंसा बटुलेको भए पनि जान्हवी कपूरको पात्र चित्रणलाई लिएर आलोचना भएको थियो। त्यसपछि निर्देशकले विवादित दृश्य हटाउने बताएका छन्। फिल्मले पहिलो सप्ताहन्तमै विश्वभर २३३ करोड भारूभन्दा बढी आम्दानी गरिसकेको छ।
'पेड्डी' नेपालमा समेत प्रदर्शनरत छ।