फोनको घण्टी बज्यो।
‘हजुर दाजै!’
‘के छ यार गोलु तिम्रो खबर? कहाँ छौ?’
‘उत्तम छ, अफिसमा छु।’
धर्मेन्द्र झा उसलाई प्रेमपूर्वक गोलु भन्छन्। भन्न त अरू पनि भन्छन् तर पछाडितिर। प्रेमले भन्ने धर्मेन्द्र र शिव हुन्। शिव चाहिँ उमेरले भाइ भएकाले दाइ जोड्छन्।
ऊ धर्मेन्द्रलाई प्रेमले दाजै सम्बोधन गर्छ।
‘अँ दाजै’ भन, कति कामले फोन गर्यौ?’
‘तिमीलाई एउटा किताब दिनु छ, खासमा राससको फोटो किताब हो। म जनकपुरमा छु। राससबाट तिम्रो अफिसमा पठाइदिन भन्छु है!’
‘ओके दाजै! अनि कहिले फर्किन्छौ त?’
‘दुई तीन दिनमा।’
‘ओके!’
धर्मेन्द्रले फोन गरेको करिब एक घण्टामा सेतोपाटीको कार्यालय, झम्सिखेलमै हात लाग्यो ‘राससको फोटो किताब : गणतन्त्रको १६ वर्ष’ नामको किताब। पूरा रंगीन र मोटो गाता भएको, लाम्चो आकारमा मोटो चिल्लो कागज, झन्डै एक किलो तौलको होला!
उसले एकसरो पल्टाएर हेर्यो। खुब मन पर्यो, संग्रहणीय लाग्यो।
फोटो किताबको नाम नै ‘गणतन्त्रको १६ वर्ष’ भएपछि पहिलो फोटो (तस्बिर) कुन होला!
प्रिय पाठक! अवश्य अनुमान गर्नुभयो मिल्ने गरी नै। हो, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा बैठकको रोस्ट्रममा उभिएर संविधान किताब ढोगेको फोटो, २०७२ असोज ३ गते।
संविधान सभाबाट संविधान जारी भएको घोषणा हुँदाको यो फोटो निकै प्रसिद्ध छ, प्रिय छ। संविधान सभामा देखिएको त्यो दृश्य गौरवले हाम्रो छाती चौडा बनाउन पर्याप्त त छँदै थियो, त्यो दृश्यको फोटो सदाका लागि जीवन्त बनेर आइदियो।
हो, त्यही फोटाबाट सुरू भएको छ राससको फोटो किताब। दोस्रो फोटो पनि संविधानसम्बन्धी नै छ। संविधानको विधेयक अन्तिम टुंगो लागेपछि संविधान सभाका सदस्यहरूले त्यसमा हस्ताक्षर गरेर प्रमाणित गरे, २०७२ असोज १ गते। त्यसै दिन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण सार्वजनिक गरे।
त्यही हो किताबको दोस्रो फोटो।
तेस्रो फोटो कुन होला त! यो हो नारायणहिटी दरबार परिसरको पूर्वी खण्डमा बनेको गणतन्त्र स्मारक।
यसपछि दुई खण्डमा १७९ वटा फोटा छापिएका छन्।
पहिलो खण्ड ‘हाम्रो संस्कृति हाम्रो सम्पदा’ मा ९७ वटा फोटा छन्। पूर्वी पहाडको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट सुरू भएको यो खण्ड सुदूरपश्चिमको भीमदत्तनगरका रानाथारूको झिँझी नाचमा पुगेर टुंगिन्छ।
बीचमा सुनसरीको बुढासुब्बा मन्दिर, खोटाङको हलेसी, सप्तरीको छिन्नमस्ता, अछामको पञ्चदेवल लगायत अनेक मठमन्दिर अटाएका छन्। डोटी जिल्लाको साढे चार हजार मिटर उचाइमा रहेको छायानाथ धाम पनि छुटेको छैन।
छायानाथ पुगेपछि डोटीको शैलेश्वरी किन छुटोस्! काठमाडौंको पशुपतिनाथ छुट्ने कुरै भएन।
इलामको मासेबुङमा हुने किरात धार्मिक उत्सव, पूर्वका राजवंशीको सिरुवा नाच, खोटाङको साकेला र पञ्चैबाजा, खोटाङकै मगरको हुर्रा नाच, बाग्लुङको हनुमान नाच र पट्टा नाच, गुरुङको घाटु नाच अनि तामाङको डम्फू नाचका फोटा किताबमा सजिएका छन्।
लिम्बुको च्याब्रुङ नाच झन् किन छुट्थ्यो!
नेपालगञ्जको रामलीला त छुट्नै कुरै भएन। सुदूरपश्चिमको गौरा नृत्य, रूकुमको झाँक्री मेला, इस्लाम धर्मावलम्बीको इद उल फित्र नमाज लगायत अनेक सांस्कृतिक उत्सवका फोटाले सजाइएको छ राससको फोटो किताब।
आहा! छठ पर्वमा सजिसजाउ वीरगञ्जको घडीअर्वा पोखरी र छठपूजा, काठमाडौंको गाईजात्रा, रातो र सेतो मच्छिन्द्रनाथका जात्रा, कुमारी रथ यात्रा, भक्तपुरको बिस्केट जात्रा; साँच्चै आकर्षक फोटा समेटिएका छन्।
-1755870180.jpg)
लुम्बिनीको मायादेवी मन्दिर, काठमाडौंका स्वयम्भूनाथ र बौद्धनाथ स्तुप अनि मुस्ताङको निर्फु गुम्बा; मुस्ताङकै मुक्तिनाथ मन्दिर!
यसरी फोटो किताबले हामी नेपालीका धार्मिक–सांकृतिक सम्पदाहरू तस्बिरका रूपमा एकै ठाउँमा संगृहीत गरेको छ।
दोस्रो खण्ड छ ‘समृद्धिका लागि पूर्वाधार’, यसमा ८२ वटा फोटा समेटिएका छन्। शीर्षकअनुसार यस खण्डमा विकास पूर्वाधारमा भएका र भइरहेका निर्माण गतिविधिका फोटा छन्।
पहिलोझैं यो खण्ड पनि सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङको सुकेटार विमानस्थलबाट सुरू भएर सुदूरपश्चिम पहाडी जिल्ला दार्चुलाको चमेलिया जलविद्युत् आयोजनामा पुगेर टुंगिन्छ।
तमोर कोरिडर सडकअन्तर्गत समुद्र सतहबाट पाँच हजार २०० मिटर उचाइमा रहेको टिप्ताला नाकासम्म सडक पुगेको फोटोले मन नलोभ्याउने कुरै भएन। भोजपुर सदरमुकाम र पिखुवा खोला जोड्ने नागबेली सडकको फोटो जति हेरे पनि हेरिरहूँ लाग्ने!
इटहरी–विराटनगर ६ लेनको सडकले विकासको बढ्दो गति देखाउँछ। संखुवासभास्थित अरूण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल, जनकपुर–जयनगर रेल, ढल्केवर मुजफ्फपुर विद्युत् प्रसारण लाइन, काठमाडौं–तराई द्रुतमार्ग निर्माणकार्य पूर्वाधार विकासमा निकै आशालाग्दा दृश्यहरू हुन्।
नुवाकोटको देवीघाटमा निर्मित २५ मेगावाटको सोलार फार्म वैकल्पिक ऊर्जाको नमूना हो। फोटो किताबमा यो पनि समेटिएको छ।
काठमाडौं–सिस्ने सुरूङ मार्ग र बुटवल–पाल्पा सुरूङ मार्गका फोटाले नेपाल अब सुरूङ युगमा प्रवेश गरेको छनक दिन्छन्। काठमाडौं–तराई द्रुतमार्गमा पनि छन् केही सुरूङ।
काठमाडौंको पुनर्निर्मित रानीपोखरीको फोटो हेर्दा जमल र भोटाहिटीका दुई आकाशे पुलमा उभिएर हेरेको भन्दा कम मजा किन हुन्थ्यो! हेरिरहूँ जस्तो।
चोभारमा निर्मित सुख्खा बन्दरगाह र सिन्धुपाल्चोकको लार्चामा निर्मित भन्सार यार्डका फोटा पनि हेरिहूँजस्ता; लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र र कैलालीको गेटा अस्पताल भवनले कसको मन नलोभ्याउला र!
गेटा अस्पतालको पूर्वाधार तयार भएको धेरै भए पनि पूर्ण क्षमतामा अस्पताल चल्न सकेको छैन। शिक्षण अस्पताल चलाउन हालै भएको सहमतिले फोटोजस्तै सुन्दर आशा जगाएको छ।
भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलका फोटा कम्ती आकर्षक छैनन्! यी विमानस्थल पूर्ण क्षमतामा चल्न नसक्नु चिन्ताको विषय भएको छ।
दैलेखमा रहेको पेट्रोल तथा ग्यास खानी अन्वेषणको फोटाले देखाएको आशाको किरण व्यवहारमा साकार हुने भएको छ।
महाकाली नदीमा बनेको चार लेनको पुल अनि कर्णाली पुल कम्ता आकर्षक देखिँदैनन्! कर्णाली पुलमै जोडिन्छ रानीजमरा सिँचाइ आयोजना।
यसरी कुल १८५ पृष्ठको फोटो किताबमा १८२ वटा फोटा छापिएका छन्।
राससले यो फोटो किताबमा समाविष्ट फोटा ‘प्रतिनिधिमूलक’ हुन् भनेको छ। स्वीकारोक्ति छ– अझै कयौं परम्परा, संस्कृति र प्रचलनका तस्बिरहरू यहाँ समेट्न सकिएको छैन; हाम्रो सम्पदाका रूपमा रहेका हाम्रा संस्कृति जगेर्ना गर्ने दिशामा यो किताब एक प्रस्थान बिन्दु मात्र हो।
निश्चय नै, यो फोटो किताब पूर्ण छैन तर प्रस्थान बिन्दु उत्साहजनक छ।
रासस माने राष्ट्रिय समाचार समिति २०१८ सालमा स्थापना भएको हो। यो लामो कालखण्डमा राष्ट्रिय समाचार संस्थाका रूपमा राससको योगदान करिब अतुलनीय छ। समाचारदाताको सञ्जाल देशभर फैलिएको छ।
फोटो किताबमा समाविष्ट अधिकाधिक फोटा राससकै सहकर्मीहरूले खिचेका हुन्। यसले राससको सबल सञ्जाल पुष्टि गर्छ। थोरै छन् सौजन्यमा।
राससले गणतन्त्र दिवस, २०८० मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ र २०८१ को गणतन्त्र दिवसमा ‘गणतन्त्रको उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा फोटो प्रदर्शनी गरेको थियो।
वार्षिकोत्सवका अवसरमा फोटो किताब निकाल्यो।
यो फोटो किताबमा गणतन्त्र घोषणा भएयताको दृश्यमात्र छ। आगामी दिनमा यसको दायरा फराकिलो हुने अपेक्षा गर्नु अन्यथा हुनेछैन।
क्याप्सनले फोटाको पूरा परिचय दिन्छ अंग्रेजी र नेपाली दुबै भाषामा। यो निकै सशक्त पक्ष हो।
अर्को एउटा कुरा थोरै भन्नै पर्ने छ।
उसले कुनै समय रासस र रेडियो नेपालका शैली पुस्तक देखेको थियो। नेपाली भाषामा उदेक लाग्दो भाँडभैलो चलेको छ। कता ह्रस्व कता दीर्घ, ब कता व कता, कुन पदयोग कुन पदवियोग; विवादको रास लागेको छ। ‘श’ को त सातै गएको छ।
यस्तो बेला के भन्नु! तैपनि राससजत्तिको राष्ट्रिय संस्थामा एकरूपता भइदिएको भए हुने बरू कसैले गलत नै किन नभनोस्।
एउटै किताबमा, अझ कतै त एउटै पृष्ठमा ‘तस्वीर–तस्बिर, उपलब्धि–उपलब्धी, महत्वपुर्ण–महत्त्वपूर्ण, छन–छन्, अन्तराष्ट्रिय–अन्तर्राष्ट्रिय’ इत्यादि देख्दा मन अमिलो भइगयो।
विवादकै बीच पनि ‘हरू’ को र ‘रूप’ को ‘रू’ चलेकै छ।
कम्युटर र फन्टलाई दोष दिएर पन्छिने ठाउँ पनि राखेको छ राससले तर रासस त्यसरी पन्छिन पाउने संस्था होइन। यो पक्का हो।
यसमा अलिकति लापरबाही गोचर हुन्छ।
यो थोरै गुनासोका बीच पनि ‘तस्बिर आफै बोल्छ’ र ‘एक तस्बिर बराबर हजार शब्द’ मा उसको पूरापूर समर्थन छ, विश्वास पनि छ। यस अर्थमा राससको फोटो किताब सराहनीय छ, अमूल्य छ।