पुस्तक समीक्षा
मदन पुरस्कार प्राप्त गरेपछि छुदेन काविमोको ‘उरमाल’ उपन्यास पढ्ने हुटहुटी जागेको थियो। पुस्तक पढ्ने चाहना मात्र भएर भएन, किताब पनि प्राप्त हुनु पर्यो। बेइजिङमा नेपाली भाषाका किताब किन्न लगभग असम्भव जस्तै छ। तिहारमा नेपाल गएका बेला आफूले किन्ने किताबको सूचीमा एक नम्बरमै थियो उरमाल। किनेर ल्याएपछि पढ्ने पनि पहिलो प्राथमिकतामै पर्यो।
भारतको पश्चिम बंगाल राज्यमा पर्ने दार्जेलिङ सहर चियाका लागि प्रख्यात छ। भारत अंग्रेजको उपनिवेश हुँदा नै दार्जेलिङमा चिया रोपिएको थियो। पहाडी सुन्दर ठाउँ, त्यसमाथि चिया बगानको सजावटले गर्दा दार्जेलिङलाई ‘पहाडकी रानी’ उपमा दिइयो।
अंग्रेज शासनले दार्जेलिङमा मात्र नभएर डुबर्समा पनि चिया रोप्ने काम गर्यो। वर्तमान भारतको पश्चिम बंगाल राज्यमा पर्ने अलिपुरडुवर, जल्पाइगुरी, कुचबिहार र कालिङपोङ जिल्लाका केही भागमा फैलिएको भूभागलाई नै डुबर्स भनिन्छ। यो क्षेत्रमा पनि नेपाली भाषीको बाहुल्य छ।
सन् १९८६ देखि दार्जेलिङमा गोर्खाल्याण्डको माग राखेर नेपाली भाषीहरूले आन्दोलन चर्काएका थिए। दार्जेलिङमा गोर्खाल्याण्डको आगो बलिरहँदा त्यसैको काखमा रहेको डुबर्स शान्त प्राय थियो। दार्जेलिङमा चर्किएको गोर्खाल्याण्डको आन्दोलन किस्ताबन्दीमा तुहिँदै, उठ्दै, सानातिना आश्वासन र सुविधामा सम्झौता गर्दै धिपधिपाउँदै गर्दा डुबर्सका नेपाली भाषीका बीचमा पनि आन्दोलनको राँको झोसियो। डुबर्समा चाहिँ आन्दोलनको राँको तेजिलो भएको चाहिँ सन् २००७ मा हो।
यही आन्दोलनको रातपात र डुबर्सका चिया कमान बन्द हुँदाको गर्भबाट जन्मिएको हो उरमाल। उपन्यासको अन्तमा लेखकले 'उरमाल' शब्द डुबर्सको स्थानीय ‘सादरी’ भाषाबाट लिएको उल्लेख गरेका छन्।
यो शब्दको नेपाली अर्थ चाहिँ रूमाल हुन्छ। उपन्यास पढ्दै गर्दा यो चिया मजदुरहरूले चिया टिप्नका लागि प्रयोग हुने थैलो हो भन्ने कुरा बुझ्न कठिन हुँदैन।
लेखकले यही शब्दबाट उपन्यासको न्वारान गर्नका लागि पनि हुनसक्छ उपन्यासमा 'उरमाल' को सशक्त बिम्बात्मक प्रयोग गरेका छन्। त्यहाँ के हुन्छ भने चियाबारीमा नै एक जना सोमारी नाम गरेकी मजदुरले छोरा जन्माउँछिन्। भर्खर जन्मिएको शिशुलाई बेरबार बनाउने सफा कपडाको खोजी हुन्छ। तर चिया कमानमा कहाँ पाउनु सफा कपडा। अनि उही सोमारीले बोक्ने थैलो अर्थात् उरमालमा शिशुलाई पोको पारिन्छ।
पृष्ठ ९५ मा उल्लेख छ -
… सकिला छिट्छिटो हिँड्दै तिरपालले बेरेको ओजन घरबाट बाहिर आइन्। तताएर राखेको ब्लेड लिएर फेरि भित्र छिरिन्। धाईआमाले नानीको नाल काट्न भ्याइछन्। सबैले सुन्ने गरी कराइन्, 'सफा कपडा छ भने देऊ त एउटा?'
सफा कपडा?
कमानमा कहाँ पाउनु सफा कपडा? मालती काकी मुस्कुराउँदै बूढो पत्तीको झाङनजिक आइन्, 'यो सोमारीकै उरमार हो। यसैमा नानी पोको पारे हुन्छ।'
चिया कमानमा काम गर्ने मजदुरको अवस्थासँग उरमाल जन्मदेखि नै जोडिएर आउँछ भन्ने कुराको निकै जोडदार सन्देश हो यो। उपन्यासको पृष्ठ ३६१ देखि ३७१ सम्म उरमाल शीर्षकको एक च्याप्टर समेटिएको छ।
उरमाल उपन्यास भारतको पश्चिम बंगालको डुबर्स क्षेत्रका चियाबारीका मजदुरहरूको सुस्केरा, विरह, पीडा, वेदना, कष्ट र अभावले भरिएको छ। सामान्यतः नेपालीका लागि दार्जेलिङ परिचित र जानकार ठाउँ हो। तर डुबर्स चाहिँ नेपालको पूर्वी भेगमा बसोबास गर्नेहरूका लागि पनि त्यति परिचित होइन। उपन्यासका लागि डुबर्स रोजिनुको कारण पनि लेखकले खुलाएका छन्। उनी त्यस क्षेत्रमा केही समय बसोबास गरेका रहेछन्।
संसारमा श्रमिक वर्गका कथा र व्यथा उस्तै हुन्छन्। श्रम शोषण, अपमान, तिरस्कार, अपहेलना र अमानवीय व्यवहार खेप्नु परेका कथा श्रमिक वर्गमा केन्द्रित बनाएर लेखिएका कृति प्रशस्त पाइन्छन्। चिया कमानका मजदुर र स्थानीय अल्पसङ्ख्यक जातिका समस्यामा केन्द्रित यो उपन्यासले डुबर्सबाट बग्ने टिस्टा नदी नुनिलो छ भन्ने कुरालाई संकेत गर्छ। मजदुरको आँसु मिसिएपछि पानी नुनिलो हुनु स्वाभाविक हो।
उपन्यासभित्र धेरै पात्र छन्। कता कति पाठक अल्मलिन पनि सक्छन्। पात्र फरक भए पनि उनीहरूले बोकेका समस्याका पोका उस्तै छन्। हरेक पात्रका घरमा दबिएका चित्कार, अथाह वेदना र अपमानले भरिएका ठूल्ठूला भकारी छन्। सोमारी, सकिला, बुधुवा, दलबहादुर, ऐतमारी, नुरसाङ, माई, बिस्ने, थापा सर, जाको, जुरेन असुर थुप्रै पात्र छन् उपन्यासमा। सोमारी, सकिला, बुधुवा र दलबहादुर मुख्य पात्र हुन्। उपन्यास उनीहरूकै वरिपरि घुम्ने गरेको छ।
सन् २००७ मा डुबर्स क्षेत्रमा चलेको आन्दोलनले मूलतः दुई वटा कुरामा महत्व राख्छ। पहिलो कारण चिया कमान बन्द गरायो। अथवा भनौं चिया कमान बन्द भएकाले आन्दोलनको राँको तेजिलो भयो। अर्को लामो समयदेखि भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीको सत्ताको लोकप्रियता खस्किने कार्य उत्कर्षमा पुगेको थियो।
सन् १९७७ देखि निरन्तर सत्तामा रहेको पश्चिम बंगालको प्रान्तीय कम्युनिस्ट सरकार सन् २०११ मा पतन भयो र भारतीय त्रिणमूल कंग्रेस सत्तामा आयो। उपन्यास लेख्दा निकै सचेतताका साथ कम्युनिस्ट सत्ताका बारेमा मात्र लेखिएको छ। उपन्यास लेख्दा त्रिणमूल कंग्रेसको सरकार थियो तर उपन्यासमा व्यक्त समय चाहिँ एक दशकभन्दा अगाडिको थियो। त्यसकारण यस्तो पूर्ववर्ती समयको कथा लेख्दा कहिलेकाहीँ लेखक चिप्लिने सम्भावना रहन्छ। यहाँ चाहिँ खोटै लगाउने गरी कतै लेखक चिप्लिएका छैनन्। त्यसकारण यस मानेमा लेखक, पाण्डुलिपि पढ्ने व्यक्तिहरू, पहिलो चरणका सम्पादकलाई धन्यवाद दिन कन्ज्युस्याइँ गर्नु हुँदैन।
लामो समयको अन्तराल, धेरै पात्रहरू, थुप्रै उपकथा जोडिएको कथावस्तु, कथाको बुनोटसँग कालक्रम, घटनाको सुरूआत र मैझारो आदि काममा जटिल हुन सक्छ। त्यही भएर लेखक एक ठाउँमा चिप्लिएका छन्। पाण्डुलिपि पढ्ने तथा सम्पादकले यस प्रकारको त्रुटि नभेट्दा उपन्यासमा सानो खोट रहेको पाइन्छ।
उपन्यासका एक मुख्य पात्र बुधुवा लामो समय उपन्यासमा भेटिन्छन्। अनि लेखकले बिर्सिएको कुरा पनि त्यही बुधुवाका बारेमा हो। खासमा बुधुवाले पहिले नै सिध्याएको एउटा घटना फेरि पछि देखा पर्दा अलिक नमज्जा लाग्छ। पहिले नै यस्तो भएको थियो फेरि किन यस्तो हुँदैछ भनेर पाठकका दाँतमा ढुंगा लाग्छ।
पृष्ठ १६७ र १६८ मा यस्तो छ
… त्यसपछि जुरूक्क उठेर कोठाभित्र पसे। र टिनको बाकसमा राखेका तीन वटै कागजका टुक्रा निकालेर एकचोटि राम्ररी नियाले। तीमध्ये एउटा कागज उनलाई छोराको लाससँगै अस्पतालले दिएको थियो। र अर्को त्यही चिठीको प्रतिलिपि थियो, जुन शिवराजले लेखिदिएका थिए। जुन कागजको टुक्रा बोकेर घरी-घरी फरेस्ट अफिस धाइरहन्थे। … अचानक उनलाई के झोंक चल्यो कुन्नि, कागजको टुप्पामा लेखेको अक्षर पढ्ने कोसिस गरे। तर उनले त उहिले स्कुलमा पढेको केही अंग्रेजी अक्षर बिर्सिसकेका रहेछन्। अक्षर छुट्याउनै गाह्रो भयो। एक्लै केही क्षण फतफताइरहे, 'इ कागज राइखके कोनो काम नी बनी। इसने राइख के का कर्बू इके?'
उनी त्यही कागज लिएर सरासर अगेनाछेउ गए। थुपारिएको चियाको हाँगामुनि एकैसाथ राखे र माचिस सल्काइदिए। कागज हुरूरू जल्यो। उनले बल्ल थोरै न्यानो अनुभव गरे।
कागज जलेपछि अगेनामा राखेको चियाका हाँगा पनि बल्न थाले। तब पो उनले बुझे- अब उनीभित्र रहेको आशा पनि यही कागजसँगै जलेर खरानी भइसक्यो। मान्छेलाई त आशाले पो दुःख दिने रहेछ। कागजसँगै आज उनको आशा पनि जलेर गयो। त्यही भएर एक क्षणलाई उनी ढुक्क बने। कम से कम अब उनले घरी-घरी निराश बनिरहनुपर्दैनथ्यो। एक चोटिलाई सन्चोको लामो सास फेरे र एकटकले बलिरहेको आगो हेरिरहे।
उल्लिखित अंशमा बुधुवालाई बन अफिस र विभिन्न सरकारी कार्यालयले झुलाएर वाक्क बनेपछि सिफारिसपत्र तथा अन्य आवश्यक कागजात जलाएको बुझिन्छ। बुधुवाका छोरालाई चितुवाले मारेको हुन्छ। त्यही मरेको छोराको क्षतिपूर्तिका लागि उनी विभिन्न कार्यालय धाइरहेका हुन्छन्। चिया कम्पनी बन्द रहेकाले उनी वन कार्यालय जान्छन्। तर वन कार्यालयले घटना हाम्रो क्षेत्रमा नभई चिया बगानमा भएको भन्दै पन्सिन खोज्छ। धाउँदा धाउँदा दिक्क भएर उनले भएभरका कागजपत्र जलाउँछन् र छोराको क्षतिपूर्ति नखोज्ने निर्णय गर्छन्।
पाठकले उपन्यास पढ्दै जाँदा के बुझ्छ भने बुधुवाले अब चितुवाले खाएको आफ्नो छोराको क्षतिपूर्तिका लागि कहीँ कतै धाउने छैन। अस्पताल, प्रहरी कार्यालय, वन कार्यालय लगायतका क्षेत्रबाट बनाइएका कागज जलाएपछि क्षतिपूर्तिको बाटो बन्ध भएको बुझ्न कठिन छैन।
उपन्यासको २४७ पृष्ठमा लेखिएको कुरा बाझिन्छ। उक्त पृष्ठमा यस्तो उल्लेख छ:
… दलबहादुरले किचिक्क दाँत देखाए। पछिल्तिर फर्केर इसारा गर्दै बुधुवाका काँधमा झुन्डिएको झोला मागे, केहीबेर छामेर एउटा पुरानो कागज निकाले। र निधारको पसिना पुछ्दै भने, 'यसको अरू कागज पनि एकै ठाउँ राखिदिनुहोस्, बडा। यो काम भइहाल्यो भने मलाई एकदम ढुक्क हुन्छ।'
घिमिरे बडाले सब कागज हातमा लिए। अनि एउटा-एउटा गर्दै केहीबेर मिलाइरहे। … पुरानो कागज हेरेपछि बुधुवाले फेरि एक क्षणलाई पुरानै दिन सम्झिए। आफ्नै छोराको अनुहार झलझली सम्झिए।
पहिले जलाइसकेको कागजपत्र कहाँबाट आयो फेरि। यदि फेरि बनाएको हो भने त्यो कुरा उपन्यासमा उल्लेख हुनुपर्ने हो। तर लेखकले पनि बिर्सिएको हुनुपर्छ कि बुधुवाले पहिले नै सबै कागजपत्र जलाइसकेको छ। यस्ता कमजोरी नभएको भए राम्रो। यति कुराले गर्दा सिंगो उपन्यासलाई दोष लगाउने कुरा आउँदैन।
उपन्यास डुबर्स क्षेत्रको भएकाले उक्त क्षेत्रकै नेपाली बोलीबचनलाई प्रयोग गरिएको छ।
उपन्यासमा केही त्यस्ता 'जार्गन'हरू प्रयोग गरिएका छन्, जुन शब्द चिया कमानमा मात्र प्रयोग हुन्छन्। त्यस्ता शब्द बुझ्नका लागि चाहिँ चिया कमानमै संगत गरेको हुनुपर्छ। उपन्यासको पेट बोलीले त्यस्ता कुरालाई प्रष्ट्याउँदैन। त्यसैले सिंगो किताब पढिसक्दा पनि ती शब्दको अर्थ पाठकले पत्ता लगाउँदैनन्।
उदाहरणका लागि केही शब्द यस प्रकार छन्: ‘बिघा’, ‘उल्टी’।
श्रमिक वर्गको भविष्य कस्तो हुन्छ भनेर सोच्ने हो भने कहालीलाग्दो समय अगाडि आउँछ। धेरैपछिको भविष्य होइन भोलि नै अनिश्चितता बोकेर उनीहरूका दैलामा आइपुग्छ। बिरामी बुवाको औषधि लिन बजार गएकी चेली बलत्कारमा परेर मारिन्छे। राजनीतिक दलहरूले सोझासिधा व्यक्तिलाई विभिन्न आश्वासन् र लोभमा प्रयोग गर्छन्। निर्वाचनमा बेला सभा र जुलुस अनि भोटका लागि मात्र मजदुर चाहिँन्छ अरु बेला कुनै नेता देखिँदैनन्। पीडित वर्गका लागि निश्चित भनेको उही अभाव मात्र हो। त्यही भएर त उपन्यासमा बारम्बार आउने एउटा प्रश्न छ 'अब के हुन्छ होला नि?'
समग्रमा भन्नुपर्दा उरमाल उपन्यास सुन्दर चिया बगानमा छोपिएको दुःखको सातपत्रे हो। निमुखा अल्पसंख्यकहरूको मौन चिच्याहट हो। अस्तित्व र पहिचान खोज्नेहरूका कलेजोमा रोपिएको तीर हो। चियाका अंकुराउँदै गरेका मुनामा फक्रिएको सुस्केरा हो।