बाह्रखरी मिडियाले आयोजना गरेको 'डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३' को नतिजा सार्वजनिक भएको छ।
प्रतियोगितामा 'भोटेकोशीको सुसाहट' कथाका लेखक चेतनाथ आचार्य प्रथम भएका छन्। उनले नगद दुई लाख रूपैयाँ पुरस्कार प्राप्त गरे।
त्यस्तै, 'सपनाको अर्को रंग' कथाका लेखक मधुर भट्टराईले एक लाख रूपैयाँसहित द्वितीय पुरस्कार प्राप्त गरे भने 'अस्तित्वको अल्गोरिदम' कथाकी लेखिका सरस्वती सरसले तृतीय पुरस्कार प्राप्त गरिन्। उनले ६० हजार रूपैयाँ पुरस्कार प्राप्त गरिन्।
आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रतियोगिताको आठौं संस्करणका विजेतालाई पुरस्कृत गरिएको हो। नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्ये उत्कृष्ट २५ कथा छनोट गरी तयार पारिएको ‘उत्कृष्ट कथा, २०८३’ पुस्तक पनि सोही अवसरमा लोकार्पण गरियो।
प्रतियोगितामा उत्कृष्ट २५ मा परेका प्रथम, द्वितीय र तृतीयसहित सबै कथाकारलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट २५ मा परेका बाँकी २२ कथाकारले जनही सात हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले विजेता कथाकारलाई पुरस्कार प्रदान गर्नुका साथै कथासंग्रह लोकार्पण गरेका थिए।
उत्कृष्ट २५ मा पर्ने अन्य कथाकारमा अनिता कोइराला, अपेक्षा कार्की, आशीष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सुधन सुवेदी र डा. सुरेन्द्र गैरे छन्।
बाह्रखरी मिडियाले कथा लेखन र साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि निरन्तर कथा प्रतियोगिता आयोजना गर्दै आएको छ।
आठौं संस्करणका उत्कृष्ट कथाकारहरूलाई प्रमुख अतिथि सभामुख अर्यालसहित अतिथिहरू डिश मिडिया नेटवर्क लिमिटेडका सीईओ प्रसन्न पोख्रेल, सूर्य नेपालका जनरल म्यानेजर प्रेमनारायण अर्याल, नासा सेक्युरिटिजका अध्यक्ष मदन पौडेल, युनाइटेड अजोड इन्स्योरेन्स लि. का आजाद श्रेष्ठ, यती एयरलाइन्सका सीईओ युवराज बिष्ट, वेदालय ग्रुपका अध्यक्ष जयराम अर्याल र करूणा फाउन्डेसनका एक्जिक्युटिभ कार्यकारी निर्देशक दीपक सापकोटा, फाइन प्रिन्टका संस्थापक नीरज भारीसहित बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, विशेष सम्पादक हरिबहादुर थापा, विचार सम्पादक तथा आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीलगायतले माला, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरेका थिए।
