पत्रकार एवं लेखक जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘मगनी मरिक’ सार्वजनिक गरिएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विमोचित उक्त पुस्तकले मधेसको सीमान्तकृत डोम समुदायको जीवनशैली, जात व्यवस्थाको जरो र त्यहाँ व्याप्त गहिरो सामाजिक विभेदलाई जीवन्त रूपमा चित्रण गरेको छ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै लेखक सापकोटाले आफू एउटा पत्रकारका रूपमा समाजका विकृति र विभेदलाई उजागर गर्न लागिपरेको बताए।
उनले मधेसमा अझै पनि विद्यमान जातीय छुवाछूत र लैङ्गिक विभेदका दर्दनाक उदाहरणहरू पेस गर्दै सत्ता र मुख्यधारका सञ्चार माध्यमले यी मुद्दाहरूलाई उपेक्षा गरिरहेको टिप्पणी गरे।
सापकोटाले रौतहटको दलित बस्तीको अनुभव सुनाउँदै भने, ‘शौचालय भए पनि महिलाहरू पुरूषहरूको प्रयोगपछि त्यसलाई उपयोग गर्न नपाउने विवशता र उपल्लो जातको बस्तीबाट आफ्नो बस्ती नदेखियोस् भनेर गरिने घेराबन्दी जस्ता घटनाले मधेसको वास्तविक मनोविज्ञान छर्लङ्ग पार्छ।’
उनले प्रविधिको विकास र एआईको जमानामा समेत समाजको यस्तो असमानताको तथ्याङ्क प्रशोधन गर्न प्रविधि असफल रहेको भन्दै दुखेसो पोखे।
लेखकका अनुसार ‘मगनी मरिक’ केवल एक पुस्तक नभई राज्यले केवल जनगणनाको एउटा अङ्क र निर्वाचनको मतपत्रका रूपमा मात्रै बुझेको सीमान्तकृत समुदायको आवाज हो।–न्युज एजेन्सी नेपाल