गायिका रचना रिमालको तीन दिनदेखि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।
सांगीतिक प्रस्तुतिका लागि रूकुम पश्चिम पुगेको समयमा मंगलबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
काठमाडौं ल्याएर ह्याम्सको इमरजेन्सीमा भर्ना भएकी उनको अहिले अस्पतालको क्याबिनमा उपचार भइरहेको छ। परीक्षण क्रममा उनको सानो आन्द्रामा संक्रमण तथा पेटमा समस्या देखिएको छ। संक्रमणले आन्द्रा सुन्निएको देखिएपछि मंगलबार रातिबाट एन्टिबायोटिक्स चलाएर उपचार भइरहेको छ।
सुरूमा एपेन्डिसाइटिसको शंका गरेर काठमाडौं ल्याइए पनि एपेन्डिसाइटिस नभइ आन्द्रामा संक्रमण र पेटको समस्या देखिएको पारिवारिक स्रोतको भनाइ छ।
'पानी र अन्य झोलिलो कुरा मात्र दिएर औषधि चलाइएको छ,' पारिवारिक स्रोतले भन्यो 'स्वास्थ्य अवस्था सुधारोन्मुख छ। यद्यपि, अझै कति दिन अस्पतालमै उपचार गर्नुपर्ने टुंगो लागिसकेको छैन।'
गत सोमबार सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी रचनाको त्यहाँ मंगलबार प्रस्तुति तय थियो। तर बिहानदेखि पेटमा अत्यधिक दुखाइको महशुस गरिन्।
आयोजकलाई गुहारेपछि उनलाई त्यहाँको चौरजहारी अस्पताल लगियो। त्यहाँ एपेन्डिसाइटिस भएको शंका गरिएको र तुरून्त अपरेसन गर्नुपर्छ भन्ने सुझाव आएपछि आफन्तहरूको सल्लाहमा हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार गर्ने निर्णयमा पुगेको पारिवारिक स्रोतको भनाइ छ।
'एक त नयाँ ठाउँ, एक्कासि गाह्रो अवस्था आउँदा एकदमै आत्तिएको पायौं, त्यसपछि काठमाडौं ल्याउन हतारहतार हेलिकप्टर व्यवस्थापनमा लाग्यौं', पारिवारिक स्रोतले भन्यो, ‘हिजोभन्दा अहिले स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ।'
उनलाई निजी खर्चमा सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो। त्यहाँबाट काठमाडौं ल्याएर उपचार भइरहेको हो। रचना स्टेज र स्टुडिओमा सर्वाधिक व्यस्तमध्येकी गायिका हुन्।
स्वास्थ्य अवस्था बुझन् अस्पताल पुगे रक्षामन्त्री

यसैबीच रक्षामन्त्री मानवीर राईले रचनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनी बिहीबार अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेका हुन्। त्यसक्रममा उनले चिकित्सकहरूबाट पनि जानकारी लिएका थिए।