संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी रकम वितरण गरेको छ।
समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश-विदेशबाट संकलित रोयल्टी रकम गीतकार, संगीतकार तथा स्रष्टालाई वितरण गरेको हो।
समाजले आफ्नो स्थापना दिवस तथा १९ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा संस्थामा सदस्यता लिएर आफ्ना गीत तथा सिर्जना दर्ता गरेका गीतकार, संगीतकार र (श्रस्टाहरुको अनुमती प्राप्त) प्रकाशकहरूलाई रोयल्टी वितरण गरेको हो।
समाजमा दर्ता नभएका गीत तथा स्रष्टाहरूको अभिलेख उपलब्ध नहुने भएकाले उनीहरू रोयल्टी प्राप्तिबाट वञ्चित हुने गरेका छन्। यस विषयलाई केन्द्रमा राख्दै प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्त गर्ने प्रक्रिया, आवश्यक मापदण्ड तथा रोयल्टी संकलन हुने विभिन्न क्षेत्रबारे जानकारीमूलक प्रस्तुति पनि गरिएको थियो।
यसै अवसरमा संगीत रोयल्टी संकलन समाज नेपालको वेबसाइट सार्वजनिक गरिएको छ। संस्थाका सदस्य गीतकार तथा संगीतकारहरूले उक्त वेबसाइटमा लगइन गरी आफ्नो मोबाइल नम्बर र पासवर्डमार्फत कुन गीतबाट, कुन माध्यमबाट र कति रोयल्टी रकम संकलन भएको छ भन्ने जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ।
समाजका अनुसार सदस्यहरूले आफूलाई अनुकूल समयमा संकलित रोयल्टी रकम सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था पनि छिट्टै लागू गरिनेछ।
समाजका अध्यक्ष सुरेश अधिकारीले कार्यालयमा उपस्थित हुन नसक्ने गीतकार तथा संगीतकारहरूले फोनमार्फत जानकारी लिनुका साथै वेबसाइटबाटै आफ्ना गीत तथा सिर्जना दर्ता गर्न सक्ने व्यवस्था रहेको जानकारी दिए।
उनले सबै स्रष्टालाई आफ्नो सिर्जना दर्ता गरी रोयल्टीको अधिकार सुनिश्चित गर्न आग्रह समेत गरे।