गायक, सर्जक तथा अभिनेता प्रकाश सपूत झन्डै एक वर्षपछि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ फर्किएका छन्।
उनले आइतबार नयाँ गीत 'कर्तव्य' (मेरो पनि होइन र यो देश–२) सार्वजनिक गरेका हुन्। यो गीतमा प्रकाशले देशको विकास र समृद्धिका लागि सरकारसँगै हरेक नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सन्देश दिएका छन्।
'कर्तव्य' उनको पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत 'मेरो पनि होइन र यो देश' को दोस्रो श्रृंखला हो। पहिलो भागमा उनले सरकार र राजनीतिक नेतृत्वमाथि प्रश्न उठाएका थिए।
यसपटक भने 'हो, यो देश हाम्रो हो र यसलाई अझ राम्रो बनाउने जिम्मेवारी हामी सबैको साझा कर्तव्य हो' भनिएको प्रकाशले बताएका छन्।
गीतमा गाउँ-गाउँमा शिक्षा र स्वास्थ्य सेवा विस्तार, क्षेत्रीय असमानताको अन्त्य, सुशासन, रोजगारी सिर्जना तथा बढ्दो बसाइँसराइ र विदेश पलायनजस्ता विषय उठाइएको छ।
'केही गरम, केही गरम, जे सकिन्छ त्यही गरम, देशको उन्नतिको लागि भावी सन्ततिको लागि' भन्ने गीतको मूल भावले देश निर्माणमा सबैको साझा उत्तरदायित्व रहेको सन्देश दिन्छ।
गीतमा शब्द, संगीत, स्वर, अवधारणा र निर्देशन स्वयं प्रकाश सपूतकै छ। संगीत संयोजन, ब्याकग्राउन्ड स्कोर र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्। गलबन्दी प्रोडक्सन प्रालिले निर्माण गरेको गीतको प्रोजेक्ट हेड दिल शिरीष हुन्।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओमा प्रकाश स्वयं फिचर्ड छन्।
छायांकन हरि हुमागाईं र सुनिल बिक लगायतको रहेको छ भने सम्पादन प्रवीण भट्टले गरेका हुन्।
प्रकाश सपूतले यसअघि ११ महिनाअघि 'नाइँ भनेसी नाइँ' सार्वजनिक गरेका थिए। त्यसको लामो समयपछि उनले नयाँ गीत 'कर्तव्य' ल्याएका हुन्।