नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक पलेंटीमा यसपटक गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन्।
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार हुँदै आएको 'पलेंटी'मा यसपालि नीर शाहका गीत गुञ्जिने भएका हुन्।
अगस्ट २८ र २९ तारिखमा हुने कार्यक्रममा उनले रचना गरेका झण्डै डेढ दर्जन गीत प्रस्तुत गरिनेछ। ती गीत पलेंटीका कण्ठ-शिल्पी मीना पोखरेल र रूपक चौधरीले गाउनेछन्।
'पलेंटी' करिब २२ वर्षदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो। यसपटक नेपाली चलचित्र तथा संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय नीर शाहका गीति सिर्जनालाई केन्द्रमा राखेर कार्यक्रम तयार पारिएको हो।
उनले रचना गरेका गीतमा 'पर्खी बसेँ आउला भनी', 'कहिले काहीँ म हाँस्छु', 'गहिराईमा डुब्दै नडुब', 'अधरको मुस्कान त केही होइन', 'बादल बनाई देऊ' र 'हिउँभन्दा चिसो' लगायत छन्। उनका फिल्मी गीत पनि नेपाली संगीतमा लोकप्रिय छन्।
'आँखैमा कसैको तस्वीर बसेछ', 'जति निर्मल', 'छोरी मलाई भागी भागी' र 'यो साँझ यो सुवास' लगायतका गीत उनका चर्चित फिल्मी रचना हुन्।
यसपाली 'पलेंटी'मा प्रस्तुत हुने नीर शाहका रचनामा संगीतकार नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन्।
'पलेंटी'को पूर्वाभ्यासमा सहभागी नीर शाहले संगीत र नाट्य विधासँग आफ्नो लामो सम्बन्ध रहेको बताए।
उनले भने, 'संगीत नाट्य विधासँग म यसरी नजिक छु कि संगीतको सानो ध्यान वा ठूलो कन्सर्ट भइरहेको ठाउँ उत्तिकै प्रिय लाग्छ। पलेंटीको पूर्वाभ्यासमा सहभागी हुन आइपुगेँ; गायक वाद्यवादक सबै प्रतिभा सम्पन्न हुनुहुँदो रहेछ। गौरवशाली इतिहास हो यो। उहाँहरूको प्रतिभासित प्रत्यक्ष साक्षी हुने मौका पाउँदा उत्साहित बनेको छु।'
आफ्नो अनुभवको सम्झना गर्दै नीर शाह अगाडि भन्छन्- 'नारायण गोपाल दाइको लाइभ कन्सर्ट गरेको सम्झना छ। त्यो मेरो दायित्व थियो। त्यस्तै प्रकृतिको पलेंटीलाई जीवनका महत्वपूर्ण शृंखलामध्ये एक हो भन्ने ठानेको छु।'
कार्यक्रमबारे पलेंटीका संयोजक आभास भन्छन् - 'सांगीतिक रचनाका तीनवटै विधालाई समेट्ने क्रममा यसपाली गीतकार नीर शाहलाई निम्त्याएका छौं। संचार र चलचित्र क्षेत्रका साथै गीति साहित्यमा उहाँको उल्लेख्य योगदान छ। सृजनात्मक अनुभवसहितको यसपालीको पलेंटी रोमान्चक रहनेमा विश्वस्त छु।'
कालिकास्थानस्थित नेपालयको 'आर'शालामा हुने कार्यक्रमको टिकट अनलाइनबाट लिन सकिनेछ। 'आर'शालामा उपस्थित हुन नसक्ने संगीतप्रेमीका लागि अनलाइनमार्फत प्रत्यक्ष हेर्न 'पे-पर-भ्यु'को व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको टिकट तथा लाइभ एक्सेसका लागि 'पलेंटी'को वेबसाइटमा उपलब्ध व्यवस्था प्रयोग गर्न सकिनेछ।