सन् २००५ तिरको कुरा हो। भारतकी लक्ष्मी अग्रवाल भर्खर पन्ध्र वर्षकी थिइन्। उनलाई आफूभन्दा सत्र वर्षीय जेठो नाइम खान भन्ने केटाले मनपराउँथे। बिहे गर्न चाहन्थे। यो कुरा लक्ष्मीले बेवास्ता गरिदिइन्। जसपश्चात् त्यो केटाले उनलाई दस महिनासम्म निरन्तर सताइरहे।
सधैंजसो १०ः४५ मा खान मार्केट हुँदै लक्ष्मी गइरहेकी थिइन्। त्यो केटा र उसको कान्छो भाइकी प्रेमिकाले उनलाई पछ्याइरहेका थिए। उनी जताजता जान्थिन्, उनीहरू त्यतै आउँथे। ती केटीले बियरको बोतल र एउटा गिलास बोकेकी थिइन्।
अचानक ती केटीले लक्ष्मीलाई मुखमा समातेर भुइँमा पछारिदिइन्। गिलासमा खन्याएको झोल लक्ष्मीको अनुहारमा फ्याँकिदिइन्। कसैले उनको शरीरमा जिउँदै आगो लगाइदिएजस्तो लागिरह्यो उनलाई। तड्पिरहिन्। चिच्याइरहिन्।
आफ्नो अनुहारमा के छ्यापियो उनलाई पत्तो भएन। त्यो तेजाब थियो। खन्याउँदा भन्दा समय बित्दै जाँदा जलन बढेपछि थाहा पाउन कठिन भएन। उनी कुनबेला प्राणहीन हुन्छिन् भनेर मानिसहरूले टुलुटुलु हेरे। अझ नजिक आएर हेरे। भिडबाट कसैले सहयोग गरेन। सडकमा गुडिरहेका गाडी रोकिएनन्। उनी गाडीले किचेर मर्न पनि सक्थिन्। भाग्यवश, त्यो अमानवीय तेजाब तेजाब आक्रमणबाट बाँच्न सफल भइन्।
आज लक्ष्मी अग्रवाल ३० वर्ष भइन्, तेजाब आक्रमण 'सर्भाइभर' भएर बाँचिरहेकी छन्। हजारौं पीडितहरूका प्ररेणा भएर तेजाबको खुलेआम बिक्रीवितरणमा प्रतिबन्ध लागाउनुपर्छ भनेर निरन्तर आवाज उठाइरहेकी छन्। आफ्नो ट्वीटरको बायोमा लेखेकी छन्, 'म तेजाब आक्रमणबाट बाँचेकी हुँ। म आफ्नो अनुहारलाई बहुत प्रेम गर्छु।'
उनी भन्छि, 'उसले मेरो अनुहार बिगारिदियो, मेरो मन होइन। उसले मेरो अनुहारमा तेजाब फ्याँकिदियो, मेरो सपनामा होइन।'
उनै शक्तिशाली महिना लक्ष्मी अग्रवालको जीवनबाट प्ररित हिन्दी फिल्म हो– छपाक।
'छपाक'मा लक्ष्मीको भूमिकामा रहेकी मालती अग्रवाल (दीपिका पादुकोण) दिल्लीको व्यस्त बाटोमा हिँडिरहेकी हुन्छन्। बब्बू मोटरसाइकलमा आउँछन् जसको पछाडि परवीन शेख नाम गरेकी एक केटी तेजाब बोकेर बसेकी हुन्छिन्। मोटरसाइकलबाट झरेर परवीनले मालतीको ठीक अगाडि उभिएर उनको अनुहारमा 'छपाक'सँगै तेजाब फ्याँक्छिन्। बशीर र परवीन दुवै आफ्नो क्रूर चाहना पूरा गरेर कुलेलाम ठोक्छन्। मालती बीच बजारमा तड्पिन्छिन्। चिच्याउँछिन्।
केही छिनपछि एक वृद्धले मालतफको अनुहारमा पानी खन्याइदिन्छन्। तेजाबो राप पानीले के सान्त पार्थ्यो।
हामीमा संवेदना भन्ने कुरा अलिकति पनि छ कि छैन? हाम्रै आँखैअगाडि कोही मरिरहेको, तड्पिरहेको देख्दादेख्दै पनि हामी किन घोर अन्धो बनिरहेका छौं? कि डिजिटल जीवनले हाम्रो कोमल मनलाई पूरै मारिदिइसकेको छ? हामी प्राकृतिक मानव हौं कि डिजिटल मानव?
एक त तेजाबपीडित, त्यसमाथि अस्पताल, प्रशासन र आफ्नै घरमा भएको विभेदले मालतीलाई छिन्नभिन्न पारिदिन्छ। पीडितलाई यस्तो अवस्थामा सबैजनाले मनोवैज्ञानिक सान्त्वना दिनुपर्छ जसरी मालतीलाई एकजना डाक्टरले दिएका थिए। उनीहरूलाई सबैले प्रेम गर्नुपर्छ। उनीहरूको मनोबल बढाइदिनुपर्छ जुन काम 'छपाक' फिल्ममा मालतीका पिताकी मालिक्नी शिराज, वकिल अर्चना (मधुरजीत सरघी), अमोल, मालतीका बाआमा, उनको उपचार गर्ने डाक्टर लगायतले गरेका छन्।
हामीले तेजाब पीडितहरूलाई दिएको प्रेम, सहानुभूति, साथ, उत्प्रेरणा नै उनीहरूका निम्ति बाँच्ने आधार हुनसक्छन्। दोस्रो जीवनको निम्ति दीप पनि हुनसक्छ।
तेजाब पीडितहरू भूत होइनन्। हामी सामान्य मानवभन्दा पनि संघर्षशील हुन्। हामीले उनीहरूलाई विशेष माया, स्नेह, साथ, अपनत्व आदि दिनुपर्छ। कुनै विभेद गर्नुहुँदैन।
यस्ता कुरा विशेषतः परिवार, समाजका बुद्धिजीविहरू र हरेक सदस्यलाई सिकाउनुपर्छ। बालबालिकाको मनोविज्ञानमा सकारात्मकरूपमा असर पर्नेगरी प्रेमपूर्वक बुझाउनुपर्छ। जब यी सबै कुरा परिवार र समाजका हरेक मानिसले बुझेर व्यवहारमा उतार्छन्, तबमात्र हाम्रो परिवार, समाज र देश 'पीडितमैत्री' हुनसक्छ।
कानुनी र अदालती प्रक्रियाका जटिलताको कारणले मालती भन्छिन्, 'तेजाब आक्रमणको उपचारभन्दा गाह्रो छ देशको कानुन।'
उनकी आमाले कानुनी उल्झनमा नअल्झिन भन्छिन्। तर उनी निरन्तर अगाडि बढिरहन्छिन्। अगाडि बढिरहँदा कानुन, मिडिया, सबैका कारणले उनी विश्राम लिनेबारे पनि सोच्छिन्। उनी भन्छिन्, 'यो कानुन र मिडिया हामी पीडितहरूका लागि होइनन्। यिनीहरूमा अल्झिनुभन्दा मर्नु बेस।'
मिडियाले पनि मालतीलाई बहुत सताउँछन्। 'अबको भावी योजना के बनाउनुभएको छ? विवाहबारे के छ योजना? तपाईंको जीवन बर्बाद भयो त? तेजाब बिक्रीवितरणमा नै प्रतिबन्ध गर्ने कुरा गर्नुभयो भने त कुन चिजले तपाईं आफ्नो घरको शौचालय सफा गर्नुहुन्छ?' यस्ता औचित्यहीन प्रश्न उनीमाथि मिडियाले थुपारिदिन्छ।
मालती भन्छिन्, 'जो केटी सामाजिक स्तरभन्दा माथि आउन चाहेका थिए, पढ्न र अगाडि बढ्न चाहेका थिए, उनीहरूको रंगीन जीवनमाथि मानिसहरूले पनि तेजाब खन्याइदिए। तेजाब सुरूमा मानिसको दिमागमा घुल्छ, अनि मात्र हातमा पुग्छ। यो देशमा कोल्ड ड्रिंक्सभन्दा पनि सस्तोमा पाइन्छ तेजाब। भारू तीसमै एक बोतल सल्फ्युरिक तेजाब पाइन्छ। कति राम्रो हुन्थ्यो होला, देशमा तेजाब नपाइने भए। हामीलाई आक्रमण नै गर्ने थिएनन्। मुख्यतः जबसम्म मानवहीन दिमागबाट तेजाबको समाजशास्त्र सदाको निम्ति समाप्त हुँदैन, तबसम्म यो समस्या व्याप्त रहिरहनेछ।'
यो कुरा तेजाब पीडित मालतीले मात्र होइन, हरेक नागरिकले उठाउनुपर्ने हो।
तेजाब आक्रमण गर्नेहरूलाई सजाय दिलाउन मात्र उनी बोल्दिनन्, देशभर तेजाब खुलेआम बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाउनुपर्छ भनेर आवाज अझ सशक्त बनाउँछिन्।
'तेजाब कसैको अनुहारमा फ्याँक्न जति सजिलो छ, त्योभन्दा कयौं गुणा गाह्रो पीडकलाई सजाय दिलाउन छ। कसैको अनुहारमा तातो चिया फ्याँके पनि, तेजाब फ्याँके पनि उनीहरूलाई हुने कानुनी सजाय एउटै हो। त्यो सजाय पनि उनीहरूले पूरै भोग्नुपर्दैन। पैसा र शक्तिले गर्दा उनीहरू एक–दुई वर्षमै जेलबाट निस्किन्छन् र पुनः आतंक मच्चाउन थाल्छन्,' मालती दुःखसाथ भन्छिन्।
वास्तवमा फिल्म 'छपाक' विशेषतः तेजाबपीडितहरूका निम्ति मल्हम पनि हो। आवाज पनि हो। र, भावी जीवनको निम्ति आशा र उज्यालो पनि हो। शक्ति हो। आत्मबल हो। मानवीय र सामाजिक संकुचित अवधारणाप्रतिको ठूलो प्रहार हो।
विषयको गहनता र त्यससँगै जोडिएका सयौं विषयमा नगएर केवल मालती र अमोलको प्रेम र चुम्बनमा अल्झिने हो भने यो फिल्म नहेरेकै बेस। हामीले उपलब्धिमूलक कुरा नहेरेर, नबुझेर, केवल सारहीन कुरामा अल्झिनु औचित्यहीनता सिवाय केही होइन।
फागुन १०, २०७१ मा काठमाडौंको वसन्तपुरमा सोह्र वर्षीय संगीता मगरको अनुहारमा जीवन बिक भन्ने व्यक्तिले तेजाब फ्याँकिदियो। जसको शिकार उनकी साथी सीमा बस्नेत पनि भइन्। यसको २५ दिनपछि सकी-नसकी अस्पतालको शैयामा बसेर दुवैले परीक्षा दिए।
गत भदौ २० गते वीरगन्जकी पन्ध्र वर्षीय मुस्कान खातुनमाथि स्कुल गइरहेका बेला केही केटाहरूले उनको अनुहार र शरीरमा तेजाब फ्याँकिदिए। जसका कारण महिनौं उनले शारीरिक र मानसिक पीडा भोग्नुपर्यो। बल्ल अहिले आएर मुस्कान मुस्कुराउन थालेकी छन्। उपचारमै छिन्।
यस्ता तेजाब आक्रमण बढिरहँदा पनि सम्बन्धित निकायहरू मौन छन्। शिक्षक र विद्यार्थी मौन छन्। समाज र देश मौन छ। यस्ता जघन्य अपराध गर्नेलाई कडा सजाय दिनुपर्नेमा उनीहरू खुलेआम चोकचोक र बजारबजारमा बसेर तेजाब खन्याइरहेका छन्। हाम्रो समाज, देश, प्रशासन, परिवार र नागरिक कति कमजोर छन् भन्ने पुष्टि पनि हुन्छ।
सन् २०१६ मा 'आई वाक फ्रिली'ले नेपालमा गरेको सर्वेक्षणअनुसार ९८ प्रतिशत तेजाबपीडितहरू अत्याचार, विभेद र शोषणको शिकार भएका निष्कर्ष निकालिएको थियो।
'छपाक' फिल्ममा मालती अग्रवालले भनेकी छन्, 'पीडितहरूलाई नै तेजाब आक्रमणको समस्याबारे गहनरूपमा थाहा छ। हामी पीडितहरू उन्मुक्तसाथ खुसी हुन चाहन्छौं। तर हाम्रो खुसी मानिसहरू मनपराउँदैनन्। हाम्रो हाँसेको अनुहार मानिसहरूलाई बिल्कुल मनपर्दैन।'
लक्ष्मी अग्रवालको निरन्तर आवाज र संघर्षका कारण सन् २०१३ मा भारतमा तेजाबको बिक्रीवितरणमा नियमन लगाइएको थियो। भारतमा वर्षमा सरदर ३०० तेजाब आक्रमणका मुद्दा आधिकारिकरूपमा दर्ता हुन्छन्। नेपालमा तेजाब आक्रमणका मुद्दा ओझेलमै पारिन्छन्। केही मुद्दा मात्र आधिकारिकरूपमा दर्ता हुन्छन्।
'छपाक' फिल्मले हाम्रो मगजको साँघुरो सौन्दर्यशास्त्रलाई तहसनहस पार्दै वास्तविक सुन्दरता हाम्रो दृष्टिमा रहेछ भन्ने छर्लंग पारेको छ।