कालो गोमन दक्षिण एसियामा पाइने प्रमुख विषालु सर्प हो, जसलाई नेपालीमा सामान्यतया ‘गोमन’ वा ‘कालो गोमन सर्प’ भनेर चिनिन्छ। यसलाई स्थानीय तहमा कहिलेकाहीँ नाग नामले पनि सम्बोधन गरिन्छ। यसको विशेषता भनेको टाउको उठाएर फैलाउने फण हो, जसमा प्रायः चस्माजस्तो आकृति देखिन्छ। यो प्रजाति साँप–संस्कृति, धार्मिक आस्था र जनविश्वाससँग गहिरो सम्बन्धित छ तर जैविक दृष्टिले पनि यो पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण सर्प हो।
फेसबुकमा मैले दिपक नेपाल (सिमरा, बारा) ले अपलोड गर्नु भएको यो देखेँ, उहाँ सर्प उद्धार र संरक्षण क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आउनु भएको छ। यो तस्वीर देखेपछि मलाई मेरो विद्यालय अध्ययन कालको सम्झना आयो, त्यति बेला म मेरो गृह जिल्ला महोत्तरीमा बस्थेँ। त्यति बेला हामी गाई–गोरु चराउन, धान रोपाइँ र भित्र्याउने काम गर्न खेततर्फ जाँदा प्रायः यस प्रजातिको सर्प देखिन्थ्यो।
म अझै पनि मेरो हजुरबुबाले भन्नु भएको कुरा स्पष्ट सम्झन्छु, ‘त्यो खेतमा लौरो बिना नजानु किनकि त्यहाँ कालो गोमन सर्पको वासस्थान छ। यदि जानै परे जमिनमा लौरो हानेर ध्वनि वा कम्पन गरेर जाने गर्नु वा ताली (थपडी) पिटेर, बोलेर जानु जसले गर्दा सर्प आफैँ दुलोभित्र पस्छ।’
गाउँको चिया पसलमा बिहान बेलुकी जम्मा हुँदा नागसँग सम्बन्धित अनेकौँ कथा र अनुभवहरू सुनिन्थे। कसैले धान काट्ने बेला भेटेको कुरा सुनाउँथ्यो, कसैले साँझ घर फर्कँदा बाटो काटेको अनुभव बाँड्थ्यो। तर सुखद कुरा के थियो भने, हाम्रो गाउँमा नागको टोकाइका कारण कसैको मृत्यु भएको मैले सुनेको थिइनँ। यसले देखाउँछ गाउँलेहरूको सतर्कता, सीप र प्रकृतिसँगको समझदारी कति गहिरो थियो। आज लगभग २० वर्षपछि, यो तस्वीर हेर्दा ती सबै दिनहरूको सम्झना फेरि ताजा भयो।
गत वर्ष म लामो समयपछि आफ्नो गाउँ गएको थिएँ। बाल्यकालमा खेतको छेउछाउमा प्रायः देखिने त्यो कालो गोमन सर्पलाई भेट्ने उत्सुकता मनमा लिएर हिँडेको थिएँ। तर मेरो आशा विपरीत न त खेतमा, न त बारीमा, कतै पनि त्यो प्रजाति देखिनँ। गाउँलेहरू चिया पसलमा जम्मा हुँदा नागको कथा सुनिने परम्परा पनि हराएजस्तै लाग्यो। मानौँ गाउँको एउटा पुरानो अध्याय ढिलो चाँडो बन्द हुँदै गइहरेको छ।
सामाजिक सञ्जालहरूमा पनि यो प्रजातिको सर्पको फोटोहरू आक्कलझुक्कल मात्र आउने गर्छन्। अपवाद स्वरूप केही उद्धारकर्ताले मात्र कहिलेकाहीँ पोस्ट गरेको हुन्छन्। यसरी यस प्रजातिको न्यून उपस्थितिले यसको अवस्थाबारे गम्भीर प्रश्न उठाउँछ।
मैले केही पुराना साथीहरूलाई सोध्दा उनीहरूले पनि यो प्रजाति हाल भेट्न गाह्रो भएको बताए। ‘अब त त्यस्तो नाग देख्दैनौँ’ भन्ने उत्तर सुन्दा मनमा अनेकौँ प्रश्नहरू उम्लिए।
के यो प्रजाति साँच्चै नै हराउँदै छ? कि यो बस् हाम्रो नजर वा जनजीवनबाट टाढा सारिएको छ?
२० वर्षअघि गाउँमा हरेक वर्ष कम्तीमा केही पटक यससँगको भेट अनिवार्य जस्तै हुन्थ्यो। खेतमा काम गर्ने, गाई–गोरु चराउने वा गाउँको बाटो हिँड्दा यसलाई देख्ने अनुभव सामान्य थियो। तर अहिले त्यसको कुनै छाप छैन।
दक्षिण एसियामा भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र भुटान कालो गोमनको मुख्य वासस्थान क्षेत्र हुन्। यसबाहेक, केही स्थानमा मानव गतिविधिका कारण यो अनौपचारिक रूपमा स्थानान्तर भएको पनि देखिन्छ। नेपालमा यसको वासस्थान विशेष गरी तराई र चुरे क्षेत्रमा केन्द्रित छ। तराईका जिल्ला— झापा, मोरङ, सप्तरी, धनुषा, महोत्तरी, पर्सा, चितवन, बारा, रुपन्देही, बाँके र कैलालीसम्म यसको उपस्थितिको तथ्याङ्क पाइन्छ। कहिलेकाहीँ पहाडी भेगमा पनि देखिने भए तापनि यसको मुख्य आवास भने तराईमै हो।
कालो गोमन सामान्यतया कृषि क्षेत्र, मानव बस्ती नजिक, वन किनारा, घाँसे मैदान र नदी किनार वरिपरि पाइन्छ। यसको शरीरको रङ हल्का खैरोदेखि कालोसम्म फरक–फरक देखिन्छ। औसत लम्बाइ १.५ देखि २ मिटरसम्म हुन्छ तर केही अवस्थामा २.५ मिटरभन्दा लामो पनि पाइन्छ। यस प्रजाति रात्रिचर भए पनि बिहान वा साँझमा सक्रिय हुने गर्दछ।
सकेसम्म मान्छेलाई नटोक्ने, यो सर्प आफू खतरामा परेपछि यसले आफ्नो टाउको उठाएर फण फैलाउने र फुफकार्ने गर्दछ। यसले प्रायः चेतावनी मात्र दिन्छ, आक्रमण अन्तिम उपायको रूपमा मात्र गर्छ। मुख्य आहारमा मुसा, भ्यागुतो, साना चराहरू र अन्य साना जनावर पर्छन्। मुसा नियन्त्रण गर्ने क्षमताका कारण यो अप्रत्यक्ष रूपमा कृषकको साथी पनि हो।
मैले गरेको अध्ययन र अनुसन्धानका आधारमा भन्नु पर्दा, यो सर्प लोप हुँदै जानुको मुख्य कारण सर्पको वासस्थानमा मानवीय अतिक्रमण नै हो। नेपालको तराई क्षेत्र हाल तीव्र सहरीकरण र पूर्वाधार विकासको दबाबमा छ। कृषि जमिनलाई सडक, बजार र आवासीय क्षेत्रमा रूपान्तरण गर्ने क्रममा कालो गोमन सर्पको प्राकृतिक वासस्थान खुम्चिँदै गएको छ।
खेतका किनार, झाडी र घाँसे मैदान यसको लुक्ने र सिकार गर्ने प्रमुख स्थान हुन्। तर यी भू–भागहरू क्रमशः हराउँदै गएका छन्। यस प्रजाति प्रायः ताल, पोखरी, इनार, नदी तथा साना जलस्रोत नजिकै बस्न रुचाउँछ किनकि त्यहाँ मुसा, भ्यागुतो र अन्य साना जीवजन्तु प्रशस्त पाइन्छन्।
तर पछिल्ला वर्षहरूमा ती प्राकृतिक जलस्रोतहरू पनि मानव बसोबास विस्तार, भूमिगत पानीको अत्यधिक दोहन, प्रदूषण र जलवायु परिवर्तनका कारण क्रमशः सुक्दै वा हराउँदै गएका छन्। यसले गोमनको आहार, प्रजनन स्थल र आश्रय सबैलाई प्रत्यक्ष असर पुर्याएको छ। फलस्वरूप, वासस्थान मात्र नभई पानीसँग सम्बन्धित सम्पूर्ण पारिस्थितिक प्रणाली कमजोर बन्दै गएकाले कालो गोमन सर्प अझ बढी जोखिममा परेको छ।
कृषिमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले पनि कालो गोमनलाई अप्रत्यक्ष रूपमा गम्भीर असर पुर्याइरहेको छ। मुसा, भ्यागुतो र अन्य साना जनावर यसको मुख्य आहार हुन्। तर विषादी प्रयोगले यी जीवहरूको सङ्ख्या घटाउँछ, जसको परिणाम स्वरूप गोमनको आहार स्रोतमै ह्रास हुन्छ। साथै विषादी मिसिएको सिकार खाने क्रममा सर्प आफैँ पनि विषाक्त हुन सक्छ। यसरी कृषिमा रासायनिक निर्भरता बढ्दै जाँदा गोमनको दीर्घकालीन अस्तित्व संकटमा पर्न सक्छ।
त्यस्तै, कतिपय गाउँहरूमा सर्प देख्ने बित्तिकै मार्नु पर्ने धारणा अझै पनि प्रबल छ। विषालु भएको डरले वा परिवारलाई जोखिममा पार्ने सोचाइले धेरैजसो मानिसहरूले गोमन भेट्दा तुरुन्तै मार्ने गर्छन्। तर वास्तवमा सर्प प्रायः आत्म–रक्षात्मक व्यवहार देखाउँछ र अनावश्यक रूपमा आक्रमण गर्दैन। यस्तो द्वन्द्वका कारण धेरै गोमन अनावश्यक रूपमा मर्ने गर्छन्। दीर्घकालीन रूपमा यसले यसको जनसंख्या कम गरिरहेको छ।
गोमनलाई धार्मिक दृष्टिले नाग–देवताको रूपमा पूजा गर्ने परम्परा पनि छ। नागपञ्चमी वा अन्य अवसरमा गोमनलाई जबरजस्ती समातेर प्रदर्शन गर्ने, दूध खुवाउने वा वासस्थानबाट निकाल्ने अभ्यास अझै पनि कतिपय ठाउँमा देखिन्छ। यस्ता क्रियाकलापले सर्पलाई अनावश्यक तनाव, चोटपटक र मृत्यु समेत निम्त्याउँछ। साथै गोमनको छाला, विष र शरीरका अङ्गहरूको अवैध व्यापार पनि यसको लागि खतरा बनेको छ। विषको माग अन्तर्राष्ट्रिय बजारमा औषधि वा अनुसन्धान प्रयोजनका लागि हुने हुँदा चोरी–सिकारी बढ्ने सम्भावना रहन्छ।
कालो गोमन केवल एउटा सर्प मात्र होइन, तराईको कृषिजन्य प्रणालीमा मुसा नियन्त्रण गर्ने प्राकृतिक नियन्त्रक हो। साथै यो धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ। नेपालमा यसको जनसंख्या र वासस्थान क्षेत्र क्रमशः घट्दै गएको संकेत देखिएकाले वैज्ञानिक अनुसन्धान, संरक्षण सचेतना र स्थानीय समुदायको सहकार्य अत्यावश्यक छ। यसलाई संरक्षित राख्न सके भविष्यका पुस्ताले पनि तराईको खेत, वन-जंगल तथा खोला-नालाहरूमा कालो गोमन देख्ने अवसर पाउनेछन्।
(लेखक अमेरिका स्थित ओक्लाहोमा पानह्यान्डल स्टेट विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा कार्यरत छन्।)