गाउँ कहिल्यै नसुक्ने सम्झनाको फूलबारी। बिहानै भालेको डाँकोसँगै हलो काँधमा बोकेर बाबु खेततिर लाग्ने दृश्य, आमा हातमा कोदाली र काँधमा जुवा बोकेर पछ्याउने दृश्य, गोरु धपाउने दाइको हो-हो आवाज, ठाइँलीको झ्याउरे गीत— यी सबै केवल दृश्य मात्र थिएनन्, त्यो हाम्रो जीवनशैली, हाम्रो संस्कृतिको जरा थियो।
खेतमा पसिनासँगै मिसिएको हिलो, भ्यागुताको टरटर, चराचुरुङ्गीको चिरबिर अनि मुरी फलाउने सपना बोकेका आमाबाबुको अनुहारमा गाउँको आत्मा प्रस्ट देखिन्थ्यो। तर अहिले करिब २ वर्षपछि गाउँ फर्किँदा त्यो आत्मा कतै हराएको अनुभूति हुन्छ।
बाटाहरू फराकिला भइसकेका छन्, केही घर पक्की बनेका छन्, मोबाइल टावर र इन्टरनेट पुगेका छन्। आधुनिकताको पहुँच देखिन्छ तर गाउँको धड्कन हराइसकेको छ। खेतबारी बाँझो छन्, बालापनमा भकुन्डो खेल्ने चउरहरू झाडीले ढाकिएका छन्, बस्तीहरू सुनसान छन्। युवाहरू सहर र विदेशमा हराइसकेका छन्, वृद्ध आमाबाबु आँखा रसाउँदै बाटो कुरेर बस्छन्— ‘कहिलेसम्म फर्कने हुन्?’ भन्ने प्रश्नमा अल्झिएर।
नेपालको तथ्यांकले पनि यिनै कुरालाई पुष्टि गर्छ। ग्रामीण जनसंख्या तीव्र गतिमा घटेको छ। २०७८ सालको जनगणनामा ग्रामीण क्षेत्रमा करिब ३४ प्रतिशत जनसंख्या छ भने सहरी क्षेत्रमा ६६ प्रतिशतमा झरेको छ। विदेशी रोजगारको तथ्यांकले २०८०/८१ मा मात्र करिब ७ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएर विदेशतिर लागेका छन्। यसले गाउँमा काम गर्ने हात घट्दै गएको, खेत बाँझो हुने र बस्ती झन् सुनसान हुने अवस्थालाई बल पुर्याएको छ।
सबैभन्दा पीडादायी पक्ष परम्पराको विसर्जन हो। ढिकी, जाँतो, ढिँडो, गुन्द्रुक, गोरु, पराल, झ्याउरे गीत— यी शब्द अहिलेका बालबालिकाले बिरलै सुन्न पाउँछन्। पहिले गाउँका बुढापाकाले ओखती जान्थे, रोग पत्ता लगाउँथे, लोककथा सुनाउँथे, संस्कार बाँड्थे। आज ती ज्ञान पुस्तान्तरण हुन नपाउँदै हराउँदै गएका छन्। राँकोको उज्यालोमा देखिने सामूहिक जीवनशैली, आज एलइडीको उज्यालोमा पनि तितो एक्लोपनमा परिणत भएको छ।
गाउँसँग मेरो व्यक्तिगत सम्बन्ध अझै नाडी छाम्ने परम्परासँग गाँसिएको छ। सानोमा हजुरआमाले आफन्तको नाडी छामेर रोग पत्ता लगाउँदा मलाई लाग्थ्यो— नाडी भनेको केवल शरीरको ताल होइन, जीवनको लय हो। जनयुद्धको वर्षहरूमा सेनाले र माओवादीले बाबुको नाडी छाम्दा हाम्रो परिवारको मुटु एउटै तालमा डरले धड्किन्थ्यो।
पछि विद्यार्थी आन्दोलनमा नेताको हात समाउँदा त्यो नाडीमा क्रान्तिको तातोपन देखेँ, केही वर्ष बैंकमा जागिर गर्दा व्यापारीहरूको नाडीमा संघर्ष र दृढता भेटेँ, स्थानीय र संघको चुनावमा नि होमियो। राजनीतिज्ञहरूको नाडीमा लोभ र डर मिसिएको चाल देखेँ। अहिले परदेशमा बसेर विदेशीहरूको नाडी छाम्दा बुझेँ— सबैभन्दा कठोर समीक्षक भनेको समय आफैँ हो रहेछ। समयले नै कसैलाई हिमालजस्तै अडिग, कसैलाई सागरजस्तै गहिरो अनि कसैलाई क्षणिक तरङ्गमा मात्र सीमित बनाउँछ।
यही समयले देखाएको अर्को वास्तविकता हो— हामीले विकासको नाममा गाउँलाई छाड्यौँ। गाउँ छोड्नु गलत होइन तर जरा उखेल्नु अवश्य गल्ती हो। सहर र विदेशको आकर्षणले हामीलाई तानेर लग्यो तर त्यो क्रममा हामीले संस्कृतिलाई ओझेलमा पार्यौँ। सहरमा बस्दा जीवन सहज लाग्छ होला तर हाम्रो पहिचानको जरा त गाउँकै माटो हो। त्यो माटो सुक्दै जाँदा हाम्रो अस्तित्व पनि धमिलिँदै जान्छ।
यसरी भन्न सकिन्छ कि गाउँ अब केवल भौगोलिक नाम होइन, त्यो हाम्रो आत्मा हो, हाम्रो इतिहास हो, हाम्रो पहिचान हो। गाउँमा फर्कनु भनेको केवल खेत जोत्नु होइन, त्यो त गुम्दै गएको संवेदनाको पुनर्जागरण हो। विकासलाई स्विकार्दै पनि परम्परा र संस्कृतिलाई जोगाउँदै अघि बढ्नु आजको आवश्यकता हो।
अझै ढिलो भएको छैन। हामी फर्कन सक्छौँ— शब्दमा, कर्ममा र संस्कारमा। ढिकी, गोरु, झ्याउरे गीत, कोदो, पराल, गाउँका चउरहरू— यी सबै हामीभित्र पुनर्जागरण हुन सक्छन्। गाउँलाई फेरि गाउँ बनाउने संकल्प लिनै पर्छ, होइन भने हामी आधुनिकताको शून्यतामा हराउने छौँ।
गाउँको आत्मा बचाउनु अबको पुस्ताको जिम्मेवारी हो। जबसम्म त्यो आत्मा बाँचिरहन्छ, हामी पनि हाम्रो पहिचानसहित बाँची रहनेछौँ।