आजको पुस्ता अवसरले भरिएको छ, तर त्यत्तिकै चुनौतीले पनि घेरिएको छ। प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको प्रभाव, र छिटो सफल हुने चाहनाले धेरै युवाहरूलाई छोटो बाटो रोज्न प्रेरित गरिरहेको देखिन्छ। तर, वास्तविकता के हो भने– सफलता कहिल्यै सजिलो बाटोबाट आउँदैन। त्यसका लागि धैर्यता, अनुशासन, निरन्तर प्रयास र सबैभन्दा महत्वपूर्ण, संघर्ष सहने क्षमता आवश्यक हुन्छ।
यस सन्दर्भमा एउटा गहिरो सन्देश बोकेको कथा हाम्रो जीवनसँग अत्यन्तै सान्दर्भिक छ। धेरै समय पहिलेको कुरा हो, एक प्रख्यात मूर्तिकार सुन्दर मूर्तिको खोजीमा जंगलतिर गएका थिए। जंगलको बीचमा उनले दुई वटा ठूला र आकर्षक ढुंगाहरू फेला पारे। ती ढुंगाहरूलाई देख्नेबित्तिकै मूर्तिकारको मनमा एउटा सुन्दर विचार आयो, ‘यी ढुंगाहरूबाट म भगवानको भव्य मूर्ति बनाउनेछु।’
उनले ती दुवै ढुंगालाई आफ्नो कार्यशालामा ल्याए।
मूर्तिकारले आफ्नो औजार निकाले र पहिलो ढुंगामाथि छिनो–हतौडाले प्रहार गर्न सुरू गरे। मूर्तिको आकार दिनका लागि जब उनले पहिलो चोट हाने, ढुंगा पीडाले छटपटाउन थाल्यो। केही समयको प्रहारपछि ढुंगाले सहन सकेन र रूँदै भन्यो, ‘मलाई छोडिदिनुस्! यो पीडा म सहन सक्दिनँ। मलाई आकार चाहिएन, म जस्तो छु त्यस्तै ठीक छु। कृपया मलाई दु:ख नदिनुस्।’
मूर्तिकारलाई दया लाग्यो। उनले त्यो ढुंगालाई एक छेउमा पन्छाए र दोस्रो ढुंगामाथि काम सुरू गरे। जब उनले दोस्रो ढुंगामा चोट हान्न थाले, त्यो ढुंगालाई पनि उस्तै पीडा भयो। तर, त्यो ढुंगाले मनमनै सोच्यो– ‘मूर्तिकारले मलाई केही राम्रो बनाउन खोज्दै हुनुहुन्छ, त्यसैले यो पीडा मैले सहनै पर्छ।’
ढुंगा शान्त रह्यो। मूर्तिकारले महिनौंसम्म छिनो र हतौडाको प्रहार गरिरहे, ढुंगाले सबै पीडा सहिरह्यो। अन्ततः, केही समयपछि त्यो साधारण ढुंगा एउटा अत्यन्तै भव्य र लोभलाग्दो भगवानको मूर्तिमा परिणत भयो।
गाउँमा एउटा नयाँ मन्दिर निर्माण भएको थियो। गाउँलेहरू मूर्तिकारकोमा आए र त्यो सुन्दर मूर्तिलाई सम्मानका साथ लगेर मन्दिरको गर्भगृहमा स्थापित गरे। पूजाआजा सुरू भयो। अब सबै मानिसहरू त्यो मूर्ति (दोस्रो ढुंगा) को अगाडि शिर झुकाउँथे, फूलपाती चढाउँथे र श्रद्धापूर्वक प्रार्थना गर्थे।
तर कथा यहाँ सकिँदैन। गाउँलेहरूलाई मूर्तिमा चढाउनका लागि नरिवल फोड्ने एउटा दह्रो आधारको आवश्यकता पर्यो। उनीहरूले मूर्तिकारकोमा बाँकी रहेको त्यही पहिलो ढुंगा सम्झिए, जसले पीडा सहन नसकेर बीचैमा हार मानेको थियो। उनीहरूले त्यो ढुंगा ल्याएर मन्दिरको ढोका बाहिर भुइँमा राखिदिए।
अब अवस्था यस्तो भयो– जो कोही भक्तजन मन्दिर आउँथे, उनीहरू भित्रको मूर्तिको पूजा गर्थे र बाहिरको त्यही पहिलो ढुंगामाथि जोडले नरिवल बजार्थे। पहिलो ढुंगाले हरेक दिन हजारौं पटक नरिवलको चोट खानु पर्थ्यो। एकदिन दु:ख सहन नसकेर पहिलो ढुंगाले मूर्तिसँग सोध्यो, ‘तिम्रो भाग्य कति राम्रो! सबैले तिमीलाई पुज्छन्, तर मलाई किन सधैं चोट मात्र दिन्छन्?’
मूर्तिले मुस्कुराउँदै जबाफ दियो, ‘मित्र, यदि तिमीले सुरूमा मूर्तिकारको छिनो र हतौडाको केही समयको पीडा सहेको भए, आज तिम्रो ठाउँमा म र मेरो ठाउँमा तिमी हुने थियौ। तिमीले छोटो समयको कष्ट सहन नसक्दा जीवनभरको चोट उपहार पायौ।’
आजको युवापुस्ताले बुझ्नुपर्ने मुख्य कुरा के हो भने जीवनका कठिनाइ, असफलता र संघर्ष सजाय होइनन्, सफलताको प्रक्रिया हुन्। धेरैले सजिलो बाटो खोज्छन्, तर चुनौतीसँग ठोक्किँदा हतास भएर प्रयास छोड्छन्। यहीँबाट सफल र असफलबीचको फरक देखिन्छ।
विद्यार्थी जीवनमा पढाइको दबाब, प्रतिस्पर्धा र परिवारको अपेक्षा चुनौतीजस्तै हुन्। जसले समय व्यवस्थापन गर्दै निरन्तर मेहनत गर्छन्, उनीहरू सफल हुन्छन्, तर नक्कल, आलस्य र ध्यान विचलनले पछि पछुतो दिन्छ।
करियरमा पनि छिटो सफलता सम्भव छैन। हरेक सफल व्यक्तिको पछाडि लामो संघर्ष र निरन्तर प्रयास हुन्छ। सामाजिक सञ्जालले अरूको सफलता मात्र देखाउँछ, त्यसको पीडा र मेहनत होइन। त्यसैले तुलना नगरी आफ्नै लक्ष्यमा केन्द्रित हुनु आवश्यक छ।
सफलताका लागि धैर्यता र अनुशासन अनिवार्य छन्। ठूला उपलब्धि समयसँगै आउँछन्। नियमित मेहनत, स्पष्ट लक्ष्य र निरन्तरता नै सफलताको आधार हुन्।
असफलता अन्त्य होइन, सिक्ने अवसर हो। त्यसबाट पाठ सिकेर अघि बढ्ने व्यक्ति नै अन्ततः सफल हुन्छ।
मूर्तिकारको कथामा जस्तै, जीवनले हामीलाई दुई विकल्प दिन्छ– या त सुरूको पीडा सहेर उत्कृष्ट बन्ने, या त पीडाबाट भागेर साधारण रहिरहने। निर्णय हाम्रो हातमा छ। हामी कुन ढुंगा बन्न चाहन्छौं? त्यो ढुंगा जसले केही समयको पीडा सहेर पूजनीय बन्यो, वा त्यो ढुंगा जसले पीडाबाट भागेर जीवनभर चोट खायो?
आजको पुस्ताले यो कुरा गहिरो रूपमा बुझ्न आवश्यक छ कि सफलता कुनै दुर्घटना होइन, यो एक प्रक्रिया हो। त्यो प्रक्रियामा संघर्ष, त्याग, अनुशासन र धैर्यता अनिवार्य हुन्छ। यदि तपाईं आज कठिनाइबाट भाग्नुभयो भने, भोलि जीवनले अझ ठूलो चुनौती दिन्छ। तर, यदि तपाईं आज साहसका साथ संघर्ष गर्नुभयो भने, भोलि सफलता तपाईंको हुनेछ।
अन्ततः, जीवन एउटा यात्रा हो जहाँ प्रत्येक चुनौतीले हामीलाई केही सिकाउँछ। संघर्षले हामीलाई बलियो बनाउँछ, पीडाले हामीलाई परिपक्व बनाउँछ र असफलताले हामीलाई सफलताको मूल्य बुझाउँछ। त्यसैले, संघर्षसँग नडराउनुहोस्। त्यसलाई स्वीकार गर्नुहोस्, त्यसबाट सिक्नुहोस् र अघि बढ्नुहोस्। किनकि, आज तपाईंले सहनुभएको प्रत्येक चोट, भोलिको सफलताको आधार बन्न सक्छ।
(लेखक नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुन्।)