म्याडमले मलाई गरेको त्यो ‘बत्ती पानी बिग्रे बनाउन आउँछ’ भन्ने प्रश्नले मलाई झकझकायो र लेख्न बाध्य बनायो। उहाँले बिहानै बिजुली बिग्रेर माइक्रोवेभ नचलेपछि आफै बिजुलीको प्लग चेक गर्ने प्रयास गर्नुभएछ। मेन स्विच अफ गरेर बिग्रेको बत्ती बनाउनु भएछ। त्यो बेला उहाँलाई गर्व लागेछ, सिपले मानिसलाई मूल्यवान् गर्वित बनाउँछ।
कतिपय आफै गर्न सकिएला, कतिपय समय मिस्त्री नै बोलाउनुपर्छ। यो कुरा पस्केर ठिक गरे गरिनँ थाहा छैन, तर म मेरो मनको कुण्ठा शान्त पार्न चाहन्छु। दुनियाँलाई बुझाउन चाहन्छु कि हामीले बच्चालाई व्यवहारिक ज्ञान दिनु पर्यो। सत्य लुकाएर कतिन्जेल बाँच्ने आखिर धरातलमा आउन पर्छ।
प्रश्न सहज, उत्तर कठिन, पढ्न त पढे, अभिभावकले पैसा तिरे पढाए, तर के पढाए? म आफूले पनि के पढेँ के भन्न लाज लाग्छ। दुई/तीन वटा डिग्री छ तर जीवनमा काम लागेन।
क्या पढाते हो लोग क्या पढ्ते हो लोग, सधैँ स्वर्गीय डिट्ठावाले गर्ने प्रश्न थियो मलाई। हो त रहेछ, अहिले थाहा पाएँ। तर के गर्ने अझै सास छउन्जेल आस हुन्छ भन्दछन्, बत्ती पानी बिग्रँदा मात्र यो याद आउँछ। अरू बेला बिर्सन्छु।
छेपारोको घर बनाउने उखान जस्तो दिनभर चर्को घाममा बसेर ढाड सेकाउन पाएपछि छेपारोले बिर्सेझैँ हामी सकल दुनियाँ पनि दिनभर काममा जुटेपछि सबै बिर्सन्छौँ। बिर्सने बानीले देशै नै सकाइसक्यो, चाहे नेताको बदमासी होस् या कर्मचारीले दिएको हैरानी या छोराछोरीको अटेरीपना, हामी उपचार गर्न बिर्सन्छौँ। समयमा नै घाउ ननिचोरेपछि पिलोले दुःख दिए झैँ अन्य विषयले पनि पीडा दिन्छ।
पढ्दै कमाउँदै भन्ने पोस्टरहरू विद्यालय र कलेजतिर धेरै भेट्छु। राम्रै धारणा हो जस्तो लाग्छ। तर पढ्ने काम गर्ने काम सँगै लैजान अलिक कठिन छ; कोही अब्बल बच्चाले त गर्ला तर सबैमा लगाउन गाह्रो छ। यो सायद स्नातक पढ्दै गरेका बच्चालाई होला तर हामी यो सिक्ने कुरा प्राथमिक विद्यालय नै देखि लगाउनुपर्छ भन्ने मान्यता राखौँ, सायद कत्तिलाई यो मन नपर्ला। हुन त स्टेम भनेर विद्यालयले गराइरहेका पनि छन्। त्यो विज्ञान प्रविधिमा बढी केन्द्रित छ।
बच्चामा ५, ६ कक्षामा पूर्व व्यावसायिक शिक्षा, खाद्य विज्ञान पढेको याद छ। माटोका सामान बनाउन पर्दथ्यो। बत्ती पानीको कुरा त त्यो बेला हुने नै भएन किनकि न त्यो बेला कसैको घरमा बत्ती थियो न त धारा नै।
दिदीहरूले होम साइन्सको प्राक्टिकल गर्नुहुन्थ्यो, समोसा बनाउनुहुन्थ्यो। हामीलाई तरकारीको बारीमा कसरी ड्याङ पार्ने आदि पनि सिकाइन्थ्यो। तरकारी रोप्न सिकाइन्थ्यो। अहिले नयाँ शिक्षा आयो यताको न उताको, अलपत्र जस्तो छ। यस्तो भन्दा शिक्षाविद् र विद्धानलाई मुटु पोल्ला। सत्य यही हो, हामी हाम्रो बच्चालाई पढाइका नाममा बिच खोलामा पठाउँदै छौँ, यता को त उताको। बग्ने, डुब्ने, पारी नतर्ने खतरा छ।
टोलको एकजना अंकल भन्दै हुनुहुन्थ्यो- प्लम्बर तथा इलेक्ट्रिसियनको तालिम नलिई भएन, सिटिभिटीतिर बुझ्न जान पर्यो। सबै घरमा यही हालत छ। प्लम्बर महासयलाई भेट्न गाह्रो, शुल्क महँगो, उता बिजुली बिग्रे हालत उही छ। हामीले पढेको के काम लाग्यो केबल गोठालो बन्न, तनखा थाप्न, टाई लगाउन मात्र हो?
अचेल विद्यालय तिर नौ/दश कक्षामा स्किल सिकाउने हुटहुटी चलेको त छ तर मोबाइल खेल्न पल्केका बालखाहरूलाई कता प्लम्बिङ तथा इलेक्ट्रिसियन सिकाउने कठिन नै छ। यसो भन्दा प्रविधि विरोध भन्लान्, मतलब छैन, सत्य तितै हुन्छ।
शिक्षा व्यवहारिक हुनुपर्छ। कोरा कागजी ज्ञानले बेडा पार लाग्दैन सबैले भन्दछौ तर छेस्को कसैले भाँच्दैनौँ। बर्दियाको कुन स्कुलमा हो, स्कुले बच्चाले तरकारी रोपेर बेचेर स्कुललाई आम्दानी गराएका छन् रे। यदाकदा मिठा समाचार सुनिन्छ मात्र, यतिले पुगेन सबैतिर अभियान आउन पर्यो।
जीवनोपयोगी शिक्षा भनिन्छ आखिर के हो त? विज्ञानका सूत्र, गणितका सूत्र घोक्ने, जाँच दिने, लेख्ने ए-प्लस ल्याउने, मार्कसिट बोक्ने, कन्सल्टेन्सी धाउने, आफूलाई विदेशमा बेच्ने, बेच्न नपाएकाहरू डिप्रेसनको सिकार; समाज कता गयो? समाजका अगुवा बुद्धिजीवी कता लागे? के सिकाए? के गराए? राज्यका नीति कहाँ गए? बस् गोठालो शिक्षा पढायो पुग्यो।
कुनै बेला लामा स्कुलमा मास्टरी गर्दा त्यहाँका नेर्पा अर्थात् मेनेजरले लामाहरूलाई तोर्मा बनाउन सिकाएको, रातो माटो बोक्न, खन्न पठाएको, पेचा पढाएको याद छ जुन लामाले गर्न पर्ने कर्म हो। तर हामी कर्म विमुख हुँदै बच्चाको भविष्य बिगार्दै छौँ। विद्यालय पाठ्यक्रम बनाउने विद्धान, शिक्षक, अभिभावक, विद्यार्थी सबै दोषी छौँ। सजाय भोगिरहेका छौँ। यो विषयमा सबै विज्ञ जानकार छौँ तर समाधान खोज्ने आँटको कमी छ। न त सुझाव सुन्ने निकाय नै छ।
कामको आधारमा भेदभाव गरिने भएकाले पनि सिप सिक्न कोही चाहन्नन्। बिजुली बनाउने, प्लम्बिङ गर्ने काम जानेर के काम? हामीले यतिका पढेको के काम लाग्यो? प्लम्बिङ इलेक्ट्रिसियन बन्ने भए पढ्नै पर्दैन भन्ने बच्चाहरू पनि छन्।
बिजुली पानी त सामान्य उदाहरण हो। आइए र बिए गरेका बाबुनानीलाई सरकारी अट्ठामा दर्खास्त लेख्न, निवेदन लेख्न आउँदैन। सरकारी कर्मचारीहरू बाहिर बसेका मान्छेबाट लेखाएर ल्याउनुस् भन्दछन्। सिकाउने र बुझाउने संस्कार फुर्सद कसैलाई छैन।
सिक्ने सिकाउने संस्कार कसैमा छैन। सिक्ने पनि भगीरथ प्रयास चाहिन्छ, सिकाउनेको चाहानाले मात्र पुग्दैन। सिप सिकाऊ, सबल बनाऊ। बच्चाहरूलाई उनीहरूको शारीरिक क्षमताले भ्याउने काममा लगाऊ। जसबाट उनीहरू सिक्न सकुन्। यो कुनै बाल श्रम हुँदैन। मानिसको जीवनमा हरेक कुराको महत्त्व छ। सिक्ने कुरा पनि उमेरको कारणले फरक पार्दछ। बच्चाको उमेरमा सबै कुरा छिटो सिक्न सकिन्छ।
हरेक घरमा अहिलेका बच्चालाई बाआमाले गराउने काम भनेको मेरो मोबाइल के भयो हेर त, वाइफाई किन आएन हेर त? मेरो मोबाइलको चार्ज कति भयो हेर त, मेरो मोबाइल चार्जमा राख त, राइडर बुक गर त, अनलाइनमा टिकट हेर त आदि।
यस बाहेक ग्यास बन्द गर त, कति सिटी लाग्यो कुकुरले हेर त, पानीको मोटर बन्द गर त, सिरक पट्याऊ, बिस्तारा मिलाऊ, दूध लिएर आऊ, फोहर आयो कि हेर त आदि।
कहाँको बिग्रे भत्केको मर्मतको कुरा गर्नु, त्यो त कुनै अभिभावकले पनि सायदै गराउँदैनन्। यसमा डर, भय र त्रास पनि छ। करेन्ट लाग्ला कि, चोट लाग्ला कि, यसैले हामी हाम्रा सन्तानलाई सधैँभर बच्चा नै बनाएर राख्छौँ। नागरिकता लिने उमेरसम्म सिप त परै जाओस् भात पकाउन, चिया पकाउन, अन्डा उसिन्न समेत जान्दैनन्। यसैले विद्यालयले पनि मनन गरौँ। शिक्षाविदले जानौँ, हामी बच्चालाई नयाँ शिक्षाको नाउँमा कतै असक्षम त बनाउँदै छैनौँ।
सिप अनुभवबाट आउँछ भने शिक्षा संस्थाबाट प्राप्त गर्न सकिन्छ। यस कारण सिपका लागि विद्यालयहरूले बच्चालाई व्यवहारिक ज्ञान दिनु पर्यो जसमा सिकेको कुराले जीवन सहज बनाउँछ, बाच्नका लागि सिपले सहयोग गर्दछ।