वसन्त ऋतुको रमाइलो मौसम छ। लालीगुराँसहरू निख्रिएर फुलेका छन्। बादलहरूले पनि लालीगुराँसझैँ हाँस्न सिकेका छन्। हावामा एउटा आनन्दको लहर महसुस हुन्छ। यसरी वसन्तले आफूसँग निखार, आनन्दभाव र रमाइलोपन ल्याएर सम्पूर्ण वातावरणमा सन्तोष छरेको छ।
यस्तै मनमोहक दिनचर्यामा सरोज पनि खुब रमाएको छ। पेसाले ऊ शिक्षक भए पनि आत्माले कवि हो। गणतन्त्र, विद्रोह र स्वतन्त्रताका विषयमा कविता लेख्ने कवि होइन; किन्तु प्रेम, प्रकृति, सौन्दर्य र आदर्शका कविता लेख्ने कवि।
बिहानको चियाको चुस्की लिँदै ऊ बगैँचामा बसिरहेको छ। तातो चियाको केही अंशले उसको ओठलाई स्पर्श गरेर त्यसको मिठासको आनन्द लिन नपाउँदै उसको दृष्टि भर्खरै उदाएको सूर्यमाथि पुग्यो। न्यानो प्रकाश छर्दै गरेको सूर्यले सुन्दर प्रकृतिले भरिपूर्ण त्यो भूमिलाई अलकापुरी नगरीभन्दा कम देखाइरहेको थिएन। फूलहरूले अझ मिठो सुवास छरिरहेका थिए। पहाडपछाडि लुकेको हिमालको टुप्पो सुनमय देखिन्थ्यो र त्यहाँबाट निरन्तर नथाकीकन बगिरहेको नदीको पानी मोतीझैँ टलल्ल टल्किरहेको थियो।
त्यो दृश्य यस्तो थियो कि देख्नेहरूको मनभित्र लुकेर दुःख दिइरहेका सम्पूर्ण पीडाहरू हराऊन्, क्रोधको अग्नि निभोस् र मनभित्र जागोस् त केवल प्रेम। चन्दनपुरमा प्रकृतिले यसरी नै आफ्नो प्रभाव जमाएको थियो।
‘हेलो सर, गुड मर्निङ!’
पछाडिबाट सरोजलाई अँगालोमा बेर्दै अनन्या आइन्। उनी उसकी प्रेमिका हुन्। पेसाले उनी नर्स हुन् र केही महिनाअघि मात्र उनीहरू प्रेम सम्बन्धमा गाँसिएका थिए। परिचित स्पर्श र आवाज महसुस गरेर सरोज मुस्कुराउँदै अनन्यातर्फ फर्कियो।
‘गुड मर्निङ, लभ। आऊ, बस। अनि कतिबेला आयौ?’
‘भर्खर आएकी, हस्पिटल जान रेडी भएर। कतातिर एकटक भएर हेरिरहेको? आज पढाउन जाने सोच छैन कि क्या हो?’
‘त्यसो होइन। बस, बाहिरको यो मौसमको आनन्द लिँदैछु।’
‘आनन्द लिँदालिँदै बिरामी परिएला है। धेरै भयो, अब भित्र जाऊँ।’
‘हेर त, बिहे नभइकन घरमा लुखुरलुखुर आएकी छौ। डर लाग्दैन?’
‘केको डर हो र? अब घरमा बुहारी भएर आउने मनै त हो आखिर।’
‘हे प्रभु... उफ्!’
सरोज र अनन्याको प्रेमको सिलसिला एउटा महफिलबाट बुन्न सुरु भएको थियो। वास्तवमा सरोजको पहिचान शिक्षकभन्दा पनि कविको रूपमा बढी थियो। चन्दनपुरको एउटा काव्य महफिलमा सरोजको प्रेमरसले भरिएको कवितावाचनबाट अनन्या मुग्ध भएकी थिइन्।
भनिन्छ नि, भाग्यमा लेखेको रहेछ भने पूरा भएरै छाड्छ। महफिलमा आकर्षणको केन्द्र बनेको सरोजप्रति अनन्याको मनमा कुनै रहस्यमय ढंगले प्रेमको टुसा पलाएझैँ भयो। त्यसको केही हप्तापछि टिटानसको खोप लगाउन सरोज हस्पिटल जानुपर्यो। संयोगवश, त्यस दिन ड्युटी अनन्याकै थियो।
अनन्याले सरोजलाई त चिनिन् तर सरोजलाई उनी को हुन् भन्ने के थाहा? परन्तु फूल र माहुरीबीच पनि कुनै सिधा सम्बन्ध हुँदैन। एकअर्काका आधारस्तम्भ हुन् र प्राकृतिक आवश्यकता पनि। ठीक त्यसरी नै यी दुईबीच पनि कुनै अदृश्य सम्बन्धले आ–आफ्ना मनमा प्रेमको बीउ उम्राइदियो। त्यही बीउ अहिले बोट भएको थियो र समयसँगै त्यसले विशाल वृक्षको रूप लिने संकेत पनि देखिन्थ्यो।
कविहरू भावुक हुन्छन्। त्यो भावुकतामा मनका अनेक तरङ्गहरू पैदा भएका हुन्छन्। उही भावका सामु शरण लिन पुग्नेलाई कविले दिने भनेकै भरपूर संवेदना र प्रेम हो। सांसारिक तत्त्वहरूलाई केही समय पन्छाएर जीवनको यथार्थ बोध गर्न सक्ने सामर्थ्य एउटा असल कविभित्र हुन्छ।
सरोज पनि आदर्शवान् व्यक्ति थियो—प्रेमलाई भलिभाँती स्पर्श गर्न सिपालु कवि। तर अन्ततः ऊ पनि अपूर्ण र मिश्रित भावनाले भरिएको एउटा साधारण मनुष्य नै थियो। बाहिरी संसारसामु मानिस जति नै महान् देखिए पनि उसको भित्री संसार सधैँ त्यति सफा हुँदैन। कहिलेकाहीँ आफूले बनाएको आदर्शको भारमै मानिस आफ्नै कमजोरीबाट पराजित हुन्छ। सरोजको जीवनमा पनि त्यही हुन लागेको थियो।
सरोज विद्यालय पुग्दा केही हल्ला भइरहेको थियो। कुनै झडपको हल्ला होइन, स्वागत र हाँसोको हल्ला। विद्यालयका सबै शिक्षक–शिक्षिकाहरूले प्रिन्सिपल सरलाई घेरेका थिए। सर त्यहाँ एउटी युवतीलाई बुकी दिएर परिचय गराइरहेका थिए।
‘के हुँदैछ, सर?’
‘ए, उहाँ हाम्रो प्रिन्सिपल सरकी छोरी। आजदेखि यहीँ पढाउनुहुने रे!’
‘नाम के हो म्यामको? अनि कुन विषय पढाउनुहुन्छ रे?’
‘ईशा अधिकारी। साइन्स पढाउनुहुन्छ रे।’
सबैजना ईशालाई फूल दिन थाले। सरोजले पनि आफ्ना सहकर्मीहरूबाट फूल लिएर अगाडि बढ्यो। गोरी वर्ण, अग्ली, सलक्क परेको जिउडाल, हँसिलो ओठ, ठूला आँखा र सुरिलो आवाज। छोरी त प्रिन्सिपल सरले पाकै रहेछन्।
‘तपाईंलाई स्वागत छ हाम्रो विद्यालयमा।’
‘हस्... धेरै धन्यवाद।’
दिनहरू सरल लयमा बितिरहेका थिए। ईशा पनि अब सबैसँग घुलमिल हुन थालिसकेकी थिइन्। खै किन हो, तर उनीभित्र अरूलाई आकर्षित गर्न सक्ने एउटा छुट्टै क्षमता थियो। हँसिली, मजाकिया, सबैसँग मिल्ने—किन कोही आकर्षित नहोस्? यद्यपि सरोज र ईशाबीच औपचारिक कुराकानीबाहेक खासै गफगाफ भएको थिएन। सायद त्यसका लागि झरी परेको दिन नै जुरेको थियो।
त्यो दिन आकाशबाट पानी चुहिएर चिसो छाएको थियो। सबै घर जाने सुरमा थिए। कोही अभिभावक आफ्ना बालबच्चा लिन आएका थिए। सचेत भएर छाता ल्याउनेहरू पनि घरतिर लागिसकेका थिए। प्रायः सबै शिक्षकहरू घर गइसकेका थिए। सरोज पनि घरतिर लम्किन आँटेको थियो। हिँड्नै लाग्दा उसले देख्यो—अझै केही विद्यार्थी अभिभावकको प्रतीक्षामा थिए। ईशा म्याम पनि उनीहरूसँगै थिइन्। सरोज पनि त्यतैतिर गयो।
‘हेलो, म्याम।’
‘हेलो, सर। चिसो छ, होइन त?’
‘एकदम।’
‘अनि केही कविता जाओस् न त यो चिसो झरीमा।’
‘हजुर?’
‘तपाईं निकै राम्रो कविता वाचन गर्नुहुन्छ रे! सबैले त्यसै भन्नुहुन्छ। मलाई पनि सुन्न मन थियो।’
दुवै हाँसे।
‘अनि म्यामको चासो टिचिङमा कसरी आयो?’
‘मलाई यी बच्चाहरूसँग एउटा छुट्टै निकटताको महसुस हुन्छ। ड्याडले पनि यहाँ टिचरको आवश्यकता रहेको बताउनुभएको थियो। त्यही भएर पढाउन थालेँ। मलाई त खुब मनपर्छ यो पेसा।’
गफगाफ गर्दै जाँदा ईशा बिस्तारै सरोजको नजिक सर्दै गइन्। केही क्षणपछि उनले अकस्मात् सरोजको काखमा हात राखिन्।
‘आर यु स्टिल सिंगल?’
ईशाको स्पर्शले सरोज एकाएक चिसो भयो। मनभित्र कोलाहल मच्चियो। उसलाई अनन्याको अनुहार सम्झना आयो। एकछिनका लागि उसले ईशातर्फ हेर्यो। ईशाका आँखामा प्रश्न थियो। सरोजले नजर हटायो।
‘यस।’
एक शब्द। तर त्यो शब्दसँगै उसले पहिलो झूट बोल्यो।
त्यो जवाफ गलत थियो भन्ने उसलाई थाहा थियो। तर उसले त्यही गलत जवाफमा आफूलाई अड्याउन चाह्यो।
त्यस दिनपछि उनीहरूको बोलचाल बढ्न थाल्यो। सरोजले आफूलाई सम्झायो—यो केवल मित्रता हो। सबै ठीकै छ। अनन्यालाई किन भनिरहनुपर्यो र? हामी त सहकर्मी मात्र हौँ।
तर ईशाको सोच त्यस्तो थिएन। विद्यालयमा उनलाई सरोज सबैभन्दा आकर्षक पुरुष लाग्थ्यो। परिपक्व, शान्त, कवि—र अरूभन्दा केही फरक। दिनप्रतिदिन उनी आफूलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्दै थिइन्। सरोजलाई नै हेरिरहन मन लाग्ने, उसको कुरा सुन्न मन लाग्ने, ऊ नदेखिँदा अनौठो बेचैनी हुने।
अनि खै किन हो, सरोजले पनि ईशाको स्पर्शलाई अस्वीकार गर्न सकिरहेको थिएन। उसको सारा मन अनन्यामा एकीकृत थियो। र पनि, मनको कुनै कुनामा ईशाले ठाउँ ओगट्दै थिइन्।
अनन्या र सरोजबीच कुनै अनबन थिएन। प्रेम उस्तै थियो। विश्वास उस्तै थियो। तर सरोजभित्र कतै केही पग्लिरहेको थियो। मन नभई, थाहा नपाई, बिस्तारै ईशाका मिठा गफ सुन्ने उसलाई बानी पर्न थालेछ। उनको मुहार नदेख्दा मन बेचैन हुन थालेछ। त्यो सम्बन्ध मित्रताभन्दा अलि माथि उठ्न थाल्यो।
सरोज आफैँलाई रोक्न चाहन्थ्यो। तर आफूलाई रोक्ने हरेक प्रयासपछि उसले आफूलाई अर्को झूट सुनाउँथ्यो—‘केही भएको छैन। हामीबीच केवल मित्रता छ। म आफ्नो सीमा जान्दछु।’ तर सीमा पार गर्नुअघि मानिसलाई सीमा पार गरेको थाहा हुँदैन।
यता सरोजको मनभित्र भावनाहरू सल्किरहेका थिए। ऊ ईशालाई प्रेम गर्न चाहँदैनथ्यो, तर उनको स्पर्शलाई अस्वीकार पनि गर्न सक्दैनथ्यो। ऊ भित्रभित्रै फुट्न थालेको थियो। ऊ आफैँमा हराउन थालेको थियो। ऊ अब ऊ रहेन। मानौँ, ग्लानीले उसको आत्मालाई बिस्तारै खाइरहेको थियो। आफ्नी त्यति प्यारी प्रेमिका हुँदाहुँदै पनि सरोजको जीवनमा अर्को नारीको आगमन भएको थियो। अनन्याप्रतिको आफ्नो कर्तव्य भुलेर उसको प्रेम बाँड्ने साहस उसले आफ्नो कमजोरी र आत्मछलको आडमा गरेको थियो।
दिनहरू बित्दै गए। अनन्या बेखबर थिइन्। उनको भागको प्रेम कतै खर्च भइरहेको थियो। अरू कोही पनि थियो, जसले उनको सरोजलाई आफूतिर तानिरहेको थियो। तर उनी त्यसबाट पूर्णतः अनभिज्ञ थिइन्। अनन्या त सन्तुष्ट थिइन्। ईश्वरसरी प्रेम गर्ने प्रेमी, एउटा असल हुनेवाला गृहस्थी अनि आफूले चाहेजस्तो प्रेम पाएको विश्वास। उनलाई के थाहा—विश्वासको एउटा कुनामा सानो चिरा परिसकेको थियो।
एक दिन सरोज केही लेखिरहेको थियो। त्यत्तिकैमा अनन्या आइन्। किन हो खै, आज उनलाई सरोजप्रति निकै गहिरो प्रेमभाव जागेको थियो। उनी सरोजको काखमा बसिन् र आफ्ना औँलाहरूले सरोजको कपाल मिलाउन थालिन्। उनका आँखामा अथाह प्रेम झल्किरहेको थियो।
सरोजले उनका ती निश्चल आँखामा आफूप्रतिको प्रेम देख्यो। त्यही क्षण उसले अनन्याको आँखामा ईशाको अनुहार देख्यो। एकछिनमा अनन्या र ईशाका अनुहारहरू उसको दिमागमा एकपछि अर्को गर्दै नाच्न थाले। ऊ तड्पियो। उसले आँखा बन्द गर्यो। तर अनुहारहरू झन् स्पष्ट हुँदै गए।
असहनीय भएपछि ऊ एक्कासि चिच्यायो र जुरुक्क उठेर वासरुमतिर दगुर्यो। अनन्या स्तब्ध भइन्। भर्खरै के भयो, उनलाई केही थाहा भएन।
वासरुमभित्र पुगेर सरोजले बेसिनमा पानी लिएर आफ्नो अनुहार धोयो। उसले बिस्तारै ऐनातर्फ हेर्यो। ऐनामा आफ्नै अनुहार थियो। तर आज त्यो अनुहार उसलाई आफ्नो लागेन। उसले आफ्नो दर्पण हेरिरह्यो।
अचानक ऐनाभित्रको सरोज हाँस्यो।
‘हा... हा... सरोज। खुब आदर्श र नैतिकताको कुरा गर्थिस् त। अब भन, खै कहाँ भाग्यो तेरो नक्कली आदर्श?’
सरोज चुप रह्यो।
‘तेरा नैतिकताका तर्कहरू खै कहाँ उडेर गए? संसारलाई प्रेम सिकाउने कवि, आफ्नै प्रेममा चाहिँ कहाँ हरायस्?’
‘चुप...’
‘संसारलाई ठगे पनि आफैँलाई ठग्न नखोज्। आफूलाई सबैभन्दा बढी प्रेम गर्ने अनन्यालाई धोका दिइस्। उसको विश्वास टुटाइस्। त स्त्रीका भावनासँग यसरी खेल्दैछस्, मानौँ ती कुनै खेलौना हुन्।’
‘चुप!’
‘तँ आदर्शवान् रहिनस्, सरोज। तँ आफ्नै नजरमा गिरिसकिस्।’
‘चुप... चुप... चुप!’
‘चरित्रहीन!’
‘चुप!’
ऐनाभित्रको सरोज फेरि हाँस्यो।
‘हा... हा... हा...’
सरोजले छेउमा रहेको बोतल उठायो र ऐनामाथि प्रहार गर्यो।
ऐना फुट्यो।
टुक्राहरू छरिएर भुइँमा खसे। तर प्रत्येक टुक्रामा फेरि उही अनुहार थियो। उही सरोज। उही आँखाहरू। उही हाँसो।
‘हा... हा...’
अनन्या डराएर घरका अरू सदस्यलाई बोलाउन थालिन्। धेरै प्रयास गर्दा पनि सरोजले ढोका खोलेन। अन्ततः ढोका तोडियो।
भित्रको दृश्य देखेर सबै स्तब्ध भए। अनन्याको शरीर शिथिल भयो। उसले आँखाअगाडि देखेको दृश्यभन्दा ठूलो विनाश त सरोजको मनभित्र भइसकेको थियो।
त्यो क्षणसम्म आदर्श, प्रेम र नैतिकताको कुरा गर्ने सरोज आफ्नै अन्तरद्वन्द्वको कठोर परिणामसामु पराजित भइसकेको थियो। बाहिरको संसारले देख्ने सरोज र ऐनाभित्र लुकेको सरोजबीचको पर्दा च्यातिइसकेको थियो।