यदि जीवन फेरि लेख्न पाइन्थ्यो भने
म फेरि त्यही मेरा सुनौला दिनमा जान्थेँ होला,
मेरा ती दौँतरी नै रोज्थेँ होला,
म सफलताभन्दा सरलता नै रोज्थेँ होला,
ज्ञान कम,
तर निश्चिन्तता धेरै रोज्थेँ होला,
रोज्ने थिएँ त केवल ती क्षण
जहाँ मेरो मन हरपल स्वतन्त्र थियो,
जहाँ न समयसँग कुनै गुनासो थियो,
न भविष्यसँग कुनै अपेक्षा नै।
मलाई फेरि पनि त्यही समयमा फर्कनु मन छ
जहाँ कुनै स्वार्थ थिएन,
जहाँ कुनै भय थिएन,
जहाँ थियो त केवल निस्वार्थ मन
जो आफैँमा थियो उज्यालो,
असीम अनि भरपुर स्वतन्त्र।
आज मसँग केही ज्ञान छ,
केही विवेक छ,
अनि केही अनुभव पनि
तर त्यो सहज हर्ष हरायो,
त्यो हाँसो हरायो
जो कारण भन्दा धेरै परको थियो
अनि धेरै फरक थियो
तर पनि त्यो मेरो लागि धेरै खास थियो।
मलाई फेरि पनि त्यही दिन फर्काउन मन छ
जहाँ सम्बन्धहरू शब्दमा होइन,
अनुभूतिमा बाँच्थे
जहाँ माया प्रमाणमा होइन,
स्वभावमा हाँस्थेँ।
अझै स्मृतिमा छन् मेरो त्यो
चिराग आवासीय माविका दिनहरू
जहाँ अक्षरभन्दा पहिले हाँसो पढिन्थ्यो
जहाँ अनुशासनभन्दा बढी आत्मीयता सिकिन्थ्यो।
हाम्रो कक्षाकोठा केवल पढ्ने ठाउँ थिएन,
मेरा धेरै साथीसँग भेटाउने चौतारी थियो,
साथी र साथीत्वको आवास गराउने ठाउँ थियो
र
ढिलो चाँडो भविष्यतिर लम्काउने एक पवित्र स्थल यो।
आजभोलि स्मृतिमा आइरहेको छ
म मेरा साथीहरूसँग हाँसिरहेको,
कुनै कारण बिना दौडिरहेको,
र सानो संसारमै असीम स्वतन्त्रता खोजिरहेको।
आज ती साथीहरू आफ्नै संसारमा छन्
र म यता आफ्नै संसारमा
के अब ती सबै साथीहरू सँगसँगै भेट होला त?
अहँ पटक्कै हुन्न होला।
त्यसैले त
उनीहरूलाई भेट्नको लागि म मेरो बाल्यकाल फर्कियोस् सोच्छु।
आज जीवनले कैयौँ कुरा सिकायो,
धेरै कुरा दियो,
अनि धेरै खोस्यो पनि,
ती धेरै मध्ये महत्त्वपूर्ण हो मेरो बाल्यकाल
जो आफैँमा अतुलनीय छ,
जो आफैँमा अभिलाषा रहित छ,
र पो यो सदैव मेरो लागि खास छ।
आज यतै कतै भिडभाडमा उभिएर
म कहिलेकाहीँ आफैँलाई सोध्ने गर्छु
के म ठुलो भएँ?
कि केवल बाल्यकालबाट टाढा भएँ?
जुन समयमा
मेरो अनुहार सदैव हँसिलो हुने गर्थ्यो,
हर समय सुनौला थिए,
खेलेर शरीर कहिल्यै थाक्दैनथ्यो,
मन सधैँ निश्छल थियो,
अनि केही बेला थोरै चञ्चल पनि।
म सम्झन्छु ती सन्ध्या कालहरू
जहाँ घाम अस्ताउँदा पनि मन उज्यालो हुन्थ्यो,
जहाँ न भोलिको चिन्ता भयो,
न हिजोको बोझ।
त्यो क्षणहरूमा जीवन केवल बाँचिन्थ्यो
तर बुझ्ने प्रयास गरिन्थेन,
सबैको माया को आवास गरिन्थ्यो
तर कहिल्यै तौलिन्थेन,
साथीत्वको महसुस गरिन्थ्यो
तर कसैसँग तुलना गरिन्थेन।
त्यसैले त मलाई फेरि पनि बालक बन्नु मन छ
समय फर्कियोस् भनेर पटक्कै होइन,
तर मन फेरि त्यति नै स्वच्छ होस् भनेर
जहाँ खुसी हुन कुनै कारण खोज्दैन थियो,
कुनै समय पर्खँदैन थियो,
हर समय खुसी थियो,
हर क्षण रमाइलो थियो,
र पो यो सदैव मेरा लागि खास थियो
र पो यो सदैव मेरा लागि खास थियो।