सगरमाथाको शिरबाट
आज एउटा आवाज गुन्ज्यो
समुद्रपारि, विश्वसभामा
नेपाली मुटुको धड्कन बोल्यो
प्रत्येक शब्दहरूमा
हिमालको शीतलता थियो,
भोटेकोशीको वेग थियो,
बाढीले भत्काएका सपनाहरूको
पीडाको कथा थियो।
‘हामीले पृथ्वीलाई
धेरै धुवाँ दिएनौँ,
तर जलवायुको ताप
हामीले नै धेरै सह्यौ!’
हिमाल पग्लिँदा
केवल हिउँ पग्लिँदैन
नदीको भविष्य पग्लिन्छ,
किसानको आशा पग्लिन्छ,
करोडौँ जीवनका
बस्तीहरू उजाडिन्छ।
यसैले,
दया होइन,
जलवायु न्याय चाहिन्छ;
वाचा होइन,
व्यवहार चाहिन्छ;
एक्लोपन होइन,
सहकार्य चाहिन्छ।
त्यसैले,
यो आवाज हो
विपद् आएपछि मात्र नसम्झिऊँ,
पहिल्यै तयार हुनु पर्छ,
क्षति देखेर मात्र नरोऊ,
न्यायपूर्ण सहयोग पाउनुपर्छ।
यी हिमाल, यी नदीहरू
नेपालको मात्र होइनन्,
हिमालको सासमा
विश्वकै भविष्य बाँचेको छ।
प्रकृतिको खेलको सामु
सबैको सहभागिता हुनुपर्छ
र त्यो सत्य
सम्पूर्ण पृथ्वीको आवाज बन्नुपर्छ!