चितवन राष्ट्रिय निकुञ्जबाट समातेर जिपिएस–स्याटेलाइट कलर जडान गरी पुनः प्राकृतिक बासस्थानमा छोडिएको धुर्बे हात्तीको विषयले नेपालमा संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व र वन्यजन्तु व्यवस्थापनसम्बन्धी बहसलाई पुनः केन्द्रमा ल्याएको छ।
सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म धुर्बेको पक्ष वा विपक्षमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्।
तर यस्तो जटिल विषयलाई भावनात्मक दृष्टिकोणले मात्र होइन, संरक्षण विज्ञान, मानव सुरक्षा, कानुनी व्यवस्था र सार्वजनिक हितको समग्र सन्तुलनबाट हेर्नु आवश्यक छ।
नेपालमा पाइने एसियाली हात्ती (Elephas maximus) विश्व संरक्षण संघ (IUCN) को रातो सूचीमा लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत छ। नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, जैविक विविधता सम्बन्धी महासन्धि (CBD), CITES तथा हालै जारी Elephant Conservation Action Plan (2025–2035) मार्फत यसको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ। तर संरक्षणको उद्देश्य कुनै एउटा व्यक्तिविशेष हात्तीलाई जसरी पनि जोगाउनु मात्र होइन; सम्पूर्ण प्रजातिको संरक्षण, मानव सुरक्षा, स्थानीय समुदायको विश्वास र पारिस्थितिक सन्तुलनलाई दीर्घकालसम्म कायम राख्नु पनि हो।
धुर्बेको जैविक अवस्था
धुर्बेको आधिकारिक उमेर सार्वजनिक रूपमा पुष्टि गरिएको छैन। तथापि, उसको शारीरिक बनावट, लामो दाह्रा, व्यवहार र सामाजिक प्रभुत्वका आधारमा ऊ पूर्ण विकसित प्रभुत्वशाली भाले हात्ती भएको स्पष्ट देखिन्छ।
वैज्ञानिक अध्ययनअनुसार एशियाली भाले हात्ती सामान्यतया ३०–३५ वर्षपछि पूर्ण प्रजनन क्षमतामा पुग्छन् र प्राकृतिक अवस्थामा करिब ६०–७० वर्षसम्म बाँच्न सक्छन् (Sukumar, 2003)।
प्रभुत्वशाली भाले हात्तीहरूले धेरै वर्षसम्म प्रजननमा महत्त्वपूर्ण भूमिका खेल्छन्। धुर्बेले पनि आफ्नो जीवनकालमा पर्याप्त आनुवंशिक योगदान गरिसकेको सम्भावना उच्च छ। उसका सन्तानहरू अहिले पनि चितवन–पर्सा जैविक परिदृश्यमा विचरण गरिरहेका हुन सक्छन्। त्यसैले एउटै हात्तीको व्यवस्थापनले सम्पूर्ण हात्ती जनसंख्याको आनुवंशिक भविष्य निर्धारण गर्छ भन्ने तर्क वैज्ञानिक रूपमा बलियो देखिँदैन।
वन्यजन्तु व्यवहार विज्ञानका अनुसार प्रभुत्वशाली भाले हात्तीहरूले प्रजनन अवसरमा तुलनात्मक रूपमा बढी पहुँच प्राप्त गर्ने र अधीनस्थ वा कम उमेरका भालेहरूको प्रजनन सफलता घटाउन सक्ने सम्भावना हुन्छ। यदि कुनै एउटै प्रभुत्वशाली भालेले लामो समयसम्म एउटै क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्छ भने अन्य प्रजननयोग्य भालेहरूको आनुवंशिक योगदान सीमित हुन सक्छ। यसले जनसंख्याभित्रको प्रजनन अवसरको असमानता बढाउन सक्छ, यद्यपि यसको वास्तविक प्रभाव पुष्टि गर्न आनुवंशिक पितृत्व सम्बन्धी अध्ययन आवश्यक हुन्छ।
यस दृष्टिले धुर्बेले आफ्नो जीवनकालमा पर्याप्त आनुवंशिक योगदान गरिसकेको सम्भावना छ। भविष्यमा अन्य स्वस्थ र प्रजननयोग्य भाले हात्तीहरूले पनि प्रजननमा सहभागी हुन पाउनु जनसंख्याभित्र जीन प्रवाह र आनुवंशिक विविधताको दृष्टिले लाभदायक हुन सक्छ।
जिपिएस सेटेलाईट कलर्ड: महत्त्वपूर्ण तर अपूर्ण उपाय
धुर्बेलाई जीपीएस–स्याटेलाइट कलर लगाउनु नेपालका लागि आधुनिक वन्यजन्तु व्यवस्थापनको सकारात्मक उपलब्धि हो। यसले हात्तीको वास्तविक समयको गतिविधि, आवागमन मार्ग, मानव बस्ती नजिकको उपस्थितिलगायत जोखिम क्षेत्र पहिचान गर्न मद्दत गर्दछ।
तर एउटा वैज्ञानिक सत्य के हो भने Monitoring is not Management।
GPS कलरले हात्ती कहाँ छ भन्ने जानकारी दिन्छ, तर त्यो जानकारीका आधारमा समयमै निर्णय, समुदायलाई पूर्वसूचना, द्रुत उद्धार टोलीको परिचालन र प्रभावकारी व्यवस्थापन नभएसम्म प्रविधिले मात्र द्वन्द्व समाधान गर्न सक्दैन। प्रविधि एउटा उपकरण हो; समाधान भने व्यवस्थापनबाट आउँछ।
मानव–हात्ती द्वन्द्वको बदलिँदो यथार्थ
चितवन राष्ट्रिय निकुञ्ज आज पृथक् जंगल होइन। निकुञ्जको चारैतिर बफर जोन तथा परिधीय क्षेत्रमा हजारौँ परिवार बसोबास गर्छन्। कृषि, पशुपालन, वन स्रोत र दैनिक जीविकोपार्जनका कारण स्थानीय समुदाय र वन्यजन्तुबीचको सम्पर्क बढ्दो छ।
यस्तो अवस्थामा ठूलो आकारको प्रभुत्वशाली भाले हात्ती र मानव बस्तीबीचको दूरी न्यून हुँदा द्वन्द्वको जोखिम स्वाभाविक रूपमा बढ्छ। त्यसैले धुर्बेको व्यवस्थापन केवल एउटा हात्तीको विषय होइन; यो सम्पूर्ण चितवन–पर्सा परिदृश्यको सामाजिक–पारिस्थितिक व्यवस्थापनसँग सम्बन्धित विषय हो।
मानव सुरक्षा, सामाजिक विश्वास र संरक्षण
सार्वजनिक रूपमा उपलब्ध विवरणअनुसार धुर्बेसँग सम्बन्धित घटनामा करिब २५ जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ। साथै वर्षौँदेखि बाली, घर, अन्न भण्डारण, पूर्वाधार तथा अन्य सम्पत्तिमा ठूलो क्षति पुगेको बताइएको छ। यी तथ्याङ्कहरू सम्बन्धित निकायले निरन्तर अद्यावधिक र प्रमाणित गर्न आवश्यक छ।
यस्तो अवस्थामा प्रश्न केवल एउटा हात्तीको व्यवहारको हुँदैन। स्थानीय समुदायको सुरक्षा, जीवनयापन, मनोवैज्ञानिक अवस्था र संरक्षणप्रतिको विश्वास पनि उत्तिकै महत्त्वपूर्ण विषय बन्छ।
आधुनिक पारिस्थितिकीमा यसलाई Ecology of Fear को अवधारणाबाट व्याख्या गरिन्छ। कुनै जनावरको उपस्थितिले प्रत्यक्ष आक्रमण नगरे पनि मानिसको व्यवहार, कृषि प्रणाली, विद्यालय आवतजावत, रातिको गतिविधि र आर्थिक उत्पादनमा दीर्घकालीन प्रभाव पार्न सक्छ।
त्यसैगरी, एउटै समस्याग्रस्त हात्तीका कारण सम्पूर्ण हात्ती प्रजातिप्रति स्थानीय समुदायमा नकारात्मक धारणा विकास हुन सक्छ। सामाजिक मनोविज्ञानमा यसलाई Negative Halo Effect सँग तुलना गर्न सकिन्छ। यदि यस्तो अवस्था लामो समयसम्म रह्यो भने हात्ती मात्र होइन, बाघ, गैँडा, भालुजस्ता अन्य संरक्षित वन्यजन्तुप्रतिको सामाजिक स्वीकृति पनि कमजोर हुन सक्छ। संरक्षण अन्ततः स्थानीय समुदायको विश्वासमा टिकेको हुन्छ।
व्यवस्थापन समयमै हुनुपर्छ
वन्यजन्तु व्यवस्थापनमा एउटा महत्त्वपूर्ण सिद्धान्त छ—समयमै गरिएको व्यवस्थापन प्रायः सबैभन्दा प्रभावकारी व्यवस्थापन हुन्छ।
यदि कुनै विशेष जनावरबाट वर्षौँसम्म लगातार मानव मृत्यु, आर्थिक क्षति र सामाजिक त्रास दोहोरिरहन्छ भने, व्यवस्थापन ढिलो हुँदा संरक्षणप्रतिको सार्वजनिक विश्वास कमजोर हुन सक्छ।
धुर्बेको सन्दर्भमा अहिले उठेको सबैभन्दा ठूलो प्रश्न यही हो—के वैज्ञानिक व्यवस्थापन धेरै अघि सुरु हुनुपर्ने थिएन?
जिपिएस सेटेलाईट कलर्ड, व्यवहार अध्ययन, द्रुत उद्धार टोली, समुदायमा पूर्वसूचना, स्थानान्तरणको सम्भाव्यता अध्ययन तथा अन्य व्यवस्थापन विकल्पहरू प्रारम्भिक चरणमै व्यवस्थित रूपमा लागू गरिएका भए आजको अवस्था फरक हुन सक्थ्यो कि भन्ने प्रश्नको उत्तर वैज्ञानिक रूपमा खोजिनुपर्छ।
मेरो फिल्ड अनुभव
सन् २०११ मा राष्ट्रिय गैँडा गणनाका क्रममा चितवन राष्ट्रिय निकुञ्जको सुकीबार क्षेत्रमा मेरो धुर्बेसँग प्रत्यक्ष जम्काभेट भएको थियो। त्यही क्रममा मैले धुर्बेको यो तस्वीर खिचेको थिएँ। उक्त घटनाले ठूलो जङ्गली स्तनधारीको व्यवहार, जोखिम मूल्याङ्कन र फिल्ड निर्णयको महत्त्वलाई अझ गहिरो रूपमा बुझ्ने अवसर दिएको थियो।
विगत तीन दशकभन्दा बढी समयदेखि मैले गैँडा, हिमचितुवा, सामान्य चितुवा, नाउर तथा अन्य ठूला वन्यजन्तुसँग सम्बन्धित अनुसन्धान र व्यवस्थापनमा काम गर्ने अवसर पाएको छु। मेरो अनुभवले एउटा कुरा स्पष्ट देखाएको छ—समस्याग्रस्त व्यक्तिविशेष जनावर र सम्पूर्ण प्रजातिको संरक्षणलाई एउटै दृष्टिकोणबाट हेर्न सकिँदैन।
विश्वका धेरै देशमा यस्ता घटनामा जोखिम मूल्याङ्कन, व्यवहार अध्ययन, निगरानी, स्थानान्तरण, बन्दी व्यवस्थापन तथा समुदाय सुरक्षा लगायतका सबै सम्भावित विकल्पहरूको वैज्ञानिक समीक्षा गरिन्छ। यदि ती उपायहरूले पनि जोखिमलाई स्वीकार्य स्तरमा घटाउन नसके अन्तिम व्यवस्थापन विकल्पबारे निर्णय गरिन्छ।
कानुनी र नीतिगत पक्ष
नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वन्यजन्तुको संरक्षणसँगै संरक्षित क्षेत्रको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायलाई कानुनी अधिकार प्रदान गरेको छ। ऐनका व्यवस्थापनसम्बन्धी प्रावधानहरू तथा संरक्षित वन्यजन्तु सम्बन्धी कानुनी व्यवस्था (दफा १० लगायत) ले संरक्षणलाई कठोर निषेधको रूपमा मात्र नभई आवश्यक परे वैज्ञानिक व्यवस्थापनका दृष्टिकोणबाट पनि हेर्ने आधार प्रदान गर्छन्। त्यसैगरी, संरक्षित क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित निकायलाई कानुनी अधिकार प्रदान गर्ने व्यवस्थाहरू (दफा २१ लगायत) निर्णय प्रक्रियामा सान्दर्भिक हुन्छन्। यस्ता प्रावधानहरूको प्रयोग भने सधैं प्रमाण, जोखिम मूल्याङ्कन, कानुनी प्रक्रिया र उत्तरदायित्वका आधारमा हुनुपर्छ।
निष्कर्ष
धुर्बेको विषय कुनै एक हात्तीको मात्र कथा होइन; यो नेपालको संरक्षण नीतिको परीक्षा पनि हो। संरक्षण विज्ञानले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ—समयमै गरिएको वैज्ञानिक व्यवस्थापनले मानव–वन्यजन्तु द्वन्द्वलाई न्यून गर्न सक्छ, जबकि ढिलो निर्णयले सामाजिक विश्वास र संरक्षण दुवैलाई कमजोर बनाउन सक्छ।
मेरो उद्देश्य धुर्बेको पक्ष वा विपक्षमा उभिनु होइन। मेरो प्रश्न यति मात्र हो—के हामीले उपलब्ध वैज्ञानिक ज्ञान, प्रविधि र व्यवस्थापनका विकल्पहरू समयमै प्रयोग गर्यौं?
यदि आधिकारिक तथ्याङ्क, स्वतन्त्र वैज्ञानिक मूल्याङ्कन र कानुनी प्रक्रियाले धुर्बेबाट भविष्यमा पनि मानव जीवन, स्थानीय समुदाय र संरक्षणप्रतिको सार्वजनिक विश्वासमा निरन्तर गम्भीर जोखिम रहने निष्कर्ष निकाल्छ भने, निगरानी, समुदाय सुरक्षा, व्यवहार व्यवस्थापन, स्थानान्तरण तथा अन्य सबै व्यावहारिक विकल्पहरूको समीक्षा पछि व्यवस्थापनात्मक कुलिङबारे अन्तिम विकल्पका रूपमा वैज्ञानिक, कानुनी र नीतिगत तहमा खुला छलफल हुन सक्छ। यस्तो निर्णय कहिल्यै सहज हुँदैन, तर यसको उद्देश्य कुनै प्रजातिको विरोध गर्नु होइन; मानव सुरक्षा, दीर्घकालीन हात्ती संरक्षण र समाजको संरक्षणप्रतिको विश्वासबीच सन्तुलन कायम गर्नु हो।
धुर्बेबाट सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ यही हो—संरक्षणमा विज्ञान, समयमै निर्णय र सार्वजनिक विश्वास सँगसँगै अघि बढ्नुपर्छ।