मेरो गर्भावस्था र प्रसूति सम्बन्धी कुराहरू गर्दैगर्दा, जुन दिन मैले सुत्केरी महिला र नवशिशुलाई 'चोख्याउनुपर्छ' भन्ने सुनेँ, त्यो दिनदेखि म कुनै न कुनै रूपमा यी शब्दहरूले विचलित भएकी छु।
'चोख्याउने' शब्दले मलाई ती मेरा कैयौँ साथीहरूको सम्झना दिलाउँछ, जो महिनावारीको समयमा ‘नछुने’ ‘नचोखो’ वा ‘जुठो’ ठहरिएर आफ्नै परिवारका सदस्यहरूबाट हेलाहोचो र अछुतजस्तो व्यवहार भोग्छन्।
यो शब्दले मलाई ती कैयौँ महिलाहरूको पनि सम्झना गराउँछ, जसको रगतलाई जुठो मानिन्छ र जसलाई छाउगोठमा बस्न बाध्य बनाइन्छ।
म हाल हेल्सिन्की, फिनल्यान्डमा नेपालका महिलाहरू संगीत सम्पदाका सार्वजनिक शिक्षक (public pedagogues) हुन् भन्ने विषयमा पिएचडी अनुसन्धान गर्दैछु।
महिलाहरूले महिला भएकै कारण संगीतमा लाग्ने क्रममा कस्ता कस्ता कष्टकर र अप्ठ्यारा सामाजिक परिस्थितिहरू पार गर्नुपर्छ भन्ने विषयले मलाई धेरै दिदीबहिनी र आमाहरूको भित्री संसारसँग साक्षात्कार गराएको छ। त्यहाँ मैले रोदन पनि देखेकी छु, तर त्यही रोदनभित्र उत्कर्ष र सृजनाका अनगिन्ती झिल्काहरू पनि भेटेकी छु।
अहिले म अनुसन्धानको दोस्रो वर्षमा छु र पूर्णकालीन तलबयुक्त पदमा कार्यरत छु। यसको अर्थ, महिलाहरूको सामाजिक स्थान, जीवनका भोगाइ, दुःख, संघर्ष, चुनौती र निरन्तरका मोलमोलाइ (negotiations) को अध्ययन तथा अध्यापन गर्नु नै मेरो आर्थिक मात्र होइन, आत्मिक पोषणको समेत स्रोत बनेको छ। अध्ययनका क्रममा म बारम्बार एउटा यथार्थसँग भेटिन्छु।
धेरै नारीवादी चिन्तकहरू, विशेषगरी अमेरिकी नारीवादी लेखिका बेल हुक्सले औँल्याएझैँ, महिलाहरूको घरबाहिरको संसारमा सामाजिक दर्जा जति नै परिवर्तन भएको जस्तो देखिए पनि घरभित्रका सम्बन्धहरूमा जटिल, अपूरा र असमान शक्ति-सम्बन्धहरू (dynamics) बारम्बार चलायमान भएर देखा पर्छन्। यही सत्यसँग म पटकपटक ठोक्किने गर्छु।
२०२६ को फेब्रुअरी १४।
मेरा प्रेमी, मेरा श्रीमान्, मेरा अर्धाङ्गी संगम हेल्सिन्कीस्थित मेरो सानो १७ वर्गमिटरको अपार्टमेन्टमा आएका थिए। उनी एस्टोनियाको राजधानी ताल्लीनमा रहेको बाल्टिक फिल्म स्कुलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई ध्वनि (sound) पढाउँछन् र त्यहीँ बसोबास गर्छन्। उनी त्यहाँ आफ्ना धेरै विद्यार्थीका प्रिय शिक्षक हुन्। उनी ताल्लीनमा बस्न थालेको करिब पाँच वर्ष भइसकेको छ, म हेल्सिन्की आउनुभन्दा धेरै अघिदेखि। सुन्दा लाग्न सक्छ, उनी ताल्लीनमा भएकैले म हेल्सिन्की आइपुगेकी हुँ।
सायद ब्रह्माण्डका आफ्नै योजना हुन्छन्--- यो न मेरो न त उनको सचेत योजनाको परिणाम थियो। संयोगले मलाई युनिभर्सिटी अफ द आर्ट्स हेल्सिन्कीबाट एउटा परियोजनामा सहभागी हुन निमन्त्रणा आयो, र त्यही यात्राले अहिलेको मेरो विद्यावारिधि अनुसन्धानसम्म ल्याइपुर्यायो। खैर, त्यो फेब्रुअरी १४ को दिन संगम मेरो अपार्टमेन्टमै थिए। मैले गर्भ परीक्षण गरेँ। नतिजा सकारात्मक आयो।
उनले सजिलै देखून् भनेर परीक्षण किट बाथरूममै राखिदिएँ। जब उनले त्यो देखे, उनी दिनभरजसो असाध्यै मौन भए। पछि थाहा पाएँ, यो भेटमा उनले मलाई आफू बुवा बन्न तयार नभएको कुरा बुझाउने सोच बनाएका रहेछन्।
तर म भने २०२५ लाई बिदाइ गर्दैगर्दादेखि नै कुनै नयाँ अस्तित्वको आहट महसुस गरिरहेकी थिएँ। मेरा रात-रातका सपनाहरूले मानौँ मेरो हात समाएर मलाई त्यो सकारात्मक गर्भ परीक्षणसम्म बिस्तारै डोर्याइरहेका थिए।
२०२६ जनवरी ९। सपना डायरी
म आफूलाई महिलाहरूको भीडमा भेट्छु। त्यहाँ मेरा साथीहरू थिए, सहकर्मीहरू थिए, आफन्तहरू थिए। चिनेजानेका र नचिनेका अनुहारहरू पनि थिए। हामी सबै एउटा विशाल मैदानमा उभिएका थियौँ। तर त्यो मैदानको एउटा निश्चित ठाउँमा बारम्बार आगो बलिरहन्थ्यो। जति निभाउन खोजे पनि आगो फेरि सल्किन्थ्यो।
एउटी महिला त्यो दृश्यलाई मानौँ कुनै प्रदर्शनजस्तै ठानेर हाँस्दै हिँडिरहेकी थिई। अर्कीले भने आफ्नो उपकरण उठाएर त्यसलाई अभिलेख गरिरहेकी थिई, विभिन्न कोणबाट तस्बिरहरू खिच्दै, प्रमाणहरू संकलन गर्दै। म भने आगोको निगरानी गरिरहेकी थिएँ। मलाई बुझ्न मन थियो, आखिर यही ठाउँ मात्र किन बलिरहन्छ? मैले भनेँ, 'यहाँ केही पुरानो कुरा गलेर बसेको छ। केही यस्तो, जुन अझै विघटनको प्रक्रियामै छ।'
त्यसपछि कसैले एउटा बोरा ल्यायो-- त्यही आगो बलिरहने ठाउँमा-- त्यो आगो निभाउन ल्याइएको थियो कि, आगो दन्काउनका लागि, वा आगोको स्रोत नै त्यही बोरा थियो, मैले बुझिनँ।
बोरा खोल्दा मैले घाँस, मल वा कुहिएको पदार्थ निस्केला भन्ने सोचेकी थिएँ। तर त्यहाँबाट हरियो रङको एउटा अनौठो आकार जमिनमा खस्यो। त्यो न वनस्पति थियो। त्यसले एउटी गर्भवती महिलाको धडको रूप लिएको थियो। टाउको थिएन। हातखुट्टा थिएनन्। रङले जीवितजस्तो देखिन्थ्यो, तर त्यो जीवित भने थिएन।
मलाई डर लागेन। म केवल विस्मित भएँ। र केही अन्योलमा परेँ। कसैले भन्यो, 'यो परिवारको मूल व्यक्तिबाट आएको हो।' त्यो सुनेपछि मैले सोचेँ, के यो कुनै प्रयोजनका लागि थियो?
आगोले कुनै उत्तर दिएन। तर केही समयका लागि त्यो शान्त भयो। र त्यो गर्भवती शरीरको आकृति, आँखै नभए पनि, मेरो अनुहारतिर हेरिरहेजस्तो लागिरह्यो।
संगमलाई आफ्नो इच्छा सुनाइरहँदा उनको चिन्ता र आत्तिएको अनुहार देखेर म भन्थेँ, 'तिमीले मलाई इमोसनल सपोर्ट दिए मात्र पर्याप्त छ, अरू केही चाहिँदैन।'
कुराको गम्भीरताबाट उम्किन खोज्दै उनी ठट्टा गर्थे, 'म त इमोसनल सपोर्ट मात्रै दिन्छु, स्पर्म दिँदिनँ नि।'
विडम्बना र वास्तविकता, हाम्रो वैवाहिक र सामाजिक संरचनाले मलाई स्पर्म डोनरका अरू विकल्प खासै सजिलै खुला छोड्दैन। त्यही बेला मैले अझ गहिरोसँग महसुस गरेँ, हाम्रा वैवाहिक सम्बन्धहरू प्रेमको आश्रय मात्रै होइनन्, नेगोसिएसन र कम्प्रोमाइजका निरन्तर अभ्यासस्थल हुन बाध्य छन्।
मैले उसको मन बुझेकी थिएँ। हाम्रो समाजमा एक्लो छोरो हुनुको आफ्नै भार हुन्छ। हाम्रो विवाह भएको धेरै समय नबित्दै, र हामी दुवै आर्थिक तथा जीवनगत रूपमा आत्मनिर्भर भइनसक्दै, बच्चा जन्माउने दबाब चारैतिरबाट आउन थालेको थियो। यस्ता अतिरञ्जित टिप्पणीहरूप्रति दिक्क मान्दै संगमले जबाफ दिन थालेको थियो, 'मपछि हाम्रो कुल अगाडि बढ्दैन, मबाट केही आशा नराख्नुस्।'
पितृसत्ताले 'कुल अगाडि बढाउनैपर्छ' भन्ने माग गर्छ।
घरमा अर्को सन्तान जन्मेन भने, त्यसमाथि छोरा जन्मिएन भने, पितृसत्ताले आर्जन गरेको, जम्मा गरेको सम्पूर्ण सम्पत्ति मानौँ खोलामा बगेर जानेछ।
यो विचार जति पितृसत्तात्मक छ, त्यति नै पुँजीवादी पनि। स्रोतमाथिको अधिकार, वंशमाथिको अधिकार, सम्पत्तिमाथिको अधिकार आफ्नै संसर्गभित्र रहिरहोस् भन्ने चाहना यसभित्र गाँसिएको छ। यिनै कारणले होला, एक व्यक्तिले पितृत्वको भावलाई आफ्नै मनको राजीखुसीले सिञ्चन गर्ने अवसर कमै पाउँछ।
प्रायः त्यो भावभन्दा पहिले उसले समाजका अपेक्षा, वंशका चिन्ता, सम्पत्तिका हिसाबकिताब र भविष्यका डरहरूसँग संवाद गरिरहेको हुन्छ। त्यसमाथि, हाम्रो समाजले ‘बुवा’ को भूमिकालाई यति ठूलो र गम्भीर अर्थ दिएको छ कि संगमले आफूलाई त्यस भूमिकामा सहजै कल्पना गर्न नचाहेको हो कि?
'बुवा भनेको सधैं उपलब्ध हुने, परिवारका सबै आवश्यकता पूरा गर्ने व्यक्ति हो।'
'आमा र बुवा एउटै छानामुनि सँगै बस्नुपर्छ।'
'बुवाको अनुपस्थितिमा सन्तान अपूरो, खोक्रो वा टुहुरो महसुस गर्न बाध्य हुन्छन्।'
उनका मौनताभित्र डर, जिम्मेवारी, प्रेम र अन्योलका अनेक तहहरू एकसाथ मिसिएको पाउथेँ। उसलाई कतै आफू असल श्रीमान र असल बुवा हुन नसक्ने हो कि भन्ने पिरलोले गहिरोसँग घेरेको पाउथेँ। नघेरोस् पनि कसरी? कुनै न कुनै रूपमा हामी पनि नेपाली समाजको आदर्श हुने होडमै छौँ।
मैले आफूलाई ऊभन्दा राम्रो भन्न खोजेकी होइन। तर यो विषयमा म भने अर्कै धार समातेर अघि बढिसकेकी थिएँ। फिनल्यान्ड आएपछि मैले धेरै महिलाहरूलाई देखेँ, जसले आफ्नो मातृत्व, आफ्नो अस्तित्व र आफ्नो पेशागत जीवनबीच रोजाइ गर्न बाध्य हुनुपरेको छैन।
उनीहरू 'विवाह गर्नैपर्छ', 'आमा बन्नैपर्छ', 'आफ्नै सन्तान हुनैपर्छ' भन्ने दबाबमा छैनन्।
उनीहरू विवाह गर्ने वा नगर्ने, सन्तान जन्माउने वा नजन्माउने, र सन्तान जन्माउने भए एकल महिलाको रूपमा वा जुनसुकै लिङ्गका साझेदारसँग जन्माउने भन्ने निर्णय गर्न स्वतन्त्र छन्। उनीहरूको त्यो स्वतन्त्रताले सायद मभित्र पनि कुनै बिउ रोपिदिएको थियो। विवाह भएको १० वर्ष बितिसक्दा पनि मैले आफूलाई आमा बन्न पर्याप्त सुरक्षित महसुस गरेकी थिइनँ। विवाहसँगै समाजका अदृश्य दबाबहरूले मलाई झन् झन् असुरक्षित बनाएका थिए।
मैले देखेकी छु, यी द्वितीयक नाताहरूले महिलाहरूलाई कति असहज बनाउँछन्। बुहारी, भाउजू, काकी, माइजु, जेठानी; यी सबै नाताहरू कुनै न कुनै रूपमा एकअर्कासँग तुलना र प्रतिस्पर्धामा उभ्याइएका जस्ता लाग्छन्। श्रीमानबाट प्राप्त भएका यिनै नाताहरूले मानौँ निरन्तर भनिरहेका हुन्छन्, 'तिमी हाम्राकी हौ, हाम्रा होइनौ।'
सायद यही कारणले होला, ‘आमा’ बन्ने सम्भावनाले पनि मलाई लामो समयसम्म सुरक्षाभन्दा बढी असुरक्षाको अनुभूति गरायो।
के मेरो अस्तित्व अरू कसैको बुवा, हजुरआमा, हजुरबुवा, मामा, काकी वा काका जन्माउने माध्यममा मात्र सीमित हुने हो?
तर ती सबै ट्यागहरूभन्दा पर आइपुग्दा मेरो मन, मस्तिष्क र आत्मा मानौँ फाइट मोडबाट बाहिर निस्केर शान्त भए। जब मैले निरन्तर आफू को होइन भनेर प्रमाणित गरिरहनुपरेन, जब मैले 'तिमीहरूले सोचेकी, खोजेकी, रोजेकी वा चाहेकी' महिला होइन भनेर बारम्बार देखाइरहनुपरेन, तब मभित्र मातृत्वको रहर पलाउन थाल्यो।
आर्थिक स्वतन्त्रताले पनि महिलालाई ठूलो ऊर्जा दिँदो रहेछ, र मेरो विश्वविद्यालयको जागिरले मलाई त्यही ऊर्जा दिएको छ। त्यसमाथि, मैले फिनल्यान्डको मातृत्व सम्बन्धी सामाजिक सुरक्षाबारे पनि अध्ययन गरेकी छु, जुन निकै महिला केन्द्रित छ। यहाँ गर्भवती भएपछि महिलाले निश्चित अवधिसम्म गर्भावस्थाको बिदासहित भत्ता पाउन सक्छिन्, र उनको स्वास्थ्य सेवाको जिम्मेवारी राज्यले लिन्छ। फिनिस सामाजिक व्यवस्थाले एउटी आमालाई आफूलाई कमजोर ठान्नुपर्ने अवस्थामा पुग्न दिँदैन रहेछ।
म अहिले गर्भावस्थाको तेस्रो त्रैमासिकमा छु। संगमले पनि आफ्नो बुवापनलाई बिस्तारै आत्मसात् गर्दै गएको छ। बेला बेला ऊ भन्छ, 'अब फिनल्यान्ड सर्नुपर्यो।'
तर म चाहन्नँ, उसले श्रीमती र सन्तानलाई आफ्नो सम्पूर्ण जीवनको लक्ष्य बनाओस्। मलाई लाग्छ, उसको भित्री डरको चुरो नै त्यही हो, कतै आफ्नो अस्तित्व गुम्ला कि भन्ने डर। उसले पाँच वर्ष दिनरातको प्रेम, लगन र मिहिनेतले कमाएको विश्वविद्यालयको पद पनि त एक किसिमको सन्तान नै हो। किन कसैलाई एउटा सन्तानका लागि अर्को सन्तान छोड्न लगाउने?
हामी समाजले कल्पना गरेजस्तो श्रीमान्-श्रीमती कहिल्यै भएनौँ।
बरू, एकअर्कालाई साथी, सहयात्री, अनि अर्को एक मानवका रूपमा हेर्न सिक्ने प्रक्रियामै हाम्रो परिचय बनेको छ।
यस अर्थमा, समाजले चाहेझैँ हामी एउटै छानामुनि बस्ने आमा-बुवा हुनैपर्छ भन्ने आवश्यकता पनि छैन। हाम्रो अस्तित्व र हाम्रा आआफ्ना यात्राहरू आफैंमा पूजनीय छन्, उत्सवका योग्य छन्। तिनलाई चोख्याउनुपर्ने केही छैन।
त्यसरी नै, हाम्रो सन्तानको अस्तित्वलाई 'चोख्याउने' रीत पनि हामीले निभाउनुपर्छ भन्ने मलाई लाग्दैन। मेरा लागि मेरो सन्तान, मेरो होइन।
भन्नलाई भनिएला, मेरो इच्छाले गर्भ बस्यो; भनिएला, संगमको वीर्यदानले गर्भ रह्यो। तर यो त जन्म र मरणभन्दा परको कुनै प्रारब्धजस्तो लाग्छ मलाई। म शुद्ध र अशुद्धको भाषामा सोच्न तयार छैन।
यो गर्भ धारण हुनुअघि मैले देखेका ती अनगिन्ती सपनाहरू, पहिलो त्रैमासिकमा आफूलाई आफैले दिनदिनै जबर्जस्ती खुवाएका ती गाँसहरू, आफ्नो श्रीमानलाई स्वहृदयबाट 'तिमी यो नानीको बुवा हुन बाध्य छैनौ' भनेर भनेका मुटु चुँडिने वाक्यहरू, गर्भावधी मधुमेह देखिएपछि जोखी जोखी खाएका हरेक छाकगाँस, परिवर्तन हुँदै गएका मेरा हरेक शारीरिक अङ्गप्रत्यङ्ग, भारी र अपरिचित बन्दै गएको शरीर, अनि अनिद्रा र असहजताले भरिएका ती रातहरू, यिनमध्ये कुनै पनि कुरा म चोख्याउने छैन। मेरो मातृत्वले यही भन्छ, जोडजोडले।
'मेरा हरेक अनुभूति पूज्य छन्। म तिनप्रति नतमस्तक हुन्छु। म चाहन्नँ, कसैले तिनलाई बिचोखो मानोस्। मेरा लागि यो सम्पूर्ण यात्रा आफैमा पवित्र छ।'
फेरि कुरा आउँछ, 'नानी कि बाबु?' 'बच्चाको नाम/थर के राख्ने?' एकजना साथीले मलाई भन्नुभएको थियो, 'बच्चाको नामलाई राजनीतिक वक्तव्य बनाउनुपर्दैन।' तर जब आफन्तजन र साथीहरू सहजै सोध्छन्, 'नानी कि बाबु?', मेरा तेस्रोलिंगी तथा समलिंगी साथीहरूको व्यङ्ग्यात्मक मुस्कान आँखाको पर्दापछाडि नाच्न थाल्छ। मानौँ उनीहरू सम्झाइरहेका हुन्छन्, हामीले जन्मिनुअघि नै एउटा जीवनलाई लिङ्गको भाषामा पढ्न कति हतार गरिरहेका छौँ। जब मानिसहरू स्वतः मानिलिन्छन् कि मेरो जन्मिन बाँकी बच्चाको थर संगमको थरअनुसार नै हुनेछ, मेरो अस्तित्व जोडजोडले चिच्याउँछ, 'म पनि छु' भन्दै। मेरो मानवीय अस्तित्वको राजनीतिक प्रकृतिलाई म कति गरेर छोपूँ? मेरा नारीवादी अध्ययन र पठनहरूले मलाई बारम्बार यही प्रश्नसँग जुधाइरहेका छन्।
हिजो भर्खरै मात्र त होइन, आदिवासीहरूको थरलाई 'के जाति' भनेर राज्यले नै परिभाषित र वर्गीकृत गरेको? किन हामी जन्मिनासाथ एउटा नयाँ जीवनलाई हाम्रो असमान लिङ्ग, जातीय र वर्णगत व्यवस्थाभित्र बाध्यतापूर्वक प्रवेश गराउन यति आतुर छौँ? उसको नाम/थरले जन्मिनुअघि नै उसको शुद्धता र अशुद्धता, पानी चल्ने र नचल्ने, सामाजिक समानता र असमानताका सम्भावित सीमारेखाहरू कोर्न थालिसकेको हुन्छ। उसको थर 'बाबु' भएकै कारण कतिपय मानिसहरू 'अरू' भइदिन्छन्।
उसको थर 'पन्त' भएकै कारण ऊ यो विराट् ब्रह्माण्डको एक अंश नभई एउटा सानो भूगोल, एउटा निश्चित सामाजिक स्थान र एउटा वंश परम्पराको प्रतिनिधि बन्न पुग्छ। उसको थर 'पालाञ्चोके' भएकै कारण ऊ 'पालाञ्चोक' को हो भन्ने राजनीतिक साइनो, वा कतिपय अवस्थामा बेसाइनो, जन्मिनासाथ जोडिदिन्छ। एउटा शब्दले उसको भूगोल, वंश, समुदाय र सम्बन्धका दायराहरू तय गरिदिन खोज्छ।
अहँ, त्यसैले मलाई नाम/थरको मोह छैन। उसको नाम/थर निरर्थक र निस्वार्थ हुनेछ। उसको नामले कुनै लिङ्ग जनाउने छैन। उसको थरले ऊ नेपाली हो, कुन जातको हो, कुन वर्णको हो भन्ने पनि बताउने छैन। ऊ केवल एक मानव हुनेछ, र मानवताको हुनेछ। राख्नै परे थर ‘पुष्पासंगम’ राखिदिऊँला। कुनै जात, वर्ण, कुल वा भूगोल जनाउनका लागि होइन, बरू पुष्पा र संगम नाम गरेका दुई जना मानव उसका आमा-बुवा हुन् भन्नका लागि मात्र।
यो लेख पढेर मेरा केही नातासम्बन्धीहरूले अमिलो महसुस गर्नुहोला।
सायद मेरा केही प्रश्नहरू, केही असहमतिहरू, वा मैले रोजेको भाषाले उहाँहरूलाई असहज पनि बनाउन सक्छ। तर यो कसैप्रतिको आरोप होइन, न त कसैको प्रेम, योगदान वा सम्बन्धलाई अस्वीकार गर्ने प्रयास हो। लाग्ला, यस्ता साना रीतिथिति र अभ्यासहरूलाई लिएर किन यति गम्भीरतापूर्वक सोच्नुपर्यो? तर ख्याल रहोस्, म यो पत्र एक घटनाको पृष्ठभूमिमा पनि लेख्दैछु।
केही दिनअघि मात्रै एक १८ वर्षीय नागरिकले फिनल्यान्डमा दुई जना आप्रवासी विद्यार्थीमाथि घातक छुरा प्रहार गर्ने प्रयास गर्यो। अदालतले बुझेअनुसार, उक्त आक्रमण गर्नुअघि उसले नर्वेली सामूहिक हत्यारा एन्डर्स ब्रेइभिकका आक्रामक भिडियोहरू हेरेको थियो। अनुसन्धानका क्रममा उसको कम्प्युटरबाट एउटा घोषणापत्र (manifesto) पनि फेला परेको थियो, जसमा उसले आप्रवासीहरू, वामपन्थी विचारका मानिसहरू, ट्रान्स व्यक्तिहरू र समलैंगिकहरूप्रति घृणा व्यक्त गरेको थियो।
उसले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुअघि सकेसम्म धेरै मानिसहरूलाई घाइते पार्ने वा मार्ने इच्छा रहेको समेत लेखेको थियो। उसले आफ्नो शैक्षिक संस्थाले आप्रवासीहरूलाई समर्थन गरेको भन्दै त्यसको आलोचना पनि गरेको थियो। यसर्थ नाम, थर र लिङ्गप्रतिको हाम्रो आसक्ति र असुरक्षा कहाँबाट आउँछ भन्ने प्रश्न हामीले सुरू गर्नैपर्छ।
मानिसहरू मलाई हेर्छन् र 'फेमिनिस्ट' भनेर कहिलेकाहीँ तर्सिन्छन्। तर मेरो नारीवादको मशाल अत्यन्त उज्यालो छ। यति कि, उसको सामु म आफूलाई निरीह पाउँछु। त्यो उज्यालोले देख्छ, देखाउँछ, परपरसम्म, सात पुस्तासम्म, हाम्रा साना साना रोजाइहरूको गर्भमा लुकेका ठूला ठूला दुर्घटनाहरू। उसले केही पनि अँध्यारोमा लुकाउन खोज्दैन। हामीले स्वाभाविक ठानेका कुराहरूलाई पनि उज्यालोमा ल्याएर हेर्न आग्रह गर्छ। उसका लागि कोही पनि अछुत छैन, केही पनि अचोखो छैन।
(पालाञ्चोके लैंगिक समानता अभियानी हुन्।)