कहिलेकाहीँ जीवनले एकाएक थकानको भारी बिसाउँछ। दिनभरि जिम्मेवारीका अनेकौँ मोड पार गरेर साँझ घर फर्कँदा मन अनायासै धेरै टाढा पुग्छ त्यो समयतिर, जहाँ न कुनै हतार थियो, न भविष्यको चिन्ता, न असफलताको डर।
त्यहाँ एउटा सानो गाउँ थियो, हरिया डाँडाहरू थिए, नाउँदी खोलाको कलकल आवाज थियो, आँगनमा पुच्छर हल्लाउँदै दौडिने काले थियो, साँझ पर्दा हजुरबुवाका दन्त्यकथाहरू र थिए मेरा बाल्यकालका निष्कपट दिनहरू।
उमेर बढ्दै जाँदा मानिसले धेरै कुरा कमाउँछ शिक्षा, अनुभव, जिम्मेवारी, सम्बन्ध र पहिचान। तर एक दिन पछाडि फर्केर हेर्दा थाहा हुन्छ, सबैभन्दा मूल्यवान् कमाइ त बाल्यकाल नै रहेछ। जहाँ खुसीका लागि पैसा चाहिँदैनथ्यो, एउटा सानो खेल नै ठुलो उत्सव बन्थ्यो र दिनहरू घडीले होइन, हाँसोले मापन गर्थे।
म ग्रामीण मध्यम वर्गीय परिवारमा जन्मिएको हुँ। गाउँमा सबैले मलाई ‘विवेक’ भनेर बोलाउँथे। मेरो जन्म हुँदा घरमा कुनै विशेष तामझाम भएन। न ठुलो भोज भयो, न उत्सवको हल्ला। तर बुबा–आमा, सानोबुबा, फुपू र दिदीहरूका अनुहारमा झल्किएको खुसी नै मेरो जीवनको पहिलो पर्व थियो।
आज सम्झँदा लाग्छ, हाम्रो घर आर्थिक रूपमा धनी थिएन तर मायाको हिसाबले संसारकै धनी घरमध्ये एक थियो। त्यही माया नै मेरो बाल्यकालको पहिलो सम्पत्ति बन्यो।
मेरो संसार सुन्दर बजारको त्यो सानो गाउँमै सीमित थियो। परेवाडाँडाका उकालो–ओरालाहरू, लाकुरीभञ्ज्याङका घुमाउरा बाटाहरू, सुन्तेलेटारका हराभरा फाँटहरू, पाउँदी र नाउँदी खोलाको अविरल बहाव यी सबै मेरा बाल्यकालका साथी थिए।
बिहान डाँडामाथिबाट घाम बिस्तारै उदाउँदा शीतले भिजेका घाँसहरू चम्किन्थे। चराचुरुङ्गीको चिरबिराहटले गाउँ ब्युँझाउँथ्यो। हावामा भिजेको माटोको सुगन्ध मिसिन्थ्यो। त्यति बेला प्रकृति घुम्न जाने ठाउँ थिएन; त्यो त हाम्रो घर थियो, हाम्रो खेलमैदान थियो, हाम्रो पहिलो विद्यालय थियो।
बिहान सबेरै भालेको डाकसँगै गाउँ जाग्थ्यो। कतै गाईका घण्टीहरू बज्थे, कतै चुल्होमा दाउरा सल्किँदा निस्किएको धुवाँ बिस्तारै आकाशतिर उड्थ्यो। म आँगनमा निस्कनासाथ एउटा साथी सधैँ मेरो प्रतीक्षामा हुन्थ्यो, काले। उसले पुच्छर यति जोडले हल्लाउँथ्यो, मानौँ म धेरै वर्षपछि घर फर्किएको हुँ।
कहिले ऊ अगाडि कुद्थ्यो, म पछिपछि दौडिन्थेँ। कहिले म भाग्थेँ, ऊ मेरो पाइला पछ्याउँदै आउँथ्यो। त्यति बेला मैले कहिल्यै सोचिनँ, ऊ केवल घरको कुकुर थिएन। ऊ त मेरो बाल्यकालको सबैभन्दा इमानदार साथी थियो।
कालेसँग बिताएका ती साना क्षणहरू आज सम्झँदा मन अनायासै भरिन्छ। उसले कहिल्यै केही मागेन। मेरो उपस्थितिमै उसको खुसी थियो। म खुसी हुँदा ऊ उफ्रिन्थ्यो, म उदास हुँदा चुपचाप मेरो छेउमा आएर बसिदिन्थ्यो। अहिले बुझ्छु, प्रेम सधैँ शब्दले व्यक्त हुँदैन रहेछ, कहिलेकाहीँ मौन साथ नै जीवनभर सम्झिरहने सम्बन्ध बन्छ।
मेरो शिक्षायात्रा गाउँकै सामुदायिक विद्यालयबाट सुरु भयो। त्यस विद्यालयले मलाई अक्षर चिनाउनुअघि मानिस चिनायो। अनुशासन सिकाउनुअघि मिलेर बस्न सिकायो। बिहान ढिलो भयो भने शिक्षकको डर लाग्थ्यो, तर टिफिनको घण्टी बज्ने बित्तिकै त्यो डर हावासँगै उडेर जान्थ्यो।
टिफिनको समयमा हामी साथीहरू मैदानमा गोलो घेरा बनाएर बस्थ्यौँ। कसैले चिउरा ल्याउँथ्यो, कसैले भुटेको मकै, कसैले अचार। ‘अलिकति साटौँ न’ भन्ने एउटै वाक्यले सबैको टिफिन साझा बनाइदिन्थ्यो। त्यति बेला कसैसँग धेरै थिएन तर भएको कुरा एक्लै खाने बानी पनि थिएन। सायद बाँडेर खान सक्नु नै बाल्यकालले दिएको सबैभन्दा सुन्दर संस्कार थियो।
विद्यालयको घण्टी बजेर घर फर्किने बेला बाटो अझ रमाइलो लाग्थ्यो। कसैले गीत गाउँथ्यो, कसैले पहेली सोध्थ्यो, कसैले भोलि खेल्ने खेलको योजना बनाउँथ्यो। घर पुग्ने कुनै हतार हुँदैनथ्यो। किनकि प्रत्येक मोड, प्रत्येक कान्ला र प्रत्येक पाखोमा हाम्रो बाल्यकाल अल्झिएको हुन्थ्यो।
आज त्यो विद्यालय फेरिएको होला। कक्षाकोठाका भित्तामा नयाँ रङ लागेको होला। खेलमैदान पनि पहिलेभन्दा फरक देखिँदो हो। तर मेरो स्मृतिमा त्यो विद्यालय अझै उस्तै छ, झ्यालबाट देखिने हरियो डाँडा, धुलोले भरिएको खेलमैदान, साथीहरूको निष्कपट हाँसो र भविष्यबारे कुनै चिन्ता नभएको एउटा सानो बालक।
जीवनले पछि गएर धेरै ज्ञान दियो, धेरै अनुभव दियो। तर गाउँले मलाई सानै उमेरमा सबैभन्दा ठुलो शिक्षा दिइसकेको थियो; आफ्ना मानिसहरूलाई माया गर्न, भएको कुरा बाँड्न, प्रकृतिसँग नजिक भएर बाँच्न र साना खुसीलाई ठुलो उत्सव बनाउन।
आज जब जीवन असाध्यै थाक्छ, मनले कुनै सहर खोज्दैन। ऊ चुपचाप त्यही गाउँ फर्किन्छ, जहाँ बिहानको पहिलो घामसँगै आशाले भरिएको नयाँ दिन सुरु हुन्थ्यो। जहाँ काले अझै आँगनभरि पुच्छर हल्लाउँदै मेरो प्रतीक्षामा दौडिरहेको जस्तो लाग्छ। जहाँ हजुरबुवाका दन्त्यकथाहरू साँझको अँध्यारोसँगै फेरि कानमा गुन्जिन थाल्छन्। र, जहाँ पुगेर महसुस हुन्छ- समय धेरै अघि बढिसके पनि बाल्यकाल कहिल्यै टाढिँदैन, ऊ त स्मृतिको एउटा उज्यालो कुनामा बसेर जीवनभर हामीलाई घर फर्काइरहन्छ।