‘सेन्टी दाजु’ बिहानै आइपुगे— साबिकभन्दा अलि बढी नै उदास र रुन्चे अनुहार लगाएर।
उसो त सेन्टी दाजुको नित्य-निरन्तरको उदासीलाई म खासै ‘बाल’ दिँदैनथेँ। तर दिदीको नजरमा यी दाजु अलि बढी नै भावुक प्राणी थिए।
‘भावुकताको बाढीमा बगेर यो मान्छेले कतिखेर के उपद्रो गर्छ!’ भन्ने दिदीलाई सधैँ पिर हुन्थ्यो। त्यसैले दाजुलाई हतास र उदास देख्नासाथ (जो उनी प्रायः २४ सै घण्टा हुन्थे) दिदी हरसम्भव ‘चियर-अप’ गर्ने कोसिस गर्नुहुन्थ्यो— र प्रायः सफल पनि हुनुहुन्थ्यो।
मेरो विचारमा भने ‘सेन्टी दाजु’ बिनासित्ती ‘सेन्टी’ भइबस्थे। त्यसैले म तिनलाई मौका पाउनासाथ उडाइरहन्थेँ। उनी बेलाबेलामा झिँजिन्थे, तर मलाई— ‘बाल!’
खासमा यी सेन्टी दाजु मभन्दा उमेरले एकाध वर्ष जेठा होलान्। बाल्यकालमा हामी दैलेखमा सँगै एकै कक्षामा पढ्थ्यौँ। तर पाँच कक्षा पास गरेपछि म काकाहरू/बाको पछि लागेर बर्दिया झरेँ, सेन्टी दाजुहरू सुर्खेत हान्निएछन्।
दश वर्षपछि नेपालगन्जको राँके गर्मीमा हाम्रा बाटा फेरि ठोक्किए। म र दिदी डेरा लिएर स्नातक पढ्दै थियौँ। सेन्टी दाजु पनि भेरी टेक्निकल स्कुलमा कुन्नि के जाति टेक्निकल पढ्दै रहेछन्। बस्ने ठाउँ नजिकै, त्यसमाथि बाल्यकालको पुरानो दोस्ती—दोस्ती पुनर्जीवित हुन कत्ति टाइम लागेन। काम-बेकाम, फुर्सद-बेफुर्सदमा ह्याङआउट गर्ने साझा थलो बन्यो हाम्रै कोठा। सेन्टी दाजु प्रायः झुल्किरहन्थे।
त्यस्तै बिहानको नौ बज्दो हो, सेन्टी ब्रो अँध्यारो अनुहार र अत्तालिएको आँखा बोकेर आइपुगे।
दिदीले साबिकझैँ सोधखोज थाल्नुभयो। सुरुमा त दाजुले ‘केही होइन’ भनेर टार्न खोजे, तर दिदीले अलिक कर गरेपछि रुन्चे स्वरमा आफ्नो ‘इतिवृत्तान्त’ कहन थाले।
घटनाको मुख्य खलनायक थिइन्— सेन्टी दाजुका घरबेटीकी ९-१० वर्षकी सानी छोरी। हाम्रा नजरमा ऊ सारै पुलपुलिएकी, महाजिद्दी, चकचके र सामान बिगार्नमा ओस्ताद थिई। छोटकरीमा भन्दा— साक्षात् ‘बाँदर’!
बाङबुङ ठोकिँदै, सामान घच्याट्दै हिँड्ने उसको बानी! ‘यसो नगर नानी’ भन्यो कि च्याँठिँदै ‘गर्छु!’ भनेर उल्टै थर्काउँथी। कोठामा डाङडाङडुङ गर्दै छिर्ने र सामान भताभुङ्ग पार्ने त उसको नित्य कर्म थियो। उसलाई देख्नासाथ हामी सबै ‘साइड लाग्ने’ गर्थ्यौँ। सेन्टी दाजु त उही घरका डेरावाल भए, त्यसैले अलि बढी नै उसको निशानीमा पर्थे।
भएछ के भने, एक दिन तिनै ‘महाप्रभु’ छोरीले भान्छामा एक थान जिउँदो साङ्लो भेटिछिन्। अनि के चाहियो! उनले त्यो साङ्लोलाई च्याप्प समातेर मसिनो धागोले कम्मरमा बाँधिछन् र कुकुर डोहोर्याएझैँ कोठा-कोठा डुलाउन थालिछन्।
त्यसै क्रममा स्वाभाविक रूपमा उनी सेन्टी दाजुको कोठामा पनि छिरिछिन्। दाजु मस्त निद्रामा ढल्किएका रहेछन्। उसले सुतिरहेका दाजुको मुखैनेर त्यो धागोमा झुन्डिएको साङ्लो हल्लाउँदै, झकझक्याउँदै उठाउन थालिछ।
सुतेको मान्छेलाई कसैले जबरजस्ती उठाउँदा र आँखा खोल्नासाथ नाकको टुप्पामा यत्रोमानको साङ्लो नाचिरहेको देख्दा जोकोहीको सातो जानु स्वाभाविकै हो! दाजु पनि झस्किएर जुरुक्क उठेछन्। तर ऐन मौकामा धागो फुत्कियो र साङ्लोले कोठाको कुन कुनामा टाप हान्यो, पत्तै भएन!
बस, त्यसपछि सुरु भो महा-रडाको!
‘मेरो साङ्लो हराइदियो!’ भनेर घरबेटीकी छोरीले कोहराम मच्चाइ। दाजुले फकाउन कति प्रयास गरे, तर के मान्थी! साङ्लो भेटिन्छ कि भनेर दाजुले कोठा उलटपुलट पारे, तर बहुमूल्य साङ्लो कता हरायो कता! घरभरिका मान्छे जम्मा भए, आ-आफ्नो कोठामा खोजतलास भयो, तर साङ्लो फेला परेन।
अहँ, नचाहिएको चिज पो जताततै सहजै भेटिन्छ। कुनै चिज तुरुन्तै चाहियोस् त, विश्व ब्रह्माण्डमै फेला पर्दैन!
घरबेटीकी छोरीको कचकच र गाली खाएपछि सेन्टी दाजुको पुरुषार्थी इगो बुरुक्क उफ्रिएछ। ‘अब यसको मुखमा एक थान साङ्लो ल्याएर पछार्छु!’ भन्ने भीष्मप्रतिज्ञा गरेर उनी आफ्नो दुःख बिसाउने अन्तिम अखडा— अर्थात् हाम्रै कोठामा आइपुगेका रहेछन्।
उनको यो ‘साङ्लो-पुराण’ सुनेर म र दिदी हाँस्दाहाँस्दै भुतुक्कै भयौँ। तर दाजु भने झन्-झन् रुन्चे अनुहार बनाउन थाले।
दाजु कड्किए, ‘मलाई एउटा साङ्लो जसरी पनि चाहियो! लगेर त्यसको मुखमै फ्याँकिदिन्छु!’
मैले सम्झाउन खोजेँ, ‘दाजु, हावा कुरा नगर न। बच्चाको जिद्दी हो, कहाँ साङ्लो खोज्न भौँतारिनु अब? तिमी कोठा फर्किँदासम्म उसले बिर्सिसक्छे।’
दिदीले पनि मेरो कुरामा सही थाप्नुभयो।
अहिलेको जमाना हुन्थ्यो भने त म आफ्नै घरबाट एक झोला साङ्ला दिन्थेँ होला, तर त्यति बेला हाम्रा कोठामा साङ्लाको अनिकाल नै थियो।
तर सेन्टी दाजु टसमस भएनन्। ‘साङ्लो खोज्नै पर्छ’ भनेर एकोहोरो ढिपी गरिरहे।
नजिकै अर्को साथी बस्थ्यो। उसलाई सोधियो, ‘तेरोमा साङ्ला छन् कि?’ उसले भन्यो— छैनन्। उसले फेरि अर्को साथीलाई फोन घुमायो, उसकोमा पनि साङ्लोको खडेरी नै रहेछ।
दाजु फेरि जङ्गिए, ‘हिँड, बाहिरै गएर खोजौँ!’
अब ४२ डिग्रीको राँके धूपमा उम्लिरहेको नेपालगन्जको गर्मीमा कहाँ साङ्लो खोज्न जानु? तर नगई सुखै भएन।
जाने त जाने, कहाँ जाने? बाटोमा भेटिएका मान्छेलाई ‘भाइ साब, यसो साङ्लो पाइन्छ कि?’ भनेर सोधियो भने तिनले पागलखाना पुर्याइदिने पक्का थियो।
अचानक मेरो दिमागको बत्ती बल्यो! अलिक पर एउटा पुराना अन्न पिस्ने मिल थियो। सोचेँ—यस्ता ठाउँमा त पक्कै हुनुपर्छ।
‘लौ त हिँड!’ भनेर लागियो मिलतिर। सुरुमा त मिलको साहुले हामीलाई हेरेर ‘यी कुन पागलखानाबाट भागेका हुन्?’ भन्ने नजरले हेर्यो। तर बिस्तारै कुरा बुझेपछि (वा हामीबाट मुक्ति पाउन) उसले पिठोका बोराहरू खात लगाइएको अँध्यारो कुनातिर इसारा गरिदियो।
हामीलाई त मानौँ कोहिनुर हिरा नै फेला परेझैँ भयो! हामी धमाधम पिठोका बोरा पन्छाउन थाल्यौँ। सेन्टी दाजुको खुसीको सीमा थिएन। बोरामुनि अनेक साइज, रूप र रङका साङ्लाहरू साक्षात् विराजमान थिए! केही थान ‘हेभी-ड्यूटी’ साङ्लाहरू समातेर हामी युद्ध जितेको योद्धाझैँ बाहिर निस्कियौँ। दाजु विजयको मुस्कानका साथ सोझै आफ्नो कोठातिर लागे, म आफ्नोतिर।
भोलिपल्ट सेन्टी दाजु फेरि भेटिए।
मैले उत्सुक हुँदै सोधेँ, ‘के भो त हिजो? साङ्लो पाएर खुसी भई त तिम्री घरबेटीकी छोरी?’
दाजु झन् आगो भएर बम्किए, ‘हेर्दा पनि हेरिन मर्न नसकेकीले! अर्को खेलौना पाएर साङ्लो बिर्सिसकेकी रहिछ!’