‘सन्चै छस्? आजभोलि कता?’ पछिको प्रश्न सजिलै अनुमान गर्न सकिन्छ किनकि उमेर पुगेका हरेक अविवाहितका लागि त्यो प्रश्न मौसमको भविष्यवाणीभन्दा पनि निश्चित र सूर्य पूर्वबाट उदाउने भन्दा पनि सत्य हुन्छ।
राज्यको कानुनअनुसार म एक सामान्य नागरिक हुँ। तर समाजको आफ्नै एउटा कानुन छ, जसको बारेमा संविधानमा कतै लेखिएको छैन। त्यो कानुनअनुसार एउटा निश्चित उमेर पार गरेपछि बिहे नगर्नु अपराध सरह हो। त्यसैले अहिले म समाजको अदालतमा वर्षौँदेखि कठघरामा उभिएको अभियुक्त हुँ। मेरो अभियोग एउटै छ ‘यत्रो उमेर भयो, अझै बिहे किन नगरेको?’
मेरो मुद्दाको सुनुवाइ पनि निकै रोचक छ। यो मुद्दा कुनै औपचारिक अदालतको जस्तो होइन। यहाँ कुनै मुद्दाको दर्ता शुल्क लाग्दैन, न त निवेदन नै दिनुपर्छ, न वारेस राख्नुपर्छ। अदालतको कुनै निश्चित भवन हुँदैन, पेशीको सूची प्रकाशित हुँदैन र सुनुवाइका लागि घण्टी पनि बज्दैन। तर आश्चर्य के छ भने, सुनुवाइको क्रम भने वर्षको तीन सय पैँसट्ठी दिन नै चलिरहन्छ।
जहाँ दुई–चार जना आफन्त, साथीभाइ वा चिने जानेका भेटिए, त्यहीँ ठाउँ अदालत बस्छ। मुद्दा स्वतः दर्ता हुन्छ र सुनुवाइ पनि तत्काल सुरु हुन्छ। कार्यालयमा नयाँ सहकर्मी भेटियो भने प्रारम्भिक सुनुवाइ हुन्छ, चाडपर्व र विवाह समारोहहरू विशेष इजलासका रूपमा सञ्चालन हुन्छन्, वर्षौँपछि भेटिएका साथीहरू पुनरावेदन अदालतका न्यायाधीशझैँ प्रस्तुत हुन्छन् भने टाढाका आफन्तहरू भने कहिलेकाहीँ सर्वोच्च अदालतकै संवैधानिक इजलासको जस्तो अधिकार प्रयोग गर्न थाल्छन्।
यस मुद्दामा न्यायाधीशको नियुक्ति कसैले गर्दैन, तर न्यायाधीशको अभाव पनि कहिल्यै हुँदैन। कहिले काका इजलासमा बस्छन्, कहिले फुपू, कहिले छिमेकी, कहिले साथीभाइ। अझ रमाइलो कुरा त के छ भने, यस अदालतमा कार्यक्षेत्रको कुनै सीमा छैन। चिया पसल, बसपार्क, भोजभतेर, सामाजिक सञ्जाल, पारिवारिक जमघट सबै ठाउँ अदालतका अस्थायी कार्यालय हुन्।
मुद्दाको अभियोगपत्र पनि निकै छोटो छ। त्यसमा एउटै आरोप लेखिएको हुन्छ— ‘यत्रो उमेर भयो, अझै बिहे नगरेको।’ अनि यो आरोप प्रमाणित गर्न अभियोजन पक्षले अनेक प्रकारका प्रमाण पेस गर्छ।
‘फलानोको छोरा त तिमीभन्दा कान्छो भएर दुई बच्चाको बाबु भइसक्यो’
‘छिमेकीकी छोरीको पनि बिहे भएर बच्चा स्कुल जान थाल्यो’
‘तिम्रो ब्याचका सबै साथीको घरपरिवार भइसक्यो’ जस्ता कथनहरूलाई प्रमाण सामग्रीका रूपमा पेस गरिन्छ। नेपालको प्रमाण ऐनले स्वीकार नगर्ने प्रमाणहरू पनि यस अदालतमा निर्विवाद रूपमा ग्राह्य हुन्छन्।
त्यसपछि सुरु हुन्छ बयान र जिरह।
‘किन बिहे नगरेको?’
‘केटी भेटिएन?’
‘धेरै रोजेको हो?’
‘कतै प्रेममा असफल त भएनौ?’ जस्ता प्रश्नहरू लगातार सोधिन्छन्।
मैले एउटा प्रश्नको उत्तर नदिँदै अर्को प्रश्न दर्ता भइसकेको हुन्छ। मेरो उत्तरभन्दा उनीहरूको अनुमान बलियो हुन्छ। मैले जे स्पष्टीकरण दिए पनि उनीहरू मेरो स्पष्टीकरणमा कहिल्यै सहमत हुँदैनन्। औपचारिक अदालतले आदेश दिन्छ कुनै सल्लाह, सुझाव र डर धम्की दिँदैन तर समाजको अदालतमा सुझाव र सल्लाह भरपुर दिइन्छ।
कसैले ‘धेरै नसोच, बिहे गरेपछि सबै ठिक हुन्छ’ भन्छ। कसैले ‘उमेरले पर्खिँदैन’ भनेर सम्झाउँछ भने कसैले ‘ढिलो गरिस् भने राम्रो जोडी पाइँदैन’ भनेर डर देखाउँछन्। यी सबै कुरा सुन्दा लाग्छ, बिहे कुनै जादुको औषधि हो जसले आर्थिक, मानसिक, सामाजिक र भावनात्मक सबै समस्या एकैचोटि निको पारिदिन्छ। तर वास्तविक जीवनमा बिहे गरिसकेका प्रायःले बिहे कुनै चमत्कारी उपचार हो भन्ने कुरा भने सहजै कसैले स्वीकार गर्न चाहँदैन।
अझ रमाइलो त तब हुन्छ जब समाजले समाधान पनि आफैँ खोज्न थाल्छ। ‘हाम्रो छिमेकीकी छोरी छ, मेरो साथीकी भान्जी छ, एउटी निकै राम्रो केटी छ, फोटो हेर्छौ?’ जस्ता प्रस्तावहरू यति सहज रूपमा आउँछन् कि लाग्छ, म कुनै विवाह मेला घुमिरहेको ग्राहक हुँ। त्यसैमाथि सामाजिक सञ्जालले पनि यो दबाबलाई झन् बढाइदिएको छ। हरेक दिन कसैको इन्गेजमेन्ट, कसैको प्रि-वेडिङ, कसैको विवाह, कसैको वार्षिकोत्सवका तस्बिरहरू देखिन्छन् शुभकामना दियो त्यसको तल अनिवार्यजस्तै एउटा टिप्पणी हुन्छ ‘अब तपाईंको पालो।’
यस मुद्दाको अर्को अनौठो पक्ष के छ भने, सुनुवाइ कहिल्यै समाप्त हुँदैन। अदालतले फैसला सुनाउँदैन, बरु प्रत्येक सुनुवाइपछि अर्को तारेख मौखिक रूपमा तोकिदिन्छ। ‘अब अर्को दसैँसम्म केही खबर सुनाउँछौ होला’, ‘अब अर्को वर्ष त पक्कै’, ‘अब त धेरै ढिला नगर’ जस्ता टिप्पणीहरू वास्तवमा नयाँ तारेख नै हुन्। म एक तारेख काटेर अर्को तारेखमा पुग्छु, अर्को तारेखबाट फेरि अर्कोमा। तर मुद्दा भने सधैँ विचाराधीन नै रहन्छ।
वास्तवमा, बिहे गरेपछि पनि समाजका लगाउने अभियोग सकिँदैनन्। यदि कुनै दिन यो मुद्दामा मैले बिहे गरेर सफाइ पाएँ भने पनि यो समाजमा कठघरामा म सधैँ नै उभिइरहनु पर्छ। केवल मुद्दाको विषय परिवर्तन हुन्छ। नयाँ मुद्दा तुरुन्त दर्ता हुन्छ ‘बच्चा कहिले?’ त्यसपछि ‘अर्को बच्चा कहिले?’ अनि ‘घर कहिले?’, ‘गाडी कहिले?’ अर्थात् समाजको अदालतमा अभियुक्त बदलिँदैन, अभियोग मात्र बदलिन्छ।
त्यसैले कहिलेकाहीँ मलाई लाग्छ, समाजको कठघरामा म मात्र होइन यो हरेक नागरिक कुनै न कुनै अभियोगमा आजीवन विचाराधीन रहिरहन्छ।
त्यसैले अहिले म रिसाउँदिनँ। बरु मुस्कुराउँछु। किनकि मैले बुझिसकेको छु— समाजको अदालतमा मेरो मुद्दाको फैसला छिट्टै आउनेवाला छैन। अनुसन्धान अझै जारी रहनेछ, साक्षीहरू थपिँदै जानेछन्, प्रश्नहरू दोहोरिँदै जानेछन्। समाजको अदालतमा मेरो मुद्दा अझै विचाराधीन छ।
नयाँ–नयाँ न्यायाधीश आउँदै जानेछन्, नयाँ–नयाँ सरकारी वकिलले जिरह गर्दै जानेछन्, नयाँ–नयाँ साक्षीले सल्लाह दिँदै जानेछन्। अनि म पनि समाजको कठघरामा उभिएर हरेक सुनुवाइमा एउटै कुरा दोहोर्याइरहनेछु- अहिले नै त हतार छैन।