कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
भोटेकोशी-त्रिशूली बाढीले रसुवाको उत्तरगया गाउँपालिका–१ जोड्ने मुख्य सडक सञ्जाल ध्वस्त पारेपछि यहाँका दुर्गम बस्तीमा उद्धार र राहत पुर्याउनै कठिन भइरहेको छ।
प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न, पकाउने भाँडाकुँडा, त्रिपाल, म्याट लगायतका सामग्री गोदाममा पर्याप्त मात्रामा भण्डारण गरिएको छ। तर ती सामग्री प्रभावित बस्तीसम्म पुर्याउने बाटो छैन।
सडक क्षतविक्षत भएकाले गाडी चल्ने अवस्था छैन। पैदल हिँडेर पनि पुग्न नसकिने दुर्गम बस्तीमा हेलिकप्टरको विकल्प छैन। तर हेलिकप्टरसमेत नियमित रूपमा उपलब्ध हुन नसक्दा राहत सामग्री गोदाममै थन्किएको वडाध्यक्ष मार सिं तामाङले बताए।
उनका अनुसार उत्तरगया–१ मा गाउँपालिकाभित्रै सबभन्दा बढी क्षति भएको छ। त्यसमध्ये थिरू, गोगने र कारमराङको अवस्था झनै नाजुक छ।
यी बस्तीहरू वडा कार्यालय रहेको क्षेत्रबाट करिब ४०–४५ किलोमिटर टाढा छन्। भौगोलिक विकटता र बाटोघाटो पूर्ण रूपमा बन्द भएकाले गाडी वा पैदल हिँडेर त्यहाँ पुग्ने अवस्था छैन।
'हिँडेर आवतजावत गर्न सक्ने अवस्था नै छैन,' तामाङले भने, 'अघिल्ला दिनमा हेलिकप्टरमार्फत केही थोरै परिमाणमा सामग्री खसालिएको भए पनि अहिले हेलिकप्टर नआउँदा उद्धार र राहत वितरण पूर्ण रूपमा ठप्प भएको छ।'
४–५ सय घर ध्वस्त, ४ सय बेपत्ता
बाढी र पहिरोले वडामा पुर्याएको भौतिक क्षतिको विवरण भयावह छ।
वडाध्यक्ष तामाङका अनुसार करिब ४०० देखि ५०० घर बाढीले बगाएको वा पहिरोले पुरेको छ। कतिपय ठाउँमा घर थिए भन्ने समेत छुट्याउन नसकिने गरी बस्तीको नामोनिसान मेटिएको छ।
मानवीय क्षति पनि ठूलो छ। वडाभित्र करिब ४०० जना बेपत्ता रहेको तामाङले बताए। हालसम्म दुई जनाको मात्र शव फेला परेको छ।
धेरै परिवारका ७–८ जना सदस्यमा एक–दुई जना मात्र जीवित रहेको उनले बताए।
'वडा नम्बर १ मा ठूलो भौतिक क्षति भएको छ। मानवीय क्षति पनि उस्तै छ,' उनले भने, 'बाढी आउँदैछ भन्ने १०–१५ मिनेटअघि मात्र थाहा पाएकाले नागरिकलाई जोगाउन सकिएन।'
वडाभित्र एउटा विद्यालय र एउटा स्वास्थ्य चौकीसमेत बाढीले पूर्ण रूपमा क्षति पुर्याएको उनी बताउँछन्।
तीन ठाउँमा विस्थापित, दुई ठाउँमा राहत पुर्याउन सकिएन
बाढीबाट विस्थापित भएका करिब २०० जनालाई वडा कार्यालय र स्थानीय टोलीको समन्वयमा उद्धार गरी तीन स्थानमा राखिएको छ।
तीमध्ये दुई स्थानमा आवश्यक राहत सामग्री पुर्याउन नसकिएको तामाङले बताए।
'यो विपदको अवस्थामा हामी आफ्ना नागरिकलाई उचित बासस्थान र खाना खुवाउन लागिपरेका छौं,' उनले भने, 'राहत सामग्री पनि आइरहेको छ। तर बाटो नभएकाले सामान पुर्याउन सकिएको छैन। हेलिकप्टर पाइएको छैन।'
उनका अनुसार प्रभावित नागरिकहरूका लागि एक–दुई दिनदेखि हेलिकप्टरको प्रतीक्षा भइरहेको छ। हेलिकप्टर आउने भनिए पनि आइतबार दिउँसो १२ बजेसम्म नआएको उनले बताए।
राहत सामग्री समयमै पुर्याउन नसक्दा बाढीबाट बचेका नागरिकसमेत भोकै बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
सानो खोलामा यति ठूलो बाढी आउला भन्ने अनुमान थिएन
स्थानीयले बाढी आउँदै गरेको थाहा पाउँदा पनि सुरक्षित स्थानमा पुग्ने पर्याप्त समय नपाएको तामाङ बताउँछन्।
उनका अनुसार स्थानीय बस्ती आसपासका खोलाहरू सामान्यतया साना छन्। त्यसैले यति ठूलो र विनाशकारी बाढी आउला भन्ने अनुमान स्थानीयले गरेका थिएनन्।
'साना खोला भएकाले यति ठूलो विनाशकारी बाढी आउला भन्ने अनुमान गर्न सकिएन,' उनले भने, 'सधैं बाढी आइरहने हो भन्ने सोचाइ भएकाले पनि मानवीय क्षति उच्च हुन पुग्यो।'
अहिले भने बाढीबाट बाँचेकाहरूलाई कसरी सुरक्षित राख्ने र उनीहरूसम्म तत्काल खाद्यान्न पुर्याउने भन्ने नै वडाको मुख्य चुनौती बनेको छ।
वडाध्यक्ष तामाङले निजी हेलिकप्टर कम्पनी, गैरसरकारी संस्था तथा उद्धारमा संलग्न निकायहरूलाई तत्काल हेलिकप्टरको व्यवस्था गरी थिरू, गोगने र कारमराङका विस्थापितसम्म राहत सामग्री पुर्याइदिन अपिल गरेका छन्।
उत्तरगया–१ मा अहिले समस्या राहत सामग्रीको मात्र होइन। राहत सामग्री तयार छ, तर त्यसलाई बाढीले काटेको भूगोल पार गरेर मानिससम्म पुर्याउने साधन छैन। यही कारण गोदाममा थन्किएको राहत प्रभावित बस्तीमा पुग्न नसक्दा बाढीबाट बाँचेकाहरूका लागि अर्को संकट सुरू भएको छ।
(बाढी प्रभावित उत्तरगया नगरपालिका–१ मा सहयोग गर्न चाहनेले वडाध्यक्ष मार सिं तामाङलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9861283461 हो)