कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
भोटेकोशी–त्रिशूली बाढीले रसुवाको आमाछोदिङमो गाउँपालिकालाई अहिले पनि बाँकी जिल्लाबाट लगभग छुट्टिएको अवस्थामा पुर्याएको छ।
गाउँपालिकाका वडा नम्बर १, २, ४ र ५ को छेउ–छेउ बग्ने भोटेकोशी नदीमा आएको बाढीले किनारका बस्ती, मानिस र निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुर्यायो। बाढीले गाउँपालिकालाई जोड्ने पुलहरू पनि बगायो।
त्यसयता गाउँपालिकाका धेरै बस्तीमा राहत पुर्याउनु नै सबभन्दा ठूलो चुनौती बनेको छ।
गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार अहिले गाउँपालिका 'नाकाबन्दी' को अवस्थामा छ। सडक र पुल सबै ठाउँमा अवरूद्ध भएकाले हेलिकप्टरबाट पठाइएको राहतले मात्र यहाँको आवश्यकता धान्न सकेको छैन।
'हाम्रो पालिकामा जम्मा १६ सयजति घरपरिवार छन् र अहिले ती सबै प्रभावित छन्। बाटो बन्द छ, पुलहरू बगाएका छन्। हाम्रो पालिका प्रवेश गर्ने झोलुंगे पुल नै बगाएपछि पूरै नाकाबन्दीजस्तै भएको छ,' उनले सेतोपाटीसँग भने।
जहाँसम्म गाडी पुग्छ, त्यहाँसम्म राहत पुर्याउन केही सहज भए पनि वडा नम्बर १ देखि ५ सम्मका धेरै बस्तीमा न गाडी पुग्ने अवस्था छ, न मानिस हिँडेर पुग्ने बाटो नै बाँकी छ।
'जहाँ गाडी पुग्छ, त्यहाँ त राहत पुग्यो। तर हाम्रो वडा नम्बर १ देखि ५ सम्मै गाडी जाने बाटो छैन, मान्छे हिँड्ने बाटो पनि छैन। त्यसैले राहत पुर्याउनै सकिएको छैन,' तामाङले भने, 'राहतको कुरा गर्दा अहिलेसम्म केही आएकै छैन भने पनि हुन्छ।'
हेलिकप्टरबाट राहत पठाइए पनि त्यसको परिमाण अत्यन्तै कम रहेको उनको गुनासो छ।
अध्यक्ष तामाङका अनुसार एक–दुईवटा साना हेलिकप्टरले ल्याउने राहतमा करिब १० बोरा चामल र केही अन्य सामग्री मात्र हुन्छ। त्यति राहतले गाउँपालिकाका सबै प्रभावित परिवारको आवश्यकता धान्न सम्भव छैन।
समस्या बाढीले घर बगाएका परिवारमा मात्र सीमित छैन।
सडक सञ्जाल भत्किएपछि बाढीले प्रत्यक्ष क्षति नगरेका गाउँबस्तीमा समेत खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको तामाङ बताउँछन्।
'मानिसहरूलाई दाल, चामल, नुन र तेलकै मुख्य खाँचो भइसकेको छ। घरमा भएका पिठो लगायतका खानेकुरा पनि सकिँदै गएकाले दबाब बढिरहेको छ,' उनले भने, 'पैसा भएकाहरूले पनि किन्न पाउने ठाउँ छैन।'
अर्थात्, बाढीले घर नबगाएको परिवार पनि अहिले पहुँच अभावका कारण प्रभावित बन्न थालेका छन्।
गाउँपालिकाका अनुसार बाढीमा परेर अहिलेसम्म २०३ जना बेपत्ता छन्। कतिपय परिवारका एकभन्दा बढी सदस्य बेपत्ता छन्। तर बाँचेकाहरूका लागि पनि राहतको पर्याप्त व्यवस्था हुन नसकेको तामाङ बताउँछन्।
राहत आएको अवस्थामा त्यसलाई कसरी र कसले वितरण गर्ने भन्नेमा पनि स्थानीय तह र सुरक्षा निकायबीच समन्वयको समस्या देखिएको उनको भनाइ छ।
'संघ र प्रदेश सरकारसँग बेपत्ताको उद्धारमा त मिलेरै काम भएको छ। तर राहत वितरणमा समन्वयको ठूलो समस्या छ। सिडिओसाप (प्रमुख जिल्ला अधिकारी) सँग कुरा त भइरहेको छ, तर प्रशासनले 'वान डोर' प्रणाली भन्दै सुरक्षा निकायलाई मात्र जिम्मेवारी सुम्पेको छ। त्यसले हाम्रो र उनीहरूको कुरा मिलिरहेको छैन,' उनले भने।
सडक पुगेका ठाउँमा पालिकाले समन्वय गरेर राहत वितरण गरिरहेको भए पनि सडक नै नभएका बस्तीमा स्थानीय सरकार आफैले पनि प्रभावकारी रूपमा राहत पुर्याउन नसकेको उनी बताउँछन्।
'हाम्रोमा त बाटो नभएकै कारण राहत वितरणमा कुनै जिम्मेवारी लिन पाएका छैनौं। माथिल्लो निकायले योजनाबद्ध रूपमा राहत वितरण नगरी आ–आफ्नै ढंगले राहत पठाउँदा समस्या भइरहेको छ,' तामाङले भने।
सबभन्दा बढी क्षति भएको वडा
आमाछोदिङमो गाउँपालिकाको वडा नम्बर १ बाढीबाट सबभन्दा धेरै प्रभावित भएको थियो।
वडाध्यक्ष साङ लामाका अनुसार भदौ १० मा त्रिशूलीमा आएको बाढीले वडालाई लगभग पूरै प्रभावित बनाएको छ। बाढीमा परेर वडाका ६५ जनाको मृत्यु भएको उनले बताए।
कतिपय घर बगेका छन्। तर बगेका घरभन्दा ठूलो समस्या अहिले बाँकी रहेका घरहरू पनि बस्न नसकिने अवस्थामा पुग्नु हो।
'वडाका ११५ वटा घरधुरी बस्नै नमिल्ने गरी जोखिममा परेका छन्,' लामाले भने।
तीमध्ये धेरै परिवार विस्थापित भएर धुन्चे, काठमाडौं लगायतका ठाउँमा पुगेका छन्। कोही धुन्चेमा पुरानै कोठामा बसिरहेका छन्, कोही आफन्तको शरणमा छन् भने कतिपयले आफै टहरा बनाएर बसिरहेका छन्।
तर बाढीले घर नबगाए पनि प्रभावित बनेका परिवारको संख्या अझ ठूलो छ।
वडाध्यक्ष लामाका अनुसार त्यस्ता परिवार करिब २५० छन्। यी परिवारलाई पनि तत्काल खाद्यान्न र दैनिक उपभोग्य सामग्री पुर्याउनुपर्ने अवस्था छ।
'उहाँहरू बाढीबाट प्रभावित हुनुहुन्छ। पुलहरू नभएकाले कतै हिँड्न वा जान सक्ने अवस्था छैन। जहाँ हुनुहुन्छ, त्यहीँ बसिरहनुभएको छ,' उनले भने, 'अहिले हेलिकप्टर र ड्रोनबाट आएको अलि–अलि रासन दिइरहेका छौं।'
अहिलेको अवस्थामा भने लत्ताकपडा, औषधि वा अन्य सामग्रीको ठूलो अभाव देखिइसकेको छैन। तर लामो समयसम्म यही अवस्था रहे खाद्यान्नसँगै अन्य अत्यावश्यक सामग्रीको पनि अभाव हुने लामाको अनुमान छ।
त्यसैले उनको प्राथमिकता अहिले राहतभन्दा फरक छ।
'हामीलाई सबभन्दा पहिला त पुल नभएकाले समस्या भएको हो। पुल नभएर मान्छे भोकभोकै मर्ने हुन् कि भन्ने मात्र डर हो,' उनले भने।
उनका अनुसार तत्कालै एउटा पुल बनाइदिन सके त्यसपछि राहतमा निर्भर भइरहनुपर्ने अवस्था धेरै हदसम्म अन्त्य गर्न सकिन्छ। मानिसहरू आफै बजारसम्म पुगेर आवश्यक सामान ल्याउन सक्छन्।
'त्यसैले हाम्रा लागि तत्कालै खोलामा पुल हालिदिनु पर्यो। पुल हाल्यो भने दुई–चार दिनमा मानिसहरूले आफै बोकेर लगेर पनि खान सक्छन्। राहतले मात्र त सधैं पुग्दैन नि!' लामाले भने।
उनको तर्कमा बाढीपछिको राहतमा एउटा महत्त्वपूर्ण प्रश्न लुकेको छ — राहत कति दिने भन्ने मात्र होइन, राहत आफै पुग्न सक्ने बाटो कसरी बनाउने?
'सरकारले राहत दिने भनेको त इमर्जेन्सी पिरियडमा मात्रै हो। आज देला, तर भोलि कसले दिन्छ र?' उनले भने, 'त्यसैले हाम्रो त्यहाँको खोलामा जसरी पनि एउटा पुल बनाइदिनुपर्यो।'
आमाछोदिङमोको अहिलेको अवस्था यही हो — बाढीले घर र मानिस मात्र बगाएको छैन, राहत पुग्ने बाटोसमेत बगाएको छ।
त्यसैले तत्कालको आवश्यकता चामल, दाल र तेल मात्र होइन; मानिसलाई फेरि बजार, स्वास्थ्य सेवा र बाँकी संसारसँग जोड्ने पुल र बाटो पनि हो।
(बाढी प्रभावित रसुवाको आमाछोदिङमो गाउँपालिकामा बाटोको समस्याले राहत पुगेको छैन। सहयोग गर्न चाहनेले गाउँपालिका अध्यक्ष बुचुङ तामाङलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9841893178)