अबको १० वर्षपछि म ३५ वर्षको हुनेछु।
समयले मेरो उमेरसँगै मेरो अनुहारमा केही परिवर्तन ल्याइसकेको हुनेछ। कपाल झरेर तालु बनेको हुनेछ, दारी झ्याप्प परेको, अनुहारमा हल्का गम्भीरता र आँखामा भने अझै उस्तै पुरानो चञ्चलता। अनि सबैभन्दा रमाइलो कुरा के हुनेछ भने, म त्यति बेला पनि अविवाहित नै हुन सक्छु।
घरमा विवाहको कुरा उठिरहनेछ।
अब त उमेर पनि भयो।
कहिलेसम्म एक्लै बस्ने?
केटी खोजौँ?
म भने हाँस्दै कुरा अर्कैतिर मोडिदिनेछु।
पहिला चिया खाऊँ, बिहे पछि गरौँला। तर त्यसको अर्थ म एक्लो हुनेछु भन्ने होइन। किनकि मेरा दाजुभाइ र दिदीहरूका छोराछोरीहरू मेरा संसारका सबैभन्दा प्यारा मानिसहरू हुनेछन्।
उनीहरूका लागि म ठुलोबुबा, अंकल वा मामा हुनेछु, अझ त्योभन्दा पनि एउटा विशेष नामले चिनिनेछु ‘काका’।
घरमा बच्चाहरू जम्मा हुनेबित्तिकै सबैभन्दा पहिले उनीहरूले मलाई नै खोज्नेछन्।
काका कहाँ हुनुहुन्छ?
काका, मोबाइल दिनुस् न!
काका आज घुम्न जाने?
काका मलाई पैसा चाहियो।
अनि सबैभन्दा धेरै सुनिने वाक्य हुनेछ ‘काकाले भन्नुभएको।’
घरका ठुलाहरूलाई बच्चाहरूले मेरो नाम लिँदा कहिलेकाहीँ रिस पनि उठ्नेछ।
तिमीहरूलाई पढ्न भन्यो भने सुन्दैनौ, काकाले जे भन्यो त्यही मान्छौ!
त्यति बेला म कुनामा बसेर चुपचाप हाँसिरहेको हुनेछु।
दाजुभाइले बच्चालाई अनुशासन सिकाउनेछन्। म भने उनीहरूको सानो सानो गल्तीमा साथी बन्नेछु।
उनीहरूले परीक्षा बिगारे भने म उनीहरूलाई गाली गर्नुको सट्टा भन्नेछु, अर्को पटक राम्रो गर है। तर अहिले चाउमिन खान जाने?
उनीहरूले घरमा आफूले चाहेको कुरा नपाए भने मेरो कोठामा आउनेछन्।
काका, बाबाले मोबाइल चलाउन दिनुभएन।
काका आमाले बाहिर जान दिनुभएन।
काका मलाई नयाँ जुत्ता चाहियो।
म उनीहरूका समस्या सुनेर ठुलो मान्छेझैँ समाधान खोज्ने प्रयास गर्नेछु। तर अन्तिममा प्रायः एउटै समाधान हुनेछ- ल हिँड्, चिया खान जाऔँ।
सायद मेरो कोठा नै उनीहरूको मन पर्ने ठाउँ हुनेछ।
कोही मेरो ओछ्यानमा पल्टिएको हुनेछ। कोही मोबाइल चलाइरहेको हुनेछ। कोही मेरो गितार बजाउन खोजिरहेको हुनेछ। अनि कोही मेरो दारी तानेर भागिरहेको हुनेछ।
‘काका, तपाईंको दारी किन यति लामो?’
स्टाइल हो।
‘कस्तो स्टाइल?’
तिमीहरूले बुझ्दैनौ।
त्यसपछि उनीहरू सबै हाँस्नेछन्। म पनि हाँस्नेछु।
३५ वर्षको उमेरमा मेरो दारीले मलाई अलि बुढोजस्तो देखाए पनि उनीहरूका लागि म भने उही पुरानो अंकल नै हुनेछु।
सायद मेरो दारी नै मेरो पहिचान बन्नेछ। छिमेकीका बच्चाहरूले पनि मलाई देखेर भन्ने छन्- त्यो दारी भएको अंकल आउनुभयो।
मेरो त्यो दारी भात खान नमान्ने बच्चाको लागि डराउने बनाउने माध्यम हुनेछ। तर यो दारीको पछाडि एउटा शान्त जीवन लुकेको हुनेछ।
३५ वर्ष पुग्दा मैले धेरै कुरा सिकिसकेको हुनेछु। मानिसहरू कसरी बदलिन्छन्, सम्बन्धहरू कसरी टाढा हुन्छन्, सपना कसरी अधुरा रहन्छन् र जीवनले आफूले सोचेको बाटोभन्दा फरक बाटो कसरी रोज्छ भन्ने कुरा बुझिसकेको हुनेछु।
विवाह नगरेको कारण पनि सबैलाई बताउनुपर्ने आवश्यकता महसुस हुने छैन।
कसैले सोध्नेछ, अझै विवाह गर्नुभएन?
म मुस्कुराउँदै भन्नेछु- समय आउँदा होला।
कसैले जिस्क्याउनेछ- तपाईंको त दारी मात्रै बढ्यो, घरमा कान्छी बुहारी आएन।
म फेरि हाँस्नेछु। किनकि मेरो जीवनमा बुहारी नआए पनि घरमा बच्चाहरूको हाँसो प्रशस्तै हुनेछ।
दाजुभाइका छोराछोरीहरू ठुला हुँदै जानेछन्। सुरुमा मेरो हात समातेर हिँड्ने उनीहरू पछि मसँगै मोटरसाइकलमा घुम्न जानेछन्। सानोमा काका कथा सुनाउनुस् भन्नेहरू पछि आफ्नो प्रेम, पढाइ, करियर र जीवनका समस्या लिएर मसँग सल्लाह माग्न आउनेछन्। त्यो दिन म आफूलाई भाग्यमानी सम्झनेछु।
किनकि उनीहरूले मलाई केवल परिवारको सदस्य होइन, आफ्नो साथी मानेका हुनेछन्।
सायद कुनै दिन मेरो भतिजोले आएर भन्नेछ- ‘काका, तपाईंलाई एउटा कुरा भन्नु छ, तर बाबालाई नभन्नु है।’
म गम्भीर हुँदै सोध्नेछु- के भयो?
उसले बिस्तारै भन्नेछ, ‘मलाई एउटी केटी मन पर्छ।’
म केही सेकेन्ड चुप लागेर उसलाई हेर्नेछु अनि हाँस्दै भन्नेछु, त्यो त तिम्रो उमेरमा मलाई पनि भएको थियो।
ऊ अचम्म मान्दै सोध्नेछ, ‘साँच्चै?’
म भन्नेछु, ‘हो, तर मेरो कहानी चाहिँ अर्को पटक।’
यस्ता साना-साना कुराहरूले मेरो ३५ वर्षको जीवन भरिएको हुनेछ।
मलाई लाग्छ, परिवारमा सबैको भूमिका एउटै हुँदैन। कोही अभिभावक हुन्छन्, कोही दाजु, कोही दिदी, कोही हजुरबा हजुरआमा। अनि कोही त्यस्तो हुन्छ, जसलाई बच्चाहरूले नियमभन्दा बढी माया गर्छन्।
सायद म त्यही मान्छे हुनेछु।
दारी झ्याप्प पालेको, अझै अविवाहित, अलि जिद्दी, अलि हँसिलो, तर आफ्ना भतिजा भतिजीहरूको लागि संसारकै सबैभन्दा प्रिय काका।
दस वर्षपछि मेरो जीवन कस्तो हुनेछ, मलाई थाहा छैन। तर एउटा दृश्य भने म अहिले नै कल्पना गर्न सक्छु। साँझको समय हुनेछ। घरको आँगनमा बच्चाहरू खेलिरहेका हुनेछन्। कोही मलाई बोलाउँदै दौडेर आउनेछ।
काका...!
म आफ्नो झ्याप्प दारी मुसार्दै उनीहरूतिर फर्किनेछु।
‘के भयो?’
उनीहरूले मेरो हात समातेर भन्नेछन्- ‘हामीसँग खेल्नुस् न।’
म मुस्कुराउँदै उनीहरूसँगै दौडिनेछु।
सायद त्यही क्षणमा मलाई महसुस हुनेछ जीवनमा विवाह भयो कि भएन, ठुलो घर भयो कि भएन, धेरै पैसा कमाएँ कि कमाइनँ भन्नेभन्दा पनि कसैको बाल्यकालमा आफूले कति खुसी थप्न सकियो भन्ने कुरा अझ ठुलो रहेछ।
र त्यो दिन मेरो दारी जति नै लामो भए पनि, मन भने फेरि त्यही पुरानो काका जस्तै हुनेछ; बच्चाहरूको एक कलमा सबै काम छोडेर उनीहरूसँग खेल्न दौडिने।