आज म चटक्क सिँगारिएर दिदीको बिहेमा जाँदै थिएँ।
आजको दिन परिवारको लागि सबैभन्दा ठुलो दिन थियो। दिदीले अर्को नयाँ घर पाउने, अमूल्य जीवनसाथी पाउने, आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने कुराले म निकै उत्साहित थिएँ। उनको लागि मनमा अनेकौँ खुसीका रङहरू थिए।
हिँड्दै जाँदा बाटोमा एउटा गाईलाई बेफिक्री चर्दै गरेको देखेँ। हेर्दा त आफ्नै छिमेकीको गाईजस्तै लाग्थ्यो। केही पर पल्लाघरे दिदी भेटिनु भयो।
मैले सहजै सोधेँ, ‘दिदी, ऊ त्यहाँ चरिरहेको हजुरकै घरको गाई होइन र? गोठबाट निस्किएछ क्यारे। बाहिर चर्दै छ।’
दिदीले सहजै जवाफ दिनुभयो, ‘दानमा दिएको बाछी थियो। दुई/चार वर्ष त दूध राम्रै दियो, तर अहिले दिनै छाड्यो। दानमा आएको गाई बेच्न पनि मनले मानेन त्यसैले त्यत्तिकै छाडा छोडिदिएको। त्यसलाई पालेर अब के काम? छाडा नै भइरहोस्।’
त्यो जवाफ सुनेर मेरो मन अलि दुःखी भयो। आफ्नो आहार घाँस खोज्दै बसिरहेको गाईलाई एकैछिन हेरेर सोचेँ- उसलाई के थाहा, उसको जीवनको मूल्य अब अरू कसैको नजरमा घटिसकेको थियो। उसले अब अरूलाई केही पनि दिन नसक्ने जो भएको थियो।
मनमा अचानक अनेकौँ प्रश्नहरू उब्जिए।
अब त्यो गाई कहाँ जाला? उसको त घर नै छैन। जन्मेको दश दिन नकाट्दै आमाबाट छुट्टाएर ल्याइएको थियो उसलाई। न उसले आफ्नो आमा कहाँ फर्किन सक्थ्यो न उसलाई अब फर्किने बाटो नै थाहा थियो। दुनियाँ सबै स्वार्थी छ, बिचरा त्यो सानो गाईलाई के थाहा।
म भन्दै थिएँ- आमा, के उसको उपयोगिता सकिएपछि उसको जीवनको कुनै अर्थ रहँदैन र?
उबेला उसलाई रेखदेख गर्नका लागि दान लिइएको थियो कि धर्मको पालना गर्न मात्र?
फेरि धर्मले हेला गर्न कहाँ सिकाएको छ र?
धर्मले त सबै प्राणीलाई करुणा र संरक्षण गर्न सिकाएको होला हैन र!
आमाले रिसको झोकमा भन्नुभयो, ‘सानो मुखबाट ठुलो जवाफ सुहाउँदैन। तिमी आफ्नो बाटो लाग..’
म डरले चुप लागेँ।
हतार पनि थियो। आफ्ना सबै उत्तरविहीन प्रश्नहरू मनको एउटा कुनामा बोकेर आफ्नै बाटोतिर हिँडे। आखिर दिदीको बिहेको कामकाज पनि त ठुलो थियो।
विवाहको रमझम सुरु भइसकेको थियो। सबैजना एकअर्कासँग गफगाफ गर्दै बिहेको भोज खाँदै गरेको दृश्य अत्यन्तै रमाइलो देखिन्थ्यो।
एकैछिनमा घरपरिवारलाई एकै ठाउँमा बोलाइयो। छोरी दिने परिवारका लागि ठुलो धर्म रे! ठुलो पुण्य रे!
म पनि त्यो दृश्य हेर्न निकै उत्साहित थिएँ।
दुलहीको हातमुनि दुलाहाको हात राखियो। परिवारले जलसँगै आफ्नो माया, स्नेह र वर्षौँका सम्झनाहरू पनि आँखाबाट खसालिरहेको देखेँ।
दुलही आफ्नो मनलाई गाँठो पार्न खोज्दै थिइन्। परिवारको मन भक्कानिइरहेको थियो। कति धेरै माया थियो त्यो हातमा! कति धेरै जिम्मेवारी थियो त्यो हातमा! कति धेरै वर्षको सम्झना र समर्पण थियो त्यो हातमा! आज त्यही हात अर्को हातमा सुम्पिँदै थियो।
जुन हात समातेर छोरीले हिँड्न सिकेकी थिई, आज त्यही हातले उसको हात छोड्दै थियो।
जुन आँगनमा ऊ बाल्यकालदेखि हुर्किएकी थिई, आज त्यही आँगनबाट आफ्नो नयाँ संसारतिर बिदा हुँदै थिई।
एउटी छोरीलाई आफ्नो काखबाट अर्को घरको जिम्मेवारीमा सुम्पिनु कति गाह्रो हुन्छ त्यो बुवाआमाको आँखामा स्पष्ट देखिन्थ्यो। सँगसँगै दान लिने परिवारलाई पनि त्यत्तिकै जिम्मेवारी बोध भएको हुँदो हो। एउटा नयाँ सम्बन्ध, एउटा नयाँ जीवन, एउटा नयाँ विश्वास आफ्नो घरमा भित्रिँदै थियो। दुलाहापट्टि पनि कसैको परिवारको हिंसा नै जिम्मा लिएर जाँदा कति ठुलो जिम्मेवारी बोध भइरहेको थियो होला।
एकैछिनपछि पण्डित बाजेले भन्नुभयो, कन्यादान सुसम्पन्न भएको छ।
दान शब्द सुन्ना साथ झसङ्ग मलाई उनै एक्लो गाईको अवस्था याद आयो। आमाको त्यो कठोर कुरा मस्तिष्कमा नराम्रोसँग ठोक्कियो। त्यो सँगै कन्यादान दिएर मेरा मनमा कयौँ प्रश्नहरू उब्जिन थाले।
भन्न त दान पुण्यको काम हो भन्छन्। मलाई थाहा छैन, कन्यादानले वास्तवमा के दान गर्छ?
एउटा परिवारले छोरी दान गर्दा के सुम्पिन्छ?
अनि श्रीमान् र श्रीमान्को परिवारले के सोचेर त्यो दान स्वीकार गर्दछन्।
कसैलाई पवित्र ठानेर, श्रद्धा र विश्वासका साथ दान दिनु त्यो परिवारका लागि पुण्य हुन सक्छ। तर त्यो दान भएकी स्त्रीका लागि के त्यो कति ठुलो पुण्य हुनसक्छ?
जुन दानले एउटी छोरीको कर्तव्य, प्रेम, स्वतन्त्रता, श्रद्धा र सम्मान पनि अर्को घरमा सुम्पिइन्छ, त्यो दानपश्चात् के त्यो सबै उत्तिकै जिम्मेवारीका साथ अपनाइन्छ?
दान हुनु कुनै पनि छोरीको उसको रहर हुँदैन सायद। त्यो एउटा छोरीको परिवार र स्त्रीले गर्ने जीवनको सबैभन्दा ठुलो त्याग हुनुपर्छ। जुन त्यागको भविष्यमा कुनै मूल्य पनि नहुन सक्छ, उनै गाई जस्तै।
हुन त जुन शास्त्रले पुण्य ठानेर दान दिन सिकाउँछ, त्यही शास्त्रले दानको सम्मान गर्न पनि सिकाएको हुनुपर्छ।
दिदी जब डोलीमा जाँदै थिइन्, मेरो मनले बारबार प्रश्न गरिरह्यो-
अब पश्चात् उनको स्थायी घर आखिर कहाँ हुन्छ?
उसको आफ्नै परिचय कहाँ रहन्छ?
थरसँगै उसको अर्थ पनि एकैछिनमा फेरिन्छ। एकै दिनमा उसलाई हेर्ने नजरिया फेरिन्छ। रुँदै जन्मेको त्यही घरबाट जब ऊ रुँदै आफ्नै घरबाट बिदाइ भइदिन्छ।
थाहा छैन अरूलाई विवाहको सबैभन्दा सुन्दर दृश्य के लाग्छ।
दुलहीको सिँगार?
रातो सिन्दूर र पोते?
मन कमाइदिने पञ्चेबाजा?
एकअर्कासँग गरिएका वाचा?
कि दुई आत्मासँगै परिवारको मिलन?
तर मेरो लागि विवाहको सबैभन्दा डरलाग्दो दृश्य भनेकै कन्यादान रह्यो जसले मलाई बारम्बार एउटै प्रश्नको घेरामा उभ्यायो- दानपछाडिको उसको जीवन कस्तो रहला?