हाम्रा बाजेको पनि बाजे षदानन्द नौ वर्षको उमेरमा त्यस बखतको बाइसे राज्य अन्तर्गतको हालको रोल्पाको खुंग्री राज्यमा पर्ने मयङ्री (पछि मैरी हुँदै महेन्द्री नामकरण भएको गाउँ) मा आएर बसोबास गर्नुभएको रहेछ। उहाँ हालको गुल्मी जिल्लाको तत्कालीन चौबिसे राज्य इस्मा राज्यको दोहली अन्तर्गत पर्ने खुङबाट बसाइँ सर्नु भएको रहेछ।
उहाँको विवाह हालको प्युठानको स्वर्गद्वारी नगरपालिका अन्तरगत पर्ने डाँफेधाराका सुवेदीकी छोरीसँग भएको थियो। षदानन्दका पुत्र विष्णु प्रसादको बिहे खुंग्री धारापानीका हितानन्द सुवेदीकी छोरीसँग भएको थियो भने विष्णु प्रसादका छोरा अर्थात् हाम्रा बाजे गजाधरको बिहे रोल्पाको हालको लुंग्री गाउँपालिका अन्तर्गत पर्ने कमलेपोखरा (कुनै बखत गाविस कायम रहेको) मा पर्ने नम्जाबाट भएको थियो।
गजाधरका जेठा छोरा अर्थात् हाम्रा पिताजी तेज प्रसादको बिहे तत्कालीन प्युठान र हालको रोल्पामा पर्ने सिर्प (कुनै बखत गाविस कायम रहेको) बाट भएको थियो। २०२३ सालमा बाजेले पिताजीलाई अंश दिएर छुट्टाइदिएपछि हामी मानबहादुर हमालको घरको एउटा कोठामा बस्यौँ।
पिताजी त्यति बेला हालको रोल्पा नगरपालिका अन्तर्गत पर्ने खुमेलको एक विद्यालयमा पढाउनुहुन्थ्यो। म दुई वर्षको हुँदै अर्थात् २०२३ सालमा पिताजीले घर निर्माण सुरु गर्नुभएकोमा २०२४ सालमा निर्माणको काम सम्पन्न भयो र हामी त्यसै घरमा सर्यौँ। नवनिर्मित घरमा सर्दा म तीन वर्षको थिएँ, मेरो त्यसै उमेरका र त्यसै बखतका केही दृश्यहरू मेरो मानसपटलमा अझै पनि ताजै छन्।
घरमा सर्नुअघि हामी बसेको कोठाका केही दृश्यहरू पनि मेरो सम्झनामा यथावत् छन्। त्यस कोठाबाट नयाँ घरमा सामानहरू ओसारेको पनि याद छ। उक्त घर बनेपछि पिताजीले शिक्षण सेवा छोडेर व्यापार सुरु गर्नुभयो। दुइटा कोठामा भने औलो उन्मुलन कार्यालय बस्यो।
उहिल्यैदेखि नै गाउँको मात्र नभएर जिल्लामै ज्योतिषी र पण्डितको उपनामले चिनिनुहुने पिताजीले २०३० सालमा ३० हजारको लागतमा भुइँतलाको अर्को घर बनाउनुभयो। केही अवधिसम्म भुइँतलामै सीमित रहेको सो घरमा केही वर्षपछि माथिल्ला दुई तला थपियो।
२०५८ सालमा सुलिचौर बजारमा रहेको दाइको भत्काइएको पुरानो घरको स्लेट ढुंगा मैले अठार हजार रुपैयाँमा ल्याएपछि पिताजीले सो घर स्लेट ढुंगाले छाउनुभयो। झट्ट हेर्दा सानोतिनो दरबारको झल्को दिने सो घर गाउँघरका परम्परागत घरहरूमध्ये सबैभन्दा ठुलो देखिन्छ। २०२४ सालमा बनेको घर हुँदाहुँदै पिताजीले नयाँ घर बनाउनुको उद्देश्य व्यवसाय सञ्चालनका लागि थियो।
सो घरमा २०३७ देखि २०४२ सालसम्म हाम्रो भाउजूको कमला होजियारी चल्यो। केही समय एकजनाको घडी पसल र केही वर्षसम्म अर्कैको चिया-खाजा पसल चलेको सो घरमा हाम्रा कान्छो भाइको किराना पसल पनि सीमित अवधि चलेको थियो।
डेढ दशकअघि उक्त घरको आँगन मोटर बाटोले पूरै काटेको थियो भने पेटीको एक छेउमा नामो निसान देखिँदैन। मालवाहक गाडी र बसहरू सडकमा बाटोमा गुड्दा घर नै थर्किने र राति सुतिरहेको अवस्थामा मान्छेहरूको निद्रा खलबलिने गरेको छ। ध्वनि प्रदूषण र वायु प्रदूषणका कारण सो घरमा खान, बस्न र सुत्न मुस्किल छ।
कोठाभित्रका भित्ताहरूमा धुलैधुलो देखिने र भित्ताको किलामा झुन्ड्याइएका लुगाहरू टकटक्याउँदा कोठामा धुलो मडारिन्छ। घरको अगाडि रहेको पेट्रोल पम्पमा राति-राति पनि तेल भर्न आउने गाडीहरूका चालकले हर्न बजाउने गर्नाले पनि घरमा सुतेका मान्छेको निद्रा टुट्ने गर्दछ।
उच्चशिक्षा अध्ययन र सरकारी जागिरको सिलसिलामा ४३ वर्षअघि काठमाडौँमा प्रवेश गरेको म काठमाडौँ रहँदा कतै निस्कनुपरेमा वायु प्रदूषणबाट बच्न ३३ वर्ष अघिदेखि निरन्तर रूपमा मास्कको प्रयोग गर्दै आएको छु। बेलाबखत म जन्मथलो गएपछि सो घरमा बस्न, खान र सुत्न निकै सकस हुने गरेको अनुभूति हुन्छ।
पाँच दशकसम्म पनि अपूरो घर
मान्छेहरू भन्ने गर्छन्- ‘घरलाई पूर्णता दिनुपर्यो।’ तर भनेजस्तो सजिलो छैन, बार्दली पनि दुई खण्डमा बनाउनुपर्ने हुन्छ। हजारमा होइन लाखमा लागत लाग्ने हुँदा सानोतिनो लाख खर्चले पनि नभ्याउने छ। ठुलो आकारको भएका कारण घरले पूर्णता पाउन सजिलो छैन। केही वर्षपछि भत्काइने निश्चय भइसकेको घरको मर्मत गर्नु र निर्माणलाई पूर्णता दिनु अर्थहीन देखिन्छ।
घरले बहन गरेका केही इतिहास
२०३५ सालअघि हाम्रो सो घर अगाडिको बाटो साँघुरो वा गोरेटो थियो, पछि मोटरबाटो बनेपछि घरको आँगन बाटोको नजिक पर्यो। केही वर्षपछि बाटो केही फराकिलो बनाउँदा घरको आँगन नै गुम्यो र घरको शोभा पनि हरायो।
पहिले पहिले सदरमुकाम आउजाउ गर्ने सिलसिलामा हाम्रो घरमा अञ्चलाधीश, सिडिओ, विदेशी नागरिकहरू पनि बास बस्दथे। साथै नुन-तेल लगायत अन्य उपभोग्य वस्तु खरिद गर्न दाङको सीमावर्ती बजार कोइलाबासमा जानेआउने बटुवाहरू पनि सो घरमा बास बस्दथे। रोल्पामा आ.वा. (आकाशवाणी) सेटको पहिलो परीक्षण पनि सोही घरमा भएको कुरा मलाई सम्झना छ।
घरको भित्ताको माथिल्लो भागमा तार लामो पारेर टाँगेर त्यसमा उपकरण जडान गरेर प्राविधिकले ‘हलो… हलो….टेस्टिङ… टेस्टिङ…’ भनेको सुन्दा प्राविधिकसँग जिज्ञासा राख्ने हाम्रो हिम्मत हुँदैनथ्यो। किनभने हामी बाल्यावस्थामा थियौँ, त्यसरी सोध्ने आँट हुँदैनथ्यो।
घरका बारेमा अरू उल्लेखनीय कुराहरू यो आलेखमा छुट्न सक्छ। यसरी सो घरले केही इतिहासहरू रचेको देखिन्छ। चिन्ताको विषय यो छ कि एउटा इतिहास बोकेको घरको भविष्य अस्तित्वहीन हुने सम्भावना छ। एक किसिमले भन्नुपर्दा घर धरापमा परेको छ।
घर बाटो बिस्तारका लागि दशकअघि सो घरको दश मिटरमाथि रेखांकन भइसकेको छ। यस घरका अतिरिक्त उक्त बाटोको छेउछाउमा रहेका अधिकांश घरहरू केही वर्षमा भत्काइने जानकारीमा आएको छ। घरले पूर्णता नपाउँदै भत्काइने अवस्थामा पुगेको देख्दा एउटा इतिहास मेटिने अवस्थाले जो कोही पनि भावुक बन्न सक्छ।
घरको केही सुधार
२०७६ फागुन २७ देखि म रोल्पाको सदरमुकामस्थित एक कार्यालयको प्रमुख भएर गएपछि थोत्रिएको घरलाई केही सुधार गर्न मन लाग्यो। घरको उत्तरतर्फको पाखोको भित्ता बर्सादको बाछिटाका कारण माटो बगाएको र ढुंगा मात्र रहेका कारण घर कुरूप देखिएको हुँदा हल्का मर्मत गर्नुपर्ने देखिएपछि योजना बनाएँ।
चिनजानका बटुवाहरूले ‘हाकिमको घर पनि कस्तो थोत्रो?’ भन्न थाले। २०७७ कात्तिकमा पिताजीको चौरासी पूजाको बहाना पारेर पछाडिपट्टिको बार्दलीका लागि दुइटा सामान्य पिलर ठड्याउन लगाएँ। उत्तरतर्फको पाखोमा पूरै प्लास्टर गर्न लगाएँ र अगाडिको भागको भित्तामा आंशिक प्लास्टर गरेर सेतो रङ लगाएपछि घर केही हेर्न लायक त बन्यो तर बार्दली भने बनाउन रकम अभाव भयो।
धेरै खर्च गरेर घरलाई झकिझकाउ बनाएर के काम? केही वर्षपछि भत्काइने घर भन्ने थाहा हुँदाहुँदै त्यसलाई पूर्णता दिन सकिएन। पिताजीको चौरासी पूजा भने राम्रैसँग भयो। सात दिनसम्म चलेको चौरासी पूजाको दौरानमा एक साँझ नाचगान भइरहेको बखत मैले कोठामा चार्जमा राखेको मोबाइल चोरी भयो। त्यसै रात चोर पत्ता लगाएर मोबाइल भेटियो।
२०३० सालमा त्यति बेलाको त्यो भुइँतले घर बनाउने रकमले दाङमा दुई बिगाहा जग्गा आउँथ्यो। तर पिताजी दाङतिर आकर्षित हुनुभएन। उहाँ आफ्नै जन्मथलोमा केही गर्ने चाहना राख्नुहुन्थ्यो। बितेका कुराहरूलाई कोट्याउनु उचित पनि हुँदैन। उहाँको जुन चाहनाले सो घर उभ्याइएको थियो त्यो चाहना भने पूरा भएन। घरका माथिल्ला कोठाहरूमा कुनै लामो समयसम्म पराल, गहुँका छ्वाली, काठ आदि राखिन्थ्यो।
घरमा सिनाको आतंक
घरमा जडित झ्याल-ढोकाहरू लगायतका उत्कृष्ट काठहरू केही समय सिना (काठ खाने सेतो रङको धमिरा जस्तै कीरा) ले खाएकोमा घर-परिवारमा चिन्ता छाएको थियो। काठहरू सिनाले खायो भनेर काठमाडौँमा मलाई खबर आएको थियो। तत्कालै म घरमा गएर समस्या समाधान हुने सम्भावना थिएन।
जसको पनि मातापिताले आफ्ना सन्तानको निश्चित भविष्यका लागि केही न केही गरिरहेका हुन्छन्। त्यति बेला पिताजीले आफ्ना सन्तानहरूलाई सहज होओस् भन्ने हेतुले सो घर निर्माण गर्नुभएको पक्कै हो। तर खासै उपयोगमा नआएको भन्दैमा पिताजीलाई दोष दिनु सरासर गलत हुने कुरामा दुईमत छैन।
सन्तानलाई योग्य बनाउन हरप्रयास गर्न जसका अभिभावकहरू पछि पर्दैनन्। हाला कि कोही सफल होलान् कोही असफल, त्यो त भविष्यले निर्धारण गर्ने कुरा हो। जसका अभिभावकहरूले पनि सन्तानका लागि दुःख कष्ट बेहोर्नु परेको हुन्छ। अभिभावकका सत्प्रयासलाई इज्जत गर्न जान्नुपर्छ र उच्च सम्मानका साथ सही मूल्यांकन गर्नुपर्दछ।