जीवनको लामो यात्रामा मानिसले अनेकौँ सम्बन्ध जोड्छ—मित्र, आफन्त, सहकर्मी र सामाजिक साइनोहरू। तीमध्ये धेरैजसो सम्बन्ध कुनै न कुनै अपेक्षा, आवश्यकता वा परिस्थितिसँग जोडिएका हुन्छन्।
तर आमासँगको सम्बन्ध न कुनै सर्तमा बाँधिन्छ, न कुनै सम्झौतामा अडिन्छ। आमा केवल जन्मदात्री होइनन्; हाम्रा सुख, दुःख, आँसु र पीडालाई आफ्नै मौन काखमा बोकेर उभिइरहने अजस्र शक्ति हुन्।
हाम्रो समाजमा आमालाई ममताकी देवी र त्यागकी प्रतिमूर्तिका रूपमा चित्रण गरिन्छ। तर जीवन सधैँ पुस्तकमा लेखिएका आदर्शका सरल बाटोमा मात्र हिँड्दैन। सम्बन्धका पनि अनेकौँ गहिरा र जटिल तह हुन्छन्, जुन जीवन आफैँले भोग्दै जाँदा मात्र खुल्दै जान्छन्।
मेरी आमा तुलसादेवी ज्ञवालीसँगको मेरो सम्बन्ध पनि यस्तै थियो—असीम स्नेह, कठोर अनुशासन, समाजले रोपिदिएका केही अन्धविश्वासी चोट, अनगिन्ती अपूरा चाहना र अन्ततः सबै कुरा प्रेममै विलीन भएको एउटा लामो जीवनयात्रा।
आमा दृढ र असीम धैर्य भएकी महिला हुनुहुन्थ्यो। बौँवा, गुल्मीकी दीपजय पौडेलकी पनातिनी, इन्द्रमणि पौडेलकी नातिनी तथा दुर्गाप्रसाद र कुन्तादेवीकी छोरीको ७ वर्षको उमेरमा आमाको विवाह मेरा बुवा वेणीदत्त ज्ञवालीसँग भयो।
माइतको एकल परिवारमा लाडप्यारमा हुर्किनुभएकी आमा विवाहपछि चार नन्द, १२ भाइ जेठाजु–देवर र जेठानी–देउरानीसहितको विशाल संयुक्त परिवारमा भित्रिनुभयो।
सानै उमेरमा ठूलो जिम्मेवारी आइपरेको थियो। सबेरै उठेर घरको लिपपोत, भातभान्सा, गाईगोठ, घाँस–दाउरा र परिवारको हेरचाह गर्नु उहाँको दैनिकी थियो। गाउँमा खानेपानीको हाहाकार थियो। कहिलेकाहीँ मध्यरातमै लालटिन बालेर गाग्री बोकी पँधेरा पुग्नु, पानी ल्याएर पञ्चायन देवताको स्नान र पूजापाठ गर्नु अनि गोठका गाईभैँसीलाई कुँडो खुवाउनु उहाँको नफेरिने दिनचर्या थियो।
उहाँका लागि ‘आराम’ सायद शब्दमा मात्र थियो।
पछाडि फर्केर हेर्दा लाग्छ—पँधेराबाट बोकेर ल्याएको पानी, गोठमा तताएको कुँडो र दिनभरि गरेको त्यो श्रमले नै हामीलाई जीवनसँग जुध्न सिकाएको रहेछ।
बुवाको अवसान र जिम्मेवारीको पहाड
म २५ वर्षको छँदा बुवा गम्भीर बिरामी पर्नुभयो। उहाँलाई काठमाडौँ ल्याएर वीर अस्पतालमा डेढ महिनासम्म उपचार गराएँ। तर हाम्रा तमाम प्रयास र प्रार्थनाका बाबजुद उहाँलाई बचाउन सकिएन। ५० वर्षकै उमेरमा आमाले जीवनसाथी गुमाउनुभयो।
अस्पतालको प्राङ्गणमा बुवाको प्राण पखेरू उडेपछि आमा छाती पिटेर रोइरहनुभएको त्यो दृश्य मनै जिरिङ्ग हुन्छ—एकातिर आमाको त्यो कहालीलाग्दो रोदन, अर्कातिर आफ्नै मनभित्रको असीम शोक! तर त्यसबेला आफूलाई सम्हाल्ने फुर्सदसमेत थिएन। आमालाई रोइरहेकै ठाउँमा छाडेर म मलामी खोज्न काठमाडौँका गल्ली–गल्ली र आफन्तका डेरा–डेरा चहार्न निस्किएँ।
त्यस दिन मैले पहिलोपटक जीवनले काँधमा जिम्मेवारीको पहाड कसरी बोकाउँदो रहेछ भन्ने महसुस गरेँ।
बुवाको निधनपछि आमाको एक्लो काँधमा आयो। अभावका बीच पनि उहाँले सन्तानको पढाइमा सकेसम्म सम्झौता गर्नुभएन। दुःखका निरन्तर धपेडीहरूले उहाँलाई असाध्यै दृढ बनाएका थिए। कहिलेकाहीँ त्यो दृढता मलाई कठोरता जस्तो लाग्थ्यो। आज बुझ्छु—त्यो कठोरता स्वभावको थिएन, सन्तानलाई जोगाइराख्ने जीवनको एउटा मजबुत कवच थियो।
जन्मको लाञ्छना र पौरखको बाटो
औँसीको दिनमा भएको मेरो जन्मलाई लिएर आमाको मनमा तत्कालीन समाजमा जरा गाडेको अन्धविश्वासको प्रभाव थियो। मलाई ‘औँस्याहा’ भन्नुहुन्थ्यो र मेरो जन्म भएकै वर्ष खेत बेच्नुपरेको घटनालाई समेत मसँग जोडेर हेर्नुहुन्थ्यो।
आठ वर्षमा खाली खुट्टा विद्यालय गएको त्यो बालकको पढाइ धेरै अगाडि बढ्न सकेन। कक्षा ७ पछि गाउँमा माथिल्लो कक्षा पढ्ने सुविधा थिएन। मैले सहरमा अरूको पसलमा काम गर्दै पढ्न थालेँ। पढाइ र कामको चापले गर्दा घरको सम्झनाले पढाइ छाडेर घर फर्किएँ।
तेह्र वर्षको थिएँ। घर पुगेपछि परिस्थितिवश अनायास निस्किएको आमाको एउटा कठोर वचनले मेरो बालमनमा गहिरो चोट पुर्यायो। ती शब्दले मुटु नै चिरिएझैँ लाग्यो। त्यसपछि म अर्को दिन बिहानै आमाबाट टाढिएर फेरि सहरतिर लागेँ।
तर काम गर्दागर्दा महिनामा प्राप्त हुने २० रुपैयाँले गाउँमा नपाइने चिनी, चियापत्ती, साबुन, जिरा मसला किनेर भरियासित पठाउँथेँ, घरको मायाले। अभावसँग जुध्दै, काम गर्दै, पढ्दै र आफ्नै खुट्टामा उभिने प्रयत्न गर्दै अघि बढेँ। अन्ततः नेपाल सरकारको उपसचिव पदसम्म पुगेँ।
मेरो संघर्षको उद्देश्य केवल आफू उभिनु थिएन। आफूले भोगेको दुःख भाइबहिनीले भोग्न नपरोस् भन्ने चाहेको थिएँ। त्यसैले एसएलसी उत्तीर्ण गरेपछि उनीहरूलाई काठमाडौँ ल्याएँ। उनीहरूको पढाइ, बसाइ र भविष्य निर्माणमा सकेसम्म साथ दिएँ। पैतृक सम्पत्तिमा समेत आफ्नो हक नखोजी दाजुभाइका लागि त्यागेको मात्र होइन, काठमाडौँमा तीन भाइका लागि तीनवटा घडेरीको व्यवस्था गरेँ।
१२० वर्गफिटको कोठामा बुनेका ठूला सपना
आफ्नो परिवारलाई अघि बढाउने क्रममा मेरी श्रीमती, छोराछोरी र मसमेत चार जनाको परिवार १२० वर्गफिटको एउटा सानो कोठामा १८ औँ वर्षसम्म सीमित थियौँ।
कोठा सानो थियो, तर सपना सानो थिएन।
त्यही साँघुरो कोठामा भविष्यका ठूला–ठूला योजना बनाउँथ्यौँ। कहिलेकाहीँ ठाउँको अभावले शरीर साँघुरिन्थ्यो, तर सपनाको आकाश फराकिलो हुन्थ्यो। अभावले थिच्थ्यो, तर आशाले उठाइरहन्थ्यो।
त्यही सानो कोठामा बसेर मैले सोच्थेँ—आज हामीसँग धेरै छैन, तर हाम्रा सन्तानले भोलि आफ्नो क्षमताअनुसार उभिन पाउनुपर्छ।
समय बित्दै गयो। सपनाहरू विस्तारै वास्तविकतामा परिणत हुँदै गए। आफ्ना सन्तान र परिवारका सदस्यलाई आ–आफ्नो क्षेत्रमा उभिएको देख्ने अवसर पाएँ।
त्यतिबेला लाग्यो—घरको आकारले सपना निर्धारण गर्दैन रहेछ। १२० वर्गफिटको कोठामा पनि भविष्यका लागि विशाल संसार अटाउन सक्दो रहेछ।
एउटा बालक र अर्को संघर्ष
जीवनले हामीलाई फेरि एउटा कठोर परीक्षा लियो। हाम्रो परिवारमा एउटा बालक जन्मिएको ६५ दिनमै पहिलो शल्यक्रिया गर्नुपर्यो। त्यसपछि जीवनका विभिन्न चरणमा उसले १७ पटकसम्म शल्यक्रिया भोग्नुपर्यो। अस्पतालका गल्ली, चिकित्सकका अनुहार, औषधिको गन्ध र चिन्ताले भरिएका रातहरू हाम्रो पारिवारिक जीवनकै हिस्सा बने।
कहिलेकाहीँ मनमा प्रश्न उठ्थ्यो—एउटा सानो बालकले यति धेरै पीडा कसरी सहन सक्छ? तर उसले हार मानेन, हामीले पनि आशा छाडेनौँ। त्यही पीडाबाट गुज्रिएको बालकले एमसीएच उपाधि हासिल गरेर विशेषज्ञ चिकित्सकका रूपमा अरूको जीवन बचाउने सेवामा समर्पित छ।
उसको यात्राले मलाई एउटा कुरा सिकायो—जीवनले कति नै ठूलो परीक्षा लिए पनि मानिसले आशा र प्रयत्न छाड्नु हुँदैन। पीडाले मानिसलाई कमजोर मात्र बनाउँदैन, कहिलेकाहीँ त्यही पीडाले उसलाई अरूको पीडा बुझ्ने सामर्थ्य पनि दिन्छ।
त्यसैगरी मेरी जीवनसाथी भागीरथीको जीवनयात्रा पनि त्यस्तै सङ्घर्ष र पौरखले भरिएको थियो। विवाह हुँदा स्नातक तह अध्ययन गर्दै थिइन्। विवाहपछि आठ जनाको संयुक्त परिवारको जिम्मेवारी सम्हाल्दै घर–परिवार र पढाइलाई सँगसँगै अघि बढाउनुपर्दा तीन वर्षे स्नातक तह पूरा गर्न उनलाई ११ वर्ष लाग्यो। तर उनले हार मानिनन्। त्यसपछि दुई विषयमा स्नातकोत्तर गरिन् र अन्ततः विद्युत् नियमन आयोगको सदस्यसम्म पुगिन्।
म कहिलेकाहीँ हाम्रो जीवनका यी प्रसङ्गहरूलाई एउटै सूत्रमा जोडेर हेर्छु। अभाव थियो, तर सपना थियो। कठिनाइ थियो, तर सङ्कल्प थियो। बाटो अप्ठ्यारो थियो, तर पौरख थियो।
त्यसैले मेरो आत्मकथाको नाम ‘पदभन्दा ठूलो पौरख’ राखेको हुँ। यो केवल एउटा पुस्तकको शीर्षक होइन; मेरो जीवनले भोगेर सिकेको निष्कर्ष हो।
‘अशुभ’ जन्मको उत्तर
म औँसीमा जन्मेको भनेर अशुभ मानियो। तर समयले त्यसको उत्तर आफ्नै ढङ्गले दियो। जुन बालकको जन्मलाई अशुभ मानेर खेत बेच्नुपरेको भनिएको थियो, त्यही बालकले पछि काठमाडौँमा तीन भाइलाई घडेरी किनिदिएर तीसौँ मुरी धान फल्ने खेत जोड्न सफल भयो र नेपाल सरकारबाट प्रबल जनसेवाश्री विभूषण ग्रहण गर्न शीतलनिवाससम्म पुग्यो।
त्यो क्षण मेरा लागि केवल सम्मानको क्षण थिएन। मनको कुनै कुनामा बाल्यकालको अशुभ मानिएको ‘औँस्याहा’ शब्द सम्झिने क्षण पनि थियो।
मानौँ समयले भनिरहेको थियो—मानिसको सफलता जन्मको तिथिमिति, भाग्य वा अन्धविश्वासले लेख्दैन। उसको कर्म, इमान, श्रम र पौरखले लेख्छ।
सायद यही अनुभूतिले मेरो जीवनको मूल निष्कर्ष जन्मायो—पदभन्दा ठूलो पौरख।
आमाको पहिलो पाठशाला
‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति।’
छोरा कुपुत्र हुन सक्छ, तर आमा कहिल्यै कुमाता हुन सक्दिनन्।
आमाको जीवनलाई पछाडि फर्केर हेर्दा मेरो मनमा यही उक्ति गहिरोसँग बस्छ। आमाले हामीलाई अक्षर मात्र होइन, संस्कार सिकाउनुभयो—झुट नबोल्नु, अरूको हक नखोज्नु र आफ्नो कर्ममा विश्वास गर्नु।
बाल्यकालमा आमाका केही शब्दले मलाई चोट दिए। तर उमेर बढ्दै जाँदा बुझ्दै गएँ—उहाँ आफैँ पनि आफ्नो समय, समाज, अभाव र अन्धविश्वासको बन्धनमा हुनुहुन्थ्यो।
त्यसैले आज आमालाई सम्झँदा मनमा गुनासोभन्दा कृतज्ञता धेरै आउँछ।
रित्तो खल्ती र आमाको मौन अपेक्षा
काठमाडौँमा संघर्ष गर्दाका दिनमा चाडपर्वमा घर फर्किंदा भाइबहिनीको पढाइ र घरखर्चका लागि सकेजति रकम छोडेर आउँथेँ। तर सधैँ परिस्थिति अनुकूल हुँदैनथ्यो।
आमाको आँखामा कहिलेकाहीँ एउटा मौन प्रश्न देखिन्थ्यो—‘छोराले केही पैसा दिन्छ कि!’
आफ्नै खल्ती रित्तो हुँदा त्यो आँखाको अपेक्षा पूरा गर्न नसक्दा मनभित्र असह्य पीडा हुन्थ्यो।
आज बुझ्छु—आमाको चाहना पैसाको मात्र थिएन। त्यो छोरासँगको आत्मीय भरोसा थियो।
बुढ्यौलीमा आमाको सेवा
भाइबहिनीहरू क्रमशः काठमाडौँ आएपछि गाउँमा आमा एक्लिँदै जानुभयो। २०५८ सालको अन्त्यतिर गाउँमा सप्ताह पूजा सम्पन्न गरेपछि आमालाई पनि काठमाडौँ ल्यायौँ।
आमालाई काठमाडौँ ल्याएका मात्र थिएनौँ; जीवनको अन्तिम घडीसम्म उहाँको सेवा गर्ने जिम्मेवारी पनि आफ्नै काँधमा लियौँ। आमाका लागि सुरुमा काठमाडौँको साँघुरो र व्यस्त जीवन सहज थिएन। तर बिस्तारै उहाँ सहरको जीवनमा अभ्यस्त हुनुभयो। त्यसपछि आमाको जीवनको उत्तरार्ध हाम्रै वरिपरि बित्यो।
उमेर ढल्कँदै जाँदा उहाँको स्वास्थ्य बिग्रन थाल्यो। राति उठेर पानी खुवाउने, औषधि मिलाउने, पीडा हुँदा ढाड सुम्सुम्यानु पर्यो। यस सेवायात्रामा श्रीमती भागीरथीको योगदान अतुलनीय रह्यो। आफ्ना व्यक्तिगत रहर, स्वास्थ्य र सहजतालाई समेत पछाडि राखेर उनले आमाको हरेक आवश्यकता पूरा गरिन्। आमालाई अस्पताल लैजाने काम हाम्रो दैनिकी बन्यो। आमाको सेवामा उनले निर्वाह गरेको भूमिकाप्रति म आजीवन ऋणी छु।
आमाको इच्छा अनुसार बुवाको नाममा सप्ताह यज्ञ, तुलादानदेखि आमाको चौरासी पूजा, पशुपतिनाथमा लाखबत्ती र रुद्रीसम्मका धार्मिक कार्य हामी दाजुभाइले मिलेर श्रद्धापूर्वक सम्पन्न गर्यौँ। यी सबै मेरो व्यक्तिगत धार्मिक झुकावभन्दा पनि आमाको सन्तोषका लागि थिए।
अन्ततः सन्तानका लागि आमाको मुस्कानभन्दा ठूलो धर्म अर्को के नै हुन सक्छ र!
एउटा अतृप्त चाहना
मेरो मनको एउटा कुनामा एउटा चाहना भने अन्तिमसम्म अतृप्त रह्यो— एकपटक आमाको मुखबाट सुन्न पाए हुन्थ्यो, ‘बाबु, तिमीले धेरै दुःख गर्यौ।’
परिवारका लागि आफ्नो हक छाडेर त्याग गर्दा पनि मानवीय स्वभाव न हो, आमाबाट आफ्ना संघर्षका दुई शब्द प्रशंसा सुन्न मन लाग्थ्यो।
तर आमा बितेपछि मात्र बुझेँ—उहाँको पुस्ताले माया शब्दमा भन्दा कर्ममा देखाउँथ्यो। उहाँले प्रशंसाका शब्द कम भन्नुभयो होला, तर जीवनभर दिएको त्याग नै उहाँको सबैभन्दा ठूलो आशीर्वाद रहेछ।
अन्तिम बिदाइ
९० वर्षको उमेरमा पनि आमा बरको रूखझैँ अडिग हुनुहुन्थ्यो। तर अचानक उहाँको स्वास्थ्य गम्भीर बन्यो। बुटवलबाट हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याएर ह्याम्स अस्पतालको आइसियूमा राख्यौँ। हर सम्भव प्रयास गर्यौँ तर बचाउन सकेनौँ।
सात दिनसम्म मेसिनहरूको कर्कस आवाजबीच आमा जीवनसँग अन्तिम युद्ध लडिरहनुभयो। अन्ततः २०७८ साल असोज १५ गते राति २:४२ बजे आमाले यो नश्वर संसार त्याग्नुभयो।
त्यो क्षणसँगै हाम्रो परिवारको एउटा सिङ्गो युग समाप्त भयो।
चार दशकअघि बुवाको दाहसंस्कार भएको त्यही पशुपति आर्यघाटमा आमाको पार्थिव देह पनि अग्निशय्यामा थियो।
दन्किरहेको ज्वालामा आमाको अनुहार बिलाउँदै जाँदा लाग्यो—त्यहाँ केवल एउटा देह जलिरहेको थिएन; मेरो बाल्यकाल, मेरा अनुत्तरित गुनासा, आमाका कठोर वचन, उहाँको अगाध स्नेह र उहाँसँग जोडिएका मेरा असंख्य स्मृतिहरू पनि खरानी हुँदै थिए।
त्यस क्षण महसुस भयो—जीवनभर पीडा र मौनताको यात्रा गरे पनि अन्ततः सबै कुरा प्रेममै विलीन हुँदो रहेछ।
अन्तिम निष्कर्ष
आमा! तपाईंको कठोरताभित्र लुकेको अगाध प्रेम र विवशतालाई आज म पूर्ण रूपमा बुझ्दछु। तपाईंप्रति मेरो मनमा अब कुनै गुनासो छैन—छ त केवल अनन्त ऋणी भाव।
तपाईंले मलाई जीवन दिनुभयो, संस्कार दिनुभयो र आफ्नै खुट्टामा उभिन सिकाउनुभयो।
कुनै समय समाजको अज्ञानताले ‘अशुभ’ ठानिएको मेरो जन्म नै पछि मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा बन्यो। खाली खुट्टा विद्यालय पुगेको त्यो बालक, अरूको पसलमा काम गर्दै पढेको त्यो किशोर, अभावसँग जुध्दै आफ्ना भाइबहिनीको भविष्य बनाउने सपना देखेको त्यो युवक—समयको लामो यात्रामा अघि बढ्दै नेपाल सरकारको उपसचिवसम्म पुग्यो।
तर त्यो यात्राको सबैभन्दा ठूलो उपलब्धि मेरो पद थिएन।
आफूले भोगेको दुःख परिवारका अर्को पुस्ताले भोग्नु नपरोस् भनेर गरिएको संघर्ष, १२० वर्गफिटको कोठामा बसेर देखिएका ठूला सपना, भाइबहिनीलाई आफ्नो खुट्टामा उभिएको देख्दाको सन्तोष, आफ्ना सन्तानलाई आ–आफ्नो क्षेत्रमा सफल भएको देख्दाको आनन्द र अन्ततः कर्मप्रतिको विश्वास—यिनै मेरा वास्तविक उपलब्धि हुन्।
त्यसैले आज पछाडि फर्केर हेर्दा मलाई लाग्छ— पदले मानिसलाई चिनाउन सक्छ, तर पौरखले उसको परिचय बनाउँछ। परिस्थितिले मानिसलाई रोक्न सक्छ, तर सङ्कल्पले बाटो खोल्छ। र जन्मको संयोगले होइन, कर्मले मानिसको भाग्य लेखिन्छ।
सायद यही मेरो जीवनको सार हो—पदभन्दा ठूलो पौरख।
आमा, जहाँ हुनुहुन्छ, शान्तिमा रहनुहोस्। तपाईंको स्मृति नै हाम्रो संस्कार हो। तपाईंले सिकाएको कर्तव्य नै हाम्रो बाटो हो।