एउटा प्रश्नले मलाई धेरै दिनसम्म सोच्न बाध्य बनाउँथ्यो।
हाम्रो मूर्ति चोरिँदा हामी किन 'चोरी भयो' भनेर मात्र चिच्याउँछौं? 'अपराध भयो' भनेर किन भन्दैनौं?
यसलाई केवल चोरीको घटना नभई गम्भीर अपराधका रूपमा लिएर दोषीमाथि कडा कारबाहीको माग किन गर्दैनौं?
नेपालका लागि 'आर्ट क्राइम' नौलो शब्द हो। कलाकृति, सांस्कृतिक सम्पदा वा पुरातात्त्विक वस्तुसँग सम्बन्धित कानुन बमोजिम सजाय हुने कुनै पनि कार्य– जस्तै चोरी, लुटपाट, अवैध ओसारपसार इत्यादिलाई नेपालमा हामी 'सांस्कृतिक सम्पदाविरूद्धको अपराध', अर्थात् 'हेरिटेज क्राइम' भनेर चिन्छौं।
हाम्रा काठ, ढुंगा र धातुमा कुँदिएका कलाकृति कहिल्यै 'वस्तु' थिएनन्। हामीले यी सम्पदालाई धार्मिक र सांस्कृतिक जीवन दिएका छौं। त्यसैले त तिनलाई हामी भगवानकै स्वरूप मानेर पुज्ने गर्छौं।
सानो छँदा हजुरआमाले हात जोडेर, आँखा चिम्लेर मन्दिरको मूर्ति अगाडि उभ्याउनुहुँदा त्यो मूर्ति मेरा लागि पनि 'ढुंगा' थिएन।
उहाँ मूर्तिको स्वरूपहाम्रा भगवान चोरिए, हामीले अपराध भन्न पनि जानेनौं देखाएर त्यसमा भगवान भएको आभास महसुस गर्न सिकाउनुहुन्थ्यो। म भने दर्शन गरेर आशीर्वाद माग्ने गर्थेँ।
त्यसैले जब यस्ता मूर्ति चोरिएर विदेश पुग्छन्, हामीले त्यसलाई 'सांस्कृतिक वस्तु हराइयो' भनेर मात्र हेर्न सक्दैनौं।
त्यो हाम्रो धार्मिक आस्था र चिनारीमाथिकै आघात हो। त्यही आघात नै देशभित्रको 'हेरिटेज क्राइम' बनेर अन्तर्राष्ट्रिय बजारमा पुग्दा 'आर्ट क्राइम' बन्छ।
यही प्रश्नको जबाफ खोज्न, यसविरूद्ध लड्ने ज्ञान र सीप सिक्न गत दुई महिना म लगायत चार जनाको टोली इटाली पुग्यौं।
स्विस फन्डअन्तर्गत कल्चरल अफेयर्स स्विट्जरल्यान्डको अनुदान, एलिफ फाउन्डेसनको आर्थिक सहकार्य, आर्का (एसोसिएसन फर रिसर्च इन्टु क्राइम्स अगेन्स्ट आर्ट) को पाठ्यक्रम र भक्तपुरस्थित नमूना फाउन्डेसनको संयोजन र कार्यान्वयनमा हामी त्यहाँ पुगेका थियौं।
उद्देश्य थिए — आर्ट क्राइमलाई अन्तरविषयगत दृष्टिकोणले बुझ्ने, र फर्केर आफ्नै देशको सम्पदामाथि नयाँ चेतका साथ काम गर्ने।
आर्का र अमेलियाको कथा
आर्का १६ वर्षदेखि यही विषयमा पाठ्यक्रम सञ्चालन गर्दै आएको संस्था हो।
उनीहरू 'प्रोभेनेन्स रिसर्च' (स्रोत-अनुसन्धान) र कानुनी वकालतमार्फत चोरिएका सम्पदा स्वेच्छिक रूपले फिर्ता हुनुपर्छ र अपराधीलाई कानुनी कारबाही हुनुपर्छ भन्ने मान्यतामा उभिएका छन्।
यहाँबाट तालिम लिएका विद्यार्थी आज विश्वभर अनुसन्धानदेखि सम्पदा फिर्तासम्मका क्षेत्रमा काम गरिरहेका छन्।
हामी चार नेपाली पनि यही जमातमा जोडिन पुगेका थियौं।
यो तालिम आर्काले दुई चरणमा सञ्चालन गरेको थियो —
पाठ्यक्रम १ : कला तथा पुरातात्त्विक वस्तुसम्बन्धी अपराध।
पाठ्यक्रम २ : सम्पदाको उत्पत्ति-स्रोत अनुसन्धान र सांस्कृतिक सम्पत्ति संरक्षण।
यो कार्यक्रम सन् २०२६ मे २२ देखि जुलाई २४ सम्म भएको थियो। कुल २२० घन्टामा १० वटा विषय, अध्यापन, वादविवाद, प्रस्तुति, सामूहिक छलफल, फिल्ड भ्रमण र साइट भ्रमण इत्यादि समावेश थिए।
अमेलिया इटालीको उम्ब्रिया प्रदेशको सानो पहाडी बस्ती हो। हाम्रो कीर्तिपुर जस्तै।
यहाँ साँघुरा ढुंगे गल्ली, पुराना घर, र हरेक कुनामा इतिहासको प्रतिबिम्ब महसुस हुन्छ।
यही सहरमा सन् १९६३ मा उत्खनन गर्दा मानिस उभिएकै आकारको झन्डै ६ फिट अग्लो 'जर्मानिकस' को कास्य सालिक भेटिएको थियो। त्यो सालिक चौथो शताब्दी ईसापूर्वको एक शासकको थियो।
यो सहर यति पुरानो छ, कसैले घरको झ्याल मात्र बदल्न खोजे पनि सरकारी स्वीकृति चाहिन्छ।
यहाँको संरक्षणको पहिलो सर्त नै पुरानो स्वरूप जोगाइराख्नु र ऐतिहासिकता जीवित राख्नु हो।
सायद यही खुलापन र अनुशासनकै कारण आर्काले अमेलियालाई आफ्नो घर बनायो। यहाँ हरेक वर्ष 'अमेलिया कन्फरेन्स अन आर्ट क्राइम' हुन्छ, जहाँ संसारभरका विज्ञ जम्मा भएर सम्पदा अपराधका मुद्दा र नीति कोट्याउँछन्।
इटालीको उम्ब्रिया प्रान्तको अमेलिया
प्रोभेनेन्सदेखि डिजिटल अनुसन्धानसम्म
आठ साताको पाठ्यक्रम १० विषयमा बाँडिएको थियो। त्यसमध्ये पनि सबभन्दा बढी घोत्लिएको विषय थियो – प्रोभेनेन्स रिसर्च।
यो भनेको कुनै कलाकृति कहाँबाट सुरू भयो, कति व्यक्ति र स्थान हुँदै गुज्रियो, कति पटक किनबेच भयो र त्यसको ऐतिहासिक यात्रा के हो भनेर अनुसन्धान गर्ने हो।
नेपालको सन्दर्भमा अनुसन्धान गर्दा सांस्कृतिक सम्पदा थुप्रै विक्रेता, संकलक लगायतका हात हुँदै अन्तर्राष्ट्रिय बजार पुगेको देखिन्छ।
यी ती व्यक्ति हुन् जसले स्थानीय चोर र लुटेराको हातबाट किनेका हाम्रा मूर्ति तिनीहरूका माझ पुर्याए।
कतिपयले हाम्रा गाउँ-सहरका मन्दिरसम्म पुगेर जानी जानी लिन, राख्न र किन्न खोजेका थिए भने कतिपयले थाहै नपाई किनबेच गरेको देखिन्छ। तिनकै कारण हाम्रा भगवान आज अर्कै देशको संग्रहालय, लिलाम गृह र धनीमानीका बैठककोठामा उभिएका छन्।
सिकाइको पहिलो पाठ यही थियो — कुनै वस्तुको इतिहास खोज्दा त्यसलाई सही आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सन्दर्भमा राखेर हेर्न सक्नुपर्छ।
हामीले कुन देशको कस्तो सीमारेखाबीच यस्ता सम्पदा आफ्नो स्थानबाट छुट्टिए, युद्ध र द्वन्द्व जस्तो समयमा आफ्नो भूमिको सम्पदा कसरी बलजफ्ती विस्थापित गरी घरेलु र अन्तर्राष्ट्रिय बजार पुर्याइयो भन्ने इतिहास केलाउन सिक्यौं।
अनि, हराएका वा लुटिएका वस्तुसँग जोडिएका विभिन्न देशको कानुनी, कूटनीतिक र नैतिक जटिलतासँग परिचित भयौं।
दोस्रो पाठ्यक्रम 'सम्पदाको उत्पत्ति-स्रोत अनुसन्धान र सांस्कृतिक सम्पत्ति संरक्षण' का सहभागी विद्यार्थीहरू
हामीले ओपन सोर्स इन्टेलिजेन्स (ओसिन्ट) अर्थात् सार्वजनिक स्रोतबाट प्राप्त सूचना प्रयोग गरेर अनलाइनमा रहेको डेटा, सूचना, तस्बिर र दस्तावेजभित्र लुकेका प्रमाण र समयरेखा पत्ता लगाउने तरिका पनि सिक्यौं।
यस्तो अनुसन्धानले नै कुनै वस्तुको साँचो इतिहास उजागर गरी फिर्ता ल्याउने प्रक्रियामा टेवा पुर्याउँछ।
नेपालमा यो काम गर्ने जिम्मेवार निकाय पुरातत्त्व विभाग हो। तर कक्षाकोठामा बसेर यो सुन्दा मलाई एउटै प्रश्न बारम्बार आइरह्यो — हामीसँग यसका लागि साँच्चै पर्याप्त स्रोत र प्रविधि छ त?
नेपालमा हाम्रो आफ्नै यो विषय हेर्ने छुट्टै प्रहरी प्रशासन छैन। यो दुःखद कुरा हो। जुन देशमा दुई हजार वर्षदेखिको सभ्यता, सम्पदा र संस्कृति छ, त्यहाँ यसको चोरी-निकासीको घटना सन् ६० को दशकदेखि भइरहँदा पनि जिम्मेवार निकायको ध्यान आकर्षित भएको छैन।
कोर्सकै क्रममा हामीले इटलीको 'कारबिनिएरी', अमेरिकाको 'एन्टिक्विटिज ट्राफिकिङ युनिट' र इन्टरपोलको आफ्नै एपजस्ता चोरी-सम्पदा डाटाबेस देख्यौं।
हामीले डिजिटल डाटाबेस र दस्तावेजीकरण प्रणालीका सम्भावना व्यापक रहेछन् भन्ने कुरा थाहा पायौं। कुनै पनि सम्पदाको खोजनीतिदेखि त्यसमाथि भएको अपराधको गतिविधि हेर्न र पत्ता लगाएको अवस्थामा दाबी गर्न पनि यसले सहज बनाउँदो रहेछ।
सुन्दै जाँदा एउटा कुरा छर्लंग भयो — पूर्ण डाटाबेस भन्ने कुरै हुँदैन, हुने भनेको जिम्मेवार निकायले लगनशील भएर धानेको प्रणाली मात्र हो।
नेपालमा भने यस्तो कुनै एकीकृत डाटाबेस छैन। हामीले पनि हरेक सम्पदाको अद्यावधिक रूपमा डाटा संकलन गरेर त्यसलाई सशक्त बनाउने हो भने, हाम्रो सम्पदा दाबी गर्न यो निकै उपयोगी हुन्छ।
हाम्रो सम्पूर्ण सांस्कृतिक सम्पदाको विवरण (इन्भेन्टरी) समेत वर्षौं पुरानै अवस्थामा छ, अद्यावधिक भएकै छैन। यो प्राचीन स्मारक संरक्षण ऐनको फितलो कार्यान्वयनकै एउटा प्रमाण हो। यसमा अब गम्भीर ध्यान नदिई हुँदैन।
यसैसँगै हाम्रो पुरातात्त्विक वस्तु कसरी अवैध रूपमा अन्तर्राष्ट्रिय बजारमा पुग्यो भनेर पनि हामीले केलायौं।
विगत केही दशकको अवैध पुरातात्त्विक व्यापारको इतिहासले के देखायो भने, कुख्यात संकलकहरू संग्रहालय, ग्यालरी र लिलाम गृहसँग जोडिएका छन्। यद्यपि अन्तर्राष्ट्रिय संग्रहालय परिषद (आइकम) ले भने हरेक संग्रहालयमा रहेका वस्तुको उत्पत्ति अनुसन्धान गरेर त्यसको पूर्ण विवरण राख्नुपर्ने कुराको वकालत गर्छ।
तथापि संग्रहालयले कुनै वस्तु कहाँबाट आयो भनेर दस्तावेज राख्नुभन्दा बढी त्यो वस्तु जसरी पनि हात पार्नुलाई नै प्राथमिकता दिने गर्थे। यही प्रवृत्तिका कारण आज धेरै संग्रहालयका वस्तुसँग पूर्ण अभिलेख छैन।
कक्षामा हामीले विभिन्न देशका दृष्टान्त अध्ययन अर्थात् केस स्टडी गर्थ्यौं। हामीले इटाली, नेपाल, इन्डोनेसिया, क्याम्बोडिया, भारत, इजिप्ट लगायत देशका सम्पदा-फिर्ताका उदाहरण हेर्यौं। सम्पदा फिर्तामा कस्तो प्रमाण चाहिन्छ, त्यसमा लाग्ने कानुनी प्रक्रिया, कूटनीति इत्यादि विषयमा हामीले केसमार्फत सिक्ने अवसर पायौं।
रोचक कुरा त के भने, छलफल भएका विश्वभरका दृष्टान्त-केसमध्ये एउटा नेपालकै थियो।
पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरिएको १५औं शताब्दीको लक्ष्मी-नारायणको मूर्ति डल्लास संग्रहालय अफ आर्टबाट कसरी फिर्ता भयो भन्ने उदाहरण।
आफ्नै देशको केस विदेशी कक्षाकोठामा 'उदाहरण' बनेर आउँदा गर्व र लाज दुवै एकैसाथ महसुस भएको थियो।
संग्रहालयको सुरक्षा : सिसिटिभी मात्र पर्याप्त छैन
नेपालमा संग्रहालय थोरै छन्। विदेशमा जस्तो पुरातात्त्विक महत्त्वका सम्पदा संग्रहालयमा हाल्ने चलन हाम्रोमा थिएन। हाम्रा अधिकांश सम्पदा 'जीवन्त सम्पदा' हुन्– वर्षौं पुराना मन्दिर, स्तुप र कलाकृति आजसम्म पनि धार्मिक र सांस्कृतिक रूपमा जीवन्त भई प्रयोग हुँदै आएका छन्।
कक्षामा अपराधीले संग्रहालयको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाएर उच्च मूल्यका वस्तु कसरी लक्षित गर्छन् भन्नेबारे पनि हामीले गहन अध्ययन गर्यौं।
संग्रहालय सुरक्षा पाठ्यक्रमकै महत्त्वपूर्ण विषय थियो। सुरक्षा किन कुनै पनि संग्रहालय वा सांस्कृतिक संस्थाको अभिन्न अंग हुनुपर्छ भन्ने कुरा सिक्यौं।
सिसिटिभी मात्र राखेर सुरक्षा दुरूस्त भएको ठान्नु आफैमा लज्जाको कुरा रहेछ। संग्रहालयको हकमा सुरक्षा सशक्त बनाउन सुरक्षा-परीक्षण गरी संरचनात्मक, प्राविधिक र व्यवस्थापकीय विश्लेषण गरी आवश्यक कदम चाल्नुपर्ने कुरामा विशेष जोड दिइएको थियो।
नेपालमा संग्रहालय सुरक्षा प्रायः सिसिटिभीमा मात्र सीमित रहेको र सेन्सर, डिटेक्सन प्रविधि, अलार्म प्रणाली तथा अग्नि सुरक्षाजस्ता पक्षमा पनि उत्तिकै ध्यान दिनुपर्ने कुरा थाहा पायौं।
हालसालै नेपाल फर्किएका सम्पदाका लागि छुट्याइएको राष्ट्रिय संग्रहालय छाउनीमा एउटा पूरै कोठा भरिन लागिसकेको छ। तर ती सम्पदामा कुनै किसिमका सेन्सर जडान गरिएका छैनन्।
कक्षाकै क्रममा हामी इटालीको उर्बिनोस्थित 'द ड्युकल प्यालेस' राष्ट्रिय संग्रहालयमा सुरक्षा अध्ययन गर्न पुग्यौं। झन्डै तीन हजार वर्गफिटमा फैलिएको त्यो संग्रहालयमा सन् १९७६ मा पहिलो पटक चोरी भएपछि सुरक्षामा विशेष लगानी भएको थियो।
त्यहाँ हामीले देख्यौं, सबैतिर अलार्मसहितको सेन्सर जडित थियो। सिसिटिभी क्यामरा थिए। अलार्म प्रणाली पनि दुरूस्त थियो। अन्तर्राष्ट्रिय स्तरको संग्रहालयमै यस्तो हुँदोरहेछ भने, हामीले पनि यस्तै किसिमको प्रणालीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरा महसुस भयो।
आफ्नै सम्पदाको लाखौं डलरको मूल्य
हामीले पाण्डुलिपि (म्यानुस्क्रिप्ट) को तस्करी, अवैध उत्खनन र गैरकानुनी बिक्रीका घटना पनि केलायौं।
'बिब्लिकल प्यापाइरी' अर्थात् बाइबलसम्बन्धी प्राचीन पाण्डुलिपि हुन्, जुन प्राचीन युगमा वनस्पतिबाट बनेको कागजमा लेखिएका थिए। यसबारे विशेष चर्चा भइरहँदा हामीले नेपाली पाण्डुलिपि पनि अध्ययन क्रममा देशबाहिर रहेको देख्यौं।
विभिन्न देशका पाण्डुलिपि-संग्रह केलाउँदा नेपालबाट पुगेका पाण्डुलिपि पनि उल्लेख्य संख्यामा भेटिएपछि हामीलाई दुःख लाग्यो।
आज ती व्यापारी, संकलक र संग्रहालयको सम्पत्ति बनेर लाखौं डलरमा बिक्री भइरहेका छन्।
यसै विषयसँगै पुरातात्त्विक वस्तु र पाण्डुलिपि फेला परेदेखि प्रकाशन र संग्रहालयमा प्रदर्शनसम्म कसरी पुग्छन् भन्ने कुरा पनि सिक्यौं। यसले मलाई एउटा कुरा प्रस्ट देखायो — पाण्डुलिपि किनबेच गर्नेहरू मात्र होइनन्, त्यसलाई 'प्रामाणिक' ठहर्याउने प्रकाशक, अनुसन्धाता र संग्रहालय पनि यही अपराधका हिस्सा हुन्।
यो थाहा पाउँदा अचम्म लाग्यो, पाण्डुलिपिमा भएका अक्षर र भाषा हाम्रै पुर्खाका हुन्। तर त्यसको मूल्य तिर्ने र कमाउने मान्छे भने हामी होइनौं।
कक्षामा हामीले अन्य विभिन्न विषयमा पनि अध्ययन गर्ने मौका पायौं। नाजी-युगको सम्पदा-लुट र पुनर्प्राप्ति र विश्वभर १९४५ पछि लुटिएका वस्तु कसरी उद्धार, फिर्ता र क्षतिपूर्ति भइरहेको छ भन्ने कुरा बुझ्न पायौं। नेपालमा पनि राणा र पञ्चायतकालीन अस्थिर राजनीतिक समयमा हाम्रा कयौं मन्दिरबाट मूर्ति हराएको तथ्य छ।
कुनै पनि देशको कानुनले सम्पदा फिर्तामा कति महत्त्व राख्छ भन्ने कुरा पनि जान्यौं। जस्तै, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत कला र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी देशहरूले आफ्नो भूमिबाट हराएका तर विदेशमा भेटिएका सम्पदालाई कसरी दाबी र माग गर्छन् भन्ने सिक्यौं।
कानुन, पुरातत्त्व, संग्रहालय-व्यवस्थापन र संरक्षणजस्ता पेसामा नैतिक-कानुनी सरोकार कसरी जोड्ने भन्ने पनि सिकायो।
धेरैजसो अवस्थामा यो नैतिकताभन्दा बढी कानुनी पेचिलो विषय रहेछ, जसले आफ्नो सम्पदा दाबी गर्दा उत्पन्न हुने कानुनी र नैतिक दुविधासँग जुध्ने तरिका बुझ्नु जरूरी रहेछ।
आदिवासी सम्पदा र क्षतिपूर्तिका रूपमा फिर्ताबारेको मोड्युलबाट हामीले अन्तर्राष्ट्रिय बजारमा आदिवासी कलाको फैलावटले उपनिवेशकालीन इतिहास कसरी झल्काउँछ भन्ने कुरा पनि बुझ्न पायौं। नेपाल कहिल्यै उपनिवेश भएन, तापनि नेवार, थारू, किराँत लगायतका आदिवासी-जनजाति समुदायका परम्परागत मूर्ति, मुखौटा र धार्मिक सामग्री पनि उस्तै ढंगले 'जातीय कला' भनेर विदेशी संग्रहमा बेचिएका उदाहरण भेटिन्छन्।
यो चक्र उपनिवेशवादभन्दा फरक भए पनि परिणाम उस्तै विस्थापन नै हो।
अपराधशास्त्रीय सिद्धान्तको अध्ययन बेला कला-सम्पदा अपराधलाई विभिन्न अपराधशास्त्रीय सिद्धान्तबाट व्याख्या गर्न सिक्यौं। यस्ता अपराध कसरी सीमापार पुग्छन्, त्यस किसिमको अपराधको प्रकृति र त्यसमा शक्ति-हैसियत-स्वार्थको भूमिका के हो भन्ने पनि बुझ्यौं।
नेपालको सन्दर्भमा यो झन् बढी सान्दर्भिक लाग्यो। किनभने, हाम्रा धेरै मूर्ति र पाण्डुलिपि खुला सिमानाबाट भारत हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको पाइन्छ। यो सीमापार सञ्जाल र भू-राजनीतिक जटिलता नबुझी नेपालले एक्लै यो अपराध रोक्न सक्दैन।
हाम्रो सामूहिक बुझाइ के रह्यो भने, आर्ट क्राइम भनेको एउटा मात्र क्षेत्रको समस्या होइन। यो कानुन, अपराधशास्त्र, बीमा, सुरक्षा, प्रविधि र नैतिकता सबैको जोड-घटाउ हो।
नेपालले यीमध्ये कुनै पनि पाटोमा गम्भीर लगानी गरेको छैन भन्ने कुरा यी कक्षाकोठामा बसेर मलाई बारम्बार सम्झाइरह्यो।
भ्रमण
पाठ्यक्रमसम्बन्धी अध्ययनका अतिरिक्त, हामीले सर्भेटेरी (Cerveteri) सहर स्थित 'बान्दिताच्चिया नेक्रोपोलिस' (Banditaccia Necropolis) को स्थलगत भ्रमण पनि गर्यौं।
यो प्राचीन एट्रस्कन (Etruscan) सहरको एउटा पुरातात्त्विक स्थल हो।
हामीले त्यहाँ ईसापूर्व चौथो शताब्दीदेखि सुरक्षित रहँदै आएका र एट्रस्कन सभ्यताका सबभन्दा महत्त्वपूर्ण 'टमुलस' (tumulus) शैलीका चिहान तथा कक्षहरू समावेश भएको क्षेत्रको अवलोकन गर्यौं।
माटुना परिवारको चित्रयुक्त समाधिस्थल, ईसापूर्व चौथो शताब्दी।
यसका साथै, हामीले हर्कुलानियम पुरातात्त्विक पार्कको अवलोकन भ्रमण पनि गर्यौं।
यो एउटा प्राचीन रोमन सहर हो, जुन सन् १९७९ मा माउन्ट भेसुभियसको विष्फोट क्रममा निस्किएको विशाल 'पाइरोक्लास्टिक बहाव' मा पुरिएको थियो।
करिब १९०० वर्षभन्दा बढी समयसम्म भग्नावशेषमुनि पुरिएको अवस्थामा पनि यस सहरका अवशेषहरूलाई जसरी सुरक्षित राखिएको छ, त्यसले रोमनहरूको संरक्षणसम्बन्धी ज्ञान र सीपलाई प्रत्यक्ष रूपमा बुझ्न मद्दत गर्यो।
यो त सम्पदा संरक्षण कुन हदसम्म गर्न सकिन्छ भनेर वास्तवमै अवलोकन गर्न आउनुपर्ने ठाउँ लाग्यो।
यसबाहेक, हर्कुलानियम नजिकै रहेको पोम्पेई सहर सन् १९७९ को सोही ज्वालामुखी विष्फोट क्रममा ४ देखि ६ मिटर बाक्लो ज्वालामुखी खरानीमुनि पुरिएको थियो। खरानीमुनि सुरक्षित रहेको यो सहर रोमन जनजीवन, वास्तुकला र सहरी योजनाको उत्कृष्ट नमूना मानिन्छ।
यसको पहिलो खोजीनीति भने १६ औं शताब्दीमा भएको थियो भने १८ औं शताब्दीदेखि उत्खनन सुरू भयो।
यो स्थान सन् १९९७ देखि युनेस्को विश्व सम्पदा सूचीमा समावेश छ।
ज्वालामुखीको खरानीको थुप्रोमुनि दबिएर रहेको शरीरको आकारमा सुरक्षित रहेको अवशेष; हाल पोम्पेई संग्रहालयमा प्रदर्शनीमा राखिएको छ।
पोम्पेई सहरको दृश्य
एमेलिया सम्मेलनमा सहभागिता
आर्काले सञ्चालन गर्ने 'आर्टक्राइमबारे वार्षिक अन्तरविषयक सम्मेलन', १९–२१ जुन २०२६ मा एमेलियामा सम्पन्न भयो। यसमा नेपालको तर्फबाट श्रीना नेपाल र मैले नेपालको सम्पदासम्बन्धि प्रस्तुत गर्ने अवसर पायौं।
यसमा स्विस संघीय संस्कृति कार्यालयकी उपप्रमुख टानिया एस्पोजितो र एलिफ फाउन्डेसनकी प्रोजेक्ट म्यानेजर लाइया बोनेत (भर्चुअल माध्यमबाट) पनि सहभागी थिए।
प्रहरी, प्राज्ञिक क्षेत्र, संग्रहालय, अन्तर्राष्ट्रिय र स्थानीय संस्था तथा कलासम्बन्धी अपराधका क्षेत्रमा काम गर्ने विशेषज्ञ र प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्राप्त भयो।
श्रीनाले 'नेपालको पवित्र सम्पदाको संरक्षणका लागि स्थानीय संरक्षक तथा अन्तरदेशीय प्रयासहरूको लगानी' शीर्षकमा प्रस्तुति दिइन्, जसमा उनले 'गार्जियन्स अफ गड्स' परियोजनाबारे कुरा राखिन्।
यस परियोजनामा कानुनी प्रमाण, स्थानीयहरूको स्मृति-संस्मरण, पुराना तस्बिर, कानुनी वकालत इत्यादि विषयलाई केन्द्रित गरेर एकीकृत दस्तावेजीकरण गर्ने कुरालाई उनले प्रस्तुत गरिन्। उनले नेपालका सम्पदा-फिर्ताका सफलताको यात्राका साथै कसरी यी पुनर्स्थापित भएर उत्पत्तिकै स्थानमा पुग्नुपर्ने भन्ने कुरा उजागर गरिन।
रवीन्द्र पुरीले भने नेपालको सम्पदा हराएको विषयमा आफूलाई दु:खबोध हुन्थ्यो र त्यसमा कसरी लागिपरेर आफ्ना सम्पदाहरूलाई देशमा फिर्तीका लागि आफूले वकालत गरेँ भन्नेबारे प्रस्तुतीकरण गरेका थिए।
साथै, आफ्नै नेतृत्वमा नेपालमा 'चोरी भएका कलाकृतिहरूको संग्रहालय' (Museum of Stolen Art) स्थापना गर्ने उनको महत्त्वपूर्ण पहल तथा अन्य संरक्षण प्रयासहरू बारे चर्चा गरे।
इटालीमा भएको आर्टक्राइम सम्मेलनमा सहभागी संजय अधिकारी, सौरभ थापा श्रेष्ठ, रवीन्द्र पुरी, प्रकट श्रेष्ठ र श्रीना नेपाल।
मेरो आफ्नै प्रस्तुति 'गार्जियन्स अफ गड्स' मा मैले नेपालको सम्पदा-संकटलाई नजिकबाट देखेदेखि त्यसविरूद्ध सक्रिय रूपमा काम गरेको व्यक्तिगत र व्यावसायिक यात्राको चर्चा गर्दै काठमाडौं उपत्यकाको जीवन्त सम्पदाहरूको वर्णन गरेँ।
यसमा कसरी हाम्रो कला हाम्रा लागि कला मात्र नभई भगवान हुन् भन्ने कुरा व्याख्या गरेँ।
मैले तर्क राखेँ– जब यी मूर्ति लुटिन्छन्, तीसँगै जोडिएका अमूर्त चाडपर्व र संस्कार पनि भत्किएका छन् जसले स्थानीयको आस्थाप्रति आघात भएको छ।
अहिले म लगायतको हाम्रो चार जनाको टोलीले नमूना फाउन्डेसन अन्तर्गत यही तालिमबाट सिकेको सिकाइ र उपलब्धिबाट 'गार्जियन्स अफ गड्स' मार्फत आर्काका दस्तावेजीकरण विधिलाई नेपाल-विशिष्ट पाठ्यक्रममा ढालेर स्थानीय क्षमता विकास गर्नेदेखि अभिलेखका आधारमा एउटा सम्पदा-ज्ञानकोश तयार गर्दैछ।
यसरी सम्पदा फिर्तालाई कानुनी वा कूटनीतिक विषय नभई, समुदायकै स्वामित्वमा रहेको अभियानका रूपमा पुनर्परिभाषित गर्ने प्रयास भइरहेको छ।
फर्केर आउँदा बोकेको एउटै सिकाइ
दुई महिनाको यो यात्रापछि मैले सिकेको सबभन्दा ठूलो पाठ के हो भने, नेपालमा यसविरूद्ध लड्ने र सम्पदा जोगाउने साझा जमात छैन।
व्यापक रूपमा काम गर्ने हो भने अब पर्खिन नमिल्ने अवस्था आइसकेको छ। तस्करीबाट लुटिएका, हराएका र विदेश पुगेका सम्पदा फिर्ता ल्याउन स्थानीय समुदाय, मध्यस्थकर्ता संस्था र स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिसँग समन्वय गर्न सक्ने सशक्त सरकारी नेतृत्व चाहिन्छ।
पुरातत्त्व विभागलाई साधन-स्रोत र अधिकारका हिसाबले सशक्त बनाउनु नै पहिलो कदम हो। सांस्कृतिक सम्पदालाई थोरै बजेट छुट्याएर बेवास्ता गर्ने विषय ठान्नु हुँदैन। किनभने, यो सीधै पर्यटनसँग जोडिएको छ। यहाँ लगानी नगरी हाम्रो अर्थतन्त्रकै एउटा ढोका बन्द राख्नु बराबर हुन्छ।
अमेलियामा बस्दा इटालीका थुप्रै सहर घुम्ने मौका मिल्यो। इटालीले आफ्ना सांस्कृतिक सम्पदालाई जोगाएर पर्यटनसँग जोडेको छ। वार्षिक रूपमा करोडौं पर्यटक भित्र्याइरहेको छ।
हाम्रा मन्दिर, मूर्ति र पाण्डुलिपिले पनि उत्तिकै सम्मान र सुरक्षा पाउनुपर्छ भन्ने यो अनुभवले मलाई फेरि एक पटक झकझक्यायो।
अब त्यही झक्झकाई बोकेर देश फर्केर काम थाल्ने बेला भएको छ।
***



