आज एक अमेरिकी डलरको बिक्री मूल्य १४७ रूपैयाँ ८८ पैसा छ।
पछिल्लो समय डलरको मूल्य निरन्तर घट्दै आएको छ। गत जेठ ७ गते एक डलरको बिक्रीदर १५५ रूपैयाँ २२ पैसासम्म पुगेको थियो। त्यसपछि घटेर अहिले १४७ रूपैयाँ ८८ पैसामा झरेको छ।
उच्च बिन्दुको तुलनामा डलरको मूल्य ७ रूपैयाँ ३४ पैसाले घटेको हो।
चालु आर्थिक वर्षको असार मसान्तमा एक डलर किन्न १५४ रूपैयाँ ३२ पैसा खर्च गर्नुपर्थ्यो। अहिले त्यसका लागि १४७ रूपैयाँ ८८ पैसा भए पुग्छ। अर्थात् असार मसान्तयता डलरको मूल्य ४.१७ प्रतिशतले घटेको छ।
डलर सस्तो हुनुको अर्थ नेपाली रूपैयाँको मूल्य तुलनात्मक रूपमा बढ्नु हो। आयातदेखि रेमिटेन्ससम्म यसको प्रभाव देखिन्छ।
नेपाली रूपैयाँ आफैँले स्वतन्त्र रूपमा बलियो भएको भने होइन। यसको प्रमुख कारण भारतीय रूपैयाँसँगको स्थिर विनिमय दर हो।
नेपाल र भारतबीच १०० भारतीय रूपैयाँ बराबर १६० नेपाली रूपैयाँको स्थिर विनिमय दर कायम छ।
सन् १९९३ देखि कायम यही व्यवस्थाका कारण भारतीय रूपैयाँको मूल्य घटबढ हुँदा नेपाली रूपैयाँ पनि त्यसबाट प्रभावित हुन्छ।
अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ कमजोर हुँदा नेपाली रूपैयाँ पनि कमजोर हुन्छ। भारतीय रूपैयाँ बलियो हुँदा नेपाली रूपैयाँको डलर विनिमय दरमा पनि त्यसको प्रभाव पर्ने हो।
पछिल्लो समय भारतीय रूपैयाँलाई उकास्न भारतीय रिजर्भ बैंक (आरबिआई) ले हस्तक्षेप गरेको छ।
एक डलर बराबर ९७ भारतीय रूपैयाँ नजिक पुगेपछि आरबिआईले विदेशी मुद्रा बजारमा डलर बिक्री गरेर भारतीय रूपैयाँ किनेको थियो। यसका साथै विदेशमा रहेका भारतीयलाई भारतमा डलर पठाउन प्रोत्साहित गर्ने उपाय पनि अपनाइएको छ।
बेलायती पत्रिका 'द इकोनोमिस्ट' का अनुसार आरबिआईले विदेशी मुद्रा सञ्चितिबाट डलर बिक्री गर्ने, विदेशमा रहेका भारतीयलाई आकर्षक ब्याजको प्रस्ताव गर्ने र विनिमय दरको जोखिमबाट सुरक्षा दिने उपाय अपनाएको छ। यसले भारतीय रूपैयाँमाथिको तत्कालीन दबाब कम गर्न सहयोग गरेको छ।
यसको प्रभाव नेपाली रूपैयाँमा पनि परेको हो।
डलर सस्तो हुँदा नेपाललाई सबैभन्दा प्रत्यक्ष लाभ आयातमा हुन्छ। नेपालले पेट्रोलियम पदार्थ, औषधि, औद्योगिक कच्चा पदार्थ, मेसिनरी तथा विभिन्न उपभोग्य वस्तु आयात गर्न डलर खर्च गर्नुपर्छ।
डलरको मूल्य बढ्दा त्यस्ता वस्तु आयात गर्न बढी नेपाली रूपैयाँ आवश्यक पर्छ। तर डलर सस्तो हुँदा त्यही परिमाणको वस्तु किन्न कम नेपाली रूपैयाँ खर्च गरे पुग्छ।
डलर सस्तो हुँदा पेट्रोलियम पदार्थको आयात लागत घटाउन पनि सहयोग पुग्छ। तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य, ढुवानी खर्च र करसमेतले अन्तिम मूल्य निर्धारण गर्ने भएकाले डलर घटेकै आधारमा उपभोक्ताले तत्काल सस्तोमा इन्धन पाउँछन् भन्ने हुँदैन।
डलर सस्तो हुँदा सरकारलाई वैदेशिक ऋणको साँवा र ब्याज तिर्न पनि सहज हुन्छ। सरकारले डलरमा लिएको ऋणको नेपाली रूपैयाँमा गणना हुने दायित्व घट्छ। त्यसले सरकारी वित्तमाथिको विनिमय दरसम्बन्धी दबाब कम गर्छ।
त्यस्तै, विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने आयोजनाको लागत र विदेशी सेवा खरिदमा पनि राहत पुग्छ।
रेमिट्यान्स र पर्यटन आम्दानीमा असर
डलर सस्तो हुँदा सबै क्षेत्रलाई लाभ हुँदैन। विदेशबाट डलरमा रेमिट्यान्स पठाउने नेपालीका परिवारले पाउने नेपाली रूपैयाँ घट्छ।
पर्यटन क्षेत्रको विदेशी मुद्रा आम्दानीमा पनि यस्तै प्रभाव पर्छ। विदेशी पर्यटकबाट डलरमा आम्दानी गर्ने होटल, ट्राभल तथा अन्य व्यवसायले डलर साट्दा पहिलेभन्दा कम नेपाली रूपैयाँ पाउँछन्।
डलरमा सेवा निर्यात गर्ने सूचना प्रविधि कम्पनी, परामर्शदाता तथा अन्य व्यवसायको आम्दानी पनि नेपाली रूपैयाँमा गणना गर्दा घट्छ। उनीहरूको आम्दानी डलरमै स्थिर रहे पनि नेपाली रूपैयाँमा प्राप्त हुने रकम कम हुन्छ।
निर्यातकर्तालाई पनि डलर सस्तो हुँदा असर पर्न सक्छ। डलरमा भुक्तानी पाउने तर नेपालमा नेपाली रूपैयाँमा खर्च गर्नुपर्ने व्यवसायको आम्दानी घट्न सक्छ।
उपभोक्तालाई कस्तो प्रभाव?
डलर सस्तो हुँदा आयातित वस्तुको लागत घट्ने भएकाले उपभोक्तालाई पनि राहत पुग्न सक्छ। औषधि, विद्युतीय उपकरण, मेसिनरी तथा विदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिने वस्तुको लागत घट्न सक्छ।
तर विनिमय दर घट्दैमा बजार मूल्य तत्काल घट्छ भन्ने हुँदैन। पुरानो मूल्यमा आयात गरिएको सामान, अन्तर्राष्ट्रिय बजारको मूल्य, ढुवानी खर्च, कर तथा व्यवसायीको मूल्य निर्धारणले उपभोक्तासम्म पुग्ने मूल्य प्रभावित गर्छ।
डलर सस्तो हुँदा आयातकर्ता, विदेशी ऋण तिर्ने सरकार र विदेशी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई राहत पुग्छ। तर रेमिट्यान्स प्राप्त गर्ने परिवार, पर्यटन व्यवसायी र डलरमा आम्दानी गर्ने निर्यातकर्ता तथा सेवा प्रदायकको नेपाली रूपैयाँमा गणना हुने आम्दानी घट्छ।
डलर सस्तो हुनु आफैँमा नेपाली अर्थतन्त्रका लागि पूर्ण लाभ वा घाटाको विषय होइन। कुन क्षेत्रमा डलर खर्च भइरहेको छ र कुन क्षेत्रमा डलर आम्दानी भइरहेको छ भन्ने आधारमा यसको प्रभाव फरक पर्छ।