म एक महिनावारी हुने व्यक्ति, एक महिला हुँ।
हाल चर्चामा रहेको विषय महिनावारी बिदा म र मजस्ता कैयौं महिला साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू, जो महिनावारी हुन्छन्, उनीहरू सबैका लागि प्रत्यक्ष सरोकार राख्ने विषय हो।
महिनावारी बिदाबारे थप बहस र विश्लेषण हुँदै गर्ला। तर योभन्दा पहिले हामीले हाम्रा घर, विद्यालय, कार्यस्थल र समाजलाई मर्यादित महिनावारीमैत्री बनाउन सक्नुपर्छ।
सबभन्दा पहिले त महिनावारी भनेको वास्तवमा के हो र यसलाई कसरी मर्यादित वा सम्मानित बनाउन सकिन्छ भन्नेबारे चर्चा गरौं।
महिनावारी भनेको मानव सृष्टि सञ्चालन गर्न नभई नहुने एक विशुद्ध प्राकृतिक प्रक्रिया हो। महिनावारीको रगत सफा, शुद्ध र पवित्र रगत हो। यही रगतले तपाईं–हामी सबै जन्मेका हौं। यही महिनावारीले गर्दा नै यो सारा सृष्टि आदिकालदेखि आजपर्यन्त चलायमान छ।
महिनावारी कुनै रोग वा कमजोरी होइन।
महिनावारी हुने १०० प्रतिशत मध्ये ८५ प्रतिशतलाई आफू महिनावारी हुँदैछु भन्ने थाहा हुन्छ। तल्लो पेट दुख्ने, ढाड दुख्ने, दिक्क लाग्ने, कब्जियत वा पखाला लाग्ने, टाउको दुख्ने आदिजस्ता सामान्य लक्षण देखिन सक्छन्।
त्यसमध्ये १० प्रतिशत जतिलाई यस्ता लक्षण अलिक धेरै अनुभव हुन्छन्, जसलाई सामान्य प्राथमिक उपचार गरे पुग्छ।
बाँकी ५ प्रतिशत लाई वान्ता हुने, दिक्क लाग्ने, बेस्सरी पेट दुख्ने आदिजस्ता गम्भीर खालका लक्षणहरू महिनावारी हुन करिब १० दिन अघिदेखि देखिन्छन्। र, महिनावारी भएको १० दिनसम्म रहन सक्छन्।
उनीहरूलाई गहन विशेषज्ञ उपचारको आवश्यकता हुन्छ।
यस प्रकारले हामीले आफ्नो महिनावारी कुन खालको वर्गमा पर्छ भन्ने कुरा यकिन गरी त्यही अनुसार महिनावारीलाई मर्यादित तवरले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
यसरी हेर्दा, महिनावारी हुँदा सबैलाई धेरै गाह्रो गरी पेट दुख्ने वा गम्भीर खालका लक्षण देखिँदैनन्। ती ५ प्रतिशत महिलाहरू जसलाई साँच्चै नै धेरै गाह्रो हुन्छ, उनीहरूलाई महिनाको झन्डै २०–२५ दिन गम्भीर खालका लक्षण देखिन सक्छन्!
त्यसैले यी ५ प्रतिशत, अरू ८५ प्रतिशत र १० प्रतिशतमा पर्ने महिलाहरूलाई यो बिदा उपयोगी वा आवश्यक होला?
अर्कातिर महिलाहरूलाई राहत वा सुविधाका रूपमा दिइने यस्ता महिनावारी बिदाले समाजमा व्याप्त देखिने र नदेखिने महिनावारी विभेद अन्त्य गरी मर्यादित महिनावारीमैत्री कार्यस्थल निर्माण गर्न सहयोग गर्ला कि नगर्ला?
अनि यस्ता बिदाले के महिनावारी हुने व्यक्तिहरूको मानव अधिकार, संवैधानिक अधिकार, मौलिक हकअधिकारलाई सुनिश्चित गरी लैंगिक समानता, समावेशितालाई प्रत्याभूत गर्ला कि नगर्ला?
अर्को प्रश्न यो पनि छ कि महिनावारी बिदाले के महिलाहरूलाई सशक्त, आत्मविश्वासी र प्रगतिशील बनाउन मद्दत गर्ला कि नगर्ला?
अथवा, यसको ठीक उल्टो, महिनावारी हुँदा उनीहरू साँच्चै नै कमजोर हुन्छन् र सामाजिक जीवनमा आउन सक्दैनन् भन्ने विभेदित सोच वा भाष्य स्थापित हुने त होइन? महिनावारी बिदाले महिलाहरूमाथि सरकारी तवरबाटै अप्रत्यक्ष रूपमा थप विभेद पो हुने हो कि?
यी प्रश्नहरूको विषयमा सरकारले गहन अध्ययन, अनुसन्धान, विज्ञ परामर्श र छलफल गरेर मात्रै निर्णय गर्नु अति आवश्यक छ।
हामी महिनावारी हुने व्यक्तिहरूले पनि वास्तवमा स्वतन्त्रता र आत्मविश्वासको सही अर्थ के हो भनेर राम्ररी घोत्लिएर सोच्न जरूरी छ।
महिनावारी बिदाको विकल्प हुन सक्छ। हामीले हाम्रा घर, विद्यालय, कार्यस्थल र समाजलाई मर्यादित महिनावारीमैत्री बनाउने हो भने हामी महिलाहरू स्वतन्त्रताका साथ आफ्ना हकअधिकार उपभोग गर्दै आत्मविश्वासी भई सशक्तीकरणको पथमा निरन्तर लम्किरहन सक्थ्यौं कि!
मर्यादित महिनावारीमैत्री कार्यस्थल भन्नाले कार्यालयमा महिनावारीबारे खुलेर कुराकानी गर्ने वातावरण हुनु, महिनावारी सामग्री रोजेर प्रयोग गर्न मिल्ने अवस्था हुनु, महिनावारीका लक्षणको गम्भीरता अनुसार सुविधाको व्यवस्था भएको, जस्तै: आराम गर्ने, प्राथमिक उपचार, लचिलो काम गर्ने वातावरण, महिनावारी सुक्दै गर्दाको अवस्थामा पंखा वा झ्यालनजिक बस्ने व्यवस्था गर्ने, गम्भीर लक्षण भएकाहरूको गहन उपचारको जिम्मेवारी कार्यालयले लिने आदि पर्छन्।
बुझ्नुपर्ने कुरा के पनि हो भने, सामान्य लक्षण देखिने ८५ प्रतिशत महिलालाई धेरै गाह्रो हुन्छ भनेर बिदा दिएर घरमै बस्न भन्ने र साँच्चै गाह्रो हुने ५ प्रतिशत महिलालाई विशेष उपचारका लागि पहल वा व्यवस्था नगर्ने, यी दुवै अभ्यासहरू महिनावारी विभेद हुन्।
महिनावारी हुने व्यक्तिहरूको सही अर्थमा समानता, स्वतन्त्रता, समावेशिता लगायत मानव अधिकार, संवैधानिक हकअधिकार सुनिश्चित गर्न मर्यादित महिनावारीमैत्री कार्यस्थल निर्माण गरिँदा मात्र महिलाहरूको समग्र विकास र सशक्तीकरण सम्भव हुन सक्छ!
(लेखक सरस्वती शाक्य मर्यादित महिनावारी अभियान नेपालसँग आवद्ध छिन्)