मलेखुबाट धादिङबेँसी जाने बाटोमा त्रिशूली नदी तर्दा एउटा सयौंले सामान्य रूपमा लिएको तर सबैको जीवनसँग गाँसिएको संरचना थियो फुर्केखोलाको पक्की पुल।
बाल्यकालदेखि नै धादिङ र काठमाडौं ओहोर-दोहोर गर्दा मैले सयौँपटक फुर्केखोलाको त्यही पुल तरेको छु, कहिले विद्यालय तथा विश्वविद्यालयको छुट्टीमा घर फर्कँदै गर्दा, वा कहिले काठमाडौंतिर हतारिँदैको समय।
त्यो पुल एक दिन यसरी नै बगेर जान्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ; सायद त्यो बाटो हिँड्ने अथवा पुल तर्ने जो- कसैले पनि आँकलन गरेका थिएनन् होला।
राजधानीबाट धादिङ वा धादिङबाट राजधानी दिनहुँ ओहोर-दोहोर गर्ने, विद्यालय जाने विद्यार्थी, अस्पताल धाउने बिरामी, तरकारी बोकेर बजार पुग्ने किसान, र साँझ थकित भएर घर फर्किने कर्मचारी सबैका पाइला यही ११८ मिटरको फलाम जडित पक्की पुलमाथि परेका थिए। आज त्यहाँ पुल छैन। बाँकी छ त बग्दो त्रिशूली, र नदी काटेर उभिएको एउटा प्रश्न मात्र।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले धादिङका चारवटा पक्की पुल पूर्ण र एउटा आंशिक रूपमा बगाएको समाचार पुरानो हुँदैछ। यसमध्ये सबभन्दा मारमा पर्यो घाटबेँसी–फुर्केखोलाको पुल। यसैसँगै धादिङका आठ स्थानीय तह क्रमश: सिद्धलेक, नीलकण्ठ ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गङ्गा जमुना, खनियाबास, र रूवीभ्यालीलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरूद्ध भयो। घटना कुनै सामान्य पूर्वाधार क्षतिको समाचार मात्र थिएन; यो धादिङबेँसीको राजधानीसँगको बाटो नै रोकिएको क्षण थियो।
यहीँनेर एउटा गम्भीर कुरा बुझ्नुपर्छ, पुलले जोड्ने कुरा परन्तु सडकको दुई छेउ मात्र होइन।
पुलले जोड्छ शिक्षा र विद्यार्थीलाई, स्वास्थ्य र बिरामीलाई, खेत र बजारलाई, गाउँ र सदरमुकाम बीचको सम्बन्धलाई।
पुल भत्किँदा भत्किने भनेको कंक्रिट वा फलामको संरचना मात्र होइन, त्यो हजारौं मानिसको दैनिकीको भरोसा हो। दूरी किलोमिटरले मात्र होइन, भरपर्दो जडानले पनि नापिन्छ भन्ने कुरा फुर्केखोलाले फेरि सम्झाइदिएको छ।
पुल बगेसँगै वैकल्पिक बाटो खोजिनु स्वाभाविकै थियो। पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी पुग्ने कच्ची र हिलाम्मे बाटो प्रयोगमा आयो। ठूला मालवाहक सवारीका लागि मासटार–गोरखा हुँदैको लामो घुम्ती बाटो नै विकल्प बन्यो।
यी विकल्पले आवतजावत पूर्ण रूपमा रोकिनबाट जोगाए, यो सत्य हो। तर यहाँ एउटा भेद छुट्नु हुँदैन, अस्थायी सम्पर्क पुनःस्थापना हुनु र स्थायी, सुरक्षित जडान निर्माण हुनु एउटै कुरा होइन। हिलो बाटो र घुम्ती मार्गले जीवन धानिन्छ, तर त्यसले शिक्षा, स्वास्थ्य र व्यापारलाई पहिलेकै गतिमा फर्काउँदैन।
यहीँबाट नीतिको प्रश्न सुरू हुन्छ। बाढी आएको केही दिनमै सडक विभागले प्रतिक्रिया देखायो, भदौ २१ गते विभागका महानिर्देशक डा. विजय जैसीले फुर्केखोलामा पिलरबिनाको बेलिब्रिज राख्नेबारे चिनियाँ विशेषज्ञसँग परामर्श भइरहेको जानकारी दिए, र चीनबाट ल्याइने सय मिटरको पुल जडान भए दुई देखि तीन हप्तामै यातायात सञ्चालन हुनसक्ने बताए।
राष्ट्रिय योजना आयोगका सदस्य र भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले प्रभावित क्षेत्रको अवलोकन पनि गर्यो। तर त्यो भनिएको समयसीमा पनि पूरा हुन सकेन।
दुई सातापछि नै विभागले स्वीकार्यो, चीनबाट ल्याइएको सय मिटरको पुल फुर्केखोलाको बनावटमा उपयुक्त नरहेको देखियो; उपयुक्त बेलिब्रिजको खोजी अझै जारी छ, र त्यो नभेटिए सिधै स्थायी पक्की पुलको निर्माण थालिने महानिर्देशक जैसीले पछि थपे। यसले देखाउँछ, घोषणा र अध्ययनको तह पार भएको छ, तर घोषणा र वास्तविक जडानबीचको दूरी सोचेभन्दा लामो देखिँदैछ।
र यहीँ शक्तिको प्रश्न पनि उठ्छ, जुन प्राविधिकभन्दा बढी संस्थागत हो। पुल कहिले बन्ने भन्ने कुरा केवल इन्जिनियरिङको विषय होइन; यो प्राथमिकता, बजेट विनियोजन र निर्णय गर्ने अख्तियारको विषय पनि हो। बाढी आएको २३ दिनसम्म पनि अस्थायी बेलिब्रिज नबनेको भन्दै सांसद उर्मिला थपलियाले संसदमै सरकारको ध्यानाकर्षण गराउनुपर्यो भन्ने तथ्यले संघ, प्रदेश र स्थानीय तह तथा सडक विभागबीचको समन्वय र गतिमाथि प्रश्न खडा गर्छ। कुनै निकायलाई दोष थुपार्नु यो लेखको उद्देश्य होइन; तर नागरिकले बुझ्न पाउने हक राख्छन्, प्रक्रिया कहाँ अड्किएको छ, र वैकल्पिक बेलिब्रिज नभेटिए भनिएको 'स्थायी पुल' वास्तवमा कति समयमा तयार हुन्छ।
अन्तिम र सबैभन्दा टड्कारो प्रश्न दिगोपनको हो। फुर्केखोलाको पुल २०५६ सालमा बनेको थियो करिब तीन दशक टिकेको संरचना एउटै ठूलो बाढीले लगेको हो। यसले सोध्छ: नयाँ पुल उही ठाउँमा उही ढाँचामा बनाए पुग्छ, कि नदीको बदलिँदो बहाव, जग र संरचनाको सुरक्षा, पहुँच सडक, र भावी चरम मौसमी घटनालाई ध्यानमा राखेर बनाउनुपर्छ? पुनर्निर्माणको अर्थ पुरानो ठाउँमा अर्को उस्तै पुल हाल्नु मात्र होइन; यो भविष्यको जोखिम बुझेर बनाइने संरचना हो। नेपालका अन्य पहाडी र नदी किनारका बस्तीका लागि पनि यो पाठ उत्तिकै लागू हुन्छ, दिगो पूर्वाधार भनेको एकपटक बनेर सकिने काम होइन, निरन्तर जोखिम मूल्याङ्कन र मर्मतसम्भारको प्रक्रिया हो।
आज फुर्केखोलामा पानी उस्तै बगिरहेको छ, तर पुल छैन। भोलि त्यहाँ पुल बन्नेछ भन्नेमा शंका छैन, प्रश्न समयको हो। पुल बनेपछि फेरि गाडी मात्र चल्नेछैनन्; विद्यार्थीको बाटो खुल्नेछ, बिरामीको पहुँच फर्कनेछ, किसानको बजार जोडिनेछ, र सदरमुकाम–गाउँबीचको त्यो पुरानो भरोसा पुनःस्थापित हुनेछ। त्यसैले पुनर्निर्माणलाई इस्पात र सिमेन्टको काम मात्र नभई मानवीय सम्बन्ध जोड्ने कामका रूपमा हेर्नुपर्छ। पुल ढलेको दृश्य त हामीले तुरून्तै देख्यौं। अब कुरा बाँकी छ, त्यही पुल बनेको दृश्य हामीले कहिले देख्ने, र त्यो दिन कति नजिक छ? छिटो भन्दा छिटो राज्यको जबाफ चाहिएको छ।
(विनोद दुवाडी हाल अंग्रेजी शिक्षामा पिएचडी अनुसन्धानरत छन्। उनको अनुसन्धान कृत्रिम बुद्धिमत्ता (एआई) र शिक्षण शास्त्रमा केन्द्रित छ। उनी काठमाडौं विश्वविद्यालयमा अंग्रेजी विषय अध्यापन गर्छन्।)