नेपालमा २०४० सालसम्म सञ्चार जगत्, त्यसमा पनि प्रसारण क्षेत्रमा एकलौटी राज जमाउँदै आएको रेडियो नेपालका बारेमा पछिल्लो पुस्ताका मान्छेहरूलाई खासै जानकारी र चासो नहोला। त्यतिबेला गीतहरू रेकर्डिङका लागि रत्न रेकर्डिङ संस्थान र सिनेमा निर्माणका लागि तत्कालीन शाही नेपाल चलचित्र संस्थान पनि थिए।
२०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भयो। गोरखापत्र त छापातर्फको सरकारी सञ्चारमाध्यम हो। रेडियो नेपाल र गोरखापत्रका लागि समाचार स्रोतका रूपमा राष्ट्रिय समाचार समिति (रासस) रहेको थियो र अहिले पनि छ। २०५३ सालमा मेरो पहिलो कथा ‘भाग्य र कर्म’ गोरखापत्रमा छापिएपछि मेरो साहित्यिक यात्रा सुरु भएको हो।
पुराना गीतहरूका प्रसङ्ग
२०३७ सालमा म नौ कक्षामा पढ्दाताका रोल्पाको खुंग्रीस्थित आफ्नो घरको पिँढीमा नाङ्लो वा सुपोमा मकैका गेडा छोड्याउने (स्थानीय शब्दमा फोक्ने) काम भइरहेको थियो। त्यस समयमा सान्यो ब्रान्डको जापानी रेडियो हाम्रो घरको ढोकाछेउको किलामा झुण्डिएको थियो। रेडियोबाट एउटा मीठो गीत घन्कियो– ‘तिमीलाई सुनाखरी भनेर बोलाऊँ कि, तिमीलाई गुराँसको नाउँले सजाऊँ कि, तिमीलाई मीठामीठा बोलीले बोलाऊँ कि, न्यानोन्यानो मायामा भुलाऊँ कि।’
उदित नारायण झा र रचना जिसीको युगल स्वरको त्यो गीत मलाई त्यतिबेला असाध्यै मन परेको थियो र अहिले पनि बेलाबेलामा सुन्ने गर्छु। किशोरावस्थाको उत्तरार्ध र युवावस्थाको पूर्वार्धमा रहेका हामीजस्ताको कुरकुरे बैँस अनि गीत सुन्ने सोख हुनु स्वाभाविकै पनि थियो।
हामीले त्यतिबेलासम्म आधुनिक गीतभन्दा लोकगीत मन पराए तापनि यो गीत चाहिँ निकै कर्णप्रिय लागेको थियो। त्यसपछि समयसमयमा रेडियोबाट प्रसारण हुने नारायण गोपालका अन्य केही मीठा गीतहरू पनि सुन्ने गर्थ्यौँ।
त्यतिबेलै मैले तीनजना सङ्गीतकर्मीको एकमुष्ठ नाम आउने गरी चार शब्दको संयुक्त शब्द बनाएँ– ‘उदितनारायणगोपालयोञ्जन।’ जसमा उदितनारायणको नाम पनि भयो, नारायण गोपालको नाम पनि समेटियो र गोपाल योञ्जनको त नाम नआउने कुरै भएन। हामीलाई त्यतिबेलै फाट्टफुट्ट उटपट्याङ गर्न पनि मन लाग्थ्यो।
सामान्य जिस्किने काम त धेरैले गरेकै पाइन्छ, सहरबजारमा होस् वा गाउँघरमा। समयको ख्याल नगरी धेरै जिस्किँदा भने ठूलै घटना हुन सक्नेतर्फ चाहिँ चनाखो नै थियौँ। जिस्किँदाजिस्किँदै कुनै शब्दमाथि अर्थको अनर्थ लाग्न गएमा विवाद वा झैझगडा र जे पनि हुन सक्छ। तसर्थ अवस्था हेरेर होस् गर्दै सीमित मात्रामा ख्यालठट्टा गर्नु उपयुक्त ठानिन्छ।
बिहान उठेर रेडियो खोल्नासाथ रेडियो नेपालबाट एकछिन शङ्खध्वनि बज्थ्यो र त्यसपछि बिहानी सत्रका कार्यक्रमहरूको सूची भनिन्थ्यो, जसलाई ‘प्रसारण हुने कार्यक्रमको रूपरेखा’ भनिन्थ्यो। एकछिनपछि धार्मिक कार्यक्रम सुरु हुन्थ्यो। धार्मिक कार्यक्रमपछि सात बजेको समाचार र त्यसपछि ‘सामयिक चर्चा’ प्रसारण हुन्थ्यो।
बिहान आठ बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुन्थ्यो। शनिबारका दिन भने धार्मिक कार्यक्रमअघि ‘नेपाल जननी बन्दे…’ प्रसारण हुन्थ्यो। ‘नेपाल जननी बन्दे’ को सामूहिक स्वर र सङ्गीत हामीलाई धेरै नै मन पर्थ्यो।
२०३३/३४ सालतिर म आमासँग मावली घर रहेको तत्कालीन प्यूठान र हालको रोल्पाको सिर्पमा गएको बखत एक दिन बिहानको समयमा मामाको घरमा रहेको रेडियोबाट प्रेमध्वज प्रधानको स्वरको ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना….’ सुनेपछि मलाई अझ सुनूँसुनूँ जस्तो लागेको थियो, गीत दोहोरिने सम्भव भने थिएन।
पछि सो गीत दुई/तीन पटक सुनेपछि मैले करिबकरिब कण्ठै पारेको थिएँ। सो गीतको अन्तरामा ‘पालुङटारको गोरुले सल्यान गाउँको बिउ खायो, कान्छी ल्याउँदा जेठीले जिल खायो…’ भनेको सुन्दा सल्यानलाई मैले साविक राप्ती अञ्चलको सल्यान जिल्ला भन्ठानेको थिएँ।
दिउँसो फर्माइसका गीतको कार्यक्रममा प्रसारण हुने गीतहरू सुन्नका लागि रेडियो भएको घरमा किशोर र युवाहरूको झुण्ड नै बन्थ्यो। ‘फर्माइसका गीतहरूको कार्यक्रम’ को नाम फेरिएरपछि ‘अनुरोधका गीतको कार्यक्रम’ भयो। फत्तेमानको स्वरको ‘यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कैलेकैले, कसैलाई माया गर्ने एउटा भुल गरेँ मैले…’ पनि निकै बज्ने गीतमा पर्दथ्यो।
नारायण गोपाल र मीरा राणाको युगल स्वरमा रहेको ‘तिमी देऊ या नदेऊ तिम्रो माया मैले मन तिमीलाई बाँडिसकेँ…. मलाई देऊ या नदेऊ तिमी स्वीकृति मैले मनमा तिमीलाई राखिसकेँ…’ गीत पनि त्यतिबेला निकै बज्नेमा पर्दथ्यो। योगेश वैद्यको स्वरमा रहेको भावुक अर्थात् सेन्टिमेन्टल गीत ‘सपना भुलाई सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ….’ पनि धेरैले रुचाउँथे।
नारायण गोपालकै स्वरका ‘म त लालीगुराँस भएछु…’ र ‘मेरो आँखालाई राख्ने फूलबारी छैन…’ बोलका गीत पनि रेडियोबाट धेरै बज्थे। हामी प्यूठानको भिंग्रीस्थित अमर माविमा पढ्दाका बखत भिंग्री बजारमा रहेको हुलाकबाट रेडियो नेपालमा एउटा गीत अनुरोध गरेर पठायौँ।
अनुरोध गरिएको गीत तारादेवीको स्वरमा रहेको ‘नौ सय खोला तरेर जाने, बिर्सने पो हो कि मलाई, बिर्सने पो हो कि’ थियो। रेडियोबाट हाम्रो नाम सुन्दा हामी खुसी भयौँ। ज्ञानु राणा र मीरा राणाका अरू गीतहरू पनि हामीले सुन्दै आएका थियौँ। प्रेमप्रकाश मल्लको स्वरमा रहेको ‘वनकी म चरी कल्ले सुन्ला कठै बरी मेरो मनको बिलौना….’ पनि मन पर्ने गीत थियो।
त्यस बखत चलेका लोकगीतहरू
दिलबहादुर खाती र तीर्थकुमारीको युगल स्वरमा रहेको गीत ‘ढुङ्गेबगर माया, ढुङ्गेबगर माया, छँदैछ हल्ला नगर…’ र दिल बहादुर खातीकै स्वरको ‘कालोकालो रेलको धुवाँले म त कालो छाता हजुर ओढ्दै नओढ्नाले…’ बोलको गीत पनि नियमित रूपमा बज्थ्यो।
अल इन्डिया रेडियोबाट धेरै बज्ने नेपाली गीतहरूमा कुमार बस्नेतको स्वरमा रहेको लोकगीत थियो– ‘हेर्दा राम्रो माछापुच्छ्रे, माडी राम्रो माछा, बैगुनीलाई गुनले मार्छु, खोजी ल्याइदेऊ कहाँ छ…’ पाण्डव सुनुवारको स्वरमा रहेको ‘कलिलो तामालाई सोध रामलाई…’ पनि त्यो समयमा धेरै बज्ने लोकगीतहरूमध्ये पर्दथ्यो।
पुराना गीतहरू
माणिक रत्नको स्वरको ‘नआऊ जून कोठामा राति मसँग लाडिन…’ र रत्नदास प्रकाशको स्वरको ‘झमझम पानी पर्यो असारको रात, बारीबाट बज्न लागे मकैका पात…’ गीत पनि कर्णप्रिय थियो। कोइलीदेवी, तारादेवी र तारा थापाका गीतहरू पनि निकै बज्थे। मित्रसेनको स्वरको गीत ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले…’ गीत अलि हँसाउने खालको थियो।
धर्मराज थापाको स्वरमा रहेको ‘हरियो डाँडामाथि हलो जोत्ने साथी…’ पनि रेडियो नेपालबाट निकै बज्ने गर्थ्यो। थापाकै स्वरको ‘आज मादल बजेको किन गाउँघर दुनियाँ ब्युँझाउन…’ पनि धेरै स्रोताको रुचिमा पर्दथ्यो। लोकबहादुर क्षेत्रीको स्वरको ‘आमा रुँदै गाउँबेंसी मेलैमा, छोरा रुँदै गोरखपुर रेलैमा…’ गीतले स्रोताहरूलाई भावुक बनाउँथ्यो। भारतीय गायिका उषा मंगेशकरको स्वरमा रहेको ‘कञ्चनजङ्घा, यो कञ्चनजङ्घा मेरो प्यारो…’ पनि निकै बज्थ्यो।
त्यस्तै, उनकै स्वरमा रहेको अर्को गीत ‘झलझली आँखामा कस्तो बस्यो माया, प्रीति सक्तिनँ म बिर्सनँ, तिम्रै हो यो लैजाऊ जोवन…’ पनि धेरैले रुचाउँथे। गणेश रसिकको स्वरको ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास…’ यस लेखमा छुटाउँदा अन्याय नै ठहर्ला। नेपालको पहिलो महिला गायिका मेल्वादेवीको त झन् नाम छुटाउनै हुँदैन यहाँ। ‘झन् पर जान्छु लै लै, झन् माया लाग्छ बरिलै, मोहनी लायौ कि…’ मेल्वादेवीकै स्वरमा रहेको थियो।
२०४० पछिका गीतहरूको प्रसङ्ग
आजभन्दा ४३ सालअघि अर्थात् २०४० सालमा म गाउँबाट उच्चशिक्षा अध्ययनका लागि काठमाडौँ प्रवेश गरेपछि पहिलोपटक नेपाली चलचित्र ‘जुनी’ हेरेको थिएँ, न्युरोडको फसिकेवस्थित रञ्जना सिनेमा हलमा। भुवन केसी र मीनाक्षी आनन्दको अभिनय रहेको सो चलचित्रको ‘तिमी गाउँलेहरू न त खान जान्ने, न त लाउन जान्ने…’ गीत सुन्दा मलाई नमज्जा लागेको थियो। किनकि कुनै पनि दृष्टिले गाउँलेलाई त्यसरी होच्याउनु गलत थियो।
सहरको खानपानभन्दा गाउँको खानपान सुरक्षित हुन्छ। सहरमा विषादी हालिएका तरकारी, फलफूल किनेर खानुपर्ने हुन्छ भने गाउँघरमा निर्धक्कसँग अनाज, फलफूल, तरकारी खानुलाई खान नजान्ने भन्न मिल्छ र? गाउँघरमा घाँस, दाउरा, गोठभकारो, खेतीपातीमा संलग्न भइरहनुपर्ने हुँदा त्यही किसिमको पहिरन हुन्छ। त्यस्तै, लाउन नजान्ने भन्नु पनि गलत देखिन्छ सो गीतमा।
‘जुनी’ पछिको मैले हेरेको दोस्रो चलचित्र ‘बदलिँदो आकाश’ मा नारायण गोपालको स्वरमा रहेको ‘जन्मनुपर्छ हरेक मानिस लिएर नौलो आश…’ भनिएको छ। वास्तवमा जन्मँदाका बखत शिशुले आशा गर्ने कुरा सम्भव छैन, तथापि गीत भने मीठो छ। कमी–कमजोरी त जुनसुकै सिर्जनामा पनि भेटिन्छन्, जसलाई चिरफार गर्ने काम समालोचकको र वर्णनसहित सामान्य कमजोरी औँल्याउने काम समीक्षकको हुन्छ।
मैले हेरेका चलचित्रहरूमध्ये तेस्रो नेपाली चलचित्रको रूपमा र उत्कृष्टमा गनिने चलचित्र ‘कान्छी’ मा रहेको नारायण गोपालको स्वरको ‘छोरीको जन्म हारेको कर्म…’ गीत पनि सेन्टिमेन्टल त छ, मीठो पनि छ। तर पछिल्लो समय नारीहरूलाई त्यति उपयुक्त लाग्दैन सो गीत। यद्यपि, पहिलेको जमाना यस्तो थियो भनेर जानकारी चाहिँ दिन खोजेको छ गीतले।
अन्तर्वार्ताका क्रममा रेडियो–टेलिभिजन स्टुडियोमा होस् वा आफ्ना शब्दरचनाका गीत रेकर्डिङका लागि रेकर्डिङ स्टुडियोमा पस्दा मलाई धेरै आनन्द प्राप्त हुन्छ। किनकि सञ्चारमाध्यमहरूबाट प्रसारण गरिने सामग्रीहरूले जनतालाई सुसूचित गराउँछन् भने गीत–सङ्गीतले स्रोताहरूलाई आनन्द प्रदान गर्दछ। ‘फूल र सङ्गीत मन नपराउने मान्छे कोही पनि हुँदैन’ भनिन्छ पनि।