कहिलेकाहीँ एकान्तमा बसेर आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दा अचम्म लाग्छ, समय कति छिटो बितेछ! हिजोजस्तो लाग्छ, आँगनमा साथीहरूसँग धुलोमा खेलिरहेको त्यो बालक आज जीवनका अनेक जिम्मेवारी बोकेर हिँडिरहेको छ।
हिजो आमाको औँला समातेर हिँड्न सिकेको मान्छे आज आफ्ना छोराछोरीको औँला समातेर उनीहरूलाई बाटो देखाइरहेको छ। बिचमा कति ऋतु फेरिए, कति अनुहार आए र गए, कति सम्बन्ध बने र छुटे, कति सपना जन्मिए र केही अधुरै रहे। तर जीवन भने रोकिएन, निरन्तर हिँडिरह्यो।
सायद जिन्दगीको सबैभन्दा ठुलो सत्य यही हो, हामी गन्तव्य खोज्दै हिँडिरहेका हुन्छौँ, तर वास्तवमा जीवन भने बाटोमै बितिरहेको हुन्छ।
बाल्यकाल सम्झँदा अहिले पनि मन एकछिन त्यही पुरानो आँगनमा पुग्छ। संसार त्यति बेला कति सानो थियो! घर, परिवार, केही साथी र खेल्ने खुला ठाउँ—यति नै काफी थियो खुसी हुन। साथीहरूसँग सानो कुरामा झगडा हुन्थ्यो, केही बेरपछि फेरि मिलिन्थ्यो।
कसैको घरमा पुगेर घण्टौँ हराइन्थ्यो। आमाको गाली खान्थ्यौँ, बाबुको डर मान्थ्यौँ, तर भोलिपल्ट फेरि उही प्रक्रिया दोहोरिन्थ्यो। त्यो उमेरमा न भविष्यको चिन्ता थियो, न पैसाको हिसाब। आज सम्झँदा लाग्छ, हामीसँग धेरै कुरा थिएनन्, तर हामीसँग सबैभन्दा मूल्यवान् कुरा थियो, समय।
त्यसपछि आयो स्कुल जीवन। नयाँ किताब, नयाँ पोसाक, नयाँ साथी र बिस्तारै ठुलो हुँदै गएको संसार। एउटै बेन्चमा बसेर बाँडेको टिफिन, गृहकार्य नगरेर बनाएका बहाना, शिक्षकको नजर छल्दै गरेका हाँसो, सानो कुरामा गरेका झगडा र फेरि केही बेरमै मिल्ने मित्रता,ती दिनहरू आज सम्झनाको सबैभन्दा उज्यालो कुनामा छन्।
त्यही स्कुल जीवनमै पहिलो पटक मनले कसैलाई अरूभन्दा अलि फरक ढंगले हेरेको, उसको एउटा मुस्कानले दिन राम्रो लाग्थ्यो, एउटा नजरले मनमा अनौठो हलचल हुन्थ्यो। सायद त्यो पहिलो प्रेम थियो। पूरा भयो कि भएन, आज त्यसको हिसाब छैन; तर त्यसले पनि आफ्नै भाषा बोल्दो रहेछ भन्ने कुरा सिकाएर गयो।
समय रोकिएन। स्कुल सकियो र कलेजको संसार सुरु भयो। कलेजमा पुगेपछि संसार अझ फराकिलो भयो। नयाँ साथीहरू, नयाँ सपना, नयाँ विचार र भविष्यका अनेक कल्पना। कहिले पढाइभन्दा साथीहरूको गफ महत्त्वपूर्ण लाग्थ्यो, कहिले कलेज बंक गरेर घुमेका दिनहरू जीवनकै सबैभन्दा रोमाञ्चक क्षणजस्ता लाग्थे।
खल्तीमा पैसा कम हुन्थ्यो, तर खुसी बाँड्न साथीहरू धेरै थिए। एउटा चियाले धेरै जनाको गफ धान्थ्यो, एउटा सानो यात्राले धेरै दिनको सम्झना दिन्थ्यो। त्यति बेला लाग्थ्यो,यी साथीहरू, यी दिनहरू, यी हाँसोहरू सधैँ यस्तै रहनेछन्।
तर जिन्दगीको आफ्नै गति हुँदो रहेछ।
कलेज सकिएपछि पहिलो पटक जीवनले गम्भीर प्रश्न गर्यो, अब के गर्ने? हिजोसम्म सपना देख्ने उमेर थियो, अब सपना पूरा गर्ने जिम्मेवारी आयो। जागिर खोज्ने दिनहरू सुरु भए। अवसरको खोजीमा कार्यालय–कार्यालय धाइयो, फोन आउला कि भनेर मोबाइल हेरियो, कहिले आशा पलायो, कहिले निराशा।
आफूले चाहेजस्तो काम नपाउँदा मन दुख्यो, कहिले पाएको अवसर पनि परिस्थितिले खोस्यो। त्यही समयले सिकायो, सपना देख्नु सजिलो रहेछ, तर त्यसलाई जीवनमा उतार्न संघर्ष गर्नुपर्दो रहेछ।
अनि जीवनले फेरि एउटा ठुलो मोड लियो—परदेश।
आफ्नो घर, परिवार, साथी र परिचित संसार छोडेर अनजान देशतिर लाग्नु केवल यात्रा थिएन, त्यो आफ्नै भविष्यसँग गरिएको एउटा जोखिम थियो। परदेश पुगेपछि बल्ल घरको अर्थ बुझियो। आमाको हातको खाना, बाबुको आवाज, साथीहरूको हाँसो, चाडपर्वको रौनक, सबै कुराको मूल्य दूरीले सिकायो। दिनभर कामको थकान र रातमा घरको सम्झना, कहिलेकाहीँ एक्लोपन, कहिलेकाहीँ संघर्ष र कहिलेकाहीँ सानो सफलतामा ठुलो खुसी।
तर परदेशले केही अमूल्य साथी पनि दियो। रगतको नाता नभए पनि दुःखमा आफ्नो मान्छेजस्तै उभिने साथीहरू भेटिए। सँगै काम गरियो, सँगै हाँसियो, कहिले एउटै कोठामा बसेर घर सम्झिँदै मन भारी बनाइयो।
फेरि जीवनमा अर्को अध्याय थपियो—विवाह।
विवाहपछि जिन्दगीको अर्थ फेरि बदलियो। ‘म’ बिस्तारै ‘हामी’ बन्यो। आफ्ना खुसीभन्दा अर्को मान्छेको खुसी महत्त्वपूर्ण हुन थाल्यो। सम्बन्ध केवल माया र मुस्कानले मात्र चल्दैन रहेछ, त्यसका लागि धैर्य, समझदारी, त्याग र कहिलेकाहीँ मौन सहनशीलता पनि चाहिँदो रहेछ!
त्यसपछि जीवनमा आए छोराछोरी।
उनीहरूको पहिलो मुस्कान, पहिलो बोली, पहिलो पाइला, पहिलो स्कुल— हरेक क्षणले जीवनलाई नयाँ अर्थ दियो। उनीहरूलाई हुर्काउँदै गर्दा अचानक आफ्नै बाल्यकाल सम्झिन थालियो। अनि त्यही बेला आफ्ना बाबुआमाले हामीलाई हुर्काउँदा गरेका त्यागहरू अझ गहिरोसँग बुझिन थाले।
हामी आफ्ना छोराछोरीको भविष्य बनाउन दौडिरहँदा उता हाम्रा बाबुआमा बिस्तारै बूढा हुँदै गए। हिजो जसले हाम्रो औँला समातेर बाटो देखाए, आज उनीहरूलाई हाम्रो साथ चाहिन थाल्यो। समयको यो घुम्ती सायद जीवनकै सबैभन्दा भावुक क्षण हो। हामी भविष्यको चिन्तामा दौडिरहेका हुन्छौँ, तर वर्तमान चुपचाप हाम्रो हातबाट फुत्किरहेको हुन्छ।
आज पछाडि फर्केर हेर्दा जीवनमा भेटिएका मानिसहरूको लामो सूची देखिन्छ। बाल्यकालका साथी, स्कुलका साथी, कलेजका साथी, पहिलो प्रेम, जागिरका सहयात्री, परदेशका साथी, जीवनसाथी, छोराछोरी र परिवार। तर अचम्म के छ भने, हरेक मान्छेले जीवनमा केही न केही थपेर गएको छ। कसैले सम्झना, कसैले शिक्षा, कसैले पीडा र कसैले प्रेम।
कहिलेकाहीँ पुरानो फोटो भेटिन्छ। कुनै पुरानो गीत बज्छ। कुनै ठाउँको नाम सुनिन्छ। कसैको अनुहार सामाजिक सञ्जालमा देखिन्छ। अनि मन अचानक वर्षौँ पछाडि पुग्छ। त्यति बेला लाग्छ, समय बितेको मात्र होइन रहेछ, हामीभित्रका धेरै संसारहरू पनि बदलिँदै गएका रहेछन्।
हिजोका ती साथीहरू आज आफ्नै परिवारमा व्यस्त छन्। कसैको कपालमा सेतोपन देखिन थालेको छ। कसैको अनुहारमा जिम्मेवारीका रेखा छन्। कसैले देश छोडेका छन्, कसैले सहर। कसैसँग वर्षौँदेखि भेट भएको छैन। तर मनले उनीहरूलाई अझै त्यही उमेरमा सुरक्षित राखेको छ, जहाँ हामी सँगै हाँस्थ्यौँ, सँगै हिँड्थ्यौँ र भविष्यबारे अनगिन्ती सपना देख्थ्यौँ।
अनि लाग्छ, जिन्दगी वास्तवमा कति छोटो रहेछ!
हामी सधैँ केही बन्न खोज्दै दौडिरह्यौँ। पैसा कमाउन, घर बनाउन, छोराछोरीको भविष्य सुरक्षित गर्न, समाजमा आफ्नो ठाउँ बनाउन। तर यो दौडमा कहिलेकाहीँ बाँच्नै बिर्सियौँ। बाबुआमासँग केही बेर बस्न बिर्सियौँ। पुरानो साथीलाई फोन गर्न बिर्सियौँ। जीवनसाथीसँग मन खोलेर कुरा गर्न बिर्सियौँ। छोराछोरीको सानो खुसीमा रमाउन पनि कहिलेकाहीँ फुर्सद भएन।
तर जीवनको अन्तिम हिसाब सायद यिनै कुराले गर्ने हो।
कति कमायौँ भन्नेभन्दा कति बाँड्यौँ।
कति घर बनाएँ भन्नेभन्दा कति मनमा ठाउँ बनायौँ।
कति टाढा पुग्यौँ भन्नेभन्दा कति आफ्ना मान्छेलाई साथमा लिएर हिँड्यौँ।
कति वर्ष बाँचेँ भन्नेभन्दा कति दिन साँच्चिकै मन खोलेर बाँचेँ।
अझै यात्रा सकिएको छैन। अगाडि अझै धेरै बाटो बाँकी छ। नयाँ संघर्ष आउलान्, नयाँ खुसीहरू पनि आउलान्। शरीर थाक्ला, परिस्थितिले फेरि परीक्षा लिइरहला। छोराछोरी आफ्नै संसारतिर लाग्लान्। हामी बिस्तारै बुढ्यौलीतिर पुगौँला। कुनै दिन हामीले पनि आफ्ना बाबुआमाले जस्तै छोराछोरीको बाटो हेरेर बस्नुपर्नेछ।
तर त्यो दिन आउनुअघि जीवनलाई अलि नजिकबाट बाँच्न मन लाग्छ।
पुराना साथीलाई सम्झन मन लाग्छ। बाबुआमाको हात समातेर केही बेर बस्न मन लाग्छ। जीवनसाथीलाई धन्यवाद भन्न मन लाग्छ। छोराछोरीसँग हाँस्न मन लाग्छ। र आफूले पाएका दुःखहरूलाई पनि गुनासो होइन, जीवनले दिएको पाठ सम्झेर स्वीकार गर्न मन लाग्छ।
किनकि अन्ततः जिन्दगी कुनै निश्चित गन्तव्य होइन रहेछ।
यो त बाल्यकालदेखि बुढ्यौलीसम्म बिस्तारै खुल्दै जाने एउटा कथा रहेछ। कहिले हाँसोको, कहिले आँसुको। कहिले भेटको, कहिले बिछोडको। कहिले सफलताको, कहिले असफलताको। कहिले आफ्ना मान्छेहरू साथमा भएको खुसीको, कहिले उनीहरू टाढा हुँदा महसुस हुने खालीपनको।
र जब एकदिन यो यात्राको अन्तिम पाना पल्टिनेछ, साथमा न धन जानेछ, न पद, न प्रतिष्ठा। जानेछन् त केवल हामीले बाँडेका प्रेम, दिएका साथ, पाएका आशीर्वाद र कसैको मनमा छोडेका केही मीठा सम्झनाहरू।
सायद जीवनको सबैभन्दा ठुलो उपलब्धि यही हो— हामी गएपछि पनि कसैको सम्झनामा मुस्कान बनेर बाँचिरहन सक्नु। त्यसैले अब लाग्छ, जीवनलाई धेरै गम्भीर भएर जितिरहनु भन्दा, कहिलेकाहीँ रोकिएर महसुस गर्नुपर्छ।
बाल्यकाललाई सम्झनुपर्छ।
पुराना साथीलाई सम्झनुपर्छ।
बाबुआमाको माया बुझ्नुपर्छ।
जीवनसाथीको साथको मूल्य जान्नुपर्छ।
छोराछोरीको बालापनसँग केही समय बालक बन्नुपर्छ।
किनकि समय फर्केर आउँदैन।
फर्केर आउँदैन त्यो बाल्यकाल।
फर्केर आउँदैन स्कुलको त्यो बेन्च।
फर्केर आउँदैन कलेजका ती दिन।
फर्केर आउँदैन परदेशको त्यो पहिलो यात्रा।
र फर्केर आउँदैन बितिसकेको कुनै एउटा सामान्य दिन।
त्यसैले आज बाँकी रहेको समयलाई प्रेम गरौँ।
आज भेटिएका मान्छेलाई आफ्नो बनाऔँ।
आज साथमा भएकालाई समय दिऔँ।
आज मुस्कुराउन सकिन्छ भने मुस्कुराऔँ।
आज माया गर्न सकिन्छ भने माया गरौँ।
किनकि भोलि के हुन्छ, कसैलाई थाहा छैन।
हामी सबै यात्रु हौँ।
बाटो फरक होला, कथा फरक होला, संघर्ष फरक होला,तर अन्ततः हाम्रो खोज एउटै हो: केही अर्थपूर्ण पल, केही आफ्ना मान्छे र केही यस्ता सम्झना, जसलाई सम्झिँदा जीवन व्यर्थ गएन भन्ने महसुस होस्।
र सायद यही नै जिन्दगी हो— हिँडिरहने यात्रा, छुटिरहने मान्छे, थपिँदै जाने सम्झना र अन्ततः सम्झनाहरूमा बाँकी रहने एउटा जीवन।