जिन्दगी एउटा उपन्यास जस्तै त हो। कसैले यसलाई पानाहरूमा छाप्छन्, त कसैले मनकै कुनै कुनामा लुकाएर समयको बहावसँगै अगाडि बढिरहन्छन्। आज अचानक मेरो मन अतीतको तिनै पानाहरूतिर फर्कियो, जहाँ बालापनको दसैँ-तिहार र मेरा बालसखाहरू मुस्कुराइरहेका थिए।
दसैँको बिदा हुनासाथ हाम्रो समूह काउले, आँखुरेका वनहरू र फर्ज्याङ खोलातिर कुद्थ्यो। त्यो खोलामा कति पटक पौडी खेलियो, त्यसको त गन्ती नै छैन! खोलामा माछा छेक्ने ढुङ्गाका फोनहरू बनाएर 'हलो-हलो' भन्दै यताउता बसेर कुरा गर्ने ती दिनहरू कति निश्छल थिए। त्यति बेला हामी अबोध केटाकेटीलाई के थाहा— भविष्यमा साँच्चिकै यस्तै मोबाइल फोन आउनेछ र मान्छेहरू यसैमा हराउनेछन्।
आमाबुवालाई दसैँको खर्च कसरी जुटाउने भन्ने पिरलो हुन्थ्यो, तर हामी नयाँ कपडा र मीठो खानेकुरामा फुरुङ्ग हुन्थ्यौँ। टीकाको दिन निधारमा बस्ने त्यो रातो टीका, जमरा र दक्षिणाको त कुरै बेग्लै! एक-एक रुपैयाँ राखेर पाँच रुपैयाँले खेलिने तासको खेलमा यदि त्यो पाँच रुपैयाँ हारियो भने लाग्थ्यो— संसारकै सबै सम्पत्ति सकियो। दसैँको बेला सबै साथीहरू (केटीहरू) बटुलेर घर लिपपोत गर्दाको आनन्द नै अर्कै हुन्थ्यो।
दसैँको दक्षिणा जम्मा गरेर हामी तिरादशीको दसैँ मेला हेर्न जान्थ्यौ। त्यो भिड सराए नाच र जेरी खानुको आनन्द बेग्लै हुन्थ्यो। साँच्चै अहिले खोजेर ती दिनहरू कहाँ भेटिएला।
दसैँ सकिन पाउँदा नपाउँदै अर्को महान् पर्व तिहार दैलोमा आइपुग्थ्यो, जुन हाम्रा लागि झन् ठुलो उत्साह थियो। तिहार आउनु एक हप्ता अगाडिदेखि नै हाम्रो ठुलो समूह भैलोको तयारीमा जुट्थ्यो। कुन गीतमा नाच्ने भनेर दिनरात अभ्यास चल्थ्यो।
मेरै उमेरका साथीहरू भैलो खेल्न जाँदा मेरी दिदीहरूले मलाई ‘यो सानी छे कहाँ धेरै डुलाउने!’ भन्दै दुई-चार घर खेलाएर घरमै छोडिदिनुहुन्थ्यो। त्यति बेला आफू कान्छी छोरी भएकोमा साह्रै पछुतो लाग्थ्यो। तर, त्यही दुई-चार घर खेल्न पाउँदा पनि म मक्ख पर्थेँ।
हाम्रो भैलो टोलीको नेतृत्व दाइले गर्नुहुन्थ्यो। उहाँले ‘ए बा किन्दिउन भटभटे...’ भन्ने गीतमा अभिनय गर्दा गाउँका सबैजना दङ्ग परेर हेर्थे। अचेल पनि रेडियो वा मोबाइलमा ‘ड्राइभर दाइ मोटर चलाउँदै...’ वा ‘हातमा चुरा छ है चुरा छ...’ जस्ता गीतहरू बज्दा मेरो मन सिधै त्यही भैलोको आँगनमा पुग्छ।
हाम्रो समूह यति ठुलो थियो कि सबै साथीहरूको नाम यो छोटो कथामा लेखिसाध्य नै छैन। तर, यो कथा पढ्ने मेरा हरेक बालसखाले बुझुन्— ‘तिमीहरू सबै मेरो मनमा छौ, म तिमीहरू प्रत्येकलाई उत्तिकै सम्झिन्छु।’
समयको चक्र फनफनी घुम्यो। साथीहरूको बिहे भयो, कोही सहर पसे, कोही परदेशिए। आज गाउँका घरहरू र मानिसका मनहरू उस्तै रित्ता र उदास छन्। गाउँमा मात्र बुढा आमाबुवा बाँकी हुनुहुन्छ। उमेर बढेपछि र जिम्मेवारी थपिएपछि पुराना साथीहरू छुटे, र यी चाडपर्वहरू पनि कता कता फिक्का लाग्दा रहेछन्।
मनमा यादहरूको एउटा यस्तो ठुलो किताब छ, जुन संसारको जुनसुकै शब्दकोशभन्दा पनि ठुलो छ। खै कसरी लेखौँ, कहाँबाट सुरु गरौँ र कसरी भनौँ जस्तो भइरहन्छ! मनमा यादहरू त ओइरिएर आउँछन्, तर आज तिनै पुराना साथीहरू र फर्ज्याङ खोलाको सुगन्ध पोख्नका लागि शब्दहरू कम परिरहेका छन्।