सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा स्रोतले सेतोपाटीलाई बताएको छ।
स्रोतका अनुसार सापकोटा पक्राउ परेपछि प्रधानमन्त्री सचिवालयका संयोजक विशाल अधिकारी, गृहमन्त्रीका सल्लाहकार जेम्स कार्की र आफूलाई प्रधानमन्त्री र गृहमन्त्री दुवैको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठ प्रहरी कार्यालय गएका थिए।
जेम्स र चिराग प्रहरी कार्यालयमा हुँदाका तस्बिर सेतोपाटीले प्राप्त गरेको छ। तर उनीहरू कुन दिन, कति बजे त्यहाँ पुगे र कोसँग के कुरा गरे भन्ने खुलेको छैन।
चिराग श्रेष्ठ (बायाँ) र जेम्स कार्की (दायाँ) प्रहरी कार्यालयमा।
विशाल अधिकारी र प्रहरी अधिकृतबीच भइरहेको कुराकानी। यो दृश्य हामीले भिडिओबाट लिएका हौं।
प्रधानमन्त्री सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय संयोजक रहेका विशाल अधिकारीले भने प्रहरी कार्यालयको सोधपुछ कक्षमै पुगेर इनमको अनुसन्धानमा खटिएका अधिकृतसँग कुराकानी गरेका थिए। त्यति बेलाको करिब साढे दुई मिनेट लामो भिडिओ सेतोपाटीलाई प्राप्त भएको छ।
अक्टोबर २ (असोज १६) को साँझ साढे ६ बजेतिर खिचिएको उक्त भिडिओमा विशाल अधिकारी र प्रहरी अधिकृत राजा अधिकारी टेबलको वारपार बसेर कुरा गरिरहेका देखिन्छन्। उक्त भिडिओ सेतोपाटीसँग सुरक्षित छ।
कुराकानी क्रममा प्रहरी अधिकृतले 'आज मोबाइल आउँछ भन्ने आशा छ' भनेको सुनिन्छ। यसले सापकोटा पक्राउ परेपछि जफत गरिएको मोबाइल त्यति बेला प्रहरी कार्यालयमा नभएको पुष्टि हुन्छ।
सेतोपाटीले कात्तिक १७ गते इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फरेन्सिक परीक्षण गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले दुई दिनसम्म आफ्नो घरमा राखेको समाचार पहिलो पटक प्रकाशित गरेको थियो।
अहिले सेतोपाटीलाई प्राप्त नयाँ प्रमाण अनुसार उक्त मोबाइलको लोकेसन फरेन्सिक परीक्षणबाट खुलेको छ।
फरेन्सिक परीक्षण रिपोर्ट अनुसार अक्टोबर २ को रात सवा ९ बजेतिर उक्त मोबाइलको लोकेसन २७.६८४९२२ डिग्री उत्तरी अक्षांश र ८५.३२१२९३ डिग्री पूर्वी देशान्तरमा देखिएको थियो। यो लोकेसनलाई गुगल म्यापमा हेर्दा ललितपुरको ज्वागल गणेश मन्दिर नजिकको ठाउँ देखाएको स्रोतले बतायो।
उच्च प्रहरी स्रोतका अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निजी निवास त्यही ठाउँमा छ।

इनम सापकोटाको फोन प्रहरीसँग नभएको त्यही अवधिमा ह्वाट्सएप र फेसबुक चलाइएको र मोबाइलमा रहेका विभिन्न सामग्रीका स्क्रिनसट लिइएको फरेन्सिक परीक्षणमा देखिएको छ।
मोबाइलमा रहेका केही मेसेज मेटिएको पनि पाइएको छ। तीमध्ये केही मेसेज सापकोटा र बेनबीच आदानप्रदान भएका थिए भन्ने स्रोतको दाबी छ।
प्रहरी स्रोतका अनुसार सापकोटा र बेनबीच केही महिनादेखि विभिन्न विषयमा कुराकानी भइरहेको विवरण मोबाइलमा भेटिएको छ। तीमध्ये एउटा विषय फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार छनोटसम्बन्धी थियो।
'दाङ क्षेत्र नम्बर २ बाट अनन्तराज घिमिरेलाई टिकट दिनुपर्छ भनेर इनमले बेनसँग सिफारिस गरेको मेसेज पनि भेटिएको छ,' स्रोतले सेतोपाटीसँग भन्यो।
फागुन २१ का लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति माघ ६ गते थियो। यस आधारमा बेन र इनमको उक्त कुराकानी कम्तिमा पुस अन्तिम सातातिर भएको देखिन्छ। यसले बेन र इनमबीच कम्तिमा पछिल्लो १० महिनादेखि राम्रो चिनजान रहेको खुल्छ।
पछिल्लो समय इनमको मोबाइलबाट प्राप्त भएको भनिएका विभिन्न उच्चपदस्थ व्यक्ति र न्यायाधीशहरूसँगका संवादका विवरण सार्वजनिक भइरहेका छन्। ती विवरणका स्क्रिनसट पनि बेनले मोबाइल आफूसँग राखेकै बेला लिएको स्रोतको दाबी छ।
अनुसन्धान क्रममा बरामद गरिएका मोबाइल प्रहरीको आधिकारिक प्रणालीभन्दा बाहिर प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नियन्त्रणमा पुग्नुले अनुसन्धानको निष्पक्षता र डिजिटल प्रमाणको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
उच्च प्रहरी स्रोतका अनुसार यसअघि अनुसन्धानबारे राजनीतिक नेतृत्वले चासो राख्ने गरेको भए पनि अनुसन्धानमा रहेका सामग्री आफ्नो नियन्त्रणमा लिने र तिनलाई चलाउने काम कहिल्यै भएको थिएन।
त्यस्तै, प्रधानमन्त्री सचिवालयका व्यक्तिहरू प्रहरी कार्यालयमै गएर इनमको अनुसन्धान र बयानमा प्रत्यक्ष हस्तक्षेप गरेको पनि प्रहरी स्रोत बताउँछ।
सेतोपाटीले कात्तिक १७ को समाचार प्रकाशन गर्नुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।
हामीले उनलाई सापकोटाबाट बरामद मोबाइल दुई दिनसम्म घरमा राखेको, मोबाइलमा रहेका केही मेसेज मेटिएको, दाङ क्षेत्र नम्बर २ को उम्मेदवार सिफारिससम्बन्धी कुराकानी भएको र मोबाइलबाट स्क्रिनसट लिएर सञ्चारमाध्यमलाई उपलब्ध गराएको भन्ने प्रहरी स्रोतका दाबीबारे चारवटा प्रश्न पठाएका थियौं।
बेनले ती प्रश्नको जबाफ दिन चाहेनन्।
'मिलाएर लेख्नु न। अब तपाईंले जे भने पनि आफ्नै हिसाबले समाचार लेखिहाल्नुहुन्छ। त्यसैले मलाई समस्या छैन, तपाईंले जे लेखे पनि,' बेनले सेतोपाटीलाई उत्तर पठाए।
उनले प्रहरी स्रोतका दाबी स्वीकार वा अस्वीकार गरेनन्।
यसअघि इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको सम्पर्क र कुराकानीका विवरण सार्वजनिक भएपछि फुयाँलले पनि पत्रकारहरूसँग त्यसबारे स्पष्टीकरण दिएका थिए।
कात्तिक १२ गते सर्वोच्च अदालतमा पत्रकारहरूसँग कुराकानी गर्दै फुयाँलले सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन शाहको मानिस भनेर चिनाएको र त्यही आधारमा सम्पर्क भएको बताएका थिए।
फुयाँलका अनुसार आफू र केही अन्य न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलिरहेका बेला सापकोटाले प्रधानमन्त्रीसँग आफ्नो पहुँच रहेको दाबी गर्दै उनीहरूलाई महाअभियोग नलाग्ने आश्वासन दिएका थिए।
उनले सापकोटासँग काठमाडौंको हिमालय होटलमा भेटेको समेत स्वीकार गरेका थिए। उक्त भेटमा आफू एक्लै नरहेको उनको भनाइ थियो।
सापकोटाले पछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूमा चासो राख्दै दबाब दिन थालेपछि उनीप्रति शंका लागेको फुयाँलले बताएका थिए।
विशेषगरी रोहित गुप्ताको मुद्दामा सापकोटाले प्रधानमन्त्रीको नाम लिएर सन्देश पठाएको उनको भनाइ थियो।
फुयाँलका अनुसार सापकोटाका गतिविधिप्रति शंका बढेपछि उनको फोटो, सम्पर्क नम्बर र कुराकानीका विवरण प्रधानमन्त्रीको सचिवालयमा पठाइएको थियो।
प्रहरीलाई समेत सापकोटाबारे जानकारी गराएको तर प्रहरीले उच्चपदस्थ व्यक्तिहरूसँग उनको सम्पर्क रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएको फुयाँलको भनाइ थियो।
प्रधानमन्त्रीको सचिवालयमा सूचना र प्रमाण उपलब्ध गराएको केही दिनमै सापकोटा पक्राउ परेको पनि उनले बताएका थिए।
फुयाँलले सापकोटासँग भएका आफ्ना कुराकानीका केही विवरण सार्वजनिक भएपछि ती सूचना कसरी बाहिर आए भन्ने प्रश्न उठाएका थिए। सार्वजनिक भएका विवरण अनुसन्धानको फाइलमा नरहेको दाबी गर्दै ती कसले र कसरी सार्वजनिक गर्यो भन्नेमा आफू आश्चर्यमा परेको उनले बताएका थिए।
सापकोटासँग न्यायाधीशहरूको सम्पर्क र आर्थिक लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा समेत यो विषय उठेको थियो।
कात्तिक १३ गते बसेको बैठकमा सार्वजनिक विवरणको वास्तविकता स्पष्ट पार्नुपर्ने र न्यायालयप्रति उठेका प्रश्न सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो। उक्त बैठकमा फुयाँलले पनि सापकोटासँगको आफ्नो सम्पर्कबारे धारणा राखेका थिए।
यो प्रकरणले न्यायपालिकाको निष्पक्षता र न्यायाधीशहरूको आचरणमाथि समेत प्रश्न उठाएपछि थप छानबिनको आवश्यकता औंल्याइएको थियो।
झापाका इनम सापकोटा असोज १४ गते पक्राउ परेका थिए।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको सम्पर्क र उच्चपदस्थ व्यक्तिहरूसँगको सम्बन्धका विषयमा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
राणा पक्राउ परेपछि प्रहरीले उनको मोबाइल परीक्षण गरेको थियो। त्यहाँबाट प्राप्त विवरणका आधारमा अनुसन्धान सापकोटासम्म पुगेको प्रहरी स्रोतले बतायो।
प्रहरीको विशेष ब्युरोको टोलीले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यस क्रममा सापकोटा र राणाबीचको सम्बन्ध तथा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालसँग उनको सम्पर्कबारे पनि अनुसन्धान भएको थियो।
सापकोटालाई सुरूमा अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखियो। पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइयो।
सापकोटाकी श्रीमती कविता पाण्डेले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले उक्त रिट खारेज गरेको थियो।
यो पनि पढ्नुहोस्: