दसैंको बिदा पश्चात सुर्खेतबाट काठमाडौंको यात्रा गर्नु पर्यो, त्यो पनि परीक्षा दिनका लागि।
लामो मेहनत पछिको परीक्षा थियो। जाऊँ कि नजाऊँ भन्ने दोसाधमा नै थिएँ। तर सफलताको खोजी र बेरोजगारी जिन्दगीका अघि जानैपर्ने बाध्यता थियो। प्लेनमा जानका लागि महँगो शुल्क हामी निम्न वर्गीयका लागि सुहाउने कुरै भएन।
अनि त नाइट बस नसमाती नहुने भयो। बसपार्क पुगेँ र टिकट काटेँ। टिकट काट्दा महँगोमा परिएछ। यात्रु नपुग्ने भएपछि बाहिर बाहिरै बार्गेनिङ हुँदो रहेछ। आफू सोझो परियो थाहा नै भएन।
दिउँसोको ३ बजे गुडाउने भनेर गाडी त ४-५ त्यही बजायो। त्यसपछि भने कुदायो तर पनि लोकल मान्छेहरू हाल्ने र झार्ने क्रममा भाडामा किचकिच गर्न रोकिएको थिएन।
कोहलपुर झरेपछि गर्मी बढ्यो तर एसी भने नामको मात्र रहेछ। सबैले झ्याल खोल्न थाले। कोही उल्टी गर्न थाले कोही निदाउन थाले। गाडीमा लगाइएको फिल्मतिर कसैको ध्यान थिएन।
एक्कासि गाडी गएर नवलपरासीतिर रोकियो। बिउँझिएर घडी हेरेँ। रातको ११ बजेको रैछ। ११ बजे कसलाई चाहिँ भोक लाग्नु र? तर सबैजना बिउँझिए किनकि २० मिनेटभित्र खाना खाएर बसभित्र छिरिसक्नु पर्ने आदेश जो थियो। तर शौचालयको लाइनले नै २० मिनेट खाला जस्तो थियो।दुर्गन्ध उस्तै त्यसमाथि ५-१० रुपैयाँ बाकसमा राखिदिनुपर्ने। न सफा गरेको छ, न साबुन राम्रो राखेको छ पैसा असुल्न भने खप्पिस थिए त्यहाँका मानिस। खाना खाने कि भोकै बस्ने भन्दाभन्दै खाना खाने निचोडमा जसोतसो पुगियो। किनकि खाना नखाए भोलि बिहानको परीक्षामा भोक लाग्ने डर थियो। बसबाट उत्रिने बित्तिकै परीक्षा हलतर्फ लाग्ने मेसो मिलाउन पर्ने थियो।
पेटले भोक लागेको संकेत गरेपछि म कुपन लिनतर्फ लागेँ। सादा खाना कै ३०० रहेछ। खाना लिएर के टेबलमा बसेको थिएँ, हेर्दैमा खाना मन लाग्ने खालको थिएन। भाडामा साबुनका टाटाहरू बाँकी थिए। तरकारी राम्ररी नकाटिएका देखि भात कतै काँचो कतै पाकेको थियो। दाल समेत पिरो न पिरो। नखाम् भने दिन भरिको शिकार, खाम भने कान्छा बाबुको अनुहार जस्तो भएको थियो अवस्था। नखाम त भोकभोकै रातभरी अन्त कतै रोक्ने वाला थिएन। न त अरू भात खुवाउने पसल वरिपरि थिए। सबै सामसुन्ने ठाउँमा त्यसमाथि चकमन्न रात जाने कहाँ? नखाई सुखै थिएन। खाए खा-नखाए घिच जस्तो परिस्थिति निर्माण भइरहेको थियो।
तर साइडमा नै बसेका बसका स्टाफहरूको खाना भने हेर्दैमा हाम्रो भन्दा विशिष्ट र फरक थियो। लाग्यो हाइवेको खानाः बस स्टाफलाई ज्वाइँ सरह र यात्रुलाई नोक्कर सरह हुने रहेछ।
कुक्कर र कराई नै अर्कै भएपछि तेल भुटुन मसला पनि अर्कै थियो होला। चामलको ग्रेड र पकाउने कुक पनि अर्कै थिए होलान्। के गर्नु अरू सबैले कपाकप खाइराखेको अवस्थामा झ्याप्पै आफूले कुरा काट्न पनि नमिल्ने। विरोधी भइहाल्न पनि नमिल्ने। हाइवेका यस्तै कमसल खाना खाने आदत जो बसाल्नु पर्ने रहेछ।
त्यति थोरै समय, खानामा मिठास खोज्दा खोज्दै गएछ। दुईचार गासभन्दा बढी मुखमा हाल्न समेत पाएनछु। चालकले गाडीको हर्न बजाइसकेका थिए।
बसमा गएर बसेपछि जब गुड्न सुरू भो गाडी, मेरो पेट पनि गुडुगुडु गर्न थाल्यो। दिउँसो देखिको खाली पेटमा पिरो न पिरो तरकारी दाल र बासी भात हालेपछि के नै पो उपकार हुन्थ्यो र?
सबै जना मस्त निदाउन थाले। बसको बत्ती पनि बन्द भयो। तब त फसाद मैमाथि आइलाग्यो। कुन लहडमा परेर जहर नै खाए जस्तो भयो। पेट एक्कासि बटारियो। शौचालय जानै पर्ने बनायो। रोकेर राख्न खोजें, आँखा बन्द राखें अनि ध्यान अन्तैतिर मोड्न खोजें। तर सकिनँ। लाग्यो जीवन संग्रामयुक्त छन् जसमा पैसा तिरेर वा सित्तैमा खाएका बैगुनी चिजहरूले पनि उठीबास लगाउँछन्। मलाई त्यस्तै नै भयो बसको सिटमा बारम्बार उठ बस उठ बस गरिराखेको थिएँ।
घरी बसको ढोका छेउ पुगेर फर्किन्थें। घरि बस रोकिदिन आग्रह गर्छु भनेर पुग्दा आवाज नै मुखबाट फुत्किदैन्थ्यो। तर जसोतसो गएर बिन्ति बिसाउन सकें। तर उताबाट थर्काइ खान पर्यो।
'अघि त्यत्रो बेर खाना खान रोकेको हैन, अब फेरि किन रोक्ने ?’ भनेर।
भन्न त मन थियो नि ‘३०० रुपैयाँको खाना पेटभित्र ३० मिनेट पनि टिक्दैन त, म के गरूँ?’ भनेर तर केही बोलिनँ।
फेरि गाडी नरोक्देला र मेरो आफ्नै बिजोग हुन सक्ने कुराले लुत्रुक्क भिजेको बिरालो जस्तो पर्खिरहें। यसो जंगल जस्तो ठाउँ आएपछि गाडी साइड लाग्यो। मेरो अन्दाज र अड्कलले भ्याएसम्म त्यहीँ नजिक शौच गर्न बसें। अघि खाएको सबै नै निस्किए जस्तो भान भयो। मिनरल वाटरले धोए अनि गाडीमा फर्किएँ। एकछिन पेट हलुका जस्तो भयो फेरि निदाउन खोजेँ तर फेरि पेट गडबड भयो। दकुर्दै ढोकामा पुगेँ। फेरि मालिकलाई नोकरले जस्तै बिन्ती बिसाएँ। फेरि थर्काइ खाएँ। यो चोटि त - यतै रोडतिरै बस्नु भोलि आउनू पो भन्न थाले। आफ्नो भोलि बिहानको परीक्षा थियो।
औषधि खानलाई कुनै औषधि पसल पनि खुलेका रहेनछन्। मैले कहिल्यै कल्पना नगरेको चिज वास्तविकतामा घटित हुँदै थियो।
पानीको कमीले मान्छे जहाँ छोयो त्यही ढलुलाँ जस्तो भएको थिएँ भने अरू यात्रु मस्त निदाइरहेका थिए। जीवनको दुर्भाग्य कोही उठेर मलाई सहयोग गर्नेवाला थिएन। बरू सुटुक्क म शौचालय जान ओहोरदोहोर गरेको भिडियो बनाउन हतार गर्न सक्थे। म त्यो दिन नराम्रोसँग हारेँ।आफू अविचलित रहेर होस् राख्दा राख्दै पनि त्यो खेलको अभिप्राय देखि म कत्ति पनि उत्साहित हुन सकिनँ। फेरि त्यस्तो आफू वा अरू कसैमा नदोहोरियोस् भन्ने कामना मात्र गर्न चाहेँ।
६-७ पटकको शौचालय पश्चात सात बजिसकेछ। लगभग काठमाडौं आउनै आटिसकेको थियो। आँखाले झिमिक्क पार्न पाएको थिएन। परीक्षा कसरी लेख्ने थाहा थिएन। जसोतसो ओर्लिएर जीवनजल र औषधि खाएँ र परीक्षा केन्द्रतर्फ लागेँ।
एक मुठी रोपेर एक मुरी सुनौला बाली हात पारौं भनेर किसानहरू असारमा मरिमेट्छन्। आफूलाई नै दुख कष्ट दिएर कृषि अंगाल्छन्। तर त्यही कृषिमा नै आधारित हामी निम्न वर्गीय विद्यार्थीहरू यस्तै यस्तै कुरामा ठगिन्छौं। लुट्न र कमाउन दाउ कुर्नेहरू जस्तै लाग्छन् हाइवेका पसलहरू।
सबै नहोलान् अपवाद पनि त होलान् तर प्रतिस्पर्धा नै नगरी एकलौटी व्यापार गरिरहेका जस्ता देखिने गाडी रोकिने खाना पसलहरू कहिल्यै हार्दैनन् सधैं जितिरहेका हुन्छन्। जसरी म हारें त्यो दिन उसैगरी सधैंका रात्री वा दिवा कालिन यात्रु नै हारको भागिदार हुनुपर्ने देखिन्छ। स्वास्थ्य अवस्थामा हारिसकेपछि त्यसले मानसिक विक्षिप्तता ल्याउँछ र लक्ष्यमा असफल बनाउँछ। गन्तव्यमा पुगेर केही प्राप्ति गर्ने भनेर हिँडेको यात्रु बाटोमा नै खानाकै कारणले असफल हुनु भनेको पीडादायक क्षण हो।
खाद्य सुरक्षा, सरसफाइ र स्वस्थ बाँच्न पाउने कुरा मौलिक हकमै व्यवस्था रहेको छ तर पनि निरन्तर अनुगमन र कारबाही नहुँदा सोझा साझा यात्रुहरू म जस्तै मारमा परेका छन्।
पहिल्यै बिरामी रहेका यात्रुका सम्बन्धमा त कति हानिकारक होलान् ती खानाहरू?
होटल सञ्चालक र सम्बन्धित नियामक निकायले यसमा ध्यान पुर्याउनु पर्ने देखिन्छ। पैसा ज्यादा र गुणस्तर कम हुनु भनेको कुनै दृष्टिकोणबाट सह्य विषय होइन। अझ चाडबाडका बेला धेरै यात्रुहरू ओहोरदोहोर गर्ने हाइवेका होटलहरूमा विशेष निगरानी र कारबाही जरूरी छ। नत्र चाडबाडमा रमाउन हिँडेका यात्रुहरू कमसल खानाले थला परेर अस्पतालको बास बस्नुपर्ने स्थिति आउन सक्छ।