भाग १
हामी सुवास श्रेष्ठको घर पुग्दा उनको निधन भएको सात दिन बितिसकेको थियो।
सुवासकी आमा हीरामाया पीडाको खाडलबाट निस्कने भगीरथ प्रयत्नमा थिइन्।
उनका ११ र ६ वर्षका दुई जना छोरा करेसोमा खेल्दै थिए। उनीहरू कक्षा ५ र एलकेजी पढ्थे।
सुवासकी पत्नी कमला ढाका मिसाएको सेतो च्यादर ओढेर तन्मय भावमा तिनै बालबच्चाको अकिञ्चन हाँसोसँगै आफ्नो पीडा भुलाउने कोसिस गर्दै थिइन्।
‘एक गोली लागे पनि एक बिसौनी हिँड्लाजस्तो थियो छोरो! लायकको! खै कसरी यस्तो भयो! मैले केही सोच्नै सकेको छैन बाबु! डढेलो लागेजस्तै छ, कालजुग! कुन लप्काले कहाँ भेट्टाउने हो, क्यै थाहा छैन! जहाँ जे हुन्छ, हामी आमाहरूकै छाती चिरिन्छ!’
यति भन्दाभन्दै हीरामायाको गला अवरूद्ध भयो।
छेउमा छोराहरूसँग भुलेझैं भान पारिरहेकी कमला रसिला आँखाले क्वारक्वार्ती हामीलाई नै हेर्दै थिइन्।
उनका आँखामा एक सातादेखिका दृश्य नाच्दै थिए सायद, जब मध्य–तिहारको बेला यो घरमा देउसी–भैलोको गीत होइन, शोकधून बज्यो।
भाइटीकाको अघिल्लो दिन — झिसमिसे उघ्रिएकै थिएन। धर्तीमा उज्यालो खसेकै थिएन। सिकुवामा परेवाका कूजनजस्तै कल्यामल्याङ कानका पर्दामा ठोक्कियो।
सडकको छेउकुनासम्मै फैलिएको मानिसको आवाज सुनेर बाहिर निस्किएकी हीरामाया आँगनभरि छरछिमेकी र सुवासका साथीसंगाती देखेर छक्क परिन्।
कतै छोरो सुवासलाई केही त भएन?
झल्याँस्स भइन् हीरामाया!
सुवासले २२–२४ दिनअघि नै आफूलाई गाह्रो हुन थालेको बताएका थिए।
अपरिचित भाषा, अपरिचित लवज र अनुहारसँग घुलमिल हुन नसकेको र दिनहरू लम्बेतान लाग्न थालेको बताएका थिए।
बेलाबखत आइरहने अध्यागमनका अधिकारी र तिनले सोध्ने प्रश्न पनि निकै धारिला लाग्न थालेको सुनाएका थिए।
उनले यी सब खबर सुनाएका थिए, भिनाजुलाई।
‘ऊ त्यहाँ गएदेखि मसँग राम्रोसँग कुरा गर्दैनथ्यो!’ हीरामायाले सुक्सुकाउँदै सुनाइन्, ‘मसँग पीडा लुकाउन खोज्थ्यो!’
बोल्दाभन्दा नबोल्दा झन् छिटो आमाहरूलाई सन्तानको पीडा थाहा हुन्छ। हीरामायाको आहत मुटुले छोराको अव्यक्त पीडा नछाम्ने कुरै भएन।
चार दिनअघि चाहिँ आमासँगै कुरा गरेका थिए, सुवासले। यताको नेटवर्कको खराबी हो कि उताको हो, अस्पष्ट र क्षीण आवाजले लामो कुराकानी हुन सकेन।
फोन बीचमै अवरूद्ध भयो।
तै पनि छोराको नाकेस्वर आमाले चाल पाइहालिन्।
‘रूँदारूँदै फोन गरिस् कि क्या हो?’ हीरामायाले सोधिन्।
त्यसपछि फोनको स्वाँ आवाज आयो। एकोहोरो आइरह्यो।
हीरामायाले सोचिन् — छोरालाई नियास्रोले दपेट्यो क्यारे!
फोनको स्वाँ आवाजमा पनि आमाको मुटुको भाका छोराको मुटुसम्म पुगेछ सायद!
सुवास खप्न नसकेर रून थाले।
केही बेरपछि उताबाट आँसु थाम्दै बोले, ‘किन सुर्ता गर्नुहुन्छ आमा? म तपाईंलाई सुख कटाउन आएको त हो नि!’
हीरामायाको हृदयमा घामले पुलुक्क चिहायो।
सोचिन् — छोराले हिम्मत हारिसकेको रहेनछ! किन हार्थ्यो, मेरो छोरो पो त!
अफसोस!
सुख कटाउन ‘तल्लो बाटो’ अमेरिका हानिएका छोराले आमालाई दुःख र आँसुको बाटोमा एक्लै छाडेर जीवनको नेटो काटे।
‘आँगनभरि छिमेकी र उसका साथी पनि देखेपछि ऊ रहेन भन्ने निधो भयो,’ गहभरिको आँसु हत्केलाले पुछ्दै हीरामायाले पीडा पोखिन्, ‘दुई दिन त रोएँ, चिच्याएँ। उसको बाबुलाई किन समात्छौ, छाड्देओ, म छोरासँगै जान्छु पनि भनेँ। बिस्तारै आफूलाई सम्हाल्दै लगेँ।’
‘सम्हालिन त कहाँ सकेको छु र! हिजोसम्म आमा... आमा... भन्दै बोलिरहेको जवान छोरो अहिले एक्कासि छैन भन्ने थाहा पाउँदा बेलाबेला मुटु यसै निमोठिएर आउँछ। घाँटीसम्मै हुलुक्क हुन्छ। राति पनि परबाट उसैले आमा... आमा... भन्दै बोलाए कि झैं लाग्छ। सपना–बिपना झल्याँस्स झल्याँस्स हुन्छु!’
यति भनेर निकै बेर टोलाइन् हीरामाया।
करेसोमा कुदाकुद गरिरहेका छोराहरूसँग भुलिरहेकी कमलाले पनि हीरामायाको हिक्कासँगै ढाका मिसाएको सेतो च्यादर आँखातिर लगिन्।
हाम्रो ध्यान घरि कमलातिर थियो, घरि हीरमायातिर।
लगभग तीन मिनेट माहोल मौन भयो।
निःशब्द।
हीरामायाले त्यसपछि आँखाको बाँध थामेर आफ्नो मात्र होइन, आफ्नो गाउँ सखुवाकै व्यथा सुनाइन्।
कोदारी (अरनिको) राजमार्ग छेवैमा छ, सखुवा गाउँ। साविक गाती–९ र अहिलेको बाह्रबिसे नगरपालिका–६ मा पर्ने सखुवामा धेरै युवाहरूले तल्लो बाटो अमेरिकाको गन्तव्य रोजेका छन्। अमेरिकी सपनाको लोभमा लाखौं लाख दलाललाई बुझाएका छन्। कति अमेरिका छिरिसके, कति दुष्कर पैदल यात्रामा पाइताला फोका पार्दैछन्।
अनि कतिले चाहिँ सुवासजस्तै खबर बनेर आफन्तीहरूका आँखामा आँसुको भेलबाढी बगाएका छन्।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार यहाँ प्रत्येक वडामा अमेरिका गएकाहरूको लामो सूची छ। कतिमा पन्ध्र जना छन्, कतिमा बीस होलान्! यकिन संख्या जनप्रतिनिधिहरूलाई पनि थाहा छैन।
हुन त यी युवाहरू अमेरिकी सपनाले डोर्याएर स्वेच्छाले नै त्यता लागेका हुन्, तर उनीहरूलाई यो नियतिमा पुर्याएको पछिल्लो आठ वर्षमा सिन्धुपाल्चोकको उत्तरी भेगले भोगेको आर्थिक परिणतिले हो।
२०७२ को भुइँचालोअघिसम्म यहाँका गाउँलेले चिनियाँ मालसामान वारपार गरेर राम्रो आर्जन गरिरहेका थिए। पैसाको कमी थिएन। जसै भुइँचालोको कहर यो भूगोलमा बर्सियो र भन्सार नाका बन्द भयो, उनीहरूको कमाइको मूल सुक्यो।
जन्मेदेखि जिन्दगीको एउटा सोझो बाटो हिँडिरहेको मान्छेको अगाडि जब पहाड तेर्सिन्छ, ऊ नयाँ बाटो नपाएर बिलखबन्दमा पर्छ। सखुवाका युवाहरूलाई पनि त्यस्तै भयो। उनीहरूले विकल्प देखेनन्। जिन्दगीमा कुनै दिन विकल्प चाहिन्छ होला भन्ने त उनीहरूले सोचेकै थिएनन्। त्यसैले अरू काम जानेका पनि थिएनन्।
यसैबीच जब तल्लो बाटो अमेरिका जाने उपाय उनीहरूले देखे, जिन्दगीमा नयाँ सपनाले पखेटा हाल्यो।
र, त्यही पखेटाले गाउँको सपना बदलियो।
आकांक्षा बदलियो।
गाउँको नियति बदलियो।
यो त्यही नियतिको कथा हो, जुन पुत्रवियोगमा छटपटिएकी हीरामायाले हामीलाई सुनाउँदै छिन् —
सिन्धुपाल्चोकको सखुवा गाउँ। तस्बिर: अक्षर काका/सेतोपाटी
सखुवासँग कोदारी राजमार्गको अन्योन्याश्रित सम्बन्ध छ। अक्षुण्ण साइनो छ।
२०२४ सालमा जब कोदारी राजमार्ग सञ्चालनमा आयो, अक्करमुनि हुर्किएका सखुवा र समग्र गातीवासीको दीनहीन जीवनमा यो सडक भाग्य र भविष्य बनेर देखापर्यो।
थली चिरेर कोदारी राजमार्ग चीन जोडिएपछि नाका मात्र होइन, भाग्यको ढोका खुल्न पनि बेर लागेन। छिट्टै बजारमा परिणत भयो सखुवा।
त्यही सडकको किनारमा भागमा आएको र बचेखुचेको एक रोपनीजति जग्गा–जमिनबाट शनैःशनैः उकासियो श्रेष्ठ परिवारको आर्थिक अवस्था।
‘राजमार्ग खुलेपछि यहाँका मान्छेको दिन फेरिन समय लागेन,’ हीरामायाले सुनाइन्, ‘दिनहुँ भन्सार ओहोरदोहोर गर्ने, सामान ओसार्ने र बेच्ने गरेर मानिसहरूले कुस्त कमाए।’
तिनैमध्ये हीरामायाका एक्ला छोरा सुवास पनि एक थिए।
सुवासलाई उनको परिवारले पढ्न बल नगरेको होइन। तर उनले कक्षा ८ भन्दा माथि पढेनन्। बरू साथीसंगातीसँग लिपिङ बजार धाउन थाले। मितेरी पुल काटेर खासा बजार पुग्ने र सामान वारि तारेर बेचबिखन गर्दै पैसा कमाउने लत हुर्काए।
जिन्दगी यसरी नै गुल्जार थियो — गुल्जार भइरहन्थ्यो होला, यदि उत्तरी गोरखाको बारपाकबाट २०७२ वैशाख १२ गते छुटेको विस्मयकारी भुइँचालोको तरंग यो भेगमा अभिशाप बनेर नआइदिएको भए!
त्यो भुइँचालोपछि नाकामा गजबार लाग्यो। आयस्ताको बाटोमा भुइँचालोले पहिरो झारेपछि सुवासले वैकल्पिक बाटोतिर आँखा दौडाए।
उनी काठमाडौं आए र रञ्जना गल्लीमा साझेदारीमा पसल सुरू गरे।
पसल ठिकठिकै चल्न थालेको थियो। चिनियाँ मालसामान झिकाउने स्रोत र त्यसको सबै विधिसँग वाकिफ थिए सुवास। त्यसैले राम्रै व्यापार गर्न सक्छु भन्नेमा उनी ढुक्क थिए।
राम्रो हुन्थ्यो पनि होला, यदि भुइँचालोले थिलथिलो परेको सुवासमाथि कोरोना महामारीको अर्को कहर नबर्सिएको भए!
कोरोनापछि बजारमा यस्तो मन्दी छायो, उनले भर्खरै सुरू गरेको व्यवसायमा खती मात्रै भोगे।
निरूपाय बने, सुवास।
‘तै पनि हरेस खाइहाल्न जरूरत थिएन,’ हीरामायाले बेलाबेला आँसु पुछ्दै भन्दै गइन्, ‘गाउँमै केही गरेको भए पनि हुन्थ्यो। तर ऊ अलि एक्लै निर्णय गर्ने स्वभावको थियो बाबु! त्यही भएर विपत्तिले हाम्रै ढोका ढक्ढक्यायो।’
उनी एक्लै निर्णय गर्ने मात्र होइन, परिवारका सदस्यसँग खासै खुलेर कुरा पनि गर्थेनन्। त्यही भएर उनको मनमा चलेको आँधीबेहरीको आकलन गर्न हामीले सुवासका केही साथीसँग पनि कुराकानी गर्यौं।
हामीले भेटेका सुवासका साथीहरूमध्ये केही आफैं विदेश जाने लाइनमा रहेछन्। उनीहरूले एजेन्टलाई पासपोर्ट बुझाइसकेछन्। पासपोर्ट बुझाइसकेकाले यहाँ आफ्नो नाम उल्लेख गर्न उनीहरूले मानेनन्।
ती साथीहरूले बताएअनुसार, रञ्जनाको व्यवसाय घाटामा गएपछि र नाका खुल्ने सुरसार नदेखेपछि सुवास साह्रै दुःखमा थिए। के गर्ने, कसो गर्ने भनेर दिनरात छटपटिरहन्थे।
‘दुई जना छोरा छन् उसका। बुवा वडाध्यक्ष हुनुहुन्छ। बुवाले घरव्यवहार हेर्न भ्याउनुहुन्न। आजभन्दा भोलि बच्चा ठूला हुँदै जान्छन्। जग्गाजमिन छैन — यही भन्दै ऊ पिरोलिइरहन्थ्यो,’ सुवासका एक जना साथीले हामीलाई सुनाए, ‘त्यही बेला हाम्रै केही साथीहरू धमाधम तल्लो बाटो अमेरिका हिँड्न थाले। कतिले उता पुगेर ग्रिनकार्डको लाइनमा उभिएको खबर पनि पठाए। यही सुनेर ऊ अमेरिका जान लालायित भयो।’
यसरी तल्लो बाटो हिँडेरै भए पनि अमेरिका पुगिछाड्ने सपना सिरान हालेर सुतेका सुवासले घरमा भने यो कुरा चुहाएका थिएनन्।
उनी गुपचुप तयारीमा थिए। आँत जोडिएका केही साथीहरूलाई मात्र खबर थियो।
त्यसै क्रममा एकदिन एजेन्टलाई पासपोर्टसँगै पैसा बुझाइहाल्नुपर्ने भयो। विभिन्न देश हुँदै अमेरिका छिर्न कम्मर कसेका सुवासले हरेक देश पुगेपिच्छे एजेन्टलाई पैसा थप्दै जानुपर्ने भयो। यसका लागि तत्काल पैसाको खाँचो पर्यो।
सुवासको परिवारसँग एक्कासि त्यति धेरै पैसा जोगाड गर्ने आर्थिक स्रोत थिएन।
भुइँचालोले सखुवाको घर भत्काएपछि उनीहरूले सरकारी राहतमा त्यहीँ भुइँतले घर बनाएका थिए। त्यसबाहेक भक्तपुरको भातेढुकुरमा पनि घर बनाएका थिए। सुवासले त्यही घर बैंकमा धितो राखेर पैसा निकाल्ने उपाय लगाए।
उपाय त निकाले, तर घर उनको नाममा थिएन; आमाको नाममा थियो। त्यसैले अहिलेसम्म गुपचुप राखेको कुरा आमालाई नभनी उनले धर पाएनन्।
उनी दिनरात आमालाई सम्झाउन थाले।
छोराको करले आमा पनि नौनीझैं पग्लिइन्।
‘उसकै सम्पत्ति हो, होस् न त भनेँ,’ हीरामायाले पीडा पोखिन्, ‘होस् न त भन्नु नहुँदो रहेछ, छोराले होस काबुमा राख्न नसक्दो रहेछ!’
यो घटनापछि सुवास अमेरिका जाने तर्खरमा रहेको कुरा परिवारका सबैले थाहा पाए। परिवारको सुखका लागि योभन्दा अरू उपाय नभेटेकाले अमेरिकातिर सोझिएको उनले सुनाएका थिए। जापान हुँदै अमेरिका जान लागेको पनि बताएका थिए।
प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले परिवारले चाहेर पनि रोक्न सकेन।
सुवास भदौ ७ गते अमेरिका हिँडे।
उनी जहाँ जहाँ पुग्थे, त्यहाँ त्यहाँबाट परिवारलाई आफू आइपुगेको देश र आफ्नो अवस्थाबारे जानकारी गराउँथे।
‘जापानको भिजिट भिसा लगाएर गएको हो। जापान र मेक्सिको पुग्दासम्म त राम्रै सम्पर्क थियो। म जापान पुगेँ, मेक्सिकोको बोर्डरछेउ पुगेँ भन्दै समय–समयमा खबर गरिरहन्थ्यो। फोन चाहिँ उतैबाट आउँथ्यो। हामीले गर्न मिल्दैनथ्यो,’ दिदी लक्ष्मी श्रेष्ठले सुनाइन्।
सुवास भदौ ११ गते मेक्सिको पुगेका थिए। मेक्सिकोको सिमाना पुगेपछि अमेरिका छिर्न लागेको र त्यहाँ अध्यागमनले समातेर हिरासतमा राख्ने जानकारी गराएका थिए।
उनी त्यसै दिन अमेरिका छिरे र उनले भनेजस्तै अध्यागमनको हिरासतमा पनि परे।
यतिञ्जेलसम्म परिवारसँग कुरा गर्दा उनको स्वर तन्दुरूस्त र स्फूर्त सुनिन्थ्यो।
परिवारका अनुसार अध्यागमन हिरासतमा पर्नेमा सुवास एक्ला थिएनन्। अरू थुप्रै विदेशीहरूसँगै दुई जना नेपाली पनि थिए। तीमध्ये बाह्रबिसेकै पलाँतीका भीमसेनको नाम हीरामायालाई सम्झना छ। अर्का नेपाली कास्कीका हुन्, जसको नाम उनले सम्झिनन्।
उनले यति चाहिँ सुनाइन्, ‘उनीहरू दुई जना तीन दिनमै हिरासतमुक्त भएर अमेरिका छिरेछन्। सुवास भने किन हो, त्यहीँ अड्किए।’
‘उसका साथीहरू त गए भने ऊ पनि छुट्ला नि त भन्ने विश्वासमा पर्यौं,’ हीरामायाले अगाडि भनिन्, ‘सात समुद्रपारि, यता दिन हुँदा उता रात हुन्छ भन्ने त मैले अस्ति थाहा पाएँ, अरू कुरा झन् कसरी थाहा हुनू!’
कति कुरा त सुवासले नै आमा वा परिवारका अरूलाई थाहा दिन चाहेनन्।
अन्तरमुखी स्वभावका उनी परिवारका एक जनासँग मात्र अलि बढी खुल्थे। ती थिए, उनका भिनाजु, जसलाई त्यहाँको सकस र झन्झटिलो प्रक्रियाबारे उनले पटकपटक सुनाएका थिए।
‘फर्काइदिन्छ कि जस्तो पनि छ, फर्काइदियो भने त्यत्रो पैसा सबै डुब्छ भन्दै भिनाजुसँग चिन्ता व्यक्त गरिरहँदो रहेछ!’ दिदी लक्ष्मीले भनिन्। मेक्सिकोबाट अमेरिका छिर्दासम्म सुवासले ७५ लाख रूपैयाँभन्दा धेरै खर्च गरिसकेको परिवारको अनुमान छ।
भिनाजुसँग मनको गाँठो खोले पनि परिवारका अरू र स्वयं दिदी लक्ष्मीसँग सोझै कुरा गर्दा उनी आशा जगाइरहन्थे।
भन्थे, ‘म केही दिनमै यहाँबाट उम्कन्छु दिदी, सुर्ता नलिनू! त्यसपछि अध्यागमनले नै मेरो सम्पर्क व्यक्तिलाई जिम्मा लगाइदिन्छ।’
दुर्भाग्य!
त्यो केही दिन नआउँदै भाइको निधनको खबर आयो।
‘लक्ष्मीपूजाको राति बुहारीलाई फोन गरेको रहेछ! अहिले आवाज प्रस्ट आएन, भोलि बिहान प्रस्ट सुनिन्छ, बिहान ५ बजे कल गर्छु, तिमीहरू केही चिन्ता नगर्नू है भन्दै फोन राखेको रहेछ। तर ४ बजे नै ऊ नरहेको खबर आयो!’ लक्ष्मीले भनिन्।
श्रेष्ठ परिवारलाई सुवासको निधनको यकिन कारण थाहा छैन।
कतिपयले अध्यागमनको हिरासतमा यातना दिइयो कि भनेर गाइँगुइँ गरे पनि सुवासले भने यातना पाएँ भनेर कहिल्यै बताएका थिएनन्। बरू टेलिफोन कुराकानीमा उनी एक्लोपना र अवसादले घेरिएको अनुभूति परिवारले गरेको थियो।
‘परिवार छाडेर लामो समय त्यसरी बाहिर गएको थिएन। त्यहाँको झन्झटिलो प्रक्रिया र फर्काइदिने भयले हरेस खायो कि जस्तो लाग्छ,’ हीरामायाले भनिन्, ‘त्यहाँको अध्यागमनमा यातना, दुर्व्यवहार हुँदै हुँदैन भन्छन्।’
श्रेष्ठ परिवारले अझै छोराको जूठो बारेको छैन। शव नदेखी मरणासौच नबार्ने हीरामायाले बताइन्।
गत जेठमा हजुरबुबा बितेकाले मृत्युशोकमै थियो परिवार। कात्तिकमा छोरो बितेको खबर आयो। पिता र पुत्रशोकको दोहोरो चपेटामा परेका बाबु कुलबहादुर श्रेष्ठ छोराको मुख हेर्न पाइन्छ कि भनेर अमेरिकी दूतावास धाइरहेका छन्। कन्सल्टेन्सीले खोजेको कागजात तयार पार्न सिन्धुपाल्चोक र काठमाडौं ओहोरदोहोर गरिरहेका छन्।
‘यता शव ल्याउनै मुस्किल रहेछ। उतै गएर सदगत गर्ने कि भनेर कागजात जुटाउँदै छु,’ एमालेबाट निर्वाचित बाह्रबिसे नगरपालिकाका वडाध्यक्षसमेत रहेका कुलबहादुरले भने, ‘हेरौं जान अनुमति पाइन्छ कि पाइँदैन।’
सुवासको निधनपछि श्रेष्ठ परिवारको जस्तो हालत छ, लगभग त्यस्तै सुख्खा र निर्जन छ सखुवा गाउँ।
स्थानीयका अनुसार सन् सत्तरी दशकसम्म यो गाउँ बाह्रबिसे र भोटेकोसी क्षेत्रका चार गाविसको आर्थिक केन्द्र थियो। लिस्ती, मार्मिङ, घुम्थाङ, गातीका मान्छेहरू नुनतेल किन्न सखुवा झर्थे। त्यसपछि जिउँदोजाग्दो कोदारी राजमार्ग सखुवाको शान बन्यो। भन्सार आउजाउ गर्ने मालगाडीको दोहोरी लत्ताले सखुवा गुलजार थियो।
अहिले कोदारी राजमार्ग बसाइँ सरेको गाउँजस्तो सुनसान छ।
राजमार्ग पनि के भन्नू! सडक नामको एउटा कछाडको फेरजस्तो धर्सो जीवित छ।
त्यही धर्सो बाटो हुँदै साँझ, दिउँसोपख र बिहान रूटका बस, केही कन्टेनर र टिपर दौडन्छन्। तिनले उडाएको छारोधुलोले छपक्कै छोपिँदा झन् उच्चाटलाग्दो देखिन्छ सखुवा।
कोदारी राजमार्गको लाभको बलमा उकासिएको सखुवा सङ्ग्रङ्गै सुक्नुका पछाडि पनि तल्लो बाटो हुँदै अमेरिका जानेहरूको कथा गाँसिएर आउँछ।
सुवासकी दिदी लक्ष्मीले हामीलाई सखुवाका केही घरमा पुर्याइन् र त्यहाँका बसोबासीहरूको व्यथासँग साक्षात्कार गराइन्, जुन उनकै व्यथासँग दुरूस्तै छ।
भुइँचालोअघिसम्म सखुवामा ३० भन्दा बढी घर थिए। भुइँचालोपछि लाभग्राही तय गरेर सरकारले तीन–तीन लाख रूपैयाँ राहत थमाएको थियो। त्यसमा कतिले थपथाप पारेर, कतिले त्यही पैसामा भुइँतले घर उभ्याए। अन्यत्र बसोबास भएकाहरूले भुइँचालोको भग्नावशेष सफा गरेर अर्को घर उभ्याउने जाँगर चलाएन्।
यसले सखुवा छिमलियो।
अहिले यहाँ मुस्किलले २० घर उभिएका होलान्। तीमध्ये पनि अधिकांश घरको जगेर्ना ताल्चाले गरिरहेको छ।
लक्ष्मीले हामीलाई बाटोपारिको एउटा घरमा लगिन्। उनको माइतीको ठिक सम्मुखमा रहेको त्यो घरमा नन्दलाल श्रेष्ठ र उनकी पत्नी मात्रै बस्दा रहेछन्।
कोदारी राजमार्गकै किनारमा उभिएको घरअगाडिको मूल सडकमै कुखुराहरू निस्फिक्री चारो टिप्दै थिए। आँगनमा बिहानको पारिलो घाम लागे पनि वृद्ध दम्पतीको अनुहार अवसादले भरिएको थियो।
‘स्विट्जरल्यान्ड बनाउँछौं भन्थे, गाउँ त वृद्धाश्रम बनाइहाले, यी बूढाबूढी मात्रै छौं,’ नन्दलालले कुराकानीको पोयो फुकाए।
नन्दलाल श्रेष्ठ। तस्बिर: अक्षर काका/सेतोपाटी
भोटेकोसीपारि लिस्ती–९ का रहेछन् उनी। अहिले त्यो गाउँ भोटेकोसी गाउँपालिका–१ मा पर्छ।
भोटेकोसी भेगको प्रगतिको उत्कर्ष र अपकर्षको चस्मदिद नन्दलालले हातैले इसारा गर्दै भीरमुनिको पाखो देखाए र भने, ‘उ त्यही हो मेरो पुर्ख्यौली गाउँ। त्यहीँ भीरमुन्तिर हाम्रो घर थियो। बारी पनि त्यहीँ नजिकै पर्थ्यो। छ न त ३० रोपनीजति पाखो थियो। तर उब्जनी केही नहुने!’
कोदारी राजमार्ग बन्नुअघि उनी नेपाल–चीन सीमावर्ति गाउँ लाप्टाङमा ज्याला मजदुरीका लागि जान्थे। त्यहाँ उनले आरो लगाउँथे। भीमकाय काठका मुडा चिर्थे।
‘त्यति बेला त्यहाँको अवस्था पनि दयनीय थियो। चीनतिर परेर के गर्नु, त्यहाँका मानिससँग याक–चौंरीलाई खुवाउने पीठो पनि हुन्थेन। चम्पा देऊ आमा... भन्दै घरघर पीठो खोज्दै हिँड्थे। त्यहाँका मानिस ओढारजस्तोमा बस्थे, अहिले त्यो देश कहाँ पुग्यो!’ उनी घरअगाडिको खण्डहर कोदारी राजमार्ग हेर्दै चुकचुकाए।
कोदारी राजमार्ग २०२४ सालमै बने पनि भोटेकोसी, बाह्रबिसे भेग गुल्जार बनेको चाहिँ २०३८ सालपछि मात्रै हो।
त्यो वर्ष भलबाढीले खासा, लिपिङ, कोदारी, तातोपानी क्षेत्र मात्र नभई तल्लो तटीय क्षेत्र पनि तहसनहस पारेको थियो। तिब्बतको हिमताल फुटेर उत्पन्न भएको भलबाढीले भोटेकोसी र बाह्रबिसे क्षेत्र सर्वनाश भएको थियो।
त्यसपछि नेपाल र चीन दुवैतर्फ पुनर्निर्माण तीव्र भयो। नाका व्यवस्थित पारियो।
अनि, नाकासँगै यताका गाउँ र गाउँवासीका दिन पनि फिरे।
‘यहाँका मान्छेहरू कोङ्सी (पसल) बनाउन खासा पुग्थे। हामी ठेक्कापट्टा लिएर काम गर्थ्यौं। बजार बनेपछि नाकामा काम सुरू गर्यौं,’ नन्दलालले बजार विस्तार हुँदाको क्षण सम्झिए।
२०४९ सालमा सखुवा आइपुगेका उनले सुरू सुरूमा भेडाच्याङ्ग्रा खेलो गर्थे। तिब्बत र नेपालतिरका भेडाहरू थोकमा किनेर काठमाडौंसम्म ल्याएर बेचबिखन गर्थे।
‘त्यति बेला खसीको तुलनामा भेडाच्याङ्ग्रा सस्तो थियो। हामीले व्यापार गर्ने बेला त तीन हजारले ३० वटासम्म आउँथ्यो,’ उनले हाँस्दै सुनाए, ‘अहिले त एउटा पाठो पनि आउँदैन।’
नाका व्यवस्थित पारिएपछि गाँवै मिलेर पारि खासाबाट जुत्ता ल्याएर बेच्न थालेका उनले त्यसबाट जीवनयापन निकै उकासिएको बताए।
‘अझ माओवादी द्वन्द्वकालमा त यस भेगका मान्छेले प्रशस्तै कमाए,’ उनले भने, ‘नाकामा बसेका प्रहरीले कडिकडाउ नगर्ने, अनि त अरू के चाहियो!’
हुन पनि २०५२ देखि २०६२ सम्म चलेको सशस्त्र संघर्ष बेला यो नाकामा सुरक्षाकर्मीको उपस्थिति चुस्त थिएन। चीनतर्फ पनि भन्सारमा कडाइ गरिन्थेन। यी दुवैको लाभ यस भेगको पोल्टामा मनग्ये परेको नन्दलालले बताए।
उनका जेठा छोरा ४० वर्षीय कृष्णबहादुर पनि भन्सारमै आश्रित थिए। नाकामा बसेर झोलामा सामान ओसारपसार गर्ने ‘झोलेपोके’ कामलाई गुजाराको माध्यम बनाएका उनले पछि कन्टेनरमा हात हालेका थिए।
‘भुइँचालो अघिसम्म ऊसँग आठवटा कन्टेनर थियो,’ नन्दलालले भने, ‘ती सबै चालु हुँदा घरगृहस्थी चलाउन कुनै गाह्रो थिएन।’
भुइँचालोले उनको व्यवसायमा पनि बज्र हान्यो। नाका ठप्प भएपछि कन्टेनर चल्न छाडे। कन्टेनरहरूको किस्ता तिर्न नसकेपछि आधाभन्दा कम मूल्यमा बेच्नुपर्ने नौबत आयो। त्यसरी बेच्दा पनि दुई करोडभन्दा माथिको ऋण रहेपछि उनले देश छाड्ने निधो गरे।
‘त्यति बेला एउटै कन्टेनरको ४२ लाखसम्म मूल्य पर्थ्यो। उसले २० लाखभन्दा तल घटेर बेच्यो,’ नन्दलालले विस्तार लगाए, ‘साउदी, कतार गएर त्यो ऋणको भारी घट्दैनथ्यो। भारतबाट ब्राजिल, कोलम्बिया, पानामाको जंगल छिचोल्दै मेक्सिकोबाट तीन महिनामा बल्लबल्ल अमेरिका छिर्यो।’
यसरी ५० लाख रूपैयाँ थप ऋण थाप्लामा हालेर उनको जेठो छोरा कृष्णबहादुर अमेरिका पुगेको चार वर्षभन्दा बढी भइसकेको छ।
नन्दलालका पाँच छोरा थिए। तीमध्ये ८ महिना, १२ र १९ वर्षको उमेरमा तीन जना बिते। कान्छी छोरीको विवाह भइसकेको र जेठो छोरो अमेरिका हिँडेकाले माइला दिक्पाल आफूसँगै रहनेमा उनी ढुक्क थिए। तर माइला छोराको पनि व्यवहारले लिक छाड्यो।
खासा व्यापार ठप्प भएपछि उनले काठमाडौंको तीनचुलेमा पसल सुरू गरेका थिए। ऋणको उरूङ लाग्न थालेपछि डेढ वर्षअघि उनले पनि अमेरिका जान तल्लो बाटो तताए।
‘ऊचाहिँ हवाईजहाजमा मेक्सिको गएर त्यहाँबाट अमेरिका छिर्यो,’ नन्दलालले भने, ‘उसले ६० लाख रूपैयाँभन्दा बढी बुझाएको थियो।’
नन्दलाललाई बुढेसकालले थल्याइसकेको छ। १९ वर्ष उमेरमा बितेका काइला छोरालाई बचाउने प्रयास गर्दा उनी घरङ्घाट भएका रहेछन्। उनको आफ्नै पनि एउटा मिर्गौलाले काम नदिने भएर निकालिएको छ।
‘मिर्गौलामा पत्थरी जमेको रहेछ। समयमै ननिकाल्दा त्यसले मिर्गौलामै क्षति पुर्यायो। अन्ततः निकाल्नै पर्ने भयो,’ कमिजको फेर सार्दै उनले ढाडबाट पेटतिर चिरेको लामो खत देखाए।
अहिले दम्पतीलाई नै बाथले कुँजो तुल्याएको छ।
‘गाउँमा बसेका छौं। आफू घट्टमिल गर्न पनि सकिँदैन। सहायता मागौं, जसका घरमा पनि बूढाबूढी मात्रै छन्। कोसँग सहायता माग्नू! छोराहरूले पैसा त पठाउँछन्। अस्ति दसैंमा पनि तीस हजार खातामा हालिदिए। तर पैसाले छोराछोरीले दिने सहारा दिँदैन,’ उनको आँखाबाट तरक्क आँसु चुहियो।
सन्तान भएर मात्रै जीवन हराभरा नहुने रहेछ, सन्तान बस्ने वातावरण पनि चाहिँदो रहेछ — यो उमेरमा नन्दलालले यही बुझेका छन्।
जीर्ण बनेको कोदारी (अरनिको) राजमार्ग। तस्बिर: अक्षर काका/सेतोपाटी
भोटेकोसी र बाह्रबिसेका गाउँ रित्याउने साझा कथा बनेको अमेरिका जाने लर्कोका अर्का भुक्तमान हुन्, ७० वर्षीया कुन्तीकुमारी श्रेष्ठ।
कुन्तीकुमारी र हीरामाया सहोदर दिदीबहिनी हुन्। कुन्तीका पनि तीन छोरा घरै सुनसान तुल्याएर तल्लो बाटो अमेरिका पुगेका छन्। मझेरीबाट बलेसी पुग्न एक दिन लाग्ने गरी हातगोडा बसेका बेला सन्तानको रिक्तता सुलझैं चसकचसक दुखाउने किसिमको छ। एक्लोपनाले चहर्याउन थालेका बेला बहिनीका छोरा सुवासको मृत्युको खबर बज्र बनेर बज्रियो। त्यसले उनलाई झन् आहत तुल्याएको छ।
‘अचेल त गाउँको रोगनै उखेलिएको छ,’ कुन्तीका पति जगत श्रेष्ठले भने, ‘जहाँ हेर्छु, बाहिरै गएको देख्छु।’
कुन्ती र जगतका जेठा छोरा शम्भु २०७२ साल कात्तिकमै तल्लो बाटो भएर अमेरिका लागेका हुन्। माइला सूर्यले पनि चार वर्षअघि दाइकै पाइला पछ्याउँदै अमेरिकाको बाटो तताए। कान्छो छोरो अमेरिका पुगेको वैशाखमा तीन वर्ष हुन्छ।
जगतका छोराहरू भन्सारमै आश्रित व्यापार गर्थे। तातोपानीको दुर्दान्तसँगै उनीहरूको पनि दिशा बदलियो।
‘भेगैको जीविकाको माध्यम भन्नु नै भन्सार त हो। नाकामा बस्ने, झोलापोका गरेर पैसा कमाउने त हो,’ जगतले भने, ‘नाका नै ठप्प भएपछि सबै तितरबितर भइहाले। केही न केही उपाय त खोज्नुपर्यो!’
उनका जेठा छोरा शम्भुले काठमाडौंको रञ्जना गल्लीमा व्यापार गर्थे। ऋण बढ्दै गएपछि अरू उपाय पहिल्याउन नसकेर अमेरिकाको बाटो तताए। उनी तीन महिनाभन्दा बढी समय लगाएर हिँडेरै अमेरिका पुगेका थिए। बाटामा औधी दुःख पनि पाएछन्।
‘जति दुःख भए पनि त्यहाँ पुगेपछि बालबच्चाको भविष्य राम्रो हुन्छ भनेर सोच्यौं। त्यसैले हामी बाधक बनेनौं,’ जगतले भने, ‘ऊ गएपछि पालैपालो भाइहरूले पनि अमेरिकाको बाटो सोझ्याए।’
उनका तीनै जना छोराले अमेरिका पस्न ५० लाखभन्दा माथि नै बुझाएका छन्। त्यो पनि थाप्लामा महँगो ब्याजको ऋण बोकेर।
छोराहरूले अमेरिकातिरै खुसीको संसार विस्तार गरेपछि आमा कुन्तीलाई चाहिँ सन्तानको मुखै देख्न पाउँदिन कि भन्ने भयले गाँज्नुसम्म गाँजेको छ।
एकातिर उमेरको उकालो, अर्कातिर हुर्केबढेका सन्तान आँखा वरपर छैनन् — यसले मानसिक र शारीरिक दुवै व्यथा बाक्लिँदै गएका छन्।
‘छोराछोरी हुर्कायो, बढायो; खुट्टा लागेपछि लाखापाखा लागिहाल्छन्। दाजुभाइ आफैंआफैं सल्लाह गर्छन्। आमाले बिदा गर्न सक्नुहुन्न भनेर मलाई त थाहा पनि दिँदैनन्। कहिलेकाहीँ त मुखै देख्न पाउन्नझैं लाग्छ,’ कुन्तीको आँखा निचोरिएर आयो।
सखुवा टुंगिनेबित्तिकै मार्मिङ र फुल्पिङकट्टि आउँछ। साबिक मार्मिङ गाविस अहिले भोटेकोसी गाउँपालिका–५ मा पर्छ। फुल्पिङकट्टि गाउँपालिकाको कार्यालय नै रहेको ४ नम्बर वडा हो।
हामी सखुवा कटेर हिन्दी पुग्यौं। त्यहाँबाट झोलुंगे पुल तरेर टुसारे गाउँ छिर्यौं। टुसारेलाई पनि हिन्दी गाउँ नै भन्दा रहेछन्। त्यहाँबाट पारिपट्टि भोटेकोसी–४ मा पर्ने नारायणस्थान छ्यांग देखिँदो रहेछ।
आँगनैपिच्छे माने (दिवंगत पितृको सम्झनामा बनाइने स्तुपाकार संरचना) ठडिएको सुन्दर गाउँ रहेछ, टुसारे। तर गाउँमा युवा भेटिन दुरूह।
पहाडमाथिको थलीजस्तो भूखण्ड टुसारेमा आयस्ता राम्रै हुँदो रहेछ। यो आयस्ताले अमेरिका जान कस्सिएका युवाहरूको बाटो चाहिँ छेक्न सकेन!
‘यहाँका मानिसलाई सानैदेखि पैसा खेलाउने बानी पर्यो। अहिले पहिलेजस्तो छैन। नाका चल्यो भन्छ। सामान ल्याउन पाउँदैन। त्यही भएर गए विदेश,’ भोटेकोसी–१ लिस्तीका दावा शेर्पाले हामीले सुनाए, ‘तल्लो बाटो भएर अमेरिका जानेहरू नारायणस्थानमा अझै बढी छन्।’
दावाकै दाजु पनि दस वर्षअघि नै तल्लो बाटो भएर अमेरिका पुगेका रहेछन्। झन्डै ६० लाख रूपैयाँ खर्च गरेका दाजु निम्छाङ कष्टसाध्य यात्रा छिचोल्दै अमेरिका पुगेको उनले सुनाए।
‘निकै दुःख पाएर गयो। जंगलको बाटो रातभरि हिँडेर अमेरिका पुग्यो। झन्डै तीन महिना लगाएर,’ दावाले भने।
निम्छाङले दस कक्षा मात्रै पढेका थिए। दावाले पनि नौ कक्षा पढ्दापढ्दै स्कुलको यात्रा टुंग्याए।
‘दाइ अमेरिका त पुग्यो, तर खासै कमाएको छैन। अहिलेसम्म ऋण त तिरिसकेको छैन,’ उनले एकछिन गम खाँदै भने, ‘यो सबै भनेर के हुन्छ? सरकारले हामीलाई केही दिने हो र!’
यसरी कोदारी राजमार्गको बाटो हुँदै अमेरिकाको सपना गाउँ पसेर बस्तीका बस्ती उजाड बनाएको देखेपछि हामीले भोटेकोसी गाउँपालिका–४ का वडाध्यक्ष टासी शेर्पासँग कुरा गर्यौं।
उनले भूगोलको दुरावस्था देखाए। भीरैभीर, पहरा नै पहरा भएको भोटेकोसीमा युवा अडिने अवस्था नै नरहेको जिकिर गरे।
‘देखिहाल्नुभयो, हाम्रो भूगोलको अवस्था। बाह्रबिसेबाट माथि लागेपछि पहरैपहरा, भीर मात्रै हो। छन त माथितिर खेतीयोग्य जमिन पनि छ। तर एक बाली मात्रै लाग्छ। आलु, कोदो, मकै, गहुँ यस्तै मात्रै फल्छ। एक त उब्जनी नै हुँदैन, अहिले त बाँदरले दुःख दिन थालेको छ,’ उनले पीडा सुनाए।
उनका अनुसार भूगोलको यही दुरावस्थाले माथिल्लो भेगका सबैजसो बासिन्दा तल झरेर तातोपानी, कोदारी, लिपिङतिर व्यापार–व्यवसाय गर्न थाले। कोही भन्सारबाट सामान पास गराउँथे। कोही सामान ओसारपसार गर्थे।
‘कोदारी राजमार्ग र तातोपानी नाका यो भेगकै जीवनदायक बनेको थियो,’ उनले भने, ‘भुइँचालोपछि नाका बन्द भयो। खुल्दै खुलेन। अनि उपाय त खोज्नुपर्यो। त्यही क्रममा तल्लो बाटो अमेरिका जाने चलन चलेछ।’
उनले भुइँचालोलगत्तै त्यो क्रम सुरू भएको र केही युवा अमेरिका पुगेपछि त्यसले अरूलाई पनि आकर्षित गरेको सुनाए।
आफू वडाध्यक्ष निर्वाचित भएर आएपछि नै १५ जना युवा त्यसरी अमेरिका पुगेको उनको भनाइ छ। अरू वडामा योभन्दा केही मात्र कमबेसी रहेको उनले बताए।
हामीले ४ नम्बर वडाका अध्यक्ष दावा त्यम्बा शेर्पालाई पनि यही कुरा सोध्यौं। उनले पनि नाका बन्द भएर आयस्ताको बाटो सुकेपछि गाउँमा अमेरिका जाने सपनाले जड समातेको बताए।
‘हाम्रो भेगमा खेतीका नाममा एक बाली आलु र मकै मात्रै हुन्छ। त्यसले एक महिना पनि खान पुग्दैन। अमेरिका छिर्न सके महिनाकै तीन लाख कमाइ हुन्छ भन्ने थाहा पाएपछि गाउँमा को बस्छ र!’ दावाले गाउँको अवस्था चित्रण गर्दै भने, ‘म वडाध्यक्ष भएको डेढ वर्ष भयो, ७० जनाजति विद्यार्थी भिसामा अस्ट्रेलिया गइसके। हिजो भर्खर मात्रै एक जनाको क्यानडाको भिसा आयो। घरेलु कामदारका लागि इजरायल गएकाहरू पनि त्यत्तिकै छन्।’
उनले अगाडि भने, ‘अरनिको राजमार्ग र तातोपानी नाका राम्रोसँग चल्ने हो भने मात्र वैध–अवैध तरिकाले युवा जाने क्रम रोकिन्छ, नत्र यसै भन्न सकिँदैन।’
हामीले रित्तिँदै गरेका सिन्धुपाल्चोकका दुई स्थानीय तह बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका घुम्थाङ, गाती, मार्मिङ, फुल्पिङकट्टी, लिस्ती, कोदारी, तातोपानी आदि गाउँ पुगेर रिपोर्टिङ गरेका थियौं। कथा शृंखलाको यो भागमा हामीले त्यहाँका कथा–व्यथा प्रस्तुत गर्यौं।
आगामी भागमा तातोपानी नाका कसरी उनीहरूको जीवनसँग जोडिएको थियो र त्यो सुकेपछि कन्टेनर चल्न छाडेको त्यही राजमार्गमा अमेरिकाको सपना कसरी दौडियो भनेर बताउनेछौं।
अर्को भाग बुधबार प्रकाशन हुनेछ।
***