केही दिनदेखि पिँडौला निकै दुखिरहेका छन्। घरको भर्याङमा उक्लिँदा ओर्लिंदा पनि रेलिङ समाउनुपरेको छ। घर बाहिर निस्कन गाह्रो भइरहेको छ। तर म दुःखी छैन।
केही पाउन केही गुमाउनुपर्छ भनिन्छ। तर म त केही नगुमाइ ‘मर्दी यात्रा’ सकेर घर फर्किएको छु। दुखेका पिँडौला त केही दिनमा ठिक भइहाल्छन्।
सुनेको थिएँ अग्ला हिमाल आरोहण गर्नेहरू पनि सुरूआत मर्दी ट्रेकबाटै गर्छन्। प्रायः नेपाली यो ट्रेक तीन दिनमै पूरा गर्छन्। विदेशीहरूले पाँच दिनसम्म लगाउँछन्। तिहारको मेसोमा औषधि व्यवसायी विज्ञान पौडेलले भाइटीकालगत्तै मर्दी बेसक्याम्पसम्म पुग्ने योजना बनेको सुनाए।
केही वर्षअघि ४९१९ मिटर उचाइको तिलिचो ताल, गत वर्ष ३४१८ मिटर उचाइको जलजला (ढोरपाटन सिकार आरक्ष) को पदयात्रा गरेपछि मैले पनि मर्दी, पुन हिल, कोरीको यात्रा गर्ने सोच बनाइरहेको थिएँ। साथीभाइसँग नाम्चे बजार वा मनास्लु बेसक्याम्प जाने कि भन्ने चर्चा पनि बेलाबेलामा भएको थियो।
संयोगले म मर्दी बेसक्याम्पको पदयात्राका लागि जान लागेको विज्ञान पौडेल नेतृत्वको समूहमा अटाउने भएँ। त्यसपछि रातारात सुरू भयो मेरो तयारी।
यो यात्राका लागि मसँग समय तीन दिनको मात्रै थियो। हाम्रो समूहको योजना पनि तेस्रो दिन फर्किसक्ने थियो।
पहिलो दिन–धम्पुसबाट पैदलयात्रा
तय गरिएअनुसार समूहका दश जना (विज्ञान पौडेल, प्रशान्त पौडेल, कपिल घिमिरे, दिपक बस्नेत, रोशन महतो, सुरेन्द्र चौधरी, गोबिन्द सिंखडा, कृष्णप्रसाद चापागाईं, जितेन्द्र क्षेत्री) बिहान ५ः४० बजे भरतपुरको चौबीसकोठीमा भेट भयौं। ठिक त्यही समयमा हामीले रिजर्भ गरेको गाडी आइपुग्यो। अनि सुरू भयो हाम्रो मर्दी यात्रा।
आँबु खैरहनीमा गाडी रोकियो। चालकले गाडीलाई चार्जमा राखे। त्यो समयमा हामीले नास्ता खायौं। करिब आधा घण्टामा यात्रा अघि बढ्यो। साढे ९ बजे पोखराको हरि चोकमा पुगेर मात्रै गाडी रोकियो। त्यहाँ हामीले पैदलयात्राका लागि लौरी, रेनकोटलगायतका सामग्री किन्नुपर्ने थियो। काम सकेपछि लागियो धम्पुसतर्फ।
राजमार्ग छाडेपछि धम्पुससम्मको बाटो उकालो र ग्राभेलवाला थियो। केही ठाउँमा त गाडीलाई मुस्किल परेको थियो। तर चालकले हार मानेनन्। हामीलाई साढे १० बजेतिर धम्पुस पुर्याए।

अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधा भागलाई बादलले छेकेको थियो। हामीले यी दुई हिमालको चुचुरोलाई हेर्दै खाना खायौं।
पौने १२ बजेबाट सुरू भयो हाम्रो पदयात्रा।
दिन घमाइलो थियो। माछापुच्छ्रे हिमाललाई हेर्दै यात्रा सुरू गर्दा मनमा रमाइलो छाएको थियो। कतै उकालो, कतै तर्पाएँ, कतै हल्का ओरालो। कतै सिँढी, कतै गोरेटो। जंगलै जंगलको बाटो हामी लामबद्ध भएर अघि बढ्यौं। जंगलभित्र चिसो हावा चल्दै थियो। तर हिँडाइले शरीरमा पसिना निकालेको थियो। बेला–बेलामा खच्चडले बजाएको घण्टीले ध्यानाकर्षण गर्दथ्यो।
हामी १ बजेतिर ‘पोथाना’ पुग्यौं।
खासमा यो ठाउँ थना वा देउराली रहेछ। ‘पो’ भनेको चाहिँ गुरूङ भाषामा ‘पर्खनु’ हो रे। त्यस भेगका मान्छेहरू यो बाटो भएर यात्रा गर्दा त्यो थानामा आफन्तलाई पर्खँदा रहेछन्। जंगलको बाटो एक्लै यात्रा गर्न डर हुने भएकाले आफन्त लिन आइन्जेल पर्खिएर बस्ने ठाउँ भएकाले स्थानीयबासीले त्यो ठाउँलाई पोथाना भन्न थालेछन्।
१ हजार ८ सय ९० मिटर उचाइमा रहेको पोथानाबाट माछापुच्छ्रे हिमाल अझै नजिक देखिएको थियो। बादलले हिमाललाई अँगालो हाल्नै लागेको बेलामा मैले एउटा भिडिओ खिचेँ। अनि लागियो पितम देउरालीतर्फ। त्यहाँ मसँग भरतपुरका युवा व्यवसायी अमर घिमिरे पनि भेट भएका थिए। उनी गाडी नै लिएर यहाँसम्म पुगेका रहेछन्।
पहिले यो देउराली स्थानीयबासीले गाईभैँसीको गोठहरू राख्ने ठाउँ रहेछ। यो ठाउँ धम्पुस, लान्द्रुक, भिच्चुकबासीको घाँस दाउरा गर्ने थलो पनि रहेछ। गुरूङ भाषामा ‘प्रि’ को अर्थ ‘माया’ र ‘तम’ को अर्थ ‘रहनु’ हो। भैंसी चराउने, घाँस, दाउरा काट्न आउने किशोर किशोरीको माया गाँस्ने स्थान बन्दै गएपछि ‘माया बस्ने देउराली’ को रूपमा यो ठाउँको नाम नै प्रितम देउराली रहन गएको यहाँका स्थानीयबासी बताउँछन्। पछि अपभ्रंश हुँदै ठाउँको नाम ‘पितम देउराली’ हुन पुगेको रहेछ। यहाँ हामी साढे २ बजेतिर पुगेका थियौं।
२ हजार १ सय मिटर उचाइमा रहेको पितम देउरालीमा केही होटल रहेछन्। यहाँबाट लान्द्रुकतिर जाने बाटो छुट्टिने रहेछ। हामी त्यता नलागी मर्दीको बाटोतर्फ अघि बढ्यौं।
पहिलो दिनको हाम्रो गन्तव्य फरेस्ट क्याम्प थियो। त्यहाँको होटल फरेस्ट क्याम्पमा हामीले कोठा बुक गरिसकेका थियौं। अँध्यारो हुनुअघि त्यहाँ पुगिसक्नुपर्ने थियो। त्यसैले हामीले पाइला लम्कायौं। जंगलको बाटोमा मर्दीबाट फर्किएका पर्यटक पनि प्रशस्त भेटिन्थे। उनीहरूसँग हाम्रो एउटै प्रश्न हुन्थ्यो–फरेस्ट क्याम्प पुग्न अब कति समय लाग्छ? उत्तर सबैका फरक फरक हुन्थे।
पितम देउरालीबाट अघि बढेको करिब एक घण्टामा हामीले एउटा चिया पसल भेटायौं। उकालो उक्लिएपछि पुगिने थुम्काको चिया पसलमा केही पर्यटक चिया खाइरहेका थिए। हाम्रा साथीहरूले झोला बिसाइहाले। म पनि झोला बिसाएर भुइँमा लम्पसार परेँ। पसिनाले भिजेको शरीरलाई थुम्कामा बहेको चिसो हावाले राहत दिएको थियो।
हामीबीच चिया खाने सल्लाह भयो। साहुजीलाई मैले सोधें–कालो चिया पाइन्छ साहुजी?
उनले जबाफ दिए–जस्तो चिया पनि पाइन्छ। कालो, गोरो, कागती हालेको, कफी हालेको, बियर च्या सबै पाइन्छ।
अरू चिया त सुनिरहेको हो। यो बियर चिया भनेको चाहिँ के हो? चियामा बियर मिसाउने हो र?
मेरो कुरा सुनेर साहुजी हाँसे। भने–होइन हो होइन। बियरको गिलासमा आउँछ के बियर च्या।
कुरो सुनेर म पहिले एक्लै हासें। अनि साथीहरूलाई सुनाएँ। पछि साथीहरूसँग पनि हाँसें एकछिन।
कालो चियाको एक सय। कागती थपेपछि एक सय बिस, बियर चियाको तीन सय रुपैयाँ पर्ने रहेछ। हामीले कालो चिया खायौं। झोलामा रहेको ओरियो बिस्कुट झिकेर खायौं। अनि अघि बढियो।

उकालो बाटो हिँड्दै गर्दा निकै थाकेका थियौं हामी। तर्पाएँ बाटो सुरू हुने ठाउँमा एउटा घुम्ती पसल रहेछ। मलाई शक्ति कम हुँदै गएको महसुस भएको थियो। एउटा रेडबुल किनेर पिएँ। एकछिन आराम गरेर बाटो लागियो।
करिब चार बजेतिर जंगलभित्र अँध्यारो हुन थालिसकेको थियो। माथिबाट फर्कने पनि कम भएका थिए। अब हामीलाई जतिसक्दो छिटो फरेस्ट क्याम्प पुग्नु थियो। हामी पाइला लम्काउँदै अघि बढ्यौं।
बाटोमा ठाउँ–ठाउँमा बिजुलीका पोलहरू लडिरहेका थिए। मान्छेहरू कतै पोल गाड्दै, कतै पोलमा तार टाँग्दै थिए, कोही पोललाई अड्याउने तार रूखमा कस्दै थिए। मर्दी रूटका गाउँहरूमा विद्युतीकरण हुँदै रहेछ। अहिलेसम्म सबैतिर सोलार इनर्जीको प्रयोग भइरहेको रहेछ।
हामी पौने ६ बजे फरेस्ट क्याम्प पुग्यौं। पहिले पदयात्रामा निस्किएका विदेशी पर्यटकहरू यहाँको जंगलमा क्याम्प बनाएर बास बस्थे रे। त्यसैले यो ठाउँको नाम नै फरेस्ट क्याम्प राखिएको रहेछ। अहिले यहाँ जस्ताले छाएका करिब एक दर्जन होटल छन्। ती होटलमा २५ जनासम्म पाहुना राख्न मिल्ने संरचना रहेछ। पर्यटकलाई ल्याउन तथा आकस्मिक उद्धारका लागि हेलिप्याड पनि रहेछ। रातको समयमा त्यहाँबाट घान्द्रुकको झिलिमिली असाध्यै राम्रो देखिन्छ।
साँझ होटल सञ्चालकहरू हामीलाई पर्खिरहेका रहेछन्। १० जनाका लागि दुई वटा कोठा छुट्टाइएको थियो। एउटामा ६ वटा अर्कोमा २ वटा खाट थिए। ६ वटा खाट जोडेर ७ जना, अर्को कोठामा दुई वटा खाट जोडेर ३ जना सुत्ने निधो गरियो। यसो नगरे अरू उपाय हामीसँग थिएन। फरेस्ट क्याम्पका सबै होटलहरू पर्यटकले भरिएका थिए। बुक नै नगरी गएका केही व्यक्ति त फरेस्ट क्याम्प पुगेर अलपत्र परेका थिए। केही कोठा पाइएन भन्दै तल ओर्लंदै थिए।
धन्न बेलैमा कोठा बुक गरिएछ भन्दै हामीले लामो श्वास फेर्यौं।
हिँडाइका कारण पसिनाले शरीर लछप्पै भएको थियो। चिसो पानीमा नुहाउन सक्ने अवस्था थिएन। बाथरूममा लेखिएको थियो–तातोपानीमा सावर गरेको ३ सय ५० रुपैयाँ। ३ सय ५० रुपैयाँ तिरेर नुहाउने आँट कसैले गरेन।
८ बजेतिर खाना खाइयो। खुट्टा फतक्कै गलेका थिए। पैंताला र गोलीगाँठा दुखेको थियो। सुत्नुअघि साहुनी दिदीलाई एउटा प्रस्ताव राखियो। हामी सावरको लागि तोकेको ३ सय ५० रुपैयाँ दिन्छौं दुई–चार लिटर जति उमालेको पानी दिन सक्नुहुन्छ? आखिर नुहाइयो भने पनि एकै जनाले तपाईंको ५–७ लिटर तातो पानी सकिहाल्छ।
उनले सजिलै भनिन्–किन नसक्नू।
हामीले थप्यौं–त्यसो भए पहिले दुई लिटर जति एउटा बाटामा राखेर दिनुस्। एकछिनपछि अर्को दुई लिटर है त। सक्नुहुन्छ भने दुई चम्चा नुन पनि है।
उनले सहमति जनाइन्।
केहीबेरमा बाफ उँड्दै गरेको तातोपानी बाटामा आइपुग्यो। हामीले त्यसमा थोरै चिसो पानी मिसायौं। एक चम्चा नुन पनि राखेर तीन जनाले खुट्टा चोबाल्यौं। मुस्किलले गोलीगाँठा छोएको तातोपानीले शिरसम्मै तातो भयो। ५–७ मिनेटमा पानी सेलायो। हाम्रो पालो सकियो। पानीमा खुट्टा चोबाल्न थप तीन जना तयार भइसकेका थिए। उनीहरूले पनि त्यसै गरे। अरू चार जना सुत्न थालिसकेका थिए।
हामी पनि सुत्न गयौं। तर निद्रा परेन। कोही घुर्दै निदाएका थिए। तर मलाई साथीहरूको घुराइले असर गर्यो। निदाउन खोज्यो साथीहरूको घुराइले बिउँझिहाल्ने समस्या भयो। जब घुर्ने साथीहरू बिहान ४ बजेतिर उठेर बाहिर निस्किए। बल्ल निद्राको मेसो आयो। तर सुत्नलाई धेरै समय थिएन। ७ बजे त फरेस्ट क्याम्पबाट अघि बढिसक्नुपर्ने थियो। केहीबेर अर्ध निद्राजस्तो सुतेपछि उठेर ब्रेकफास्ट गरियो। अनि झोला बोकेर उकालो लागियो।
विगतमा पनि पहाडको पैदलयात्रा गर्दा तातोपानीमा नुन राखेर खुट्टा डुबाउँदा भोलिपल्ट हिँड्न सजिलो हुने महसुस गर्ने गरेको थिएँ। यसपालि पनि सजिलो भयो बिहान हिँड्न। राति फतक्कै गलेका मेरा खुट्टा बिहान उठ्दा अघिल्लो दिन बिहानको जस्तै तगडा थिए।
तपाईंहरूलाई पनि सजिलो भएको होला नि हिजो नुनपानीले–मैले साथीहरूलाई सोधें। खुट्टा चोबाल्ने सबैले राम्रो गरिएछ भने।
‘भनेपछि ३ सय ५० ले राम्रै काम गर्यो’, मेरो कुरा भुइँमा खस्न नपाउँदै बिलको पैसा तिरेका प्रशान्त पौडेलले भने, ‘केको ३ सय ५० ले हुनु, ७ सय काटिछन् बुढीमाउले।’ हामीले चार लिटरको ३ सय ५० रुपैयाँ लिइन् होला भन्ठानेको साहुनीले दुई लिटरकै ३ सय ५० लिइछन्।
दोस्रो दिन–बादल त्याँ, हामी ह्याँ
दोस्रो दिनको हाम्रो बसाइँ ‘हाइक्याम्प’ मा थियो। हाइक्याम्प मर्दीको दृष्यावलोकन गर्ने ‘भ्यू पोइन्ट’ मा पुग्नुअघि बास बस्ने ठाउँ हो। भ्यू पोइन्टमै पनि बास बस्न त सकिन्छ। तर त्यहाँ धेरै मान्छेलाई राख्ने क्षमता छैन। ४ हजार २ सय मिटर उचाइमा रहेको भ्यू पोइन्टमा रात बिताउँदा हाइ लाग्न पनि सक्छ। त्यसैले पर्यटकहरू प्रायः ३ हजार ५ सय ८० मिटिर उचाइमा रहेको हाइक्याम्पमै बस्छन्।
हामीले मर्दी जानुभन्दा अघिल्लो दिनमै दश जनाका लागि कोठा बुक गरेका थियौं। होटल सञ्चालकले बुक गरेरमात्रै नहुने भनेपछि हामीले क्यू आर गरेर कोठाको शुल्क नै बुझायौं। यसले हाइक्याम्पको होटल फिस्टेलमा हाम्रो लागि बासको सुनिश्चितता भएकोमा हामीलाई ढुक्क बनाएको थियो।
तिहारदेखि छठसम्मको बिदा मनाउन यसपालि निकै धेरै पर्यटक मर्दी पुगेका छन्। आन्तरिक पर्यटकको चापले गर्दा त्यताका कतिपय व्यवसायीले त विदेशीको बुकिङ नै क्यान्सिल गरिदिएका रहेछन्। पहिले पुग्ने पाहुनाले बढी पैसा दिने भयो भने बुकिङ गरिसकेको कोठा पनि दिइहाल्ने रहेछन्।
‘म विदेशी लिएर धेरै पटक मर्दी बेसक्याम्प पुगेको छु। प्रायः एउटै होटलमा बस्ने गरिन्छ। पहिले बुक गर्ने अनि आउने चलन छ। यसपालि त मेरा पाहुनामाथि ठूलो धोका भयो। नेपालीले धेरै पैसा दिए भनेर विदेशी पाहुनालाई कोठा नै दिएनन्। डाइनिङ हलमा सुताउँदै ल्याएको छु,’ बाटोमा भेटिएका एक जना टुरिष्ट गाइडले मसँग गुनासो पोखेका थिए।
अग्रिम भुक्तानी गरिसकेकाले हामीलाई भने यस्तो पिर थिएन।
बरू फरेस्ट क्याम्पबाट सुरू भएको नाकै ठोसिएलाजस्तो उकालोले हामीलाई एक बिहानै झस्कायो। यात्रा सुरू गरेको पाँच मिनेटमै सबै स्याँ स्याँ गर्न थालेका थिए। यात्रामा भेटिएका कोही त ‘पूरै बाटो यस्तै हो भने फर्किनुपर्छ है’ भनेर गफ गर्दै थिए। करिब १५ मिनेटको ठाडो उकालोपछि देखिएका तर्पाएँ बाटोले सबैको मुहारमा चमक ल्यायो।
आधा घण्टा जतिमा हामी रेष्ट क्याम्प पुग्यौं। बिहानीको घाम, टलक्क टल्किएको हिमाल अनि मन्द गतिमा बहेको हावाले हामीलाई केहीबेर अघिको नाकै ठोसिएलाजस्तो उकालो बिर्सायो। केहीबेरको फोटो सेसनपछि हामी ‘लो क्याम्प’ तर्फ अघि बढ्यौं।
लो क्याम्प पुग्ने बेलामा फेरि एउटा ठाडो उकालो आयो। जस्ताले छाएको ठाँटीमा केही भरियाहरू गफिँदै थिए। म पनि थकाइ मार्न बसेँ। केही साथी पछाडि छुटेकाले पर्खनुपर्ने पनि थियो।

तलबाट विदेशी महिला फोटो खिच्दै उक्लिँदै थिइन्। ठाँटीमा रोकिएका भरियाले तिनै महिलाको सामान बोकेका रहेछन्।
यत्रो भारी बोकेर उक्लन गाह्रो हुँदैन दाइ?–मैले ती भरियालाई सोधें।
विदेशीतिर हेरेर मुस्कुराउँदै उनले भने–ऊ हेर्नु न कति व्युटिफूल छ। यतिको च्वाँखको अघिपछि लागेर हिँड्न पाउँदा पनि गाह्रो मान्छ त कसैले!
म तिनै भरियाको पछि लाग्दै उकालो लागें। तर उनलाई भेटाउन कसरी सक्नु। हामी समथर बाटोमा हिँडेजस्तो पो थियो उनको उकालोको हिँडाइ। साढे ९ बजेतिर लो क्याम्प पुगियो।
लो क्याम्पबाट सिधै तल झरे सिधिङ भन्ने ठाउँ पुगिने रहेछ। बाटो छेउमा राखिएको बोर्डमा सिधिङ पुग्न अढाइ घण्टा लाग्छ लेखिएको थियो। तर धेरै उकालो भएकाले मर्दी जाने पर्यटकले यो बाटो प्रयोग नगर्दा रहेछन्। फर्कँदा भने प्रायःले सिधिङकै बाटो प्रयोग गर्ने रहेछन्।
हामीले लो क्याम्पमा चिया खायौं। केहीबेर माछापुच्छ्रेलाई नियाल्दै आराम गर्यौं। केहीबेरमा बादलुको घुम्टोले माछापुच्छ्रेलाई छोपिदियो। अनि घाम हरायो। चिसो बढ्न थाल्यो। अनि हामी ज्याकेट लगाएर बाटो लाग्यौं।
दोस्रो दिन बिहानको खाना ‘बादल डाँडा’ मा खाने तय गरेका थियौं। लो क्याम्पबाट बादल डाँडासम्मको बाटो पूरै उकालो छ भन्ने कुराले हामीलाई झस्काएको थियो। तै पनि गन्तव्यमा त पुग्नै छ।
कछुवाको गतिमा अघि बढ्दा पनि स्याँ स्याँ भएको थियो। बाटोदेखि कुनामा एउटा थुम्को देखेपछि हामीले त्यहाँ झोला बिसायौं। त्यहीँ लम्पसार पर्यौं। हामी पल्टिएर गफिँदै हाँसिरहेका थियौं युवाहरूको एउटा समूह हामी भएतिर आयो। हामी जसरी नै पल्टिए उनीहरू पनि।
एक जना अपरिचित युवकले हाम्रो साथीको नजिकै आएर सोधेछन्–दाइ मेटेरियल्स छ र? साथी अक्क न बक्क भए। उनले हामीले पनि सुन्ने गरी भने, ‘तोप के दाइ, क्या नबुझ्दीरा’। कुरो गाँजाको पो रहेछ। दुबै टोली एकछिन मज्जाले हाँसियो। त्यसपछि हाम्रो त्यो टोलीसँग राम्रो संगत भयो। दुई समूहसँग भएका खानेकुरा बाँडेर खाइयो। अनि उठ्ने बेलामा त्यो थुम्कोको नाम राखियो ‘तोप डाँडा’। भविष्यमा पनि दुई समूहका एकले अर्कालाई चिन्ने कोड शब्द राखियो ‘डाँडो’।
हामी तोप डाँडा छाडेर बादल डाँडातिर अघि बढ्यौं। करिब १२ बजे बादल डाँडा पुग्दा बादल हामी भन्दा तल थियो। हामी भन्दा माथि लगभग छ्याङ्ङ देखिन्थ्यो। अनि विज्ञान पौडेलले पृष्टभूमिबाट बोल्दै एउटा भिडिओ बनाए–हामीले वारि डाँडा, पारि डाँडा भन्ने गीत सुनेको, बादल पारिको देशबाट, बादलुको घुम्टोले भन्ने गीत सुनेको। बादलसँग जोडिएका गीत त कति हो कति नेपाली संगीतमा। एउटा कुरा चाहिँ म देखाउन चाहन्छु। बादल त्याँ, ल हेर्नुस् है। बादल त्याँ, हामी ह्याँ। ल हेर्नुस्। अब कस्तो भन्देखी हामी ह्याँ जहाँ को उचाई ३२ सय ५० मिटर छ। बादल चाहिँ त्याँ। कति धेरै तल। ल हेर्नुस्। हामी माथि बादल तल के। यसै बादल डाँडा नाम राखिएको त हैन रहेछ।
यहाँको डाँडा त भन्नुको मात्रै रहेछ। झुलुक्क देखिने बितिक्कै बादलले छोपिहाल्ने।
उनले थपे–बुढेसकालमा चौतारीमा बसेर दौंतरीहरूलाई यही भनेर मर्दी ट्रेकको गफ लगाउन पर्छ है साथी हो। बादल त्याँ, हामी ह्याँ।
हामी सबै हास्यौं। हामीलाई नचिन्नेहरू पनि हामीलाई हेरेर हाँसे।
केहीबेरमा हाम्रो खाना तयार भयो। ७ सय २५ रुपैयाँको दरले शाकाहारी खाना खाएर हामी हाइक्याम्पका लागि उक्लिन थाल्यौं।
बादल डाँडादेखि हाइक्याम्प सम्मको बाटो पनि पूरै उकालो छ। उकालोमा उक्लने र ओर्लने मान्छेहरूको लाम लागेको थियो। हामीले ओर्लनेजति लगभग सबैलाई सोध्यौं होला ‘हाइक्याम्प पुग्न कति टाइम लाग्ला?’
-1762607763.jpg)
प्रायःको जबाफ हुन्थ्यो, ‘छिटो हिँडे आधा, ढिलो हिँड्नेलाई एक घण्टाजति लाग्छ।’
तर पछिमात्रै थाहा भयो, यो त ट्रेकिङमा उकालो लाग्नेलाई हौसला दिने तरिका रहेछ। हामीलाई बादल डाँडाबाट हाइक्याम्प पुग्न २ घण्टा बढी समय लाग्यो।
श्वासै फुत्केलाजस्तो उकालोमा पनि साथीहरू यति उत्साहित थिए कि आफू भन्दा तलको बादललाई हेर्दै भनिराखेका थिए, ‘बादल त्याँ, हामी ह्याँ। ओहो कस्तो रमाइलो।’
नचिन्नेहरू पनि हामीतिर हेरेर मुसुक्क हाँस्थे। भन्थे हो दाइ हो, ‘हामी ह्याँ, बादल त्याँ।’
नजिकिँदै गरेको हिमाललाई हेरेर हामी चिच्चायौं, ‘हामी ह्याँ, हिमाल त्याँ। हिमाल त्याँ, हामी ह्याँ।’ यात्रामा भेटिएका सहयात्रीहरू हाम्रो पारा देखेर दङ्ग पर्थे। कोही हाँस्थे, कोही हामीसँगै चिच्चाउँथे।
अपराह्नको ४ बजे हामी हाइक्याम्पमा बुक्ड गरेको होटल फिस्टेलमा पुग्यौं। चारैतर्फ बादलले ढाकेको थियो। नजिकै रहेका होटलबाहेक केही देखिएको थिएन।
होटलले हामीलाई एउटामात्रै कोठा राखिदिएको रहेछ। दुई जना सुत्न मिल्ने तीन वटा र एक जना सुत्न मिल्ने दुई वटा खाट रहेछन् कोठामा। ८ जनामात्रै सुत्न मिल्ने भयो। दुई जना के गर्ने? हामीले यो समस्या होटल सञ्चालकलाई सुनायौं। सञ्चालकले सबै कोठा भरिएका छन्, एक छिन पर्खनु हामी सबैलाई सुत्न मिल्नेगरी मिलाउँछौं भने। केही जुगाड निकाल्लान् साहुजीले भन्ने सोच्दै हामी आराम गर्न थाल्यौं।
साँझ ६ बजेतिर बाहिरबाट आवाज आयो–खुल्यो है खुल्यो। ओहो कति राम्रो देखिएको।
म जर्याकजुरुक उठेर बाहिर निस्किएँ। ढोकामा पुग्दा माछापुच्छ्रे हिमाल मलाई हेरेर मुस्कुराइरहेको थियो। हात काठ्ठिएर मोबाइल समात्न नसक्ने भयो तर साँझमा टल्किएको हिमाल खिच्ने मेरो धित मरेन।
पोखरामा फेवातालभित्रै छ कि जस्तो देखिने माछापुच्छ्रे त दुई दिन हिँडेर नौ डाँडा काटिसक्दा पनि अझै परै रहेछ। मर्दी हिमालको अहिलेसम्म दर्शनसम्म पाइएको छैन। सबैभन्दा राम्रो देखिने भ्यू पोइन्टमा पुग्न भोलि बिहान दुई घण्टाजति हिँड्न बाँकी नै छ।
साथीहरू खाना तयार भयो भन्दै डाइनिङ हलभित्र पसे। म पनि पछि लागें। डाइनिङ हल अचम्मको थियो। त्यहाँ कोही खाना खाँदै थिए। कोही तास खल्दै थिए। कोही गितार बजाउँदै, कोही पढ्दै थिए। त्यस्तो अवस्थामा पनि कोही मस्त निधाएका थिए।
मेरो नजर भित्तामा गयो। त्यहाँ लेखिएको थियो–वाइफाई चलाएको र मोबाइल चार्ज गरेको २५० रुपैयाँ, तातो पानी एक लिटरको ३५० रुपैयाँ।
ओहो, कस्तो ठाउँमा आइपुगियो गाँठे। मोबाइल चार्ज गरेको पनि चार्ज लाग्ने। तातो पानीको त्यत्रो पैसा तिर्नुपर्ने–म मनमनै हाँसें।
भोक लागेको थियो। खाना मज्जाले खाइयो। राजमाको तरकारी, रायो साग, गुन्द्रुकको अचार, मुला, काँक्रो, बन्दाको सलाद निकै स्वादिलो थियो।
खानापछि बाहिर निस्कँदा माछापुच्छ्रेलाई बादलले ढाकिसकेको रहेछ। केहीबेर साँझको दर्शन दिनमात्रै हाजिर भएको थियो सायद।
साथीहरू कोठामा पुगेर बिहानको कपडा लगाउन थालिसकेछन्। म त्यो देखेर म दङ्ग परे। बिहान ३ बजे उठेर, साढे ३ बजेभित्रमा मर्दी भ्यू पोइन्टका लागि निस्किसक्नु पर्ने रहेछ। ढिला गरे सनराइज हेर्ने अवसर गुम्ने रहेछ। त्यसैले साथीहरू ज्याकेट पनि लगाएर सुत्ने तर्खर गर्दै थिए। मैले ज्याकेट चाहिँ लगाइनँ। ज्याकेट र जुत्ताबाहेक सबै लगाएर सिरक ओडें। बल्ल भरतपुरमा सुते जत्तिको भएको थियो तापक्रम।
दुई जनाको लागि सुत्ने व्यवस्था अझै भइसकेको थिएन। होटलका सञ्चालकलाई पाहुनालाई खुवाउन भ्याइनभ्याई थियो। हाम्रो के भो भनेर जिस्काइरहने कुरा पनि भएन। जुगाड मिलाएर आउलान् भन्ने आशामा गफिइराख्यौं।
रोशन महतोलाई साँझैदेखि टाउको दुखिरहेको थियो। उनी म त सक्दिनँ क्या हो भोलि माथि जान भन्दै थिए। हामीले औषधि खान सुझायौं। तर उनले तत्काल खान मानेनन्।
खाटमा पल्टिएर टोलाइरहेका थिए। के सोचेछन् कुन्नी एकाएक रोशनको आवाज आयो–राति त हेलिकप्टर आउन सक्दैन होला है। उनको कुराले हामी सबैलाई स्तव्ध पार्यो। दिउँसोसम्म रमाउँदै यात्रा गरेका साथीले राति एक्कासि हेलिकप्टरको कुरा गर्दा हामीलाई लागेको थियो–ठूलै समस्या पर्ने पो कि!
सबैले सम्झाएपछि रोशनले औषधि खाए। अनि सुते।
राति साढे ९ बजेतिर होटलका कर्मचारी सिरक र डसना बोकेर हाम्रो कोठामा आइपुगे। दुई जना सुत्न मिल्ने खाटहरूलाई जोडेर बाँकी रहेको ठाउँमा त्यो डसना ओछ्याए। अनि सिरक राखेर लौ व्यवस्था भयो है भनेर हिँडे। दुई जना साथी भुइँमा सुत्नुपर्ने भयो। त्यसबाहेक हामीसँग विकल्प पनि थिएन।
गफ गर्दागर्दै बत्ती निभ्यो। यहाँ कोठामा बत्ती साँझ ७ देखि १० बजेसम्ममात्रै बल्ने रहेछ। सोलार र जेनेरेटरबाट बत्ती बाल्नुपर्ने भएकाले समय छुट्टाइएको रहेछ। बेलैमा बत्ती निभ्यो र हामी बेलैमा सुत्ने भयौं। नभए त साथीहरू नानाथरीका कुरा झिक्दै हाँस्दै थिए। तत्काल सुत्ने कुनै छनक देखाएका थिएनन्। मलाई भने हिजो निदाउन नपाएकाले आज समयमै निदाउन पाए हुन्थ्यो भन्ने थियो।
हिजो घुर्ने साथीहरू आज पनि घुर्न थाले तर मलाई निद्रा लागेन। घुर्नेबाहेकका अरू हलचल नगरी सुतेका थिए। मलाई लागेको थियो उनीहरूलाई चाहिँ निद्रा परेछ। म पनि नचलिकन आँखा बन्द गरेर निदाउने प्रयास गरिरहेको थिएँ। साढे १२ बजेतिर सुरेन्द्र चौधरी उठे।
आज पनि निद्रा नलाग्ने भयो यार। भोलि कसरी हिँड्ने हो यो पाराले–उनले गुनगुन गरे।
उनको आवाज सुनेपछि अरू पनि सानो स्वरमा बोल्न थाले–म पनि निदाउनै सकेको छैन। के भएको हो यस्तो।
म मात्रै निदाउन नसकेको हो कि भन्ठानेको अरूको हालत पनि त्यस्तै रहेछ।
१ बजेतिर मलाई गर्मीको भएजस्तो भयो। मोजा र टोपी खोलेँ। त्यतिले पुगेन। सिरकबाट एउटा हात र एउटा खुट्टा निकालें। बिस्तारै शितल भयो। घुर्नेहरू एकसुरमा घुर्दै थिए, म पनि निदाएछु। सवा ३ बजेतिर बिउँझिएँ। उठ्दा साथीहरू भन्दै थिए–आज त तिमी पनि घुर्यौं।
दुई दिनमा २ घण्टा निदाउँदा घुरियो पनि होला। दुई घण्टाको निद्राले पनि टाउको हलुँगो बनाएको थियो।
तेस्रो दिन– पन्ध्र घण्टाको हिँडाइ
हामी उठेर तयार भयौं। अन्य कोठा र अन्य होटलका धेरैजसो भ्यू पोइन्टका लागि बाटो लागिसकेका रहेछन्। बाहिर निस्कँदा हिजो साँझ माछापुच्छ्रे हिमाल देखिएभन्दा छेउतिर राँके जुलुस उकालो उक्लिरहेको जस्तो देखिएको थियो।
टर्च लाइट बालेर डाँडो उक्लने पर्यटकको ताँती निकै माथिसम्म पुगिसकेको रहेछ। हामी पनि पछि लाग्यौं। त्यतिखेर बिहानको ३ बजेर ४१ मिनेट गएको थियो।
हाइक्याम्पबाट भ्यू पोइन्ट पुग्ने बाटोले त हिजो र अस्तिको उकालोलाई फेल खुवाउने रहेछ। ५ मिनेट हिँडेपछि स्याँ स्याँ भइहाल्ने। श्वास नै फुत्केला जस्तो हुने। मैले खल्तीमा दुई पोटी लसुन राखेको थिएँ। गाह्रै भएपछि निकालेर खाएँ। लसुनले हो कि लसुन खायो भने लेक लाग्न कम हुन्छ भन्ने मानसिकताले हो थाहा छैन। पहिलेभन्दा सजिलो हुन्थ्यो।
केही साथीहरू निकै गाह्रो पर्दा पनि लसुन खान हिचकिचाइरहेका थिए। उनीहरुलाई लाग्दो हो लसुन खायो भने अरूले कमजोर रहेछ भन्ने ठान्छन्। मैले यो कुरा मुखै फोरेर भनें–अरूले कमजोर ठान्छन् कि भनेर लसुन नखाँदा पछि पछुतो होला है साथीहरू विचार गर्नुस्। त्यसपछि सबैले खोजी खोजी लसुन खान थाले।
मैले ५ बजेर ५८ मिनेट जाँदा मर्दी भ्यू पोइन्टमा पहिलो पाइला टेकेको थिएँ। एउटा हातमा मोबाइल थियो, अर्को हातमा लौरी। मोबाइलमा मिर्मिरेमा हिमाल हाँसेको दृष्य कैद भइरहेको थियो। मभन्दा अघि पुग्नेहरू पनि फोटो, भिडिओ खिच्नमा मस्त थिए।
माछापुच्छ्रे, अन्नपूर्ण त टाढाबाट भए पनि देखेको, पहिलो पटक मर्दी हिमालको पनि दर्शन मिलेको थियो। मैले दोस्रो पाइला अन्तिम खुड्किलोबाट माथि टेकाएँ। मोबाइल खल्तीमा, लौरो भुइँमा राखें। अनि दुई हात जोडेर माछापुच्छ्रे, अन्नपूर्ण, मर्दी अनि नाम नचिनेका सबै हिमालको अगाडि निहुरिएँ।
मनमनै सोचें, हे माछापुच्छ्रे, हे अन्नपूर्ण, हे सम्पूर्ण हिमालय। तिमीहरूको दर्शन पाउन किन मान्छेहरू सात समुद्र तरेर आउँछन्? कैयौं समय लगाएर कमाएको पैसा तिमीहरूको दर्शनका लागि किन खर्चिन्छन्? ज्यानलाई नै जोखिममा राखेर किन यति लामो पैदलयात्रा गर्छन्? तिमीहरूको महिमा साँच्चै अपरम्पार छ। तिमी असाधारण छौ र त मान्छेहरू तिम्रो एक झल्को पाउन मरिहत्ते गर्छन्।
हामीसँग विश्वकै शिखर सगरमाथा छ। विश्वका १० उच्च हिमालमध्ये ८ वटा त हाम्रै देशमा छ। हामी त संसारकै धनी मुलुक हौं नि। तिमीहरूको दर्शन पाउन हामीले सात समुद्र तर्नु परेको छैन। नौ डाँडा छिचोल्न सके दर्शन पाइन्छ। बिडम्बना त यतिमात्रै हो, यति धनी हुँदा पनि हामी विश्वको गरिब मुलुकमा गनिन्छौं।
मनमा यस्ता कुराहरू खेल्दै गर्दा साथीहरूले चिया खान बोलाए। सानो छाप्रोभित्र आगो बालिएको रहेछ। साथीहरू आगोको वरिपरि बसेर चिया खाँदै रहेछन्। मैले पनि चियाको चुस्की लगाएँ, पेटको कुन भागमा पुग्यो भन्ने नै थाहा हुनेगरी।
बाहिरबाट आवाज आयो, सनराइज भयो है। त्यतिखेर सवा ६ बजेको थियो। म चियाको गिलास लिएरै बाहिर कुदें। नभन्दै हिमालको टुप्पोमा सुन फल्न थालिसकेछ। हिमश्रृङ्खलाको शिर सुनले लेपन गरेजस्तो देखिएको थियो।
मैले थन्काएर राखेको क्यामेरा निकालें। हिमालहरूलाई जुम गरीगरी कैद गरें।
साथीहरूले पनि धित नमरूञ्जेल, मेमोरी कार्ड नभरुञ्जेल फोटो, भिडिओ खिचे। भ्यू पोइन्टमा सयौं पर्यटक जम्मा भएका थिए। कपडा फेरि–फेरि फोटो खिचाइरहेका थिए। ‘तोप डाँडा’ मा भेटिएका ‘डाँडो’ हरू पनि फोटो खिच्नमा मस्त थिए। चिनेजस्तो लागेपछि ‘डाँडो है डाँडो’ भनिहाल्थे।
केही युवा हामी भएतिर हेर्दै भनिरहेका थिए ‘दाइ हामी ह्याँ, बादल त्याँ।’ हामीलाई देखेपछि हिजो दिउँसोको रमाइलो सम्झिएका होलान्।
माछापुच्छ्रे हिमालको अगाडि उनीहरूलाई पनि एउटै फ्रेममा राखेर हामी करायौं–‘हामी ह्याँ, हिमाल त्याँ। हिमाल त्याँ, हामी ह्याँ।’
८ बजेपछि हामीले फर्कने निधो गर्यौं। रातिमा उक्लिँदा केही देखिएको थिएन। फर्कँदा बल्ल देखियो मर्दीको जादु। जता फर्किए पनि क्यामेरा तेस्र्याउन मन लागिहल्ने।
अँध्यारोमा कस्तो बाटो उक्लिएका रहेछौं भन्ने कुरा उज्यालोमा ओर्लिँदा बल्ल थाहा पाइयो। वास्तवमा भ्यू पोइन्ट हिमालमा सूर्यको पहिलो झुल्को परेको हेर्नका लागि भन्दा पनि उक्लने बाटो देखेर मान्छे नतर्सिऊन् भनेर पो अन्धकारमा उक्लन प्रोत्साहन गरिएको हो कि जस्तो लाग्यो। यी दुइटै कारण पनि हुनसक्छ। जे होस् मलाई यो उपाय गज्जब लाग्यो।
हामीले हाइक्याम्प ओर्लिएर कपडा फेर्यौं। झोला प्याक गर्यौं। ब्रेकफास्ट रेडी रहेछ। खाएर ओरालो लाग्यौं।
आधा घण्टा जति ओर्लिएपछि बाटोमाथि एउटा सालिक देखियो। मलाई त्यो शालिकले आफूतिर डोर्यायो। त्यहाँ पुगेपछि थाहा पाएँ अनदेखा गरेर अघि बढेको भए मैले ठूलो भुल गर्ने रहेछु, मर्दी ट्रेक गरेर के के नै गरें भन्ने भ्रममा मात्रै रहने रहेछु।

‘फादर अफ मर्दी हिमाल’ को उपमा दिइएका स्वर्गीय सुदीप गौतमको सालिक रहेछ त्यो। २०४४ सालको कात्तिक १८ गते जन्मिएका गौतमको २०७९ असोज १४ गते निधन भएको थियो।
मर्दी ट्रेकमा जाने पर्यटकका लागि खाने, बस्ने कुनै सुविधा नभएको अवस्थामा उनले १३ वर्षअघि पहिलो पटक मर्दी हाईक्याम्पमा होटल स्थापना गरेका थिए। पछि यो ट्रेकिङ रूटमा दर्जनौं होटलहरू स्थापना भए।
हाइक्याम्पका होटलका धारामा पानी आउन छाडेपछि मर्मत गर्न करिब एक घण्टा टाढाको मुहानमा पुगेका उनी चिप्लिएर करिब ५० मिटर तल खसेका थिए। सँगै गएका सार्थीहरूले उद्धार गरे पनि उनलाई बचाउन सकेनन्।
गौतमले मर्दी पदमार्गलाई स्थापित गर्नमात्र नभएर पदयात्रीलाई होचा हिमाल आरोहणमा पनि आकर्षित गर्दै थिए। उनकै पहलमा विश्वकै महँगो खेल मानिएको स्कीको तालिम मर्दी पदमार्गमा गरिएको थियो। उनी स्कीलाई नेपालको पर्यटन बजारमा भित्र्याउन चाहन्थे। तर यी चाहना पूरा हुन नपाउँदै उनी बिदा भए।
म सालिकको अगाडि आँखा बन्द गरेर केहीबेर मौन धारण गरि बाटोमा झरें। साथीहरू मलाई पर्खिबसेका रहेछन्। अनि गफ गर्दै अगाडि बढियो।
उकालो चढ्दा हामीलाई ओर्लिँदा सजिलो होला भन्ने लागेको थियो। करिब ४ घण्टा ओर्लिएर लो क्याम्प पुग्दा उक्लदाभन्दा गाह्रो हुन थालिसकेको थियो। सिँढीको बाटो अर्लिँदा खुट्टा थरथर काँपेका थिए। धन्न लौरो थियो एउटा सहारा। दुइटा खुट्टालाई तीनटा बनाएर सघाइरहेको थियो उसले।
हामीले लोक्याम्पमा चाउचाउ पकाउन लगाएर खायौं। अनि सिधिङतर्फ ओरालो लाग्यौं। बोर्डमा सिधिङ पुग्न अढाइ घण्टा लाग्छ लेखिए पनि हामीलाई साढे ४ घण्टा लागेको थियो।
सिधिङ कास्कीको विकट गाउँ रहेछ। यहाँबाट पोखरा पुग्न डरलाग्दो कच्ची बाटोमा जिपहरू चल्ने रहेछन्। त्यस दिन मर्दीबाट झरेका पर्यटकको चापले जिपहरूलाई भ्याइनभ्याई थियो। सामान्य अवस्थामा दिनमा तीन पटकसम्म पोखरा ओहोरदोहोर गर्ने जिपले केही दिनदेखि दैनिक ९ पटकसम्म आउने जाने गरिरहेका रहेछन्।
‘आज त रातभर मान्छे ओसार्न पर्छ कि जस्तो पो छ,’ बेलुकी ७ बजेतिर हामीलाई पोखरातर्फ लैजाँदै गरेका चालक भन्दै थिए, ‘अल्लीपछि फेरि मान्छे नपाएर के गरौं, कसो गरौं भइहाल्छ। पाएको बेलामा त काम गर्न पर्यो नि।’
यो यात्रामा हामी १० घण्टा गाडीमा र २७ घण्टा पैदल हिँडिएछ। जसले हामीलाई कैयौं वर्षलाई पुग्ने सम्झना दिएर पठाएको छ। अनि अन्य पदयात्राका लागि साहस पनि बढाएको छ। यति धेरै कुरा पाइसकेपछि पिँडौला दुख्यो भन्दै चित्त दुखाएर बस्छ त कोही!






