ताँबे डाँडा पुगिएको आजभन्दा करिब छ वर्षअघिको कुरा हो। त्यतिबेला यो ठाउँ नयाँ–नयाँ संरचना निर्माणको क्रममा थियो। यद्यपि, संरचनाभन्दा पनि ताँबे डाँडालाई प्रकृतिले नै अपूर्व वरदान दिएको अनुभूति हुन्छ। यहाँ उभिँदा संसारै नियाल्न सकिन्छ जस्तो लाग्छ।
यसपटक कामको सिलसिलामा जिरी पुगेको थिएँ। जिरी मलाई मन पर्ने ठाउँमध्येमा पर्दछ। वर्षमा ३, ४ पटक पुगेकै हुन्छु। पहिले ताँबे डाँडा घुम्दा खिचिएका सबै फोटोहरू हराइसकेकाले फेरि एकपटक त्यहाँ पुग्ने मन निकै अड्किएको थियो। कफी पिउँदै गर्दा पर्यटन अभियानी लिलाराम खड्कासँग ताँबे डाँडा जाने प्रस्ताव राखेँ। उहाँले एकै वचनमा 'हुन्छ' भन्नुभयो। जिरीबाट करिब डेढ घण्टामा पुग्न सकिने रहेछ ताँबे डाँडा। गाउँकै बाटो भएकाले होला ३० किलोमिटरको दूरी बोलेरोमा पार गर्न डेढ घण्टा जति लाग्यो। यात्रामा पत्रकारहरू सुवास बस्नेत र मनिष अर्याल लगायतका साथीहरू पनि सँगै हुनुहुन्थ्यो।
बाटोभरि मौसमले लुकामारी खेलिरह्यो—कहिले घाम, कहिले धुम्म आकाश। 'भाग्यमा भयो भने हिउँ पनि पर्छ है,' साथीहरूले जिस्क्याइरहनु भएको थियो। तर त्यो दिन भाग्यले हिउँ देखाएन। रामेछाप जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको संगमस्थलमा अवस्थित ताँबे डाँडामा पछिल्लो समय जिरी हुँदै घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दै गएको रहेछ। गाडी चलाउँदै गरेका बोलेरो चालक इन्द्र जिरेल जिरी पुगेका युवाहरू अहिले ताँबे डाँडा पनि अनिवार्य गन्तव्य बनाउँदै गएको अनुभव सुनाइरहनु भएको थियो।
जिरी लिंकन बजारबाट करिब डेढ घण्टामै पुग्न सकिने भएकाले छोटो समयमै घुम्न चाहने पर्यटकका लागि ताँबे डाँडा उपयुक्त गन्तव्य लाग्यो। ताँबे डाँडामा सबै धर्मावलम्बीका लागि छ्योर्तेन, मन्दिर र चर्च निर्माण गरिएको छ। सम्भवतः यही कारणले यो ठाउँ सबै धर्मका मानिसहरूका लागि साझा आस्थाको केन्द्र बन्दै गएको जस्तो अनुभूति हुन्छ। यहाँबाट दर्जनौँ हिमश्रृङ्खलासँगै दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सोलुखुम्बु जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ। समुद्री सतहदेखि करिब ३,१०० मिटर उचाइमा अवस्थित ताँबे डाँडाबाट कालिञ्चोक, चरिकोट बजार, जिरी लिंकन बजार, हनुमन्ते डाँडा, चेर्दुङ र शैलुङसम्मका दृश्यहरू सहजै देख्न सकिन्छ। साथै यहाँबाट गौरीशंकर, नुम्बुर, गणेश, जुगललगायतका हिमश्रृङ्खला नजिकैबाट नियाल्न सकिन्छ।
ताँबे डाँडाबाट देखिने गाउँबस्ती, आलु खेतीले सजिएका पाखा र वरपरको भौगोलिक बनावटले जो–कोहीलाई आकर्षित गर्छ। त्यसमाथि यहाँ निर्माण गरिएका पर्यटकीय तथा धार्मिक संरचनाले ताँबे डाँडालाई अझै लोभलाग्दो बनाइदिएको छ। सायद यही कारण हो—एकपटक पुगेको मन, फेरि फेरि ताँबे डाँडातिर तानिइरहन्छ।
तस्बिरहरू:
-1769859428.jpg)
-1769859427.jpg)
-1769859426.jpg)
-1769859426.jpg)
-1769859428.jpg)
-1769859427.jpg)
-1769859426.jpg)
-1769859425.jpg)
-1769859426.jpg)
-1769859425.jpg)
-1769859425.jpg)
-1769859425.jpg)