पोखरा गएपछि पुगिने पहिलो गन्तव्य हो, फेवाताल। फेवाको किनारमा सेल्फी खिचेर मख्ख पर्ने हामी पूरै फेवाताल एकैपटकमा देख्न पाए कति रमाउँला? यही कुतूहलता पूरा गर्दै पोखरा उपत्यका र आसपासको दृश्यावलोकन गर्ने रहरले सराङकोट जाने निधो गरियो।
पोखराको काखमा लमतन्न सुतेको फेवाको किनारमा रहेको सेती बगर (अहिलेको चर्चित नर्थ लेकसाइड) बाट अन्नपूर्ण केबलकार चढेर सराङकोट उक्लने योजना बन्यो।
यात्रा सुरू भएपछि एउटा भिर कटेर केबलकार गाउँको माथि-माथि जाँदै थियो। भर्खरै पोखरा सहरबाट उक्लेका हामीले केही मिनेटमै गाउँले परिवेशको अनुभव गर्न पायौं। परम्परागत ग्रामीण घरहरू, घरहरू वरिपरि बारीमा काम गरिरहेका गाउँले, गोठमा गाई भैंसी कराएको आवाज। एउटा नसोचेको अनुभूति सँगाल्न पाइयो।
केबलकार जंगल हुँदै पनि जाने भएकाले चरा र झ्याउँकिरीको आवाजको माधुर्यसँगै सिजन अनुसारका जंगली फूलहरू देख्दा मनै रमाउने।
केबलकारले जति उचाइ लिन्छ दृश्य झनै मनमोहक बन्छ। फेवातलको बीचमा बाराही मन्दिर अनि वरिपरि सलबलाइरहेको ढुंगा देख्दा मन पनि चन्चल हुन्छ।
पूर्वतर्फ सुन्दर पोखरा सहरसँगै नयाँ विमानस्थलमा हवाईजहाज टेकअफ र ल्यान्डिङ गरेको देख्न पाइन्छ भने पश्चिमतर्फ हर्पन खोलाको नागबेली र फाँटहरू हेर्दै रमाउन पाइन्छ।
एक आँखाले विश्वशान्ति स्तूप अवलोकन गरिरहँदा अर्को आँखाले पुम्दिकोट महादेव हेरिरहेको हुन्छ। पुरानो एअरपोर्टबाट उडेर पोखरा फन्को लगाउने अल्ट्रालाइट र पामेबाट उड्ने हट एअर बेलुन हेर्दा आफ्नो मन पनि सँगै उड्छ।
आकाशमा सराङकोटबाट उडेका प्याराग्लाइडिङका रङ्गिचङ्गी ग्लाइडरले आकाशमै इन्द्रेणी बनाउँछन्।
चिल ठोकिने पहारा छिचोलेर अगाडि बढेको केबलकार एकैछिनमा सडकमा गुडिरहेका सवारी साधनलाई तल पार्दै हुइँकिन्छ। करिब ९ मिनेटको यात्रामा प्रत्येक पल नयाँ दृश्य हेर्न र फरक अनुभूति गर्न पाइन्छ।
सराङकोटमा रहेको केबलकारको माथिल्लो स्टेसनमा पुग्नै लाग्दा अन्नपूर्ण र माछापुच्छ्रे हिमालले मुस्कुराउँदै स्वागत गरिरहेका हुन्छन्। यात्राको केही मिनेटमै चिसो मौसमको अनुभूति गर्न पाइन्छ।
समुन्द्री सतहबाट ८८२ मिटर उचाइमा रहेको केबलकारको बटम स्टेसनबाट ९ मिनेटमा सराङकोट करिब १५ सय मिटर उचाइको माथिल्लो स्टेसन पुगिन्छ।
माथिल्लो स्टेसन पुगेर पाँच मिनेट पैदल हिँडेपछि सराङकोटको भ्यु पोइन्ट पुगिन्छ। त्यहाँ रहेको महादेव मन्दिर दर्शन गर्न पुग्यौं। मन्दिर परिसरमै ५ मुखे गणेशको मूर्ति प्रतिस्थापन गरिएको छ। सोमबार र मंगलबार मन्दिरमा निकै भिड लाग्ने रहेछ।
मन्दिरसँगै भ्यु टवार बनाइएको छ। ढुंगा चिरेर बनाइएको टावर आफैमा आकर्षक छ। समुन्द्री सतहबाट १५९२ मिटर उचाइमा रहेको सराङकोटबाट माछापुच्छ्रेसँगै अन्नपूर्ण हिमशृङ्खला हेरेर मन थाक्दैन। पोखरा उपत्यकाको उत्तरी भागमा रहेमा हेम्जा, लामाचौर तर्फको भूभाग लगायत पोखरा आसपास सबैतिरको अवलोकन टावरबाटै गर्न सकिन्छ।
भ्यू पोइन्टमा भएका मन्दिरहरूलाई समग्रमा सराङकोटधाम नामकरण गरिएको छ। धाममा कैलाशेश्वर शिव मन्दिर, ७ सय वर्ष पुरानो शाह वंशले समेत पुज्ने गरेको भुमे कालीका मन्दिर, भैरव मन्दिर र गणेश मन्दिर छन्।
हरेक सोमबार साँझ सूर्यास्तको समयमा शिव मन्दिरमा आरती हुने गरेको छ। आरती हेर्न जाने नेपालीले केबलकारको शुल्क दुईतर्फी टिकटको मात्र २ सय ५० रुपैयाँ तिरे पुग्छ। साधारणतया दुईतर्फी टिकटको ७ सय र एकतर्फीको ४ सय रुपैयाँ पर्छ।
बिहानको पाँचै बजे खुल्ने केबलकारमा चढेर सूर्योदय अवलोकनको मज्जा लिन सकिन्छ। स्वदेशी एवं विदेशी पर्यटक माझ लोकप्रिय सराङकोटको सूर्योदय र सूर्यास्तको 'ब्रेथ टेकिङ भ्यू' हेर्न जान केबलकारले सहज बनाएको छ।
केबलकार व्यवस्थापनले आउन जानको लागि लेकसाइडबाट बटम स्टेसनसम्म नि:शुल्क सटल बसको सुविधा दिनैभर दिने भएकाले पर्यटकलाई थप सहज भएको छ।
एकैछिन घुमेर हामी केबलकार स्टेसनमै रहेको ३६० डिग्री टावर क्याफेमा पुग्यौं। फेवाताल र आसपासको सुन्दर दृश्यावलोकन गर्दै आफ्नो खास मान्छेसँगै बसेर चुस्की लिनु कम्ता मज्जा हुँदैन।
-1770460553.jpg)
-1770460554.jpg)
-1770460553.jpg)
-1770460552.jpg)
-1770460552.jpg)
-1770460553.jpg)