अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका सतिश चापागाईं राज्यको संसदमा प्रतिनिधित्व गर्न चुनावी प्रतिस्पर्धामा छन्।
उनी डेमोक्रेटिक पार्टीका तर्फबाट मेरिल्यान्डको निर्वाचन क्षेत्र ७–एबाट उम्मेदवार बनेका हुन्।
यस क्षेत्रमा चापागाईंसहित चार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये दुई जना वर्तमान सांसद हुन्।
चापागाईं भने पहिलोपटक राज्य संसद्को निर्वाचनमा उम्मेदवार बनेका हुन्।
आफू पहिलोपटक चुनाव लडिरहेकाले अनुभवी उम्मेदवारसँग प्रतिस्पर्धा गर्न धेरै मेहनत गर्नुपर्ने उनले बताए।
'उनीहरू आठ वर्षदेखि सांसद छन्। म भने पहिलोपटक चुनाव लड्दै छु। मतदाताका लागि मेरो अनुहार नयाँ हो। उनीहरूको तुलनामा मसँग चुनावी खर्चका लागि पैसा पनि कम छ। चुनौती धेरै छन्, तर पनि अगाडि बढिरहेको छु,' उनले भने।
सतिशले चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्रका बासिन्दालाई सहयोग पुग्ने नीति तथा कानुन निर्माणमा काम गर्ने बताएका छन्।
उनका अनुसार राज्य संसद्को मुख्य काम विधेयक ल्याउने, छलफल गर्ने र ऐनकानुन तथा नीतिनियम बनाउने हो।
त्यसैले, आफ्नो समुदायलाई सहयोग पुग्ने खालका विधेयक ल्याउन आफूले पहल गर्ने उनको भनाइ छ।
उनले आफ्नो चुनावी अभियानमा आठवटा प्राथमिकता अघि सारेका छन्। तीमध्ये पहिलो प्राथमिकता 'अफोर्डेबल मेरिल्यान्ड' अर्थात् सुलभ जीवनयापन रहेको छ।
अहिले महँगी बढिरहेको उल्लेख गर्दै उनले सर्वसाधारणले सहज रूपमा जीवनयापन गर्न सक्ने अवस्था बनाउनुपर्ने बताए।
त्यसका लागि महँगी घटाउने र करको दायरा कम गर्ने विषयलाई मुख्य मुद्दा बनाएको उनको भनाइ छ।
स्वास्थ्य सेवालाई पनि उनले प्राथमिकतामा राखेका छन्।
'कम आम्दानी भएका नागरिकले स्वास्थ्य उपचारका लागि कम रकम तिर्नुपर्छ। आर्थिक अवस्था निकै कमजोर भएकाले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्छ,' उनले भने।
शिक्षा क्षेत्रमा बालबालिकाको पहुँच विस्तार गर्ने र मेरिल्यान्डमा विश्वस्तरको शिक्षा उपलब्ध गराउने पनि सतिशको योजना छ।
त्यस्तै, साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
समुदायमा रहेका यस्ता व्यवसायलाई कसरी सहायता गर्न सकिन्छ भन्ने विषयमा काम गर्ने उनले बताए।
समुदायलाई सुरक्षित बनाउने र अपराध घटाउने विषय पनि उनका चुनावी मुद्दामा छन्।
अहिले देखिएका अपराध कम गर्न तथा समुदायलाई सुरक्षित बनाउन आवश्यक काम गर्ने उनको भनाइ छ।
सतिशले आफ्नो उम्मेदवारी नेपाली समुदायका लागि मात्रै नभई समग्र निर्वाचन क्षेत्रका बासिन्दाका लागि भएको बताएका छन्।
'म नेपाली मूलको उम्मेदवार भए पनि मेरो चुनावी मुद्दा नेपाली समुदायमा मात्रै सीमित छैन। मैले समग्र निर्वाचन क्षेत्रका स्थानीय एजेन्डालाई प्राथमिकतामा राखेको छु,' उनले भने।
उनका अनुसार मेरिल्यान्डमा करिब ४० हजार नेपाली बसोबास गर्छन्। तीमध्ये करिब १६ हजार मतदाता हुन सक्ने उनको अनुमान छ।
सतिशले यसअघि डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचन पार गर्दै उनी पार्टीका तर्फबाट मुख्य निर्वाचनमा उम्मेदवार बनेका हुन्।
मेरिल्यान्डमा नोभेम्बर ३ मा मुख्य मतदान हुँदैछ।
यसअघि अक्टोबर २२ देखि २९ सम्म अग्रिम मतदानको व्यवस्था गरिएको थियो।
उक्त अवधिमा मतदान गर्न नसकेका मतदाताले नोभेम्बर ३ मा मतदान गर्न सक्ने सतिशले जानकारी दिए।
सतिश सन् २००८ मा डिभी भिसामार्फत अमेरिका पुगेका हुन्।
अमेरिका जानुअघि उनी नेपालमा सक्रिय पत्रकारितामा आबद्ध थिए।
सुरूका दिनमा उनको अमेरिका बसाइ सहज रहेन। उनले फास्टफुड रेस्टुरेन्टमा काम गरे।
त्यहाँ सरसफाइ गर्ने, खाना बनाउने, ग्राहकको अर्डर लिने, टेबलसम्म खाना पुर्याउनेदेखि क्यासियरसम्मको काम गरे।
त्यसपछि डिपार्टमेन्टल स्टोरमा क्यासियर तथा उबर चालकका रूपमा काम गरे।
'अमेजनमा पनि तीन वर्ष काम गरेँ। एसोसिएटबाट सुरू गरेर टिमको असिस्टेन्ट म्यानेजरसम्म भएको थिएँ,' उनले सुनाए।
सन् २०२० देखि उनले साझेदारीमा मदिरा व्यवसाय सुरू गरेका हुन्।
राजनीतिमा भने उनी सन् २०१४ देखि नै सक्रिय भएका हुन्।
सुरूमा स्वतन्त्र रहेका उनी पछि डेमोक्रेटिक पार्टीसँग आबद्ध भए।