बागलुङका नवीन न्युरे सन् २००५ मा पहिलो पटक जापान गए। केही महिना बसेर नेपाल फर्किए अनि १२ कक्षा पास गरेर सन् २००७ मा फेरि जापान गए। त्यसयता भने उनले जापानलाई नै कर्मथलो बनाएका छन्।
‘मेरो बुवा सन् २००० मै जापान गएकाले म सुरूमा बुवासँगै केही समय बसेको हो। नेपालमा १२ पास गरेर यता आएँ। त्यसपछि भाषा स्कुल गएँ अनि होटल एन्ड टुरिजम पढेँ,’ उनले भने, ‘अभिभावक पहिल्यै जापान बसेकाले मलाई सहज भयो। मैले टोफु कम्पनी र रेस्टुरेन्टमा काम गरेँ। सन् २०११ देखि भने आफ्नै काम सुरू गरेको हुँ।’
सन् २०११ मा न्युरेले नेपाल रेमिटसँग मिलेर काम गरे। जापानबाट त्यसको सञ्चालक न्युरे नै थिए। सन् २०१९ सम्म यसमै काम गरे। सँगै रेस्टुरेन्ट व्यवसायलाई पनि अघि बढाएको उनले बताए।
२०१९ पछि भने आफैले रेमिट कम्पनी सुरू गर्ने योजनामा उनी थिए। त्यहीअनुसार काम पनि गरे। सोचेअनुसार अघि बढ्न सकेन। सन् २०२५ मा आएर मात्र उनले सोचेअनुसारको रेमिट कम्पनी सुरू भएको छ।

जापानमा सुरू भएको येहे रेमिटमा उनीसहित ६ जना युवा व्यवसायी छन्। न्युरे यसको कार्यकारी निर्देशक हुन्।
लामो समय रेमिट सेवामै काम गरेकाले यसको व्यवस्थापन हेर्ने सबै जिम्मेवारी आफूलाई दिइएको उनले बताए।
उनका अनुसार कम्पनीलाई नेपाल र जापान दुवैतिर दर्ता गरिएको छ। अहिले मुख्य गरेर नेपाल र फिलिपिन्समा पैसा पठाइने भए पनि विश्वका जुनसुकै देशमा पैसा पठाउन सकिने न्युरेको दाबी छ।
‘हामीले डिजिटल प्रविधिलाई नै प्रोत्साहन गरेका छौँ। मोबाइल एप्सकै माध्यमबाट सबै काम गर्न सकिन्छ। रजिस्टर गरेर आफूले चाहेको बैंकमा नेपाल पैसा पठाउन सकिन्छ। वालेटमार्फत पठाउन सकिने सहज सुविधा छ,’ उनले भने, ‘जापान आएर लिएको आइडी कार्डको आधारमा रजिस्टर गरेर केवाइसी भर्ने अनि पैसा पठाउने हो। १० मिनेटभित्र प्रक्रिया पूरा गरेर पैसा पठाउन सकिन्छ। अनलाइनमार्फत, अफिसमा गएर अनि बैंकबाट पनि पैसा पठाउन सकिन्छ।’
कानुनी प्रक्रियाबाटै पैसा पठाइने भएकाले यसमा कुनै खालको अप्ठ्यारो नआउने उनले बताए।
उनका अनुसार २० हजार येनसम्म पठाउँदा ५ सय येन सेवा शुल्क लाग्छ भने डेढ लाख येनसम्मको १ हजार रुपैयाँ अनि १० लाखसम्मको १ हजार ५ सय येन शुल्क लाग्छ।
उनीहरूले यसको कार्यालय टोकियोमा स्थापना गरेका छन् भने फिलिपिन्समा पनि कल सेन्टर छ। अब नेपालमा कार्यालय सुरू गर्ने तयारी भइरहेको उनले बताए। जापानका अन्य सहरबाट भने एजेन्टमार्फत काम गर्ने उनीहरूको तयारी छ।
‘जुनसुकै रेमिटबाट पठाए पनि हुण्डीको प्रयोग नहोस् भन्ने हाम्रो चाहना हो। यसले एकातिर पैसाको सुरक्षा हुँदैन भने अर्कोतिर सरकारलाई राजश्व आउँदैन,’ उनले भने, ‘हामीले त ग्राहकको पैसा जति लिन्छौँ त्यति धरौटी समेत राख्नुपर्छ। अर्को कुरा, दुवै सरकारका नियम, कानुन र प्रावधान पूरा गरेर रेमिट सञ्चालन हुने भएकाले ग्राहक ठगिने सम्भावना शून्य छ।’
रेमिटसँगै तीन वटा रेस्टुरेन्ट सञ्चालन गरेका न्युरे सामाजिक क्षेत्रमा पनि सक्रिय छन्।
सन् २०११ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आबद्ध भएका न्युरे सन् २०२३ देखि २०२५ सम्म एनआरएनए जापानका अध्यक्ष थिए। उनी अहिले एनआरएनए (आईसीसी) का युवा संयोजक समेत छन्।
झन्डै २० वर्षदेखि जापान बस्दै आएका ३८ वर्षीय न्युरेको नजरमा नेपालीले त्यहाँ गएर अप्ठ्यारो भोग्नुपर्ने केही कारण छन्।
पहिलो भाषा नै हो।
जापानमा भाषा प्राथमिकतामा पर्छ भन्ने विषयलाई हेलचक्र्याइँ गर्दा समस्या पर्ने उनको बुझाइ छ।
‘जापान आउनुअघि यहाँको नीति, नियम र संस्कृतिबारे बुझ्न जरूरी छ। भाषा र अनुशासन सबभन्दा महत्वपूर्ण छन्। आफूले केही गर्दा अरूलाई हानि हुनु हुँदैन,’ उनले भने, ‘भाषा जानियो भने सुरूका १/२ महिना दुःख पाए पनि त्यसपछि सजिलो हुन्छ। सुरूमा आउनासाथ गाह्रो भनेर भिडिओ राख्ने प्रचलनका कारण पनि नकारात्मक सन्देश गइरहेको छ।’