गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको स्टेट कोअर्डिनेसन काउन्सिल (एससिसी) भिक्टोरियाद्वारा आयोजित नेपाल फेस्टिभल मेलबर्न २०२७ सम्बन्धी सामुदायिक परामर्श तथा मिति घोषणा कार्यक्रम भएको छ।
कार्यक्रममा भिक्टोरियामा क्रियाशील विभिन्न नेपाली सामुदायिक संघसंस्थाका प्रतिनिधि, सामुदायिक अगुवा तथा सरोकारवालाहरूको सहभागिता रह्यो।
छलफलका क्रममा विगतका नेपाल फेस्टिभलका अनुभवहरूको समीक्षा गर्दै आगामी महोत्सवलाई अझ व्यवस्थित, प्रभावकारी, समावेशी र भव्य बनाउन आवश्यक सुझाव तथा योजनाहरू आदानप्रदान गरिएको छ।
एनआरएनए भिक्टोरियाको टोलीले विगतका कार्यक्रमबाट सिकेका अनुभवलाई आत्मसात् गर्दै आगामी फेस्टिभललाई अझ उत्कृष्ट बनाउन आवश्यक योजना, सहकार्य र समन्वयका विषयमा छलफल भयो।
नेपाली कला, संस्कृति, परम्परा, मौलिक खानपान, संगीत तथा सामुदायिक एकतालाई थप सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा सहभागीहरूले उत्साह व्यक्त गरे।
नेपाल फेस्टिभल मेलबर्न २०२७ आगामी शनिबार, १३ मार्च २०२७ मा मेलबर्नको प्रतिष्ठित फेडेरेसन स्क्वायरमा आयोजना हुनेछ।
यस महोत्सवले नेपाली कला, संस्कृति र पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ प्रवर्द्धन गर्नुका साथै नेपाली समुदायबीच एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
आगामी तयारीलाई थप व्यवस्थित र सहभागितामूलक बनाउन विभिन्न कार्यदलमा आबद्ध हुन इच्छुक व्यक्तिहरूका लागि 'एक्सप्रेसन अफ इन्ट्रेस्ट' प्रक्रिया छिट्टै खुला गरिनेछ।
त्यसैगरी, महोत्सवमा सहभागी हुन इच्छुक व्यवसायी तथा संघसंस्थाका लागि स्टल बुकिङ तथा महोत्सवलाई सहयोग गर्न चाहने व्यवसाय तथा संस्थाहरूका लागि प्रायोजन प्याकेज पनि छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
यी अवसरहरूमार्फत समुदायका सदस्य, स्वयंसेवक, व्यवसायी तथा विभिन्न संस्थालाई महोत्सवको तयारी र सफलतामा प्रत्यक्ष योगदान गर्ने अवसर प्रदान गरिनेछ।
कार्यक्रममा सहभागी भई आफ्ना अमूल्य सुझाव, विचार र अनुभव साझा गर्ने सामुदायिक अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरूप्रति एनआरएनए भिक्टोरियाले आभार व्यक्त गरेको छ।
साथै, कार्यक्रमको समाचार सम्प्रेषण गरी नेपाली समुदायमाझ सूचना पुर्याउन सहयोग गर्ने सम्पूर्ण पत्रकार मित्र तथा सञ्चारकर्मीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाल फेस्टिभलको प्रचारप्रसार र सफलताका लागि निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा गरेको छ।