क्यानडाको ब्राम्पटन सहरमा आज शनिबार 'तेस्रो नेपाल फेस्टिबल–२०२६' हुने भएको छ।
लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबको आयोजनामा आज शनिबार सो फेस्टिबल हुने लागेको हो।
नेपाली कला–संस्कृति, गीत–संगीत, वेशभूषा, नेपाली खानाका परिकार, नेपाली हस्तकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्धेश्य रहेको छ।
फेस्टिबलको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष विश्व अधिकारीले जानकारी दिए।
मञ्चको तयारीका साथै कार्यक्रम स्थल र वरपर नेपाली झण्डा र नेपाली संस्कृति झल्किने ब्यानर तथा सजावटको व्यवस्था गरिएको क्लबका अध्यक्ष अधिकारीले बताए।
ब्राम्पटन सिटीको सपर वल्र्ड कम्प्लेक्स को प्राङ्गणमा क्यानडाको समय दिउँसो १ बजेबाट बेलुकी ९ बजे सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न नेपाली खानाको परिकारका स्टल सहित करिब ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल पनि रहने लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका महासचिव एवं 'नेपाल फेस्टिवल–२०२६' मुल समारोह समितिका सदस्य धर्म न्यौपानेले जानकारी दिए।
महोत्सवमा गुरूङ, तामाङ, शेर्पा, नेवार, थारू, मधेसी लगायतका विभिन्न जातजातिका वेशभूषा सहितको झाँकी र नृत्यहरू र लाखेनाच पनि प्रस्तुत हुनेछन्।
महोत्सवमा प्रवेश निशुल्क र पार्किङको पनि निशुल्क व्यवस्थापन गरिएको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए।
करिब १० हजार जना भन्दा बढीको सहभागीता रहने आयोजक सस्था लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लबका उपाध्यक्ष एवं 'नेपाल फेस्टिबल–२०२६' मुल समारोह समितिका सदस्य श्याम अर्यालले जानकारी दिए।